अध्याय २०

1 अब हप्‍ताको पहिलो दिन सबेरै अँध्यारो छँदै मरियम मग्दलिनी चिहानमा आइन्, र तिनले चिहानबाट ढुङ्गा हटाइएको देखिन् । 2 यसकारण तिनी दौडिन्, अनि सिमोन पत्रुस र येशूले माया गर्नुभएका अर्का चेलाकहाँ आइन्, र तिनले तिनीहरूलाई भनिन्, “तिनीहरूले प्रभुलाई चिहानबाट निकालेर लगे, अनि तिनीहरूले उहाँलाई कहाँ राखेका छन्, हामी जान्दैनौं ।” 3 तब पत्रुस र ती अर्का चेला बाहिर निस्के र तिनीहरू चिहानतिर जाँदै थिए । 4 तिनीहरू दुवै जना सँगसँगै दौडे, र अर्का चेला चाँडै पत्रुसभन्दा अगि दौडे, अनि चिहानमा पहिले आइपुगे । 5 तब तिनले निहुरिएर हेरे, तिनले सुतीका कपडाहरू पडिरहेको देखे, तर तिनी भित्र पसेनन् । 6 सिमोन पत्रुस तिनीपछि आइपुगे र चिहानभित्र गए । तिनले त्यहाँ सुतीका कपडाहरू पडिरहेका देखे 7 अनि उहाँको शिरमा भएको कपडा पनि देखे । यो पडिरहेका कपडाहरूसँग थिएन, तर अलग्‍गै एक ठाउँमा पट्‌याइएको थियो । 8 त्यसपछि चिहानमा पहिला आइपुग्‍ने ती अर्का चेला पनि भित्र गए, अनि तिनले देखे र विश्‍वास गरे । 9 किनकि त्यसबेलासम्म पनि उहाँ मृतकहरूबाट जीवित भई उठ्नुपर्छ भन्‍ने धर्मशास्‍‍त्र तिनीहरूले अझै पनि जानेनन् । 10 यसकारण चेलाहरू फेरि घर गए । 11 तर मरियमचाहिं रुँदै चिहानबाहिर उभिएरहेकी थिइन् । तिनले रुँदै निहुरिएर चिहानभित्र हेरिन् । 12 तिनले सेतो पहिरनमा दुई जना स्वर्गदूतलाई, एउटा शिरपट्टि र अर्को पाउपट्टि बसिरहेका देखिन् जहाँ येशूको शरीर राखिएको थियो । 13 तिनीहरूले तिनलाई भने, “हे नारी, तिमी किन रोइरहेकी छ्यौ?” तिनले तिनीहरूलाई भनिन्, “किनभने तिनीहरूले मेरा प्रभुलाई लगे, अनि मलाई थाहा छैन तिनीहरूले उहाँलाई कहाँ राखेका छन् ।” 14 जब तिनले यसो भनिन्, तिनी फर्किन्, अनि तिनले त्यहाँ येशू उभिरहनुभएको देखिन्, तर उहाँ येशू नै हुनुहुन्छ भनी तिनले चिनिनन् । 15 येशूले तिनलाई भन्‍नुभयो, “ए नारी! तिमी किन रोइरहेकी छ्यौ? तिमी कसलाई खोज्दैछ्यौ?” तिनले उहाँलाई माली भनी ठानिन्, त्यसैले तिनले उहाँलाई भनिन्, “महाशय, यदि तपाईंले उहाँलाई लानुभएको छ भने मलाई बताउनुहोस् तपाईंले उहाँलाई कहाँ राख्‍नुभएको छ, र म उहाँलाई लिएर जानेछु ।” 16 येशूले तिनलाई भन्‍नुभयो, “मरियम!” तिनी फर्किन्, र आरमेइक भाषामा उहाँलाई भनिन्, “रब्बोनी” (जसको अर्थ “गुरुज्यू” भन्‍ने हुन्छ ) । 