5

1 जब येशूले भिडहरूलाई देख्‍नुभयो, उहाँ एउटा डाँडामाथि जानुभयो । उहाँ त्यहाँ बस्‍नुभयो र उहाँको पछि आउनेहरूलाई शिक्षा दिन लाग्‍नुभयो । उहाँका कुरा सुन्‍न तिनीहरू उहाँको नजिक आए । 2 तब उहाँले तिनीहरूलाई यसो भन्‍दै सिकाउन सुरु गर्नुभयो: 3 “परमेश्‍वर त्‍यस्‍ता मानिसहरूसँग प्रसन्‍न हुनुहुन्छ जसले आफूलाई उहाँको खाँचो छ भनी स्वीकार गर्छन्; उहाँले स्‍वर्गबाट तिनीहरूमाथि राज्‍य गर्न सहमत हुनुहुने छ । 4 परमेश्‍वर त्‍यस्‍ता मानिसहरूसँग प्रसन्‍न हुनुहुन्छ जसले यस पापपुर्ण संसारको कारणले शोक गर्छन्; उहाँले तिनीहरूलाई उत्साह दिनुहुने छ । 5 परमेश्‍वर त्‍यस्‍ता मानिसहरूसँग प्रसन्‍न हुनुहुन्छ जो विनम्र हुन्‍छन्; परमेश्‍वरले नयाँ बनाउनुहुने पृथ्वीमा तिनीहरूले अधिकार पाउनेछन् । 6 परमेश्‍वर त्‍यस्‍ता मानिसहरूसँग प्रसन्‍न हुनुहुन्छ जसले कसैले खाने र पिउने इच्‍छा गरे जस्‍तै धार्मिकरूपमा जीवन बिताउने इच्‍छा गर्छन्; उहाँले तिनीहरूलाई धार्मिकरूपमा जीवन बिताउन सक्षम बनाउनुहुने छ । 7 परमेश्‍वर त्‍यस्‍ता मानिसहरूसँग प्रसन्‍न हुनुहुन्छ जसले अरूहरूप्रति कृपापूर्वक व्यवहार गर्छन्; उहाँले तिनीहरूप्रति कृपापूर्वक व्यवहार गर्नुहुने छ । 8 परमेश्‍वर त्‍यस्‍ता मानिसहरूसँग प्रसन्‍न हुनुहुन्छ जसले उहाँलाई प्रसन्‍न पार्ने कुरा मात्र गर्ने कोसिस गर्छन्; कुनैदिन तिनीहरू परमेश्‍वर हुनुभएको ठाउँमा हुने छन् र उहाँलाई देख्‍ने छन् । 9 परमेश्‍वर त्‍यस्‍ता मानिसहरूसँग प्रसन्‍न हुनुहुन्छ जसले अरू मानिसहरूलाई शान्तिपूर्वक जीवन बिताउन मद्दत गर्छन्; उहाँले तिनीहरूलाई आफ्नै छोराछोरीका रूपमा हेर्नुहुने छ । 10 परमेश्‍वर त्‍यस्‍ता मानिसहरूसँग प्रसन्‍न हुनुहुन्छ जसले धार्मिकरूपमा जीवन बिताउँछन्; जब तिनीहरूका धार्मिक जीवनको करणले दुष्‍ट मानिसहरूले अपमान गर्छन् र तिनीहरूलाई खराब व्‍यवहार गर्छन्, उहाँको आदर हुन्‍छ । परमेश्‍वरले यी धार्मिक मनिसहरूमाथि स्‍वर्गबाट राज्‍य गर्नुहुने छ । 11 अरू मानिसहरूले तिमीहरूको अपमान गर्दा परमेश्‍वर तिमीहरूसँग प्रसन्‍न हुनुहुन्छ, र तिनीहरूले तिमीहरूलाई खराब कुराहरू गर्दा र तिमीहरूलाई दुष्‍ट भनेर तिनीहरूले तिमीहरूका बारेमा झूटहरू बोल्‍दा उहाँको आदर हुन्‍छ । 12 जब त्यस्तो हुन्छ, आनन्दित होओ र खुसी होओ, किनभने परमेश्‍वरले तिमीहरूलाई स्वर्गमा ठुलो इनाम दिनुहुने छ । याद गर, त्‍यसरी नै तिनीहरूले धेरै अघिका बाँचेका अगमवक्‍ताहरूलाई सताए । 