1 ठीक त्यसै समयमा चेलाहरूले येशूकहाँ आए र उहाँलाई सोधे, “परमेश्वरले स्वर्गबाट तपाईंलाई राजा बनाउनुहुँदा, हामीहरूमध्ये को सबभन्दा बढी प्रतिष्ठित हुने छौं ?” 2 येशूले एउटा बालकलाई बोलाउनुभयो र उसलाई तिनीहरू माझमा राख्नुभयो । 3 उहाँ भन्नुभयो, “म तिमीहरूलाई सत्य भन्छुः तिमीहरू बदलिएनौ र साना बालबालिकाझैं विनम्र भएनौ भने, निश्चिय नै तिमीहरू स्वर्गको परमेश्वरको राज्यमा आउने छैनौ । 4 यस बालकलेझैं विनम्र हुने मानिसहरू नै स्वर्गबाट परमेश्वरले राज्य गर्नुहुँदा सबभन्दा बढी प्रतिष्ठित मानिसहरू हुने छन् । 5 अनि, जब मानिसहरूले मलाई प्रेम गरेको कारणले तिनीहरूले यस्तो एउटा बालकलाई स्वगत गर्छन्, तिनीहरूले मलाई नै स्वागत गर्दै छन् भनी परमेश्वर ठान्नुहुन्छ ।” 6 “एकजना व्यक्तिले मलाई विश्वास गर्ने कसैलाई पापमा पार्छ भने, मानिसहरूले यो सानो बालकझैं प्रतिष्ठारहित भनी सोचेको व्यक्ति भए तापनि, परमेश्वरले निश्चय नै त्यस व्यक्तिलाई दण्ड दिनुहुने छ । कसैले त्यस व्यक्तिको घाँटीमा गह्रौ ढुङ्गा बाँधेर समुद्रको गहिरो भागमा फालेको भन्दा पनि नराम्रो दण्ड परमेश्वरले उसलाई दिनुहुने छ ! 7 अरूहरूलाई पाप गर्न लगाउने मानिसहरूलाई कति डरलाग्दो हुने छ । पाप गर्ने परीक्षाहरू सधैं आइरहन्छन्, तर अर्को व्यक्तिलाई पाप गर्न लगाउने कुनै पनि व्यक्तिलाई कति डरलाग्दो हुने छ । 8 यसैले तिमीहरूका हातहरू वा खुट्टाहरूमध्ये एउटालाई पाप गर्न प्रयोग गर्ने इच्छा हुन्छ भने, त्यो हात वा खुट्टालाई प्रयोग गर्न छोड ! तिमीहरूले त्यसलाई काटेर फालेपछि पाप गर्ने छैनौ भने काटेर फाल ! मानौं, तिमीहरूसँग दुवै हातहरू र दुवै खुट्टाहरू भएको र तिमीहरूका पापको कारणले परमेश्वरले तिमीहरूलाई नरकको अनन्त आगोमा फालेकोभन्दा तिमीहरूसँग एउटा हात वा एउटा खुट्टा मात्र भएको र परमेश्वरसँग सदासर्वदा बास गरेको कति धेरै असल हो । 9 हो र तिमीले देखेको कुराले तिमीलाई पाप गर्ने इच्छा हुन्छ भने, ती कुराहरू हेर्न छोड ! पाप गर्न छोड्नलाई तिमीहरूले आफ्ना आँखाहरूमध्ये एउटालाई निकाल्नु र त्यसलाई फाल्नुपर्छ भने निकालेर फाल । मानौं, तिमीहरूसँग दुवै आँखाहरू भएको र परमेश्वरले तिमीहरूलाई नरकको अनन्त आगोमा फालेकोभन्दा तिमीहरूसँग एउटा आँखा मात्र भएको र परमेश्वरसँग सदासर्वदा बास गरेको कति धेरै असल हो ।” 10 “यी बालबलिकामध्ये एउटालाई पनि हेलाको दृष्टिले नहेर्न पक्का होओ । म तिमीहरूलाई साँच्चै भन्छु कि तिमीहरूले बालबलिकालाई दुर्व्यवहार गर्यौ भने तिनीहरूको रक्षा गर्ने स्वर्गदूतहरू सधैं मेरो पिताकहाँ जान्छन् र उहाँलाई खबर गर्छन् । 11 प्राचीन सर्वोत्कृष्ट पाण्डुलिपिमा पद ११ मेटिएको छ । किनकि मानिसको पुत्र हराएकोलाई बचाउन आयो । 