4

1 त्यसपछि शैतानले येशूको परीक्षा गरोस् भनी परमेश्‍वरको आत्माले उहाँलाई उजाड-स्थानमा लानुभयो । 2 चालिस दिनसम्‍म दिन र रात उहाँले खाना नखाएपछि, उहाँ भोकाउनु भयो । 3 शैतान, परिक्षक उहाँकहाँ आयो र भन्यो “यदि तपाईं साच्‍चै परमेश्‍वरका पुत्र हुनुहुन्छ भने, यी ढुङ्गाहरूलाई तपाईंको निम्ति रोटी हुनलाई भन्‍नुहोस् !” 4 तर येशूले त्यसलाई भन्‍नुभयो, “होइन! म यो गर्ने छैन किनभने धर्मशास्‍त्रमा परमेश्‍वरले भन्‍नुभएको छ, ‘मानिसहरूलाई साँच्‍चिकै जिउनका लागि, खानाभन्दा पनि बढी कुरा तिनीहरूसँग हुनुपर्छ; परमेश्‍वरले बोल्‍नुभएको हरेक वचन तिनीहरूले सुन्‍नुपर्छ ।’” 5 त्यसपछि शैतानले येशूलाई परमेश्‍वरको निम्ति विशेष सहर यरूशलेममा लग्‍यो । त्‍यसले उहाँलाई मन्दिरको सबभन्दा अग्लो भागमा राख्यो 6 र उहाँलाई भन्यो, “यदि तपाईं साँच्‍चै परमेश्‍वरको पुत्र हुनुहुन्छ भने, जमिनमा हाम फाल्नुहोस् । तपाईंलाई वस्‍तवमै चोट लाग्‍ने छैन, किनभने परमेश्‍वरले धर्मशास्‍त्रमा भन्‍नुभएको छ, ‘परमेश्‍वरले स्वर्गदूतहरूलाई तपाईंको सुरक्षा गर्न आज्ञा गर्नुहुने छ । तपाईं तल झर्दै गर्दा तिनीहरूले तपाईंलाई आफ्‍ना हातहरूमा उचाल्‍ने छन् र तपाईंको खुट्टा ढुङ्गामा ठोकिनबाट तिनीहरुले तपाईंलाई जोगाउने छन् ।’” 7 तर येशूले भन्‍नुभयो, “होइन ! म तल हामफाल्ने छैन, किनभने परमेश्‍वरले पनि धर्मशास्‍त्रमा भन्‍नुभएको छ, ‘उहाँ को हुनुहुन्छ भनी आफ्‍नो परमेश्‍वरलाई प्रमाणित गर्न लगाउने कोसिस नगर ।’” 8 त्यसपछि शैतानले उहाँलाई एउटा धेरै अग्लो पहाडको चुचुरोमा लग्‍यो । संसारमा भएका सबै राज्‍यहरू र ती राज्‍यहरूमा भएका वैभवशाली कुराहरू त्‍यहाँ त्‍यसले उहाँलाई देखायो । 9 तब त्‍यसले उहाँलाई भन्यो, “यदि तपाईं घोप्‍टो पर्नुभयो र मेरो आराधना गर्नुभयो भने,बम तपाईंलाई यी सबै राज्‍यहरूमा शासन गर्न दिने छु र तिनीहरूमा भएका वैभवशाली कुराहरू तपाईंलाई दिने छु ।” 10 तर येशूले त्‍यसलाई भन्‍नुभयोः “होइन ! म तेरो आराधना गर्ने छैन, शैतान, यसैले दूर गइहाल! परमेश्‍वरले धर्मशास्‍त्रमा भन्‍नुभएको छ, ‘परमप्रभु आफ्‍ना परमेश्‍वरमा मात्र तैँले घोप्‍टो पर्नुपर्छ र उहाँको मात्र आराधना गर्नुपर्छ !’” 11 त्यसपछि शैतान त्यहाँबाट गयो, र त्यो क्षणमा, स्वर्गदूतहरू येशूकहाँ आए र उहाँको रखदेख गरे । 12 येशू यहूदिया प्रान्तमा हुनुहुँदा, बप्‍तिस्‍मा दिने यूहन्‍नाका चेलाहरू आए र हेरोद राजाले यूहन्‍नालाई झ्यालखानमा हाले भनी उहाँलाई भने । यसैले येशू गालील जिल्लाको नासरत नगरमा फर्कनुभयो । 13 त्यसपछि उहाँले नासरत छोड्‍नुभयो र बसोबास गर्नको निम्‍ति कफर्नहुम सहरमा जानुभयो । कफर्नहुम गालील समुद्रको छेउमा पहिलेको जबूलून र नप्‍ताली कुलहरूको क्षेत्रमा अवस्‍थित थियो । 