1 येशूले त्यसो भनेको एक हप्तापछि, उहाँले पत्रुस, याकूब र यकूुबका भाइ यूहन्नालाई लिनुभयो, र तिनीहरूलाई एउटा अग्लो पहाडमाथि लानुभयो जहाँ तिनीहरू अरू मानिसहरूबाट टाढा थिए । 2 उहाँहरू त्यहाँ हुँदा, यी तीन चेलाहरूले येशूको स्वरूप परिवर्तन भएको देखे । उहाँको अनुहार सूर्यजस्तै चम्कियो, र उहाँको वस्त्र चम्कियो र त्यो ज्योतिजस्तै चहकिलो भयो । 3 अचानक मोशा र एलिया, जो धेरै वर्ष पहिलेका महत्त्वपूर्ण अगमवक्ताहरू थिए, त्यहाँ देखा परे र उहाँसँग कुरा गर्न लागे । 4 पत्रुसले तिनीहरूलाई देखे र येशूलाई भने, “प्रभु ! हामी यहाँ रहनु अति नै राम्रो हुन्छ ! मैले गरौं भनी तपाईं इच्छा गर्नुहुन्छ भने, एउटा तपाईंको लागि, एउटा मोशाको लागि र एउटा एलियाको लागि, तीनवटा पालहरू म खडा गर्ने छु ।” 5 पत्रुसले बोल्दै गर्दा एउटा चम्किलो बादल तिनीहरूमाथि आयो । बादलको भित्रबाट परमेश्वरले येशूको बारेमा बोल्नुभएको तिनीहरूले सुने । उहाँले तिनीहरूलाई भन्नुभयो, “यिनी मेरा पुत्र हुन । यिनलाई म प्रेम गर्छु । यिनले मलाई प्रसन्न बनाउँछन् । यसैले तिमीहरूले यिनका कुरा सुनैपर्छ !” 6 जब परमेश्वरले बोल्नुभएको तीनजना चेलाहरू सुने, तिनीहरू अत्यन्त डराए । परिणामस्वरूप, तिनीहरू जमीिनमा घोप्टो परे । 7 तर येशू तिनीहरूकहाँ जानुभयो र तिनीहरूलाई छुनुभयो र भन्नुभयो, “खडा होओ ! अब अरू नडराओ !” 8 र जब तिनीहरूले माथितिर हेरे, तिनीहरूले येशूलाई मात्र देखे जो अझै त्यहाँ हुनुहुन्थ्यो । 9 उहाँहरू पहाडबाट तलतिर आउँदै गर्नुहुँदा, येशूले तिनीहरूलाई सुझाव दिनुभयो, “पहाडमाथि तिमीहरूले जे देख्यौ त्यो, म, मानिसको पुत्रलाई परमेश्वरले मेरो मृत्युपछि फेरि जीवित नबनाउनुभएसम्म कसैलाई पनि नभन ।” 10 ती तीनजना चेलाहरूले येशूलाई सोधे, “तपाईंले भन्नुभएको कुरा सत्य हो भने, ख्रीष्ट आउनुअघि एलियालाई पृथ्वीमा फेरि आउनु आवश्यक छ भनि यहूदी व्यवस्था सिकाउने मानिसहरूले किन भन्छन् ?” 11 येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “ख्रीष्टको आगमनको लागि धेरै मानिसहरूलाई तयार पार्न एलिया आउने छन् भनी परमेश्वरले प्रतिज्ञा गर्नुभको कुरा यो साँचो हो ।” 12 तर यो कुरा ध्यान देओः एलिया पहिले नै आइसकेका छन् र हाम्रा अगुवाहरूले तिनलाई देखेका छन्, तर ख्रीष्टको अघि आउने व्यक्ति उनै हुन् भनी तिनीहरूले उनलाई चिनेनन् । बरु, तिनीहरूले आफूले इच्छा गरेकोजस्तै उनलाई खराब व्यवहार गरे । र तीनै शासकहरूले म स्वर्गबाट आएको व्यक्तिलाई पनि चाँडै नै त्यसैगरी व्यवहार गर्ने छन् । 13 तब उहाँले एलियाको बारेमा बोल्दै गर्दा, उहाँले बप्तिस्मा दिने यूहन्नको बारेमा भन्नुभएको हो भनी तीनजना चेलाहरूले बुझे । 14 जब येशू र तीनजना चेलाहरू अरू चेलाहरू र जम्मा भएको भीड कहाँ फर्के, तब एकजना मानिस येशूकहाँ आए र उहाँको सामु घुँडा टेके । 15 तनले उहाँलाई भने, “सर, मेरो छोरालाई कृपा गर्नुहोस् र उसलाई निको पार्नुहोस् ! उसलाई छारे रोग लागेको छ र धेरै दुःख पाउँछ । यस रोगको कारणले ऊ धेरैपल्ट आगोमा र पानीमा लडेको छ ।” 