14

1 त्‍य समयमा येशूले आश्‍चर्य कामहरू गर्दै हुनुहुन्छ भन्‍ने बारेमा शासक हेरोद एन्टीपासले खबर सुने । 2 तिनले आफ्‍ना सेवकहरूलाई भने, “त्यो बप्‍तिस्‍मा दिने यूहन्‍ना हुनुपर्छ । ऊ मृत्युबाट जीवित भएको हुनुपर्छ, र त्‍यसैले उसँग यी आश्‍चर्य कामहरू गर्ने शक्‍ति छ ।” 3 हेरोदलाई यस्‍तो विचार यस घटनाले भएको थियो । हेरोदले आफ्नो भाइ फिलिप जीवित छँदै, फिलिपकी श्रीमती हेरोदियासलाई विवाह गरेका थिए । 4 यसैले यूहन्‍नाले तिनलाई यसो भनिरहे, “तपाईंले परमेश्‍वरको व्यवस्था विपरीत काम गर्नुभएको छ !” त्यसपछि, हेरोदियासलाई खुशी पार्न, हेरोदले यूहन्‍नालाई पक्रन आफ्ना सिपाहीहरूलाई भने । तिनीहरूले तिनलाई साङ्लाहरूले बाँधे र तिनलाई झ्यालखानमा हालिदिए । 5 हेरोदले यूहन्‍नालाई मार्न आफ्‍ना मानिसहरूलाई आदेश दिन चाहन्थे, तर तिनी मानिसहरूबाट डराए, किनभने यूहन्‍ना परमेश्‍वरको लागि बोल्ने अगमवक्‍ता थिए भनी तिनीहरू विश्‍वास गर्थे । 6 एक दिन, हेरोदले आफ्‍नो जन्मदिनको उत्सव मनाउनलाई एउटा भोज दिए, र तिनका पाहुनाहरूको लागि हेरोदियासकी छोरी नाचिन् । तिनको नाच देखेर हेरोद ज्यादै खुशी भए, 7 यसैले तिनले जे मागे पनि दिने प्रतिज्ञा तिनले गरे, र तिनले यो प्रतिज्ञा गरेको कुराको साक्षी हुन तिनले परमेश्‍वरलाई विन्‍ती गरे । 8 यसैले हेरोदियासकी छोरी गइन् र तिनकी आमासँग के माग्‍ने भनी सोधिन् । तिनकी आमाले तिनलाई के भन्‍ने भनी सिकाइन् । यसैले तिनकी छोरी फर्केर गइन् र हेरोदलाई भनिन्, “म बप्‍तिस्‍मा दिने यूहन्‍नाको टाउको काटेको र ऊ साँच्‍चै मर्‍यो भनेर देखाउन त्‍यो एउटा थालमा हालेर यहाँ ल्याएको चाहन्छु !” 9 यतिबेला हेरोदियासकी छोरीले जे चाहन्थिन् त्यो दिन्‍छु भनी प्रतिज्ञा गरेकोमा राजा धेरै दुःखी भए । तर तिनले त्यो प्रतिज्ञा गरेको सुन्‍नलाई तिनले परमेश्‍वरमा विन्‍ती गरेको कारणले र तिनका सबै पाहुनाहरूले पनि तिनले त्‍यसो गरेको सुनेका हुनाले, जे तिनले भनेका थिए त्यो तिनले गर्नेपर्छ भन्‍ने तिनलाई लाग्यो । यसैले तिनले जे चाहन्थिन् त्यही गर्नलाई तिनले आफ्ना नोकरहरूलाई आदेश दिए । 10 तिनले आफ्‍ना सिपाहीहरूलाई झ्यालखान जान र यूहन्‍नाको शिर काट्न पठाए । 11 तिनीहरूले त्‍यसै गरे, र तिनीहरूले यूहन्‍नाको शिर थालमा राखे र त्‍यो केटीकहाँ ल्याए । तब त्यो केटीले त्‍यसलाई आफ्नी आमाकहाँ लिएर गइन् । 