14 उहाँ त्यहाँ जानुभयो ता कि यशैया अगमवक्‍ताले धेरै अघि लेखेका वचनहरू पुरा हुन सकोस् : 15 “जबूलून र नप्‍तालीको क्षेत्र, यर्दन नदीको पुर्वमा भएको, समुद्रमा जाने बाटोको क्षेत्रहरू, गालीलका क्षेत्रहरू, धेरै गैर-इस्राएलीहरूका बासस्‍थान ! 16 ती मानिसहरू अन्धकारमा भएझैँ, तिनीहरूले परमेश्‍वरलाई चिन्दैनन्, तर तेजिलो प्रकाश तिनीहरूमाथि चम्किएझैँ, तिनीहरूले सत्य जान्‍नेछन् । हो, तिनीहरू मर्नलाई अत्‍यन्‍तै डराएका छन्, तर तजिलो प्रकाश तिनीहरूमाथि चम्केको छ !” 17 त्यस समयमा, येशू कफर्नहुम सहरमा हुनुहुँदा, उहाँले मानिसहरूलाई प्रचार गर्न सुरु गर्नुभयो, “स्‍वर्गबाट परमेश्‍वरको राज्‍य चाँडै आउँदै छ, र उहाँले राज्‍य गर्नुहुँदा उहाँले तिमीहरूको न्‍याय गर्नुहुने छ । यसैले पाप गर्न छोड !” 18 एकदिन येशू गालीलको समुद्र छेउमा हिँड्‍दै गर्नुहुदाँ, उहाँले दुईजना मानिसहरू, सिमोन जसलाई पछि पत्रुस भनियो र तिनको भाइ अन्द्रियासलाई देख्‍नुभयो । तिनीहरू पानीमा आफ्‍ना माछा मार्ने जाल हान्‍दै थिए, किनभने तिनीहरू माछा समाउँथे र बेच्‍थे । 19 येशूले तिमीहरूलाई भन्‍नुभयो, “मसँग आओ, र मेरा चेलाहरू हुनलाई मानिसहरू कसरी जम्‍मा गर्नुपर्छ, म तिमीहरूलाई सिकाउने छु । म तिमीहरूलाई मानिसहरू पक्रिने काम दिने छु ।” 20 तिनीहरूले गर्दै रहेका कामलाई तिनीहरूले तुरुन्तै छोडे र उहाँसँग गए । 21 उहाँहरू तिनैजना त्‍यहाँबाट हिंड्‍नुहुँदा, यशूले अरू दुईजना मानिसहरू, याकूब र तिनका भाइ यूहन्‍नालाई देख्‍नुभयो । तिनीहरू आफ्ना पिता जब्‍दियासँग ढुङ्गामा आफ्‍ना माछा मार्ने जालहरू मर्मत गर्दै थिए । येशूले तिनीहरूलाई भन्‍नुभयो कि तिनीहरूले आफ्‍ना काम छोड्नुपर्छ र उहाँसँग जानुपर्छ । 22 तुरुन्तै तिनीहरूले पनि आफ्ना डुङ्गा र आफ्‍ना बुबालाई छाोडे र येशूसँग गए । 23 येशूले ती चारैजना मानिसहरूलाई गालील जिल्लाभरि लानुभयो । उहाँले सभाघरहरूमा मानिसहरूलाई सिकाउँदै हुनुहुन्थ्यो । परमेश्‍वरले कसरी राज्‍य गर्दै हुनुहुन्‍छ भन्‍ने बारेमा उहाँले सुसमाचार प्रचार गर्दै हुनुहुन्‍थ्‍यो । उहाँले बिरामी भएका सबै मानिसहरूलाई निको पनि पार्दै हुनुहुन्‍थ्‍यो । 24 जब सिरिया जिल्‍लाको अरू भागहरूमा बसोबास गर्ने मानिसहरूले उहाँले गर्नुभएको कामको बारेमा सुने, बिरामीले ग्रस्‍त मानिसहरू, विभिन्‍न रोगले ग्रस्‍त मानिसहरू, गम्‍भीर दुखाइले ग्रस्‍त मानिसहरू, भूतहरूले अधीन गरेका मानिसहरू, छारे रोगहरू लागेका मानिसहरू र पक्षघात भएका मानिसिहरूलाई तिनीहरूले उहाँकहाँ ल्‍याए । र येशूले उनीहरूलाई निको पार्नु भयो । 25 त्यसपछि ठुला भिडहरू उहाँको पछि जान लागे । तिनीहरू गालीलबाट, दश सहरहरूबाट, यरूशलेम सहरबाट, यहूदिया प्रान्तको अरू भागहरूबाट, र यर्दन नदीको पूर्वी क्षेत्रहरूबाट आएका मानिसहरू थिए ।