1 येशूले त्यसो भन्नुभएपछि, उहाँले आफ्ना चेलाहरूलाई लिनुभयो र गालील जिल्ला छोड्नुभयो । उहाँहरू यहूदिया जिल्ला भएको यर्दन नदीको पूर्वपट्टीको भागमा गए । 2 त्यहाँ ठुला भीडहरू उहाँको पछि लाग्यो, र तिनीहरूका माझमा भएका बिरामीलाई उहाँले निको पार्नुभयो । 3 केही फरिसीहरू उहाँको नजीक आए र उहाँलाई भने, “के हाम्रो यहूदी व्यवस्थाले एकजना मानिसलाई आफ्नो श्रीमतीसँग त्यागपत्र दिने अनुमति दिन्छ ?” उहाँसँग विवाद गर्ने उदेश्यले तिनीहरूले त्यो प्रश्न सोधे । 4 येशूले तिनीहरूलाई भन्नुभयो, “तिमीहरूले धर्मशास्त्र पढेका छौ, यसैले तिमीहरूलाई थाहा हुनुपर्छ, जब परमेश्वरले पहिलोपल्ट मानिसहरूको सृष्टि गर्नुभयो, ‘उहाँले एकजना पुरुष बनाउनुभयो, र उहाँले एकजना स्त्री बनाउनुभयो ।’ 5 त्यसले स्पष्ट हुन्छ कि परमेश्वरले किन सृष्टि गर्नुभयो, ‘त्यसकारणले एकजना पुरुषले आफ्ना बुबा आमालाई छोड्छ र आफ्नी श्रीमतीलाई विवाह गर्छ ।’ तिनीहरू दुवैजना एकै व्यक्तिजस्तो गरी एकसाथ तिनीहरू बस्नेछन् 6 फलस्वरूप, तिनीहरू पहिले दुई छट्टाछुट्टै मानवका रूपमा काम गरे तापनि, अब तिनीहरू एउटै व्यक्ति जस्तै भएका छन् । त्यो कुरा सत्य भएको कारणले, एकजना पुरुषले आफ्नी श्रीमतीसँग अलग रहनुहुँदैन, जसलाई परमेश्वरले उसमा जोड्नुभएको छ ।” 7 त्यसपछि परिसीहरूले उहाँलाई भने, “त्यो सत्य हो भने, मोशाले किन आज्ञा दिए कि आफ्नी श्रीमतीसँग त्यगपत्र दिन इच्छा गर्ने मानिसले तिनलाई उसले त्यगपत्र दिने कारण लेखेर त्यगपत्र दिन दिनुपर्छ, र त्यसपछि तिनलाई पठाउनुपर्छ ?” 8 येशूले तिनीहरूलाई भन्नुभयो, “यो तिमीहरूको पुर्खाहरूले जिद्दी गरेर आफ्नै उपायको इच्छा गरेकोले मोशाले तिनीहरूलाई आफ्नी श्रीमतीहरूलाई त्यगपत्र दिने अनुमति दिए, र तिमीहरू पनि तिनीहरू भन्दा फरक छैनौ । तर जब परमेश्वरले पहिले एकजना पुरुष र एकजना स्त्रीको सृष्टि गर्नुभयो, तिनीहरू एक अर्काबाट छुट्टिएर बसून् भन्ने विचारले उहाँले गर्नुभएन । 9 म तिमीहरूलाई जोडदाररूपमा भन्दैछु, कुनै पुरुषले, उसको श्रीमतीले व्यभिचार नगरेको अवस्थामा, आफ्नी श्रीमतीलाई त्यगपत्र दिन्छ र अर्की स्त्रीसँग विवाह गर्छ भने, परमेश्वरको विचारमा त्यसले व्यभिचार गर्छ ।” 10 चेलाहरूले उहाँलाई भने, “त्यो कुरा साँचो हो भने, पुरुषहरूका निम्ति कदापि विवाह नगरेको असल हुन्छ !” 