अध्याय १९

1 तब पिलातसले येशूलाई लगे र उहाँलाई कोर्रा लगाए । 2 सिपाहीहरूले काँढाको मुकुट बनाए । तिनीहरूले यसलाई येशूको शिरमा लगाइदिए, अनि उहाँलाई बैजनी रङको वस्‍‍त्र पहिर्‍याइदिए । 3 तिनीहरू उहाँकहाँ आए, र भने, “यहूदीहरूका राजाको जय होस् !” अनि तिनीहरूले उहाँलाई मुक्‍का हाने । 4 तब पिलातस फेरि बाहिर गए, र तिनीहरूलाई भने, “हेर, मैले यिनलाई तिमीहरूकहाँ बाहिर ल्याउँदैछु, ताकि मैले यिनमा कुनै दोष पाउँदिनँ भन्‍ने तिमीहरूले जान्‍न सक ।” 5 त्यसैले काँढाको मुकुट र बैजनी रङको वस्‍‍त्र लगाएर येशू बाहिर आउनुभयो । पिलातसले तिनीहरूलाई भने, “यी मानिसलाई हेर!” 6 जब मुख्य पूजाहारीहरू र अधिकारीहरूले येशूलाई देखे, तिनीहरू उच्‍च सोरले कराए, र भने, “त्यसलाई क्रूसमा टाँग्‍नुहोस्, त्यसलाई क्रूसमा टाँग्‍नुहोस्!” पिलातसले तिनीहरूलाई भने, “तिमीहरू आफैंले लैजाओ र यिनलाई क्रूसमा टाँग, किनकि म यिनमