6

1 तिमीहरूले असल कामहरू गर्दा, तिमीहरूले गरेका ती कुराहरू मानिसहरूले देख्‍ने छन् भनेर नगर्नलाई तिमीहरू पक्‍का हुनुपर्छ । यदि त्‍यो कारणले तिमीहरूले असल कामहरू गर्छौ भने, स्वर्गमा हुनुहुने परमेश्‍वर तिमीहरूका पिताले तिमीलाई कुनै इनाम दिनुहुने छैन । 2 यसैले तिमीहरूले गरीबहरूलाई केही कुरा दिंदा, तुरही बजाएझैँ, अरू मानिसहरूले त्‍यसको जानकारी नपाओस् । मानिसहरूले तिनीहरूको प्रशंसा गरून् भनेर कपटीहरूले सभाघरहरू र बाटोहरूमा त्‍यसो गर्छन् । कपटीहरूले पाउने इनाम त्‍यति मत्रै हो ! 3 तिनीहरूले गरेजस्तै गर्नुको साटोमा, तिमीहरूले गरीबहरूलाई केही कुरा दिंदा, तिमीहरूले जे गर्दै छौ त्‍यो अरू मानिसहरूलाई जानकारी नदेओ । 4 त्‍यसरी तिमीहरूले गरीबहरूलाई गुप्‍तमा दिने छौ । परिणामस्‍वरूप, तिमीहरूले गरेका काम अरू कसैले नदेखे पनि तिमीहरूलाई हेर्नुहुने परमेश्‍वर तिमीहरूका पिताले तिमीहरूलाई इनाम दिनुहुने छ । 5 “अझ अरू तिमीहरूले प्रार्थना गर्दा, कपटीहरूले जे गर्छन् त्‍यो नगर । अरू मानिसहरूले तिनीहरूलाई देख्‍ने छन् र तिनीहरूका बारेमा उच्‍च विचार राख्‍ने छन् भनेर तिनीहरू प्रार्थना गर्नलाई सभाघरहरूमा र मुख्‍य बाटोहरूका छेउमा खडा हुन मन पराउँछन् । तिनीहरूले पाउने इनाम त्‍यति मत्रै हो । 6 तर तिमीहरूका बारेमा, जब तिमीहरू प्रार्थना गर्छौ, आफ्नो गुप्‍त कोठामा जाऊ र कसैले नदेख्‍ने तिमीहरूका पिता परमेश्‍वरसँग प्रार्थना गर्नलाई ढोका बन्द गर । उहाँले तिमीहरूलाई हेर्नुहुन्‍छ र तिमीहरूलाई इनाम दिनुहुने छ । 7 तिमीहरूले प्रार्थना गर्दा, परमेश्‍वरलाई नचिन्‍ने मानिसहरूले प्रार्थना गर्दाजस्तै शब्‍दहरूलाई धेरैपल्‍ट नदोर्‍याऊ । तिनीहरूले विचार गर्छन् कि यदि तिनीहरूले धेरै शब्‍दहरूको प्रयोग गरे भने तिनीहरूका देवताहरूले तिनीहरूको प्रार्थना सुन्छन् र तिनीहरूले मागेका कुरा दिन्छन् । 8 तिनीहरूले गरेजस्तै शब्दहरू नदोर्‍याऊ, किनभने तिमीहरूले उहाँसँग माग्‍नुभन्दा पहिले नै तिमीहरूलाई के खाँचो छ भनी परमेश्‍वर तिमीहरूका पिताले जान्‍नुहुन्‍छ । 9 यसैले यसरी प्रार्थना गरः ‘पिता, तपाईं जो स्वर्गमा हुनुहुन्‍छ, हरेकले तपाईंको आदर गरून् । 10 हरेक व्‍यक्ति र हरेक कुरामा पूर्णरूपमा तपाईंको राज्‍य होस् । तपाईंले इच्छा गर्नुभएजस्‍तै पृथ्वीमा हरेक कुरा हुन आओस्, जसरी स्वर्गमा हुन आउँछ । 11 हामीलाई प्रत्‍येक दिन त्‍यो दिनको निम्‍ति आवश्‍यक भोजन दिनुहोस् । 12 हाम्रा पापहरू क्षमा गर्नुहोस्, जसरी हाम्रा विरुद्धमा पाप गरेका मानिसहरूलाई हामी क्षमा गर्छौं । 13 हामी परीक्षामा पर्दा, हामीलाई खराब कुराहरू गर्नबाट जोगाउनुहोस्, र शैतानले हामीलाई हानि गर्न खोज्‍दा हामीलाई छुटकारा दिनुहोस् ।’ 