11 उहाँले उत्तर दिनुभयो, “हरेक पुरुषले यो शिक्षालाई स्वीकार गर्न सक्तैन, परमेश्वरले स्वीकार गर्न सक्षम बनाउनुभएको पुरुषहरूले मात्र स्वीकार गर्न सक्छन् । 12 कोही मानिसहरू जन्मदेखि नै आफ्नो गुप्ताङ्गहरू दोषपूर्ण भएको कारणले गर्दा तिनीहरूले विवाह गर्दैनन् । अरू परुषहरूले तिनीहरू नपुङ्सक बनाइएका कारणले विवाह गर्दैनन् । अझै अरू पुरुषहरूले परमेश्वरले स्वर्गबाट राज्य गर्नुहुँदा उहाँको असल सेवा गर्नको निम्ति विवाह नगर्ने निर्णय गर्छन् । तिमीहरू जसले विवाहको बारेमा मैले भनेका कुरा बुझ्न सक्छौ, त्यो ग्रहण गर्नुपर्छ र त्यो पालन गर्नुपर्छ ।” 13 त्यसपछि येशूले साना बालबलिकमा आफ्नो हात राखेर तिनीहरूका निम्ति उहाँले प्रार्थना गरिदिनुहुनेछ भनी तिनीहरूलाई उहाँकहाँ ल्याइयो । तर त्यसो गरेकोमा चेलाहरूले मानिसहरूलाई झपारे । 14 येशूले भन्नुभयो, “बालबालिकालाई मकहाँ आउन देऊ, र तिनीहरूलाई नरोक ! स्वर्गको परमेश्वरको राज्य यिनीहरूजास्तै नम्र र विश्वासयोग्य मानिसहरू हो ।” 15 त्यसपछि येशूले बालबालिकालाई आशीर्वाद दिनलाई तिनीहरूमा आफ्नो हात राख्नुभयो । तब उहाँले त्यो ठाउँ छोड्नुभयो । 16 येशू हिंड्दै गर्नुहुँदा, एकजना जवान मानिस उहाँको नजीक आए र उहाँलाई सोधे, “गुरुज्यू, परमेश्वरसँग सदासर्वदा बास गर्नको लागि मैले के असल कामहरू गर्नुपर्छ ?” 17 येशूले तिनलाई भन्नुभयो, “तिमीले मलाई के असल हो भनेर किन सोध्दैछौ ? एकजना मात्र असल हुनुहुन्छ र असल के हो साँच्चै जान्नुहुन्छ । उहाँ परमेश्वर हुनुहुन्छ । तर परमेश्वरसँग सदासर्वदा बस्ने इच्छाको बारेमा भएको तिम्रो प्रश्नको जवाफ दिनको निम्ति परमेश्वरले मोशालाई दिनुभएको आज्ञाहरू पालन गर्न म तिमीलाई भन्छु ।” 18 त्यस मानिसले येशूलाई सोध्यो, “कुनकुन आज्ञाहरूलाई मैले पालन गर्नुपर्छ ?” येशूले उसलाई जवाफ दिनुभयो, “कुनै व्यक्तिको हत्या नगर, व्यभिचार नगर, चीजबीजहरू चोरी नगर, झुटा गवाही नदेऊ, 19 आफ्नो बुबा र आफ्नो आमाको आदर गर, र आफैंलाई प्रेम गरेजस्तै हरेक अर्को व्यक्तिलाई प्रेम गर ।” 20 ती जवान मानिसले येशूलाई भने, “यी सबै आज्ञाहरू मैले सधैँ पालन गरेको छु । परमेश्वरसँग सदासर्वदा बस्नको लागि मैले अरू के गर्नुपर्छ ?” 21 येशूले तिनलाई भन्नुभयो, “तिमी जस्तो भएको परमेश्वरले इच्छा गर्नुहुन्छ तिमी ठीक तेस्तै हुने इच्छा गर्छौ भने, घर जाऊ, तिमीसँग भएका सबै कुरा बेच, र त्यो पैसा गरीब मानिसहरूलाई देऊ । परिणाम यो हुनेछ कि तिमी स्वर्गमा धनी हुनेछौ । त्यसपछि आऊ, मेरो पछि लाग, र मेरो चेला बन !” 