12

1 त्यो समयको एउटा विश्राम-दिनमा, येशू र चेलाहरू कुनै अन्‍नबाली लगाएको खेतबरीबाट जाँदै हुनुहुन्‍थ्‍यो । चेलाहरू भोकाएको कारणले, तिनीहरूले अन्‍नका बालाहरू टिपे र खान खाए । यसो गर्न मोशाको व्यवस्थाले अनुमति दिएको थियो । 2 तिनीहरूले त्यसो गर्दै गरेको केही फरिसीहरूले देखे, यसैले तिनीहरूले येशूलाई भने, “हेर्नुहोस् ! तपाईंका चेलाहरूले हाम्रो विश्रामको दिनमा कामहरू गर्दै छन् । व्यवस्थाले त्यसो गर्ने अनुमति दिँदैन !” 3 तर येशूले जवाफ दिनुभयो, “हाम्रो पुर्खा दाऊद राजा र तिनीसित भएका मानिसहरू भोकाउँदा तिनले के गरे भनी धर्मशास्‍त्रमा लेखिएको छ । 4 तिनीहरूले परमेश्‍वरको आराधना गर्ने पवित्र पालभित्र दाऊद राजा पसे र परमेश्‍वरको अघि चढाइएको रोटी खाए । तर मोशाको व्यवस्थाअनुसार, पुजारीहरूलाई मात्र त्यो रोटी खाने अनुमति थियो, तर दाऊद र तिनीसित भएका मानिसहरूले त्यो खाए । 5 अझै, मोशाले लेखेका कुरा निश्‍चय नै तिमीहरूले पढेका छौ, जब तिनले भने कि पुजारीहरूले, विश्राम-दिनमा मन्दिरमा सेवा गरेर, यहूदीको विश्राम-दिनको व्यवस्था नमाने तापनि, तिनीहरू दोषी हुँदैनन् । 6 यसको अर्थ के हो म तिमीहरूलाई भन्‍छुः म तिमीहरूकहाँ आएको छु, र म मन्दिरभन्दा धेरै महत्त्वपूर्ण हुँ । 7 धर्मशास्‍त्रमा भएका परमेश्‍वरका यी वचनहरूको बारेमा तिमीहरूले विचार गर्नुपर्छः ‘तिमीहरूले मानिसहरूसित कृपापूर्णरूपमा व्यवहार गर, र बलिदान मात्र चढाउने होइन भनी म इच्‍छा गर्छु ।’ त्‍यसको अर्थ के हो तिमीहरू बुझेको भए, तिमीहरूले मेरो चेलहरूलाई दोष लगाउने थिएनौ, जसले केही खराब गरेका छैनन् । 8 म मानिसको पुत्र हुँ, र मानिसहरूले विश्राम-दिनमा के गर्न सक्छन् भनी तिनीहरूलाई भन्‍ने अधिकार मलाई छ ।” 9 येशूले त्यो दिन त्यो ठाउँ छोडेपछि, उहाँ एउटा सभाघरमा जानुभयो । 10 त्यहाँ उहाँले सुकेको हात भएको एकजना मानिसलाई देख्‍नुभयो । फरिसीहरूले विश्राम-दिनको बारेमा येशूसँग विवाद गरिरहे, यसैले तिनीहरूमध्ये एउटाले उहाँलाई सोध्यो, “के हाम्रो विश्राम-दिनमा परमेश्‍वरले हामीलाई मानिसहरू निको पार्ने अनुमति दिनुहुन्छ ?” येशूले केही गलत बोलेर पाप गर्नुहुन्छ भन्‍ने आशा तिनीहरूले गर्दै थिए । 11 उहाँले तिनीहरूलाई जवाफ दिनुभयो, “मानौं, तिमीहरूमध्ये एकजनासित एउटा मात्र भेडा थियो, र विश्राम-दिनमा त्यो एउटा गहिरो खाडलभित्र खस्यो । के तिमीहरूले त्यसलाई त्‍यहाँ छोड्छौ ? अहँ छोड्दैनौ । तिमीहरूले त्यसलाई समात्‍छौ र तुरुन्‍तै त्‍यसलाई उचालेर बाहिर निकाल्छौ ! 