13

1 त्यसैदिन चेलाहरूसँगै येशूले, उहाँले शिक्षा दिँदै गर्नुभएको घर छोड्नुभयो र गालील समुद्रको किनारमा जानुभयो । उहाँ त्यहाँ बस्‍नुभयो, 2 र उहाँको शिक्षा सुन्‍नलाई उहाँको वरिपरी एउटा धेरै ठुलो भीिड जम्मा भयो । अलिकति ठाउँ पाउनलाई उहाँ एउटा डुङ्गामा चड्नुभयो, र तिनीहरुलाई शिक्षा दिनलाई बस्‍नुभयो । भीड किनारमा खडा भए र उहाँका शिक्षा सुने । 3 धेरैवटा दृष्‍टान्‍तहरूको प्रयोग गरेर उहाँले तिनीहरूलाई सिकाउनुभयो । उहाँले भन्‍नुभयो, “सुन ! एकजना मानिस बीउ छर्नलाई आफ्नो खेतमा गयो । 4 उसले माटोमाथि बीउ छर्दै गर्दा, केही बीउ बाटोमा झरे । तर केही चराहरू आए र ती बीउ खाए । 5 अरू बीउ चट्टानमाथि पातलो माटो भएको जमीनमा झरे । घामले पातलो माटोलाई छिट्टै मनतातो बनाइदिएको कारणले ती बीउ तुरून्‍तै उम्रिए । 6 तर जब कलिला बिरुवाहरू माथि आए, चर्को घामले ती ज्यादै तातो भए, र ती सुके किनभने तिनीहरूको जरा गहिरोमा थिएन । 7 अरू बीउ काँडे झारहरू भएको जमिनमा झरे । कलिला बिरुवाहरू सँगसँगै काँडे झारहरू पनि बढे, र तिनीहरूले बिरुवाहरूलाई निसासी दिए । 8 तर अरू बीउ असल जमीनमा झरे, र बिरुवाहरू बढे र धेरै अन्‍न उब्‍जाए । केही बिरुवाहरूले रोपेको बीउको सयगुणा बढी उब्‍जाए । केही बिरुवाहरूले साठीगुणा बढी उब्‍जाए । केही बिरुवाहरूले तीसगुणा बढी उब्‍जाए । 9 तिमीहरू यो बुझ्‍न सक्षम छौ भने, मैले भर्खरै भनेको कुरालाई तिमीहरूले होसियार भएर विचार गर्नुपर्छ । 10 चेलाहरू पछि येशूकहाँ आए र उहाँलाई सोधे, “तपाईं भिडसँग बोल्‍नुहुँदा, किन तपाईं उखानहरू प्रयोग गर्नुहुन्छ ?” 11 उहाँले जवाफ दिनुभयो, “कसरी परमेश्‍वरले स्‍वर्गबाट राज्‍य गर्दै हुनुहुन्छ भन्‍ने बारेमा जे यसअघि उहाँले प्रकट गर्नुभएको थिएन त्‍यो उहाँले तिमीहरूलाई प्रकट गर्दै हुनुहुन्‍छ । तर यी अरू मानिसहरूलाई उहाँले त्‍यो प्रकट गर्नुभएको छैन । 12 म जे भन्‍छु त्‍यसको बारेमा विचार गर्न सक्‍ने र त्‍यसलाई बुझ्‍न सक्‍ने मानिसहरूलाई परमेश्‍वरले अझै धेरै बुझ्‍न सक्‍ने बनाउनुहुन्छ । तर म जे भन्‍छु त्‍यसको बारेमा होशियार भएर विचार गर्न नसक्‍ने मानिसहरूले जे जानेका छन् त्‍यो पनि बिर्सिने छन् 13 त्यसकारणले म मानिसहरूसँग बोल्दा दृष्‍टान्‍तहरूको प्रयोग गर्छु, किनभने मैले गरेको काम तिनीहरूले देख्‍छन्, तापनि, त्‍यसको अर्थ के हुन्‍छ त्‍यो तिनीहरूले बुझ्दैनन्, र मैले भनेको कुरा तिनीहरूले सुन्‍छन्, तापनि, त्‍यसको अर्थ के हुन्‍छ त्‍यो तिनीहरूले साँच्‍चै सिक्‍तैनन् । 