14 तिमीहरूको विरूद्धमा पाप गर्ने मानिसहरूलाई क्षमा गर, किनभने, यदि तिमीहरूले गर्‍यौ भने, परमेश्‍वर, स्वर्गमा हुनुहुने तिमीहरूका पिताले तिमीहरूका पापहरू क्षमा गर्नुहुने छ । 15 तर यदि तिमीहरूले अरू मानिसहरूलाई क्षमा गरेनौ भने परमेश्‍वरले पनि तिमीहरूको पापहरू क्षमा गर्नुहुने छैन । 16 जब परमेश्‍वरलाई खुशी पार्नलाई तिमीहरूले खाना खाँदैनौ तब उदास देखा नपर जस्‍तो कपटीहरू देखिन्‍छन् । तिनीहरूले खाना खाइ रहेका छैनन् भनी मानिसहरूलाई देखाउनको निम्‍ति तिनीहरूले आफ्नो अनुहार उदास देखिने बनाउँछन् । याद राख कि ती मानिसहरूले पाउने इनाम त्‍यति मत्रै हो ! 17 त्‍यसको साटो, तिमीहरू प्रत्‍यकले, जब तिमीहरू खाना खाँदैनौ, आफ्‍नो कपाल कोर्नुपर्छ र सदाझैँ आफ्‍नो अनुहार धुनुपर्छ, 18 यसकारण तिमीहरू उपवास बसेका छौ भनेर अरू मानिसहरूले थाहा पाउने छैनन् । तर कसैले देख्‍न नसक्‍ने परमेश्‍वर तिमीहरूका पिताले तिमीहरूले खाना खाँदै छैनौ भनी हेर्नुहुने छ । कसैले तिमीहरूलाई नदेखे तापनि उहाँले तिमीहरूलाई देख्‍नुहुन्‍छ, र उहाँले तिमीहरूलाई इनाम दिनुहुने छ । 19 आफ्नो निम्‍ति यस पृथ्वीमा स्वार्थपूर्णरूपले पैसा र भौतिक कुराहरू धेरै मात्रमा जम्‍मा नगर, किनभने पृथ्वी नै हो जहाँ हरेक कुरा नष्‍ट हुन्‍छन् – जहाँ किराहरूले लुगालाई सखाप पार्छन्, धातुहरूलाई खियाले नाश गर्छन्, र चोरहरूले अरू मानिसहरूका सामान चोर्छन् । 20 यसको साटोमा, परमेश्‍वरलाई खुशी पार्ने कामहरू गर ता कि तिमीहरूले स्‍वर्गमा धन-सम्‍पति जम्‍मा गर्छौ । स्वर्गमा कुनै कुरा पनि नाश हुँदैन । स्वर्गमा किराहरूले लुगा सखाप पार्ने छैनन्, त्‍यहाँ खियाँ छैन, र त्‍यहाँ चोरहरू छैनन् जसले चोर्न सक्‍छन् । 21 याद गर कि तिमीहरूका निम्‍ति जे सबभन्‍दा महत्त्‍वपूर्ण हुन्छ, त्‍यसकै बारेमा तिमीहरूले सोच्दै रहने छौ । 22 “तिमीहरूका आखाँ तिमीहरूका शारीरको निम्ति बत्ती जस्तै हो, किनभने तिनीहरूले तिमीहरूलाई कुराहरू देख्‍न सक्‍ने बनाउँछ । यसैले यदि परमेश्‍वरले जसरी कुराहरू हेर्नुहुन्‍छ त्‍यसरी तिमीहरूले ती हेर्छौ भने, त्‍यो तिमीहरूको सम्पूर्ण शरीर नै ऊज्‍यालो भएजस्‍तै हुने छ । 23 तर तिमीहरूका आखाँ खराब छन् भने, तिमीहरूले कुराहरू राम्रोसँग देख्‍न सक्दैनौ । तिमीहरू पुरा अन्धकारमा हुने छौ । तिमीहरू कति लालची हुने छौ ! 24 “कसैले पनि एकै समयमा दुई भिन्‍न मालिकहरूको सेवा गर्न सक्दैन । यदि उसले त्‍यसो गर्ने कोसिस गर्‍यो भने, उसले तिनीहरूमध्‍ये एउटालाई घृणा गर्छ र अर्कोलाई प्रेम गर्छ, वा तिनीहरूमध्‍ये एउटासँग ऊ निष्‍ठवान बन्‍छ र अर्कोलाई हेला गर्छ । यसरी नै तिमीहरूले एकै समयमा परमेश्‍वर र पैसाको आरधना गर्न सक्दैनौ । ” 25 त्‍यसकारणले म तिमीहरूलाई भन्छु कि तिमीहरुलाई बाँच्‍नको निम्‍ति आवश्‍यक पर्ने कुराहरूका बारेमा तिमीहरूले चिन्‍ता गर्नुहुँदैन । खानलाई पुग्‍ने खानेकुराहरू र पिउने कुराहरू वा लगाउन पुग्‍ने लुगाहरू तिमीहरूसँग हुने छन् कि छैनन् भन्‍ने बारेमा चिन्‍ता नगर । तिमीहरूले आफ्‍नो जीवनहरूमा गर्ने व्‍यवहार ती कुराहरूभन्‍दा बढी महत्‍वपूर्ण हुन्‍छ । 