13 खानाको निम्‍ति नूनले जे गर्छ, संसारको निम्‍ति तिमीहरूले त्यही गर्ने छौ । तर यदि नूनले आफ्नो शक्‍ति गुमाउँछ भने, कसैले पनि त्‍यसलाई फेरि असल बनाउन सक्दैन । मानिसहरूले त्यसलाई बाहिर फाल्‍छन् र त्यसमाथि हिंड्छन् । 14 अँध्यारोमा भएका मानिसहरूका निम्‍ति प्रकाशले जे गर्छ, संसारको निम्‍ति तिमीहरूले त्यही गर्ने छौ । सबै मानिसहरूले तिमीहरूलाई देख्‍ने छन्, जस्‍तो डाँडामा बनेको एउटा सहर तिनीहरूले देख्‍छन् । 15 कसैले पनि बत्ती बाल्‍ने र त्‍यसलाई टोकरीमुनि राख्‍ने गर्दैन । त्‍यसको साटो, तिनीहरूले त्यसलाई एउटा सामदानमा राख्छन्, यसरी घरमा हुने हरेकलाई त्यसले उज्यालो दिन सक्‍छ । 16 त्यसरी नै, तिमीहरूले ठिक काम यस्‍तो किसिमले गर्नुपर्छ कि तिमीहरू जे गर्छौ त्‍यो अरू मानिसहरूले देख्‍न सकून् । जब तिनीहरूले त्यो देख्‍छन्, तिनीहरूले स्वर्गमा हुनुहुने तिमीहरूका पिताको प्रशंसा गर्ने छन् ।” 17 परमेश्‍वरले मोशालाई दिनुभएको व्यवस्था वा अगमवक्‍ताहरूले लेखेका कुराबाट छुटकारा दिनको निम्‍त म तिमीहरूकहाँ आएको छु भनी तिमीहरूले अनुमान गर्नु हुँदैन । त्‍यसको साटो, तिनीहरूमा जे हुने छ भनी लेखियो त्‍यो पुरा हुनलाई आएँ । 18 यो भनाई साँचो हो : परमेश्‍वरले स्‍वर्ग र पृथ्‍वी हटाउन सक्‍नुहुन्‍छ, तर परमेश्‍वरले व्‍यवस्‍थामा लेख्‍नुभएका हरेक कुरा उहाँले हुने छन् भन्‍नुभए जस्‍तै गरी पुरा नगर्नुभएसम्‍म, व्‍यवस्‍थामा भएका सबैभन्दा साना कुराहरू वा वाक्‍यको अन्‍त्‍य गर्ने एउटा पुर्ण विरामसम्‍म, परमेश्‍वरले ती व्यवस्थाबाट कुनै कुरा पनि हटाउनुहुने छैन । 19 त्यो सत्य भएको हुनाले, यदि तिमीहरूले सबभन्‍दा साना आज्ञाहरू पनि उलङ्घन गर्‍यौ भने, स्‍वर्गबाट परमेश्‍वरले राज्‍य गर्नुहुँदा तिमीहरू सबैभन्दा साना व्‍यक्ति हुने छौ । तर यदि तिमीहरूले ती सबै आज्ञाहरू पालन गर्‍यौ र तिमीहरूले परमेश्‍वरको आज्ञा पालन जस्‍तै अरूहरूलाई पनि उहाँको आज्ञा पालन गर्न सिकायौ भने, स्‍वर्गबाट परमेश्‍वरले राज्‍य गर्नुहुँदा तिमीहरू धेरै महत्त्वपूर्ण हुने छौ । 20 म तिमीहरूलाई भन्छु कि व्यवस्थाका शिक्षकहरूले भन्‍दा राम्रोसित तिमीहरूले ती व्यवस्था पालन गर्नुपर्छ, र तिमीहरूले जे ठिक छ त्‍यो आफ्‍नो हृदयबाट गर्नुपर्छ । अनि फरिसीहरूले भन्‍दा राम्रोसित तिमीहरुले गर्नुपर्छ अन्‍यथा स्‍वर्गबाट परमेश्‍वरले गर्नुहुने राज्‍यमा तिमीहरू कदापि आउने छैनौ । 21 “परमेश्‍वरले हाम्रा पुर्खाहरूलाई जे भन्‍नुभयो त्‍यो अरूहरूले तिमीहरूलाई भनेका छन्, ‘तैँले कसैको हत्या गर्नु हुँदैन,’ र ‘यदि तैँले कसैको हत्या गरिस् भने, शासकीय सभाका सदस्यहरूले तँलाई मृत्युदण्ड दिन सक्छन् ।’ 