14 यी मानिसहरूले गर्ने कुराले परमेश्‍वरले यशैया अगमवक्‍तालाई धेरै अघि बोल्‍न भन्‍नुभएको कुरालाई पूर्णरूपमा पूरा गर्छ, मैले भनेको कुराहरू तिमीहरूले सुन्‍ने छौ, तर तिमीहरूले बुझ्‍ने छैनौ । मैले गरेका कुराहरू तिमीहरूले देख्‍नेछौ तर यसको अर्थ तिमीहरूले सिक्‍ने छैनौ । 15 परमेश्‍वरले यशैयालाई यो पनि भन्‍नुभयो, “मैले भन्‍ने कुरा यी मानिसहरूले सुन्‍न सक्‍छन्, तर त्‍यसको सन्‍देश तिनीहरूले कदापि बुझ्‍ने छैनन् । तिनीहरूका देख्‍न सक्‍ने आँखा छन्, तर तिनीहरूले जे हेर्दै र्छन् त्‍यो तिनीहरूले स्‍पष्‍टरूपमा कदापि देख्‍ने छैनन्; तिनीहरूले आफ्‍ना आँखा वन्‍द गरेका छन्, यसैले तिनीहरूले देख्‍न सक्‍तैनन् । तिनीहरूका आफ्‍ना आँखाले तिनीहरू देख्‍न सक्‍तैनन् र तिनीहरूका आफ्‍ना कानले तिनीहरू सुन्‍न सक्‍तैनन् र तिनीहरूले बुझ्‍न सक्‍तैनन् । यदि तिनीहरूले देख्‍न र सुन्‍न र हेर्न सकेको भए, तिनीहरू मतिर फर्कने थए,” परमेश्‍वर भन्‍नुहुन्‍छ, “र म तिनीहरूलाई निको पार्ने थिएँ ।” 16 तर तिमीहरूका बारेमा, मैले जे गरें त्यो तिमीहरूले महसूस गरेको कारणले र मैले जे भनें त्‍यो तिमीहरूले बुझेको कारणले, परमेश्‍वरले तिमीहरूलाई सक्षम बनाउनुभएको छ । 17 यो कुरा ध्‍यान देऊः मैले गरेका कुरा जो तिमीहरू देख्‍दै छौ, धेरै अघि जीवन बिताएका धेरैजना अगमवक्‍ताहरू र धार्मिक मानिसहरूले हेर्ने इच्‍छा गरे, तर तिनीहरूले ती देख्‍न पाएनन् । मैले भनेका कुरा जो तिमीहरूले सुनिरेहका छौ, तिनीहरूले सुन्‍ने इच्छा गरे, तर मैले भनेको कुरा जो तिमीहरू सुन्‍छौ, तिनीहरूले सुन्‍न पाएनन् । 18 अब मैले तिमीहरूलाई भनेको दृष्‍टान्‍तको अर्थ म स्‍पष्‍ट पार्छु । 19 केही मानिसहरूले परमेश्‍वरले कसरी राज्‍य गर्दै हुनुहुन्‍छ भन्‍ने बारेमा सुन्छन् तर त्‍यो बुझ्दैनन् । तिनीहरू बाटो जस्तै हुन् जहाँ केही बीउ झरे । दुष्‍ट शैतान आउँछ र यी मानिसहरूलाई आफूले सुनेका कुरा बिर्सने बनाउँछ । 