16 तपाईंका चेलाहरूले उसलाई निको पारून् भन्ने उदेश्यले मैले उसलाई तिनीहरूकहाँ ल्याएँ, तर तिनीहरूले उसलाई निको पार्न सकेनन् । 17 येशूले जवाफ दिनुभयो, “तिमीहरू यस समयका मानिसहरूले परमेश्वरको शक्तिमा विश्वास गर्दै गर्दैनौ, तिमीहरू कति अलमलमा परेका छौ ! मैले गरेका काम तिमीहरूले गर्न सक्ने हुनलाई कहिलेसम्म म तिमीहरूसित रहनुपर्छ ? त्यस केटालाई यहाँ मकहाँ ल्याओ !” 18 जब तिनीहरूले त्यस केटालाई येशूकहाँ ल्याए, छारे रोग गराउने त्यो दुष्ट आत्मालाई येशूले कडारूपमा हर्कानुभयो । परिणामस्वरूप, त्यस केटाबाट दुष्ट आत्मा बाहिर आयो, र त्यो समयदेखि त्यो केटो निको भयो । 19 पछि, येशू एक्लै हुनुहुँदा चेलाहरूमध्ये कोही उहाँको नजीक आए र उहाँलाई सोधे, “हामीले किन त्यो दुष्ट आत्मालाई भगाउन सकेनौ ?” 20 उहाँले तिनीहरूलाई जवाफ दिनुभयो, “किनभने तिमीहरूले परमेश्वरको शक्तिमा त्यति धेरै विश्वास गरेनौ । 21 यस कुरालाई विचार गरः रायोका दानाहरू धेरै साना हुन्छन् तर तिनीहरू बड्छन् र ठूला बोटहरू हुन्छन् । त्यसरी नै, तिमीहरूले एकदम थोरै विश्वास गर्छौ भने पनि तिमीहरूले परमेश्वरलाई गर्नुहोस् भनी जे उहाँलाई बिन्ती गर्छौ, कुनै पनि कुरा तिमीहरू गर्न सक्ने छौ ! तिमीहरूले यो पहाडलाई यसो भन्न सक्ने छौ, ‘यहाँबाट त्यहाँ सर !’ र त्यसलाई तिमीहरूले जहाँ जा भन्यौ त्यो त्यहाँ जान्छ ।” 22 चेलाहरू गालीलमा एकसाथ भेला भएको बेलामा, येशूले तिनीहरूलाई भन्नुभयो, “कसैले मलाई, मानिसको पुत्रलाई चाँडै नै अधिकारीहरूकहाँ सुम्पिदिने छ । 23 तिनीहरूले मलाई मार्ने छन्, तर मलाई मारिएको तेस्रो दिनमा, परमेश्वरले मलाई फेरि जीवित बनाउनु हुने छ ।” जब चेलाहरूले त्यो सुने, तिनीहरू धेरै उदास भए । 24 जब येशू र चेलाहरू कफर्नहुम शहरमा आउनुभयो, मन्दिरमा करहरू उठाउने मानिसहरू पत्रुसको नजीक आए र तिनलाई भने, “तिम्रो गुरुले मन्दिरको कर तिर्छन्, तिर्दैनन् र ?” 25 तिनले उनीहरूलाई जवाफ दिए, “हो, उहाँले त्यो तिर्नुहुन्छ ।” जब चेलाहरू येशूको घरमा गए, पत्रुस बोल्न शुरू गर्नु अघि, येशूले तिनलाई भन्नुभयो, “सिमोन, तिम्रो विचारमा शासकहरूले राजस्व वा करहरू कसबाट उठाउँछन् ? तिनीहरूले आफ्नै देशका नागरिक वा आफूले जितेका देशका नागरिक कसबाट करहरू लिन्छन् ?” 26 पत्रुसले उहाँलाई जवाफ दिए, “अरू देशका नागरिकबाट लिन्छन् । तब येशूले तिनलाई भन्नुभयो, “यसैले तिनीहरूका आफ्नै देशका नागरिकले करहरू तर तिर्नु पर्दैन । 27 तर जाऊ हाम्रो निम्ति कर तिर जसले गर्दा मन्दिरमा कर उठाउनेहरू हामीहरूसँग रिसाउने छैनन् । त्यो तिर्न पैसा प्राप्त गर्नको निम्ति, गालील समुद्रमा जाऊ, आफ्नो बल्छी हान, र तिमीले पक्रेको पहिलो माछो लेऊ । जब तिमीले त्यसको मुख खोल्छौ, तिमीले एउटा चाँदीको सिक्का भेट्टाउने छौ, जुन तिम्रो र मेरो कर तिर्नलाई पर्याप्त हुन्छ । त्यो सिक्का लेऊ र त्यो मन्दिरको कर उठाउनेहरूलाई देऊ ।”