12 यस्तो परिस्थितिमा तिमीहरूले गर्नेछौ भनी तिमीहरू विचार गर्छौ ? तिमीहरूसँग एक सयवटा भेडाहरू थिए र तीमध्ये एउटा हरायो भने, तिमीहरूले निश्चय नै डाँडातिर भएका उन्नानसय वटालाई छोड्छौ र जान्छौ र त्यो हराएको एउटालाई खोज्छौ, खोज्दैनौ र ? 13 तिमीहरूले त्यसलाई भेट्टायौ भने, म पक्का भन्छु कि तिमीहरू धेरै आनन्दित हुन्छौ । उनान्सय वटा भेडाहरू नहराएकोमा तिमीहरूका खुशी हुन्छौ, तर तिमीहरूले हराएको भेडा भेट्टाएकोमा तिमीहरू अझै धेरै आनन्दित हुनेछौ । 14 जसरी गोठालोले आफ्नो एउटा भेडा पनि नहराओस् भन्ने इच्छा गर्छ, त्यसरी नै, स्वर्गमा हुनुहुने तिमीहरूका परमेश्वर पिताले यी बालकहरूमध्ये एउटा पनि नरक नजाओस् भन्ने इच्छा गर्नुहुन्छ ।” 15 “एकजना विश्वासी भाइले तिम्रो विरुद्धमा पाप गर्छ भने, ऊ एक्लै हुँदा तिमी उसकहाँ जाऊ, र तिम्रो विरुद्धमा पाप गरेकोले उसलाई हप्काऊ । त्यो व्यक्तिले तिम्रो कुरा सुन्छ र तिम्रो विरुद्धमा पाप गरेकोमा दुःखी हुन्छ भने, तिमी र ऊ फेरि एकपल्ट असल दाजुभाइ हुनेछौ । 16 यद्यपि त्यो व्यक्तिले तिम्रो कुरा सुन्दैन भने, जाऊ र एक वा दुई अरू विश्वासीहरू भेट्टाऊ । तिनीहरूलाई तिमीसँग लैजाऊ, जस्तो व्यवस्थाले भन्छ, “हरेक दोष प्रमाणित गर्न दुई वा तीन जना गवाहीहरू हुनुपर्छ ।” 17 तिम्रो विरुद्ध पाप गर्नेले तिनीहरूलाई पनि सुन्दैन भने, सम्पूर्ण सभालाई त्यो कुरा भन ता कि तिनीहरूले उसलाई सच्याउन सक्छन् । र त्यो व्यक्तिले सभाको कुरा पनि सुन्दैन भने, जसरी तिमीहरूले अन्याजातिहरू र कर उठाउँनेहरूलाई आशाहीन पापीहरू ठानेर गर्छौ, त्यसरी नै उसलाई तिमीहरूका माझबाट बहिस्कार गर । 18 यो कुरा मनमा राखः तिमीहरूको सभाको एकजना सदस्यलाई दण्ड दिने वा नदिने बारेमा पृथ्वीमा तिमीहरूले जे निर्णय गर्छौ, स्वर्गमा हुनुहुने परमेश्वरद्वारा पनि त्यो निर्णय भएको हुन्छ । 19 यो कुरा पनि ध्यान देओः यहाँ पृथ्वीमा बसोबास गर्ने तिमीहरूमध्ये कमासेकम दुईजना एकसाथ सहमत भएर तिमीहरूले जुनसुकै कुराको निम्ति पनि बिन्ति गर्छौ भने, तिमीहरूले मागेको कुरा स्वर्गमा हुनुहुने मेरा पिताले दिनुहुनेछ । 20 यो सत्य हो, किनभने तिमीहरूले मलाई विश्वास गरेको कारणले जहाँ तिमीहरूमध्ये कमसेकम दुई वा तीनजना मेरो नाउँमा भेला हुन्छौ, म तिमीहरूसित हुन्छु ।” 21 यसपछि पत्रुस येशूकहाँ आए र उहाँलाई भने, “मेरा विरुद्धमा पाप गरिरहने विश्वासीलाई मैले कतिपल्ट क्षमा गर्नुपर्छ ? उसलाई क्षमा गर्न मसँग उसले बिन्ती गरिरहन्छ भने, के मैले उसलाई सातपल्टसम्म पनि क्षमा गर्नुपर्छ ?” 22 येशूले तिनलाई भन्नुभयो, “म तिमीलाई भन्छु, तिमीले कसैलाई क्षमा गर्नुपर्ने संख्या सातपल्ट मात्र होइन, तर तिमीले उसलाई सत्तरी गुणा सात पल्ट क्षमा गर्नुपर्छ । 