20 कोही मानिसहरूले परमेश्‍वरको सन्‍देश सुन्‍छन् र तत्कालै आनन्‍दसाथ त्‍यो ग्रहण गर्छन् । तिनीहरू चट्टान भएको जमीनहरू जस्तै हुन् जहाँ केही बीउ झरे । 21 तर त्‍यो तिमीहरूको हृदयभित्र गहिरो गरी पस्‍दैन, तिनीहरूले छोटो समयको लागि मात्र विश्‍वास गर्छन् । तिनीहरू गहिरोमा जरा नभएका बिरुवाहरू जस्ता हुँन् । मैले भनेका कुरामा तिनीहरूले विश्‍वास गरेका कारणले अरूहरूले तिनीहरूलाई नराम्रो व्यवहार गर्दा र दुख दिँदा तिनीहरूले त्‍यसमा विश्‍वास गर्न इन्कार गरेर पाप गर्छन् । 22 अनि कोही मानिसहरूले परमेश्‍वरको सन्‍देश सुन्‍छन् तर तिनीहरू धनी हुने इच्छा गर्छन्, यसैले तिनीहरू पैसा र पैसाले तिनीहरूले के किन्‍न सक्छन् भन्‍ने बारेमा मात्र चिन्‍ता गर्छन् । परिणामस्‍वरूप, तिनीहरूले परमेश्‍वरको सन्‍देश बिर्सन्छन् र तिनीहरूले गरून् भनी परमेश्‍वरले चाहानुभएको कुराहरू तिनीहरूले गर्दैनन् । काँडे झारहरूका जराहरू भएकको जमीन जस्तै यी मानिसहरू हुन्छन् । 23 तर कोही मानिसहरूले मेरो सन्‍देश सुन्छन् र त्‍यो बुझ्‍छन् । तिनीहरूमध्‍ये कसैले परमेश्‍वरलाई खुशी पार्ने धेरै कुराहरू गर्छन्, कसैले परमेश्‍वरलाई खुशी पार्ने भन्दा पनि अझै धेरै कुराहरू गर्छन्, र कसैले परमेश्‍वरलाई खुशी पार्ने भन्‍दा अत्‍यन्‍तै धेरै कुराहरू गर्छन् । तिनीहरू असल जमीिनहरू जस्तो हो जहाँ केही बीउ झरे ।” 24 येशूले भीडलाई अर्को दृष्‍टान्त पनि भन्‍नुभयो । उहाँले भन्‍नुभयो “जब परमेश्‍वरले स्‍वर्गबाट राज्‍य गर्नुहुन्‍छ, त्‍यो एकजना जमिन्दार जस्तो हुने छ जसले आफ्ना सेवकहरूलाई आफ्‍नो खेतमा असल बीउ छर्नलाई पठायो । 25 ती सेवकहरू निदाउँदै गर्दा र खेतको रेखदेख नगर्दा, जमिन्दारको एकजना शत्रु आयो र गहुँको बिचमा सामाको बीउ छर्‍यो । त्‍यसपछि ऊ गयो । 26 बीउ उम्रिए र हरिया बिरुवाहरू बढेपछि, अन्‍नाका बालाहरू निस्‍कन लागे । तर सामाहरू पनि बढे । 27 यसैले जमिन्दारको सेवकहरू आए र तिनलाई भने, “मालिक, तपाईंले हामीलाई असल बीउ दिनुभयो, र तपाईंको खेतमा हामीले त्‍यही बीउ छर्‍यौं । यसैले सामाहरू कहाँबाट आए ?” 28 जमिन्दारले तिनीहरूलाई भने, ‘मेरो शत्रुले यो गर्‍यो ।’ तिनको सेवकहरूले तिनलाई भने, ‘के हामी सामा उखेलौं भनी तपाईं इच्‍छा गर्नुहुन्छ ?’ 29 तिनले तिनीहरूलाई भने, ‘अहँ ! त्यसो नगर, किनभने साथसाथै तिमीहरूले केही गहुँ पनि उखेल्न सक्‍छौ । 