1 येशू नासरतको नगरमा हुनुभएको बेलामा, यूहन्ना, जसलाई मानिसहरूले बप्तिस्मा दिने भन्थे, यहूदिया प्रान्तको एउटा उजाड-स्थान गए । तिनले त्यहाँ आएका मानिसहरूलाई प्रचार गर्दै थिए । तिनले भनिरहे, 2 “तिमीहरूले पाप गर्न छोड्नैुपर्छ, किनभने स्वर्गबाट परमेश्वरको राज्य चाँडै आउँदैछ, र तिमीहरूले पाप गर्न छोडेनौ भने उहाँले तिमीहरूलाई इन्कार गर्नुहुनेछ ।” 3 यूहन्नाले प्रचार गर्न सुरु गर्दा, यशैया अगमवक्ताले धेरै अघि जे भनेका थिए त्यो सत्य हुन आयो । तिनले भने, “उजाड-स्थानमा मानिसहरूले कसैले हरेकलाई कराउँदै गरेको सुन्छन्, ‘परमप्रभु आउनुहुँदा उहाँलाई ग्रहण गर्न तयार होओ ! उहाँको निम्ति सबै कुरा तयार गर !’” 4 यूहन्नाले ऊँटको रौंबाट बनेको खस्रो कपडा लगाए । धेरै अघि एलिया अगमवक्ताले गरेझैं, तिनले आफ्नो कम्मरमा छालाको पेटी लगाए । तिनको खाना उजाड-स्थानमा पाइने फटेङ्ग्राहरू र वनमह मात्र थियो । 5 यरूशलेम सहरमा बस्ने मानिसहरू, यहूदिया जिल्लाको अन्य ठाउँहरूमा बस्ने धेरै मानिसहरू, र यर्दन नदी नजिकै बस्ने धेरै अरूहरू यूहन्नाले प्रचार गरेको सुन्न तिनीकहाँ आए । 6 तिनीहरूले उनको प्रचार सुनेपछि, तिनीहरूले खुलारुपले आफ्ना पापहरू स्वीकार गरे, र त्यसपछि उनले यर्दन नदीमा तिनीहरूलाई बप्तिस्मा दिए । 7 तर धेरै फरिसीहरू र सदुकीहरू पनि यूहन्नाबाट बप्तिस्मा लिनलाई आउँदै गरेको उनले देखे । उनले तिनीहरूलाई भने, “तिमीहरू विषालु सर्पहरूका सन्तान हौ ! पाप गर्नेहरू हरेकलाई एकदिन परमेश्वरले दण्ड दिनुहुनेछ भनेर तिमीहरूलाई कसैले पनि चेतावनी दिएन, दिए त ? तिमीहरू उहाँबाट उम्कन पाउँछौ भन्ने नसोच !” 8 तिमीहरू साँच्चै पाप गर्न छोड्छौ भने, त्यो देखाउनलाई ठिक कामहरू गर । 9 म जान्दछु कि परमेश्वरले अब्राहामका सन्तानहरूसँग रहने प्रतिज्ञा गर्नुभयो । तर आफैंँमा यसो नभन, ‘हामीहरू आफ्ना पुर्खा अब्राहामका सन्तानहरू भएका हुनाले, हामीले पाप गरे तापनि परमेश्वरले हामीलाई दण्ड दिनुहुने छैन ।’ होइन ! म तिमीहरूलाई भन्छु कि यहाँ भएका यी ढुङ्गाहरूलाई उहाँले अब्राहामका सन्तानहरूमा बदल्न सक्नुहुन्छ ! 10 एकजना मानिसले असल फल नदिने फलको एउटा रूखको जराहरू काटेर हटाउन सुरु गरेजस्तै परमेश्वरले अहिले नै तिमीहरूलाई दण्ड दिन तयार हुनुहुन्छ । यसरी उहाँले हरेक रूखलाई काट्नुहुनेछ र त्यसलाई आगोमा फ्याँक्नुहुनेछ ।” 11 मेरो बारेमा, म धेरै महत्वपूर्ण होइन, किनभने म तिमीहरूलाई पानीले मात्र बप्तिस्मा दिन्छु । पाप गरेको निम्ति मानिसहरूले पश्चाताप गर्छन् भने म त्यसो गर्छु । तर कोही एकजना चाँडै नै आउँनुहुनेछ जसले धेरै शक्तिशाली कामहरू गर्नुहुनेछ । उहाँ मभन्दा यति धेरै महान हुनुहुन्छ कि म उहाँका जुत्ताहरू बोक्न पनि लायकको छैन । उहाँले तिमीरूुलाई पवित्र आत्मामा र आगोमा बप्तिस्मा दिनुहुनेछ । 12 खराब भूसबाट असल अन्न छट्याउन तयार भएर उहाँले आफ्नो निफन्ने नाङ्लो समात्दै हुनुहुन्छ । उहाँले अन्न जम्मा गर्नुभएको खलोबाट सबै खराब भुसलाई सफा गर्न उहाँ तयार हुनुहुन्छ । उहाँले धर्मी मानिसहरूलाई घरमा लानुहुनेछ, जसरी एकजना किसानले आफ्नो गहुँलाई आफ्नो भण्डारमा राख्छ; तर जसरी कसैले कहिल्यै ननिभ्ने आगोमा भुसलाई जलाउँछ, त्यसरी नै उहाँले दुष्ट मानिसहरूलाई जलाउनुहुनेछ । 13 त्यो समयमा, येशू गालील जिल्लाबाट यूहन्ना भएको ठाउँ यर्दन नदीमा जानुभयो । यूहन्नाले उहाँलाई बप्तिस्मा दिन सकून् भनी उहाँले यसो गर्नुभयो । 14 जब येशूले यूहन्नालाई उहाँलाई बप्तिस्मा दिनु भन्नुभयो, यूुहन्नाले इन्कार गरे; उनले भने, “तपाईंले मलाई बप्तिस्मा दिनु आवश्यक छ ! तर तपाईं एक पापी होइन, यसैले तपाईं किन मकहाँ आउनुहुन्छ ?” 15 तर येशूले तिनलाई भन्नुभयो, “मलाई अहिले बप्तिस्मा देऊ, किनभने यसरी नै हामी दुवैले परमेश्वरको हरेक इच्छा पुरा गर्ने छौं ।” त्यसपछि यूहन्नाले उहाँलाई बप्तिस्मा दिन सहमत भए । 16 त्यसपछि, येशू तुरुन्तै पानीबाट माथि आउनुभयो । त्यतिबेला आकाश खुलेको जस्तो भयो, र एउटा ढुकुरको स्वरूपमा परमेश्वरको आत्मा तल आउँदै र उहाँमा बस्दै गर्नुभएको येशूले देख्नुभयो । 17 अनि परमेश्वर स्वर्गबाट बोल्नुभयो र भन्नुभयो, “यिनी मेरा छोरा हुन् । म यिनीलाई प्रेम गर्छु, र म यिनीसँग धेरै खुशी छु । ”