23 स्वर्गबाट परमेश्वरको राज्य एकजना राजा र तिनका अधिकारीहरू जस्तै हो । तिनका अधिकारीहरूले तिनलाई तिर्नुपर्ने ऋण तिनीहरूले तिरून् भन्ने तिनको इच्छा थियो । 24 यसैले राजाकहाँ ती अधिकारीहरू तिनीसितको आफ्ना हिसाबहरू मिलाउन आए । राजाकहाँ ल्याइएका अधिकारीहरूमध्ये एकजनाले तिनलाई दशहजार सुनको सिक्का तिर्नुपर्ने थियो । 25 तर राजालाई उसले तिर्नुपर्ने जति तिर्नलाई ऊसित येथेष्ट पैसा नभएको कारणले, ऊ, उसकी श्रीमती, छोराछोरी र उसका सबै धनदौलत अरू कसैलाई बेच्नु र राजाले उसलाई दिएको ऋण तिर्नु भनी राजाले हुकुम गरे । 26 त्यसपछि त्यो अधिकारीले त्यति ठूलो ऋण तिर्नलाई आफूसँग येथेष्ट पैसा छैन भनी जानेर राजाको अघि घुँडा टेक्यो र बिन्ती गर्यो, ‘मसँग धैर्य गर्नुहोस्, अन्तमा म तपाईंलाई सबै रकम तिर्नेछु ।’ 27 त्यो अदीकारीले त्यति ठूलो ऋण कहिल्यै तिर्न सक्ने छैन भन्ने जानेर राजा उसको निम्ति उनी दुःखी भए । यसैले तिनले उसको सबै ऋण माफ गरे र उसलाई छोडिदिए । 28 यसपछि त्यो अधिकारी राजाका अन्य अधिकारीहरूमध्ये एकजनाकहाँ गयो, जसले उसलाई एक वर्षको ज्यालाभन्दा अलि थोरै तिर्नु थियो । उसले त्यसको कठालो समात्यो र त्यसलाई झपार्न लाग्यो र त्यसलाई भन्यो, ‘तैँले मलाई तिर्नुपर्ने जेजेति छन् सबै तिर !’ 29 त्यो अधिकारीले उसको अघि घुँडा टेक्यो र यसो भन्दै बिन्ती गर्यो, ‘मसँग धैर्य गर्नुहोस्, अन्तमा म तपाईंलाई सबै रकम तिर्नेछु ।’ 30 तर त्यस मानिसले पहिलो अधिकारीलाई तिर्नुपर्ने त्यो सानो रकमलाई उसले माफ गर्न अस्वीकार गरिगह्यो । त्यसको साटोमा, उसले त्यो अधिकारीलाई झयालखानमा हालिदियो र आफूले पउनुपर्ने सबै पैसा त्यसले नतिरून्जेल त्यसलाई त्यहीं बस्न भन्यो । 31 यस कुराको बारेमा जब राजाका अरू अधिकारीहरूले थाहा पाए, तिनीहरू अत्यन्तै दुःखी भए । यसैले तिनीहरू राजाकहाँ गए र जे भएको थियो त्यसको बारेमा सविस्तार खबर दिए । 32 तब राजाले त्यो अधिकारीलाई बोलाए जसले तिनको दशहजार सुनका सिक्का ऋण तिर्नुपर्ने थियो । तिनले उसलाई भने, तँ दुष्ट सेवक ! तैंले मलाई तिर्नुपर्ने ठूलो ऋण माफ गर्न तैंले मलाई बिन्ती गेरेको कारणले मैले तँलाई त्यसै गरें ! 33 जसरी मैले तँलाई कृपा गरें र तेरो ऋण माफ गरें, त्यसरी नै तैंले पनि आफ्नो अधिकारी मित्रलाई कृपा गर्नुपर्ने र तैंले पाउनुपर्ने ऋण माफ दिनुपर्ने थियो ! 34 राजा अत्यन्तै क्रोधित भए । तिनले त्यस अधिकारीलाई झ्याल्खानाका अधिकारीहरूका हातमा सुम्पिदिए, जसले त्यसले तिर्नुपर्ने सबै ऋण नतिरून्जेल त्यसलाई असह्य पीडा दिए ।” 35 यसपछि येशूले लगातार यसो भन्नुभयो, “तिमीहरूका विरूद्धमा पापहरू गर्ने विश्वासीप्रति तिमीहरू कृपालु भएनौ र साँचो रुपले क्षमा गरेनौ भने, स्वर्गमा हुनुहुने मेरा पिताले पनि तिमीहरूलाई त्यसै गर्नुहुनेछ ।”