22 तर म तिमीहरूलाई भन्छु कि यदि तिमीहरू कसैप्रति क्रोधित हुन्‍छौ भने परमेश्‍वर आफैँले तिमीहरूको न्याय गर्नुहुने छ । यदि तिमीहरू कसैलाई, ‘तँ बेकामको छस्’ भन्‍छौ भने, शासकीय सभाले तिमीहरूको न्याय गर्ने छ । यदि तिमीहरूले कसैलाई, ‘तँ मूर्ख होस्’ भन्‍छौ भने, परमेश्‍वरले तिमीहरूलाई नरकको आगोमा फाल्‍नुहुने छ । 23 यसैले जब तिमीहरूले परमेश्‍वरको निम्‍ति आफ्नो भेटी वेदीमा लान्‍छौ, यदि तिमीहरूले कसैलाई चित्त दुखाएको छौ भनी याद भयो भने, 24 तिमीहरूको भेटी वेदीको छेउमा राख, र पहिले तिमीहरूले चित्त दुखाएको व्‍यक्तिकहाँ जाऊ । तिमीहरूले जे गरेका छौ त्‍यसको लागि त्‍यस व्‍यक्तिसँग तिमीहरू क्षमाप्रार्थी छौ भन र तिमीहरूलाई क्षमा गर्न त्‍यो व्‍यक्तिसँग विन्‍ती गर । त्‍यसपछि फर्केर जाऊ र आफ्‍नो भेटी परमेश्‍वरलाई चढाऊ । 25 यदि तिमीहरूको छिमेकी मित्रले तिमीहरूलाई केही खराब गरेको दोष लगाउनलाई तिमीहरूलाई अदालतमा लान्छ भने, त्‍यो व्‍यक्तिसँग अदालत जान तिमीहरू बाटोमा हिंड्‍दै गर्दा, त्यो व्‍यक्तिसँग छिट्टै सम्‍झौता गरिहाल । समय हुँदा नै त्‍यसो गरिहाल ता कि उसले तिमीहरूलाई न्यायाधीशकहाँ लैजाने छैन, किनभने न्यायधीशले तिमीहरूलाई दोषी छौ भन्‍न सक्‍छन् र तिमीहरूलाई झ्यालखानका पहरेदारकहाँ सुम्पिन सक्‍छन् र झ्यालखानका पहरेदारले तिमीहरूलाई झ्यालखानमा थुन्‍ने छन् । 26 यो कुरा मनमा राख : यदि तिमीहरू झ्यालखानमा गयौ भने, तिमीहरू कदापी बाहिर आउने छैनौ किनभने न्यायाधीशले तिमीहरूलाई तिर्नुपर्छ भनेको जति सबै तिमीहरूले कदापी तिर्न सक्‍ने छैनौ । यसैले आफ्ना दाजुभाइसँग मिलापमा बस्‍नुपर्ने कुरा पनि याद गर ।” 27 “तिमीहरूले सुनेका छौ कि परमेश्‍वरले हाम्रा पुर्खाहरूलाई भन्‍नुभयो, ‘व्यभिचार नगर’ । 28 तर म तिमीहरूलाई यसो भन्छु : यदि एकजना मानिसले ‍एउटी स्‍त्रीलाई तिनीसँग सुत्‍ने इच्छा गरेर हेर्छ मात्र भने पनि, उसले पहिले नै आफ्‍नो मनमा तिनीसँग व्यभिचार गरिसकेको छ भनी परमेश्‍वरले बिचार गर्नुहुन्‍छ । 29 यदि तिमीहरूले केही कुराहरू हेरेको कारणले तिमीहरूलाई पाप गर्ने इच्‍छा हुन्छ भने, ती कुराहरू हेर्न छोड । यदि तिमीहरूले आफ्ना आँखाहरूमध्‍ये दुवैलाई नष्‍ट गर्नुपर्छ भने पनि, यदि त्‍यसो गर्दा तिमीहरू पाप गर्न छोड्‍छौ भने त्‍यसै गर । तिमीहरूले देख्‍ने अवस्‍थामा नै परमेश्‍वरले तिमीहरूलाई नरकमा फाल्‍नुभन्‍दा दृष्‍टिविहीन हुनु र पाप गर्न छोड्‍नु असल हुन्‍छ । 30 र यदि तिमीहरूका हातहरूमध्‍ये एउटाले तिमीहरूलाई पाप गर्ने बनाउँछ भने, आफ्‍नो हात प्रयोग गर्न छोड । यदि तिमीहरूले आफ्नो हात काट्‍नुपर्छ र त्‍यसलाई फल्नुपर्छ भने पनि, यदि त्‍यसो गर्दा तिमीहरू पाप गर्न छोड्‍छौ भने त्‍यसै गर । तिमीहरूको सम्‍पुर्ण शरीरलाई परमेश्‍वरले नरकमा फाल्‍नुभन्‍दा तिमीहरूको शरीरको एउटा अङ्ग गुमाउनु असल हुन्‍छ ।” 31 “परमेश्‍वरले धर्मशास्‍त्रमा भन्‍नुभएको छ, ‘यदि एकजना मानिसले आफ्नी पत्‍नीसँग सम्बन्ध विच्छेद गर्दै छ भने, उसले एउटा दस्‍तावेज लेख्‍नुपर्छ जसमा उसले लेख्‍छ कि उसले तिनसँग सम्बन्ध विच्छेद गर्दै छ ।’ 32 तर अब म तिमीहरूलाई के भन्छु सुन : एकजना मानिसले आफ्‍नी पत्‍नीसँग तिनले व्यभिचार गरेकी छिन् भने मात्र सम्‍बन्‍ध विच्‍छेद गर्न सक्‍छ । यदि मानिसले अरू कुनै कारणले आफ्नी पत्‍नीसँग सम्बन्ध विच्छेद गर्छ भने, तिनले फेरिी अरू कसैसँग विवाह गरिन् भने तिनले व्यभिचार गर्छिन् । र तिनलाई विवाह गर्ने मानिसले पनि व्यभिचार गर्छ ।” 33 धेरै पहिले मानिसहरूलाई यसो भनिएको पनि तिमीहरूले सुनेका छौ, ‘तिमीहरुले कदापी झुट बोलेर शपथ खानु हुँदैन ! त्‍यसको सटो, परमप्रभु आफैँ तिमीहरूको अघि खडा हुनुझैँ गरी तिमीहरूले आफुले गरेका प्रतिज्ञाहरू पुरा गर्नुपर्छ ।’ 34 तर अब म तिमीहरूलाई झन् धेरै कुरा भन्छु : कुनै पनि कारणले शपथ नखओ ! तिमीहरूले गर्ने प्रतिज्ञाको जमानी बस्‍न स्‍वर्गको परमेश्‍वर बस्‍नुहुने ठाउँको नाउँ नलेओ ! त्‍यो उहाँको शक्तिको महान आसन हो र त्‍यहाँबाट उहाँले सबै कुराहरूमाथि राज्‍य गर्नुहुन्‍छ । 35 र पृथ्‍वीले सक्षी दिन्‍छ भनी कुनै शपथ नखाओ । त्‍यसो नगर, किनभने पृथ्‍वीमा परमेश्‍वरले आफ्‍ना पाउहरू राख्‍नुहुन्‍छ । यरूशलेम सहरको नाउँमा शपथ नखओ, किनभने यरूशलेम परमेश्‍वर, हाम्रा महान राजाको सहर हो । 36 अझ अरू, तिमीहरूले केही गर्नेछौ र यदि तिमीहरूले गरनौ भने तिनीहरूले तिमीहरूको शिर काट्‍न सक्‍छन् भनी प्रतिज्ञा नगर । तिमीहरूले आफ्नो शिरको एउटा रौंको रङ पनि बदल्न सक्दैनौ भने केही अत्‍यन्‍त महत्‍वपुर्ण कुराको प्रतिज्ञा तिमीहरूले कसरी गर्न सक्‍छौ । 37 यदि तिमीहरू केही कुरा गर्ने बारेमा बात गर्छौ भने, ‘हो, म यो गर्ने छु’ वा ‘होइन, म यो गर्ने छैन’ मात्र भन । यदि त्योभन्दा बढी कुनै कुरा भन्यौ भने, शैतान वा दुष्‍ट आत्‍माले तिमीहरूलाई त्यसो भन्‍न सल्‍लहा दिएको हो ।” 38 “हाम्रा पुर्खाहरूलाई यसो भनिएको तिमीहरूले सुनेका छौ, ‘यदि कसैले तिमीहरूको एउटा आँखामा नोक्‍सान पुर्‍याउँछ भने, त्यो व्‍यक्तिको पनि एउटा आँखामा नोक्‍सान पर्‍याउन सक्‍छौ । र यदि कसैले तिमीहरुको एउटा दाँतमा नोक्‍सान पुर्‍याउँछ भने, त्यो व्‍यक्तिको पनि एउटा दाँतमा नोक्‍सान पर्‍याउन सक्‍छौ ।’ 