12 तर त्यो एउटा भेडाभन्दा एकजना व्‍यक्ति धेरै मूल्यवान हुन्छ । यसैले कुनै पनि दिनमा, हाम्रो विश्रामकै दिनमा पनि अर्को व्‍यक्तिलाई निको पारेर असल गर्नु हाम्रा निम्‍ति निश्‍चय नै ठिक हो !” 13 तब उहाँले त्यो मानिसलाई भन्‍नुभयो, “तिम्रो हात पसार !” त्यस मानिसले आफ्नो सुकेको हात पसार्‍यो, र त्‍यो अर्को हात जस्तै स्वस्थ भयो ! 14 त्‍यसपछि फरिसीहरूले सभाघर छाडे । येशूलाई कसरी मार्न सकिन्छ भनी तिनीहरूले सँगसँगै योजना बनाउन थाले । 15 फरिसीहरूले येशूलाई मार्न षडयन्‍त्र गर्दै थिए भनी उहाँले थाहा पाउनुभएको कारणले, उहाँले चेलाहरूलाई लिनुभयो र त्यहाँबाट टाढा जानुभयो । धेरैजना बिरामी मानिसहरूका साथसाथै ठुला भीडहरू उहाँको पछि लागे, र उहाँले तिनीहरू सबैलाई निको पार्नुभयो । 16 तर तिनीहरूले अरू मानिसलाई उहाँको बारेमा नभनून् भनी उहाँले तिनीहरूलाई कडारूपमा भन्‍नुभयो । 17 यसो गरेर यशैया अगमवक्‍ताले धेरै अघि लेखेको कुरा उहाँले पुरा गर्नुभयो । तिनले लेखे, 18 “मेरो दास यहाँ छन्, जसलाई मैले चुनेको छु, जसलाई म प्रेम गर्छु र जसले मलाई खुशी पार्छन् । मै आफ्‍नो आत्मा तिनमा हालिदिने छु, र तिनले गैर-यहूदीहरूमा न्याय र मुक्ति ल्याउने छन् । 19 तिनले मानिसहरूसँग झगडा गर्ने छैनन्, न चिच्याउने छन् । र तिनी बाटोहरूमा चिच्याउने छैनन् । 20 कमजोर मानिसहरूसित तिनी कोमल हुने छन्, एकजना व्‍यक्ति मुस्किलले बाँचेको छ भने तिनले त्यसलाई मार्ने छैनन् । र तिनले न्‍यायोचित किसिमले मानिसहरूको न्याय गर्ने छन् र तिनीहरू दोषी छैनन् भनी घोषणा गर्ने छन् । 21 यसरी गैर-यहूदीहरूले दृढतासाथ तिनमा विश्‍वास गर्ने छन् ।” 22 एकदिन केही मानिसहरूले दृष्‍टिविहीन र दुष्‍ट आत्मा लागेर बोल्न नसक्‍ने भएको एकजना मानिसलाई येशूकहाँ ल्याए । तब येशूले दुष्‍ट आत्मा निकाल्नुभयो र त्‍यसलाई निको पार्नुभयो । तब त्यो मानिस बोल्न थाल्‍यो र देख्‍न सक्‍ने भयो । 23 त्‍यो देख्‍ने सबै भिडहरू आश्‍चर्यचकित भए । तिनीहरूले एकआपसमा सोध्‍नलागे, “के यी मानिस दाऊद राजाको सन्‍तान, ख्रीष्‍ट हुन सक्छन्, जसको हामी आशा गर्दै छौं ?” 24 फरिसीहरूले यो आश्‍चर्यकामको बारेमा सुनेको कारणले, तिनीहरूले भने, “यो परमेश्‍वर होइन तर भुतहरूका शासक बालजिबुल हो जसले मानिसहरूबाट दुष्‍ट आत्माहरू धपाउन यस मानिसलाई सक्षम पार्छ !” 