22 जब त्यो जवानले ती शब्दहरू सुने, तिनी उदास भएर गए, किनभने तिनी धेरै धनी थिए र आफूसित भएका सबै कुरा दिने इच्छा गरेनन् । 23 त्यसपछि येशूले चेलाहरूलाई भन्नुभयो, “यो कुरालाई ध्यान देओः धनी मानिसहरूलाई आफ्नो जीवनमा परमेश्वरलाई राज्य गर्न दिन सहमत हुनु धेरै कठिन छ । 24 यो पनि ध्यान देओः ऊँटलाई सियोको नाथ्रीबाट छिर्नु असम्भव हुन्छ । धनी मानिसहरूलाई परमेश्वरको राज्यको अधीनमा आउनु झन् धेरै कठिन हुन्छ ।” 25 जब चेलाहरूले यो सुने, तिनीहरू धेरै छक्क परे । परमेश्वरले धनी मानिसहरूलाई सबभन्दा धेरै आशिष् दिनुहुन्छ भन्ने तिनीहरूको विचार थियो । यसैले तिनीहरूले येशूलाई भने, “त्यसो हो भने, कसैले पनि उद्धार पाउन सम्भव हुनेछ जस्तो लाग्दैन !” 26 तब येशूले तिनीहरूलाई ध्यान दिएर हेर्नुभयो र भन्नुभयो, “हो, मानिसहरूका लागि आफैँलाई बचाउनु असम्भव कुरा हो । तर परमेश्वरले तिनीहरूलाई बचाउन सक्नुहुन्छ, किनभने परमेश्वरले सबै कुरा गर्न सक्नुहुन्छ !” 27 त्यसपछि पत्रुसले उहाँलाई भने, “तपाईंलाई जान्नुहुन्छ कि हामीले सबै कुरा त्यागेका छौं र तपाईंको चेला हुनको निम्ति तपाईंको पछि लागेका छौं । यसैले त्यसो गर्दा हामीलाई के फाइदा हुन्छ ?” 28 येशूले तिनीहरूलाई भन्नुभयो, “यो कुरा ध्यान देओः तिमीहरूले धेरै फाइदाहरू पाउनेछौ । जब परमेश्वरले नयाँ पृथ्वी बनाउनुहुनेछ र जब म, मानिसको पुत्र, मेरो महिमामा मेरो सिंहासनमा बस्नेछु, तब तिमीहरू जो मेरो साथमा आएका छौ, हरेक नै सिंहासनमा बस्नेछौ, र तिमीहरूले इस्राएलका बाह्र कूलका मानिसहरूको न्याय गर्नेछौ । 29 तिनीहरू मेरा चेलाहरू भएको कारणले, जसले घर, वा जमीिनको अंश, आफ्ना दाजुभाइ, आफ्ना दिदीबहिनी, आफ्नो बुबा, आफ्नो आमा, आफ्ना छोराछोरी, वा परिवारकाो अन्य सदस्यहरू छाडे, परमेश्वरले तिनीहरूलाई इनाम दिनुहुनेछ । तिनीहरूले त्यागेका भन्दा परमेश्वरले तिनीहरूलाई सयौँ गुणा धेरै बढी फइदाहरू दिनुहुनेछ । र तिनीहरू सदासर्वदा परमेश्वरसँग बास गर्नेछन् । 30 तर धेरै मानिसहरू जो अहिले यस जीवनमा प्रतिष्ठित छन्, भविष्यको त्यो समयमा प्रतिष्ठारहित हुनेछन्, र धेरै मानिसहरू जो अहिले प्रतिष्ठारहित छन् भविष्यको त्यो समयमा प्रतिष्ठित हुनेछन् ।”