12 पछि यूहन्‍नाका चेलाहरू झ्यालखानमा गए, र यूहन्‍नाको शरीर लगे र त्‍यो दफन गरे । त्यसपछि तिनीहरू गए र जे भएको थियो त्‍यो येशूलाई भने । 13 येशूले त्‍यो समाचार सुनेपछि, उहाँ चेलाहरूलाई मात्र आफूसँग लिनुभयो र डुङ्गाद्वारा गालीलको समुद्र तरेर कुनै मानिस नबसेको एउटा ठाउँमा जानुभयो । उहाँहरू कहाँ जानुभएको थियो भनी भीडले सुनेपछि, तिनीहरूले आफ्ना नगरहरू छाडे र समुद्रको किनारै किनार हिंडेर उहाँहरूको पछि लागे । 14 जब येशू समुद्रको किनारमा आउनुभयो, एउटा ठुलो भीिडले उहाँलाई पर्खिरहेको उहाँले देख्‍नुभयो । तिनीहरूका निम्‍ति उहाँ दुःखी हुनुभयो, र तिनीहरूका माझमा भएका बिरामी मानिसहरूलाई उहाँले निको पार्नुभयो । 15 जब साँझ पर्नै लाग्‍यो, चेलाहरू येशूकहाँ आएर भने, “यो ठाउँमा कोही पनि बस्दैनन्, र यतिबेला धेरै ढिलो भइसक्यो । भीडलाई यहाँबाट जानलाई भन्‍नुहोस् जसले गर्दा तिनीहरू नजीिकको नगरहरूमा खानेकुरा किन्‍न सक्‍छन् ।” 16 तर येशूले आफ्ना चेलाहरूलाई भन्‍नुभयो, “खाना पाउनलाई तिनीहरू यहाँबाट जान पर्दैन । बरु, तिमीहरू आफैँले तिनीहरूलाई खानालाई केही कुरा देओ !” 17 चेलाहरूले भने, “तर यहाँ हामीसँग पाँचवटा रोटीहरू र दुईवटा पकाइएका माछाहरू मात्र छन् !” 18 उहाँले भन्‍नुभयो, “तिनीहरूलाई मकहाँ ल्याओ !” 19 येशूले त्यहाँ जम्मा भएका मानिसका भीडलाई घाँसमाथि बस्‍न भन्‍नुभयो । त्यसपछि उहाँले पाँच रोटी र दुई वटा माछा लिनुभयो । उहाँले स्वर्गतिर माथि हेर्नुभयो, र तिनीहरूका निम्‍ति परमेश्‍वरलाई धन्यवाद दिनुभयो र तिनीहरूलाई टुक्राहरूमा भाँच्‍नुभयो । त्यसपछि उहाँले ती टुक्राहरू आफ्‍ना चेलाहरूलाई दिनुभयो र तिनीहरूले ती भीिडलाई बाँडे । 20 सबै मानिसहरूले तिनीहरू नअघाउन्जेल खाए । त्यसपछि केही मानिसहरूले उब्रेक टुक्राहरू जम्मा पारे र तिनीहरूबाट बाह्र थुन्‍से भरे । 21 त्यो समयमा स्‍त्रीहरू र बाल-बालिकालाई नगन्‍दा करीब पाँच हजार मानिसहरूले खाए ! 22 त्यो घटना हुने बित्तिकै, येशूले चेलाहरूलाई डुङ्गामा चड्न र उहाँ भन्दा अगाडि गालील समुद्रको पारीपट्टि जान भन्‍नुभयो । त्यसैबेला, उहाँले भीडलाई घर पठाउँदै हुनुहुन्थ्यो । 23 उहाँले भीडलाई टाढा पठाएपछि, उहाँ एक्लै प्रार्थना गर्न डाँडामा जानुभयो । साँझ पर्दैगर्दा उहाँ अझै त्यहाँ एक्लै हुनुहुन्थ्यो । 