17 येशूले तिनलाई भन्‍नुभयो, “मलाई नछोऊ, किनकि म अझै पिताकहाँ गएको छैनँ, तर मेरा भाइहरूकहाँ गएर तिनीहरूलाई भनिदेऊ, कि म मेरा पिता र तिमीहरूका पिता, अनि मेरा परमेश्‍वर र तिमीहरूका परमेश्‍वरकहाँ जानेछु ।” 18 मरियम मग्दलिनी चेलाहरूकहाँ आइन्, र भनिन् “मैले प्रभुलाई देखेको छु ” र उहाँले तिनलाई यी कुराहरू भन्‍नुभएको थियो भनी बताइन् । 19 हप्‍ताको पहिलो दिनको साँझपख यहूदीहरूको डरले चेलाहरू ढोकाहरू बन्द गरेर बसेको अवस्थामा, येशू आउनुभयो र तिनीहरूका बीचमा उभिनुभयो, र तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूलाई शान्ति!” 20 उहाँले यसो भन्‍नुभएपछि, उहाँले तिनीहरूलाई आफ्ना हात र कोखा देखाउनुभयो । चेलाहरूले प्रभुलाई देखेपछि तिनीहरू खुसी भए । 21 तब येशूले तिनीहरूलाई फेरि भन्‍नुभयो, “तिमीहरूलाई शान्ति होस् । जसरी पिताले मलाई पठाउनुभएको छ त्यसरी नै म तिमीहरूलाई पठाउँदैछु ।” 22 जब येशूले यसो भन्‍नुभयो उहाँले तिनीहरूमाथि सास फुक्‍नुभयो, र तिनीहरूलाई भन्‍नुभयो, “पवित्र आत्मा लेओ । 23 तिमीहरूले जसका पापहरू क्षमा गर्छौ, तिनीहरूलाई क्षमा गरिन्छन्; जसका पापहरू तिमीहरू रहनदिन्छौ, ती रहनदिइन्छन् ।” 24 येशू आउनुहुँदा बाह्र जना चेलामध्ये दिदुमस भनिने थोमाचाहिं तिनीहरूसँग थिएनन् । 25 पछि अरू चेलाहरूले तिनलाई भने, “हामीले प्रभुलाई देखेका छौ ।" तिनले तिनीहरूलाई भने, “मैले उहाँका हातमा काँटीहरूका डोब नदेखेसम्म, र मेरो औंला काँटीहरूका डोबमा नहालेसम्म, र उहाँको कोखमा मेरो हात नहालेसम्म म विश्‍वास गर्नेछैनँ ।” 26 आठ दिनपछि उहाँका चेलाहरू फेरि भित्रै थिए, र थोमा पनि तिनीहरूसँगै थिए । ढोकाहरू बन्द गरिएको अवस्थामा नै येशू तिनीहरूकहाँ आउनुभयो र तिनीहरूका बीचमा उभिनुभयो, र भन्‍नुभयो, “तिमीहरूलाई शान्ति!” 27 त्यसपछि उहाँले थोमालाई भन्‍नुभयो, “तिम्रो औंला यहाँ हाल, र मेरा हातहरू हेर । तिम्रो हात यहाँ मेरो कोखामा हाल ।अविश्‍वासी नहोऊ, तर विश्‍वास गर ।” 28 थोमाले जवाफ दिए, र उहाँलाई भने, “मेरा प्रभु र मेरा परमेश्‍वर ।” 29 येशूले तिनलाई भन्‍नुभयो, “तिमीले मलाई देखेको कारणले विश्‍वास गरेका छौ । धन्य हुन् तिनीहरू जसले देखेका छैनन्, र विश्‍वास गरे ।” 30 अब येशूले चेलाहरूको उपस्थितिमा अरू धेरै चिन्हहरू गर्नुभयो, जुन चिन्‍हहरू यस पुस्तकमा लेखिएका छैनन् । 31 तर यीचाहिं लेखिएका छन्, ताकि येशू नै ख्रीष्‍ट अर्थात् परमेश्‍वरका पुत्र हुनुहुन्छ भनी तिमीहरूले विश्‍वास गर्न सक, र विश्‍वास गरेर उहाँको नाउँमा तिमीहरूले जीवन पाउन सक ।