30 कटानीको समय नभएसम्म गहुँ र सामा सँगसँगै बढ्न देओ । त्यसबेला काट्नेहरूलाई म भन्‍ने छु, ‘पहिले सामा जम्मा गर र त्यसलाई जलाउन मुठा बाँध । त्यसपछि गहुँ जम्मा गर र मेरो भकारीहरूमा हाल ।’” 31 येशूले यो दृष्‍टान्त पनि भन्‍नुभयोः “जब परमेश्‍वरले स्‍वर्गबाट राज्‍य गर्नुहुन्छ, त्‍यो रायोको बीउ जस्तो हो जुन एकजना मानिसले आफ्नो खेतमा छरेपछि बढ्‍छन् । 32 यद्यपि रायोको बीउ, मानिसहरूले छर्ने सबै बीउमध्ये सबभन्दा साना हुन्‍छन्, यहाँ इस्राएलमा ती ठूला विरुवाहरू हुन्छन् । जब ती बिरुवाहरू पूरा बढेका हुन्‍छन्, ती तरकारी बारीका अरू बिरुवाहरू भन्दा ठूला हुन्छन् । ती रूखहरू जत्रा ठूला झाडीहरू हुन्छन्, र तिनीहरूका हाँगाहरूमा चराहरूका लागि गूँडहरू बनाउन पुग्‍ने ठूला हुन्छ ।” 33 येशूले यो दृष्‍टान्त पनि भन्‍नुभयोः “जब परमेश्‍वरले स्‍वर्गबाट राज्‍य गर्नुहुन्छ, यो रोटी बनाउँदै गरेकी एउटी महिला जस्‍तै हो । तिनले चालिस किलो जति पिठो लिइन् र थोरै खमिर मिसाइन, अनि रोटी फुल्यो ।” 34 यी सबै कुराहरू भीडलाई सिकाउनलाई येशूले तिनीहरूलाई दृष्‍टान्तहरू भन्‍नुभयो । उहाँले तिनीहरूसँग बोल्नुहुँदा, उहाँले स्वभाविकरूपमा यस्‍ता कथाहरू भन्‍नुभयो । 35 त्यसो गरेर धेरै अघि परमेश्‍वरले अगमवक्‍ताहरूमध्‍ये एकजनालाई लेख्‍न लगाउनुभएको कुरा उहाँले पूरा गर्नुभयो । “म दृष्‍टान्तहरूमा बोल्ने छु; मैले संसार सृष्‍टि गरेदेखि जे मैले गोप्य राखेको छु त्‍यो सिकाउन म दृष्‍टान्तहरू भन्‍ने छु ।” 36 येशूले भीडलाई टाढा पठाएपछि, उहाँ घरमा जानुभयो । तब चेलाहरू उहाँको नजीक गए र भने, “हामीलाई गहुँको खेतमा बढेको सामाको दृष्‍टान्त बुझाई दिनुहोस् ।” 37 उहाँले जवाफ दिनुभयो, “असल बीउ छर्ने मानिसले म, मानिसको पुत्रको प्रतिनिधित्व गर्छ । 38 खेतले यस संसारको प्रतिनिधित्व गर्छ, जहाँ मानिसहरू बस्छन् । रामोसँग बढेका बीउले परमेश्‍वरले राज्‍य गर्नुहुने मानिसहरूको प्रतिनिधित्व गर्छ । सामाहरूले ती मानिसहरूको प्रतिनिधित्व गर्छन् जसले दुष्‍ट शैतानले तिनीहरूलाई गर्न भनेका काम गर्छन् । 39 सामाको बीउ छर्ने शत्रुले शैतानको प्रतिनिधित्व गर्छ । बाली काट्नेहरूको अन्‍न जम्‍मा गर्ने समयले संसारको अन्‍तको समयलाई प्रतिनिधित्‍व गर्छ । बाली काट्नेहरूले स्‍वर्गदूतहरूको प्रतिनिधित्‍व गर्छन् । 