24 यतिबेलासम्म चेलाहरू किनारबाट धेरै टाढा गइसकेका थिए । चेलाहरूले डुङ्गा चलाएर जाँदै गर्दा विपरीत दिशाबाट धेरै जोडले हावाहुरी चल्‍दैथियो । हावाहुरीले धेरै ठूला-ठूला छालहरू उठेर समुद्रको डुङ्गामा अगाडि र पछाडिबाट ठोकिंदै थियो । 25 त्यसपछि येशू डाँडाबाट तल समुद्रमा आउनुभयो । बिहान तीनदेखि छ बजेको बीचमा कुनैबेला येशू समुद्रमाथि हिंँड्दै डुङ्गातिर आउनुभयो । 26 जब चेलाहरूले उहाँलाई पानीमा हिंडेर आउँदै गरेको देखे, तिनीहरूले उहाँलाई एउटा भूत हुनुपर्छ भनी विचार गरे । तिनीहरू भयभीत भए र डरमा तिनीहरू ठुलो स्वरले चिच्‍याए । 27 येशूले तुरन्तै तिनीहरूलाई भन्‍नुभयो, “साहस गर ! यो म हुँ । नडराओ !” 28 पत्रुसले उहाँलाई भने, “प्रभु, त्‍यो तपाईं नै हुनुहुन्छ भने, मलाई पानीमाथि हिंडेर तपाईंकहाँ आउनलाई भन्‍नुहोस् !” 29 येशूले भन्‍नुभयो, “आऊ !” यसैले पत्रुस डुङ्गाबाट बाहिर निस्के । तिनी पानीमाथि येशूतिर हिंडे । 30 तर जब पत्रुसले जोडसित चलेको हावाहुरीतिर ध्यान दिए, तिनी डराए । तिनी पानीमा डुब्‍न लागे र कराए, “प्रभु ! मलाई बचाउनु होस् !” 31 तुरून्‍तै येशूले आफ्नो हात लानुभयो र पत्रुसलाई समात्‍नुभयो । उहाँले तिनलाई भन्‍नुभयो, “तिमीले मेरो शक्‍तिमा थोरै मात्रै विश्‍वास गर्छौ ! मैले तिमीलाई पानीमा डुब्‍नबाट बचाउन सक्छु भन्‍ने कुरामा किन शङ्का गर्‍यौ ?” 32 त्यसपछि येशू र पत्रुस डुङ्गामा जानुभयो र तुरन्तै हावाहुरी चल्‍न तुरून्‍तै रोकियो । 33 डुङ्गामा भएका सबै चेलाहरू येशूको अगाडि घोप्‍टो परे र भने, “तपाईं साँच्‍चै परमेश्‍वरको पुत्र हुनुहुन्छ !” 34 जब उहाँहरू डुङ्गामा तालमा अलि अगाडि जानुभएको थियो, उहाँहरू गनेसरेतको नगरको किनारमा पुग्‍नुभयो । 35 त्यस इलाकाका मानिसहरूले येशूलाई चिने, यसैले येशू आउनु भएको थियो भनी खबर दिनलाई त्यो सम्‍पूर्ण क्षेत्रमा बसोबास गर्नेहरूकहाँ तिनीहरूले मानिसहरू पठाए । यसैले मानिसहरूले बिरामी भएका हरेकलाई येशूकहाँ ल्याए । 36 बिरामी मानिसहरूले उहाँलाई, वा उहाँको वस्‍त्रको छेउलाई मात्र भए पनि छुन पाउनलाई तिनीहरूले उहाँसँग बिन्‍ती गरिरहे, जसले गर्दा तिनीहरू निको हुन सक्‍थे । उहाँलाई र उहाँको वस्‍त्रको छेउलाई छुने हरेक व्‍यक्ति निको भए ।