25 तर फरिसीहरूले जे विचार गर्दै थिए त्‍यो येशूले थाहा पाउनुभयो । यसैले उहाँले तिनीहरूलाई भन्‍नुभयो, “एक राष्‍ट्रमा भएका मानिसहरू एक-अर्काको विरुद्धमा युद्ध गर्छन् भने, तिनीहरूले आफ्नो राष्‍ट्रलाई नाश गर्ने र्छन् । एउटै सहर वा घरमा बस्‍ने मानिसहरू एक-अर्कामा लड्छन् भने, तिनीहरू निश्‍चय पनि एउटै समूह वा परिवार भएर रहन सक्‍ने छैनन् । 26 त्यसरी नै, शैतानले आफ्नै दुष्‍ट आत्माहरूलाई धपाउँदै थियो भने, उसले आफ्नै विरुद्धमा युद्ध गर्‍यो । उसले आफ्ना सेवकहरूमाथि निरन्तर राज्‍य गर्न सक्‍ने छैन ! 27 अझै, दुष्‍ट आत्माहरू धपाउनलाई मलाई शैतानले सक्षम बनाउँने कुरा सत्य हो भने, के यो पनि सत्य हो कि तिनीहरूलाई धपाउने तिमीहरूका चेलाहरू पनि शैतानकै शक्‍तिले त्‍यसो गर्छन् ? होइन ! यसैले तिनीहरूले शैतानको शक्तिले काम गर्छन् भनेकोमा तिनीहरूले तिमीहरूको न्‍याय गर्ने छन् । 28 तर परमेश्‍वरको आत्माले मलाई दुष्‍ट आत्माहरू धपाउन सक्षम बनाउनुहुने कारणले यो प्रमाणित हुन्‍छ कि स्‍वर्गको परमेश्‍वरको राज्‍य यहाँ आइसकेको छ । 29 किन मैले भुत आत्माहरू धपाउन सक्‍छु भनी म तिमीहरूलाई देखाउने छु । एकजना व्‍यक्तिले शैतानजस्तो बलियो मानिसलाई पहिले बाँध्‍दैन भने, ऊ त्‍यो बलियो मानिसको घरमा जान र त्‍यसको धन-दौलतहरू लैजान सक्दैन । तर उसले त्‍यसलाई बाँध्‍छ भने, त्‍यसपछि उसले त्‍यसका धन-दौलतहरू लैजान सक्‍ने छ । 30 कोही पनि तटष्‍थ हुन सक्दैन । पवित्र आत्माले मलाई भूता आत्माहरू निकाल्‍न सक्षम बनाउनु हुन्छ भनी स्‍वीकार नगर्नेहरूले मेरो विरोध गर्दै रहन्‍छन्, र मेरो चेलाहरू हुनलाई मानिसहरू जम्मा नगर्नेहरूले ती मानिसहरूलाई मबाट टाढा पुर्‍याउँदै रहन्‍छन् । 31 मलाई भूत आत्माहरू धपाउनलाई पवित्र आत्माले सक्षम बनाउँदै हुनहुन्‍न भनी तिमीहरू भन्‍दै छौ । यसैले म तिमीहरूलाई यसो भन्‍ने छुः अरू मानिसहरूलाई चित्त दुखाउने र अपमान गर्ने मानिसहरू, त्‍यसपछि दुःखी हुन्‍छन् र आफूलाई क्षमा गर्न परमेश्‍वरसँग विन्‍ती गर्छन् भने, परमेश्‍वरले तिनीहरूलाई क्षमा गर्नुहुने छ । तर उहाँले ती मानिसहरूलाई क्षमा गर्नुहुने छैन जसले पवित्र आत्माको अपमान गर्छन् । 32 म, मानिसको पुत्रको आलोचना गर्ने मानिसहरूलाई परमेश्‍वरले क्षमा गर्न इच्‍छा गर्नुहुन्‍छ । तर म तिमीहरूलाई चेतावनी दिन्छु कि पवित्र आत्माले गर्नुहुने कामका बारेमा दुष्‍ट कुराहरू बोल्नेहरूलाई उहाँले क्षमा गर्नुहुने छैन । परमेश्‍वरले तिनीहरूलाई अहिले पनि र आउनेवाला संसारमा पनि क्षमा गर्नुहुने छैन ।” 