40 सामाहरू जम्मा पारिन्‍छ र जलाइन्‍छ । त्यसले संसारको अन्त्य हुने समयमा, परमेश्‍वरले सबै मानिसहरूको न्याय गर्नुहुँदा, के हुने छ भन्‍ने कुराको प्रतिनिधित्‍व गर्छ । यो यस्तो हुने छः 41 म, मानिसको पुत्रले, आफ्‍ना स्वर्गदूतहरूलाई पठाउँने छु, र मैले राज्‍य गर्दै गरेका सबै कुराहरूबाट अरूहरूलाई पाप गर्न लगाउनेहरू र परमेश्‍वरको इच्‍छा उलङ्‍घन गर्नेहरू सबैलाई तिनीहरूले जम्मा गर्ने छन् । 42 स्वर्गदूतहरूले ती मानिसहरूलाई नरकको आगोमा फाल्ने छन् । ती मानिसहरू भोग्‍दै गरेका असह्‍य पीडाको कारणले त्‍यहाँ तिनीहरू रुने छन् र आफ्‍ना दाह्रा किट्ने छन् । 43 यद्यपि, उहाँको इच्‍छा अनुसार जीवन बिताएका मानिसहरू सूर्यझैं चम्कने छन् । तिनीहरू चम्कने छ, किनभने तिनीहरूकाो परमेश्‍वर पिताले तिनीहरूमाथि राज गर्नुहुने छ । तिमीहरूले यो कुरा बुझ्‍न सक्‍छौ भने, मैले भर्खरै भनेका कुरालाई तिमीहरूले होसियार भएर विचार गर्नुपर्छ ।” 44 “परमेश्‍वरले स्‍वर्गबाट गर्नुहुने राज्‍य यति मूल्‍यवान हुन्‍छ, यो एकजना मानिस जस्‍तो हो जसले अर्को व्‍यक्तिले खेतमा गाडी राखेको ठूलो धनराशी भट्टायो । यो मानिसले खनेर त्‍यो भेट्टाएपछि, उसले त्‍यसलाई फेरि गाड्यो, जसले गर्दा कसैले त्‍यो भेट्टाउने छैनन् । तब ऊ गयो र त्‍यो खेत किन्‍नलाई पैसा जम्‍मा गर्न आफ्‍ना सबै धनदौलतहरू बेच्‍यो । त्‍यसपछि ऊ गयो र त्‍यो खेत किन्‍यो, र यसरी उसले त्‍यो धनराशी प्राप्‍त गर्‍यो । 45 परमेश्‍वरले स्‍वर्गबाट गर्नुहुने राज्‍य यति मूल्‍यवान हुन्‍छ, यो व्‍यापारीले गरे जस्तो हो जसले असल गुणस्तरको मोतिहरू किन्‍न खोज्‍दै थियो । 46 जब उसले बेच्‍न राखेको एउटा अत्‍यन्‍त बहुमूल्य मोति भेट्टायो, त्‍यो मोति किन्‍न पैसा जम्‍मा गर्नलाई उसले आफ्ना सारा धनदौलत बेच्‍यो । अनि ऊ गयो र त्‍यो किन्यो । 47 जब परमेश्‍वरले स्‍वर्गबाट राज्‍य गर्नुहुन्‍छ, यो कोही मछुवाहरूले आफूले एउटा ठूलो तलाउमा एउटा ठूलो जाल हानेर समातेका माछाहरूलाई गरेको जस्तै गरे । तिनीहरूले काम लाग्‍ने र काम नलाग्‍ने दुबै गरी सबै किसिमका माछाहरू पक्रे । 48 जब जाल भरियो, मछुवाहरूले त्‍यसलाई किनारमा ताने । त्‍यसपछि तिनीहरू त्‍यहाँ बसे र असल माछाहरू बाल्‍टीहरूमा हाले, तर तिनीहरूले काम नलाग्‍ने चाहीं टाढा फाले । 