39 तर अब म तिमीहरूलाई के भन्छु सुन : तिमीहरूलाई नोक्सान पर्‍याउने कसैलाई बदला लिने कुरा त परै जाओस्, उसलाई रोक्‍ने कोसिस पनि नगर । त्‍यसको साटो, यदि कसैले तिमीहरूलाई एउटा गालामा थप्‍पड हानेर अपमान गर्छ भने, त्‍यो व्‍यक्तितिर तिमीहरूको अर्को गाला पनि फर्काइदेऊ, यसरी उसले तिमीहरूलाई त्‍यसमा पनि थप्‍पड हान्‍न सक्‍छ । 40 यदि कसैले तिमीहरूको अलखा लिनलाई अदालतमा तिमीहरूको विरुद्धमा मुद्दा चलाउँछ भने, त्‍यो र तिमीहरुको निम्‍ति झन् मूल्‍यवान बिहिरी वस्‍त्र समेत दुबै त्‍यस व्‍यक्तिलाई देऊ । 41 र यदि रोमी सिपाहीले तिमीहरूलाई उसँग एक माइलसम्‍म जान र उसका झिटी-गुण्‍टा बोक्‍न जबरजस्‍ती गर्छ भने, त्‍यो दुई माइल परसम्मै बोकिदेऊ । 42 अझ अरू, यदि कसैले तिमीसँग केही कुरा माग्छ भने, उसलाई त्यो देऊ । यदि कसैले उसलाई दिन तिमीसँग केही कुरा उधारो माग्छ भने, अघि बढ र उसलाई त्यो देऊ । ” 43 “परमेश्‍वरले हाम्रा पुर्खाहरूलाई यसो भन्‍नुभएको तिमीहरूले सुनेका छौ, ‘तिम्रो आफ्‍ना इस्राएलीहरूलाई प्रेम गर र परदेशीहरूलाई घृणा गर, किनकि तिनीहरू तिमीहरूका शत्रुहरू हुन् ।’ 44 तर अब म तिमीहरूलाई के भन्छु सुनः तिमीहरूका मित्रहरूका साथै शत्रुहरूलाई पनि प्रेम गर, र तिमीहरूलाई दु:ख दिनेहरूका लागि प्रार्थना गर । 45 स्वर्गमा हुनुहुने तिमीहरूका पिता परमेश्‍वरजस्तै हुनलाई यसो गर । उहाँले सबै मानिसहरूलाई दयापूर्वक व्यवहार गर्नुहुन्छ । उदाहरणको लागि, उहाँले दुष्‍ट मानिसहरू र धर्मी मानिसहरू दुवैमा सूर्यको प्रकाश दिनुहुन्छ, अनि उहाँको आज्ञा पालन गर्ने मानिसहरू र नगर्ने मानिसहरू दुवैमाथि वर्षा दिनुहुन्छ । 46 यदि तिमीहरूले आफूलाई प्रेम गर्ने मानिसहरूलाई मात्र प्रेम गर्छौ भने, परमेश्‍वरले तिमीहरूलाई इनाम दिनहुने छ भन्‍ने आशा नगर ! डरलाग्‍दा कामहरू गर्ने मानिसहरू जस्तै कर उठाउँनेहरूले पनि तिनीहरूलाई प्रेम गर्नेहरूलाई प्रेम गर्छन् । तिनीहरूले गर्नेभन्दा असल काम तिमीहरूले गर्नुपर्छ । 47 हो, र यदि तिमीहरूले आफ्ना मित्रहरूलाई मात्र प्रणाम गर्छौ र तिनीहरूलाई आशिष्‌‌ दिन परमेश्‍वरमा विन्‍ती गर्छौ भने, तिमीहरूले अरू मानिसहरूलेभन्दा असल केही गरेका हुँदैनौ । परमेश्‍वरका आज्ञाहरू नमान्‍ने गैर-यहूदीहरूले पनि त्यसैो गर्छन् ! 48 यसैले स्‍वर्गमा हुनुहुने तिमीहरूका पिता परमेश्‍वरप्रति तिमीहरू पुर्णरूपमा विश्‍वासयोग्‍य हुनुपर्छ, जस्‍तो उहाँ तिमीहरूप्रति पुर्णरूपमा विश्‍वासयोग्‍य हुनुपर्छ । ”