26 चराहरूका बारेमा विचार गर । तिनीहरूले बिउहरू रोप्‍दैनन्, र तिनीहरूले अन्‍नहरू जम्‍मा गर्दैनन् वा उब्‍जनीलाइ भण्‍डारहरूमा जम्‍मा गर्दैनन् । तिनीहरूसँग सधैँ खानलाई भोजन हुन्छ, किनभने स्वर्गमा हुनुहुने परमेश्‍वर तिमीहरूका पिताले तिनीहरूका लागि भोजन जुटाउनु हुन्छ । 27 तिमीहरुमध्‍ये कसैले पनि चिन्ता गरेर आफ्‍नो जीवनमा वर्षहरू थप्‍न सक्दैनौ । तिमीहरूले एक मिनेट पनि आफ्‍नो जीवनमा थप्‍न सक्दैनौ ! यसैले तिमीहरूलाई आवश्‍यक पर्ने कुराहरूको बारेमा तिमीहरूले चिन्ता गर्नुहुँदैन । 28 लगाउन पुग्‍ने लुगाहरू तिमीहरूसँग हुने छन् कि छैनन् भन्‍ने बारेमा पनि तिमीहरूले चिन्‍ता गर्नुहुँदैन । खेतबारीमा फूलहरू कसरी बड्‍छन् त्‍यसको बारेमा विचार गर । तिनीहरू पैसा कमाउनलाई काम गर्दैनन्, र तिनीहरूले आफ्नो लागि आफैँले लुगाहरू बनाउँदैनन् । 29 तर म तिमीहरूलाई भन्छु कि धेरै पहिले जीवन बिताएका सोलोमन राजाले अति सुन्दर लुगाहरू लगाए तापनि, तिनका लुगाहरू ती फूलहरूमध्‍ये एउटा जति सुन्दर पनि थिएनन् । 30 परमेश्‍वरले जङ्गलका वोटबिरुवालाई अति सुन्‍दर बनाउनुहुन्‍छ, तर तिनीहरू जमिनमा थोरै समयको लागि मात्र बड्‍छन् । तिनीहरू एकदिनमा बढ्‍छन्, र अर्कोदिनमा तिनीहरूलाई बाल्‍नलाई मानिसहरूले तिनीहरूलाई अगेनोमा हाल्‍ने छन् । तर परमेश्‍वरको निम्‍ति जङ्गलका वोटबिरुवाभन्‍दा तिमीहरू धेरै महत्त्‍वपूर्ण छौ, र तिमीहरू बढी लामो समय जीवन बिताउँछौ । यसैले तिमीहरू जोसँग अति थोरै विश्‍वास छ, परमेश्‍वरमा विश्‍वास गर ! 31 यसैले चिन्‍ता नगर र यसो नभन, ‘के हामीसँग खानलाई कुनै कुरा होला त ?’ वा के हामीसँग पिउनलाई कुनै कुरा होला त ?’ वा ‘के हामीसँग लगाउनलाई लुगाहरू होला त ?’ 32 परमेश्‍वरलाई नचिन्‍नेहरूले त्‍यस्‍ता कुराहरूको बारेमा सधैँ चिन्ता गर्दै रहेका हुन्‍छन् । तर स्वर्गमा हुनुहुने तिमीहरूका पिता परमेश्‍वरले तिमीहरूलाई यी सबै कुराहरूको आवश्‍यक्‍ता छ भनी जान्‍नुहुन्छ । 33 त्‍यसको साटो यस कुरालाई सबभन्‍दा महत्‍वपूर्ण बनाओ कि परेमेश्‍वरले समस्‍त संसारमा राज्‍य गर्नुपर्छ र उहाँका इच्‍छाहरू के के छन् ती हरेकले पुरा गर्नुपर्छ । यदि तिमीहरूले त्‍यसो गर्छौ भने, उहाँले तिमीहरूलाई आवश्‍यक्‍ता पर्ने सबै कुराहरू दिनुहुने छ । 34 यसैले तिमीहरूको जीवनमा भोलि के होला भन्‍ने बारेमा चिन्तित नहोओ, किनभने जब त्‍यो दिन आउँछ, तिमीहरूसँग चिन्‍ता गर्नलाई प्रसस्‍त कुरा हुने छन् । यसैले समयभन्‍दा पहिले नै चिन्ता नगर ।”