49 यो यस्‍तो हो जुन संसारको अन्त्य हुँदा मानिसहरूलाई हुने छ । परमेश्‍वरले मानिसहरूको न्याय गर्दै हुनुभएको ठाउँमा स्वर्गदूतहरू आउने छन् र धर्मीहरूबाट दुष्‍ट मानिसहरूलाई अलग गर्ने छन् । 50 तिनीहरू दुष्‍ट मानिसहरूलाई नरकको आगोमा फाल्ने छन् । अनि ती दुष्‍ट मानिसहरूले भोगिरहेका अत्‍यन्‍त असह्‍य पीडाको कारणले तिनीहरूले रुने छन् र आफ्‍ना दाह्रा किट्ने छन् ।” 51 तब येशूले चेलाहरूलाई सोध्‍नुभयो, “मैले तिमीहरूलाई भनेका यी सबै दृष्‍टान्तहरू तिमीहरूले बुझ्छौ ?” तिनीहरूले उहाँलाई भने, “हो, हामीले ती बुझ्‍यौं ।” 52 त्यसपछि उहाँले भन्‍नुभयो, “यी दृष्‍टान्‍तहरू बुझ्‍ने र परमेश्‍वरले स्‍वर्गबाट राज्‍य गर्नुहुँदा त्‍यस अनुरूप काम गर्ने शिक्षकहरू र व्‍याख्‍याताहरू एकजना घर मालिक जस्‍तो हो जसले आफ्‍नो धनसारबाट नयाँ कुराहरू र पुराना कुराहरू दुबै निकाल्‍छ ।” 53 जब येशूले यी दृष्‍टान्तहरू भनेर सक्‍नुभयो, उहाँले चेलाहरूलाई लिनुभयो र त्यो इलाका छोड्नुभयो । 54 त्‍यसपछि उहाँहरू येशूको गृहनगर नासरत नगरमा जानुभयो । विश्राम-दिनमा उहाँले सभाघरमा मानिसहरूलाई सिकाउनु थाल्नुभयो । परिणामस्‍वरुप, त्यहाँ भएकाो मानिसहरू चकित भए । तर कसैले भने, “यी मानिस हामी जस्तै साधारण व्‍यक्ति हुन् ! यसैले कसरी तिनी यति धेरै जान्‍ने र यति धेरै बुझ्‍ने भए ? र कसरी तिनले यस्‍ता आश्‍चर्य कामहरू गर्न सक्छन् ? 55 तिनी सिकर्मीका छोरा त हुन्, होइनन् र ? तिनकी आमा मरियम अनि तिनका भाइहरू याकूब, योसेफ, सिमोन र यहूदा हुन् ! 56 र तिनका बहिनीहरू पनि यहाँ हाम्रो नगरमा बसोबास गर्छन् । यसैले कसरी तिनले सिकाउन सक्‍ने भए र यी सबै चमत्कारहरू गर्छन् ?” 57 येशूसँग त्‍यस्‍तो अधिकार भएको कुरालाई त्‍यहाँ भएका मानिसहरूले स्‍वीकार गरेनन् । यसैले येशूले तिनीहरूलाई भन्‍नुभयो, “मलाई र अरू अगमवक्‍ताहरूलाई हामी जाने हरेक ठाउँमा मानिसहरूले आदर गर्छन्, तर हाम्रा आफ्‍ना नगरहरूमा हाम्रो आदर हुँदैन, र हाम्रो आफ्‍नै परिवारहरूले पनि हाम्रो आदर गर्दैनन् !” 58 येशूले त्‍यहाँ धेरै आश्‍चर्य कामहरू गर्नुभएन किनभने उहाँसँग त्‍यस्‍तो अधिकार भएको कुरामा मानिसहरूले विश्‍वास गरेनन् ।