33 “जब तिमीहरूले एउटा रूखमा केही फल देख्छौ, तिमीहरूले त्‍यो फल असल छ कि खराब भनी निर्णय गर्छौ । त्‍यो असल छ भने, तब तिमीहरूले जान्दछौ कि त्‍यसको रूख पनि असल छ । मैले असल कुराहरू गर्दैछु भने, तब म असल छु कि छैन भनी तिमीहरूले जान्‍नुपर्छ । 34 तिमीहरू विषालु सर्पका सन्तानहरू जस्ता छौ ! तिमीहरू कुनै असल कुरा भन्‍न सक्दैनौ, किनकि तिमीहरू दुष्‍ट छौ । व्‍यक्तिले जे भन्‍छ त्‍यसले आफूभित्र भएको कुरा दर्शाउँछ । 35 असल मानिसले असलै कुरा बोल्छन् । किनभने यी सबै असल कुराहरू तिनीहरूले एउटा सुरक्षित ठाउँमा संचित गरेको जस्‍तै हो, र कुनै पनि बेला तिनीहरूलाई बाहिर ल्‍याउन सक्छन् । तर दुष्‍ट मानिसहरू दुष्‍ट कुराहरू बोल्छन् । किनभने यी सबै दुष्‍ट कुराहरू तिनीहरूले संचित गरेको जस्‍तै हो, र कुनै पनि बेला जहाँ तिनीहरूले ती संचित गरेका छन् त्‍यहाँबाट ती बाहिर ल्‍याउन सक्छन् । 36 म तिमीलाई भन्छु कि जब परमेश्‍वरले न्याय गर्नुहुन्‍छ, मानिसहरूले बोलेका हरेक व्‍यर्थ शब्द उहाँले तिनीहरूलाई याद गराउनुहुने छ, र मानिसरूले बोलेका कुराका आधारमा उहाँले तिनीहरूको न्याय गर्नुहुने छ । 37 तिमीहरूले बोलेको शब्‍दहरूका आधारमा कि त परमेश्‍वरले तिमीहरूलाई धर्मी घोषणा गर्नुहुने छ, वा तिमीहरूले जे बोलेका छौ, त्‍यसको आधारमा उहाँले तिमीहरूलाई दोषी ठहराउनुहुने छ ।” 38 तब केही फरिसीहरू र यहूदीका व्यवस्थाका शिक्षकहरूले येशूलाई जवाफ दिए, “गुरुज्‍यू, तपाईंले एउटा आश्‍चर्य काम गरेको हामी हेर्ने इच्‍छा गर्छौं जसले परमेश्‍वरले तपाईंलाई पठाउनुभयो भनी हामीलाई विश्‍वस्‍त पार्ने छ ।” 39 तब येशूले तिनीहरूलाई भन्‍नुभयो, “मैले आश्‍चर्य कामहरू गरेको तिमीहरूले पहिले नै देखिसकेका छौ, तर तिमीहरू दुष्‍ट छौ, र तिमीहरू विश्‍वासयोग्य भएर परमेश्‍वरको आराधना गर्दैनौ ! परमेश्‍वरले मलाई पठाउनुभयो भनी मैले प्रमाणित गरेको तिमीहरू इच्‍छा गर्छौ, तर परमेश्‍वरले तिमीलाई एउटा मात्र आश्‍चर्य काम देखाउनुहुने छ । त्‍यो योना अगमवक्‍तालाई जे भएको थियो त्यस्तै हुने छ । 40 परमेश्‍वरले योनालाई बाहिर निकाल्नु अघि तिनी एउटा ठुलो माछाको पेटमा तीन दिन र तीन रात बसे । त्‍यसरी नै, तीन दिन र तीन रातसम्म म, मानिसको पुत्र पृथ्वीको गहिराइमा हुने छु र त्‍यसपछि परमेश्‍वरले मलाई फेरि जीवित पार्नुहुने छ । 41 परमेश्‍वरले हरेकको न्याय गर्नुहुँदा, निनवे सहरमा बसोबास गरेका मानिसहरू उहाँको अघि तिमीहरूसँगै खडा हुने छन् । तर योनाले तिनीहरूलाई चेतावनी दिएपछि, तिनीहरूले पाप गर्न छोडे । अहिले म तिमीहरुकहाँ आएको छु, र म योना भन्‍दा धेरै महत्‍वपूर्ण छु, तर तिमीहरूले पाप गर्न छाडेका छैनौ । यसैले परमेश्‍वरले तिमीहरूको न्याय गर्नुहुने छ । 42 धेरै अघि जीवन बिताएकी, इस्राएलको दक्षिणमा भएको शेबाकी महारानी सोलोमन राजाले सिकाएको बुद्धिको कुरा सुन्‍नलाई धेरै टाढाबाट आइन् । अहिले म तिमीहरूकहाँ आएको छु, र म सोलोमन भन्दा धेरै महत्त्वपूर्ण छु, तर तिमीहरूले पाप गर्न छाडेका छैनौ । यसैले परमेश्‍वरले हरेकको न्याय गर्नुहुँदा, शेबाकी महारानी उहाँको अघि तिमीहरूसँगै खडा हुने छिन्, र तिनले तिमीहरूलाई दोषी ठहराउने छिन् ।” 43 “कुनैबेला जब एउटा दुष्‍ट आत्माले एकजना व्‍यक्तिलाई छोड्छ, विश्राम लिन कोही व्‍यक्तिलाई खोज्‍दै, त्‍यो निर्जन ठाउँहरूमा भौंतारिन्छ । उसले कोही पनि भेट्टाएन भने, 44 त्‍यसले मनमनै भन्छ, ‘म बस्‍ने गरेकै व्‍यक्तिकहाँ म फर्कने छु ।’ यसैले त्‍यो फर्केर जान्छ र त्यस व्‍यक्तिको जीवनमा परमेश्‍वरको आत्माले अधीन नगरेको भेट्टाउँछ । त्यो व्‍यक्तिको जीवन सफा गरेको र सबै कुरा मिलाएर राखेको तर रित्तो घर जस्तै हो । 45 तब त्यो दुष्‍ट आत्मा जान्‍छ र अझै दुष्‍ट अरू सातवटा आत्‍माहरू लिएर आउँछ, र ती सबै त्‍यो व्‍यक्तिभित्र पस्‍छन् र त्यहाँ बस्‍न थाल्छन् । यसैले त्यो व्याक्तिको पहिलेको अवस्था खराब थियो भने, त्‍यो झनै बढी खराब हुने छ । मैले सिकाएको सुनेका तिमीहरू दुष्‍ट मानिसहरूले यस्‍तै अनुभव गर्ने छौ ।” 46 येशूले भिडसँग बोल्दै गर्नुहुँदा, उहाँको आमा र भाइहरू आइपुगे । तिनीहरू घरबाहिर खडा भए, र तिनीहरू उहाँसँग कुरा गर्न चाहन्थे । 47 कसैले उहाँलाई भन्यो, ‘तपाईंको आमा र तपाईंका भाइहरू बाहिर खडा छन्, र तपाईंसँग कुरा गर्न चाहन्छन् । 48 तब येशूले त्यसो भन्‍ने व्‍यक्तिलाई भन्‍नुभयो, “वास्‍तविकरूपमा मेरा आमा र भाइहरू को हुन् म तिमीहरूलाई बन्‍छु ।” 49 त्‍यसपछि उहाँले आफ्ना चेलाहरूलाई देखाउँदै भन्‍नुभयो, “मेरो आमा र मेरा भाइहरूको स्‍थान लिनेहरू यिनीहरू नै हुन् । 50 स्वर्गमा हुनुहुने मेरो पिता परमेश्‍वरको इच्छाअनुसार काम गर्नेहरूले नै मेरो भाइ, मेरो बहिनी अथवा मेरी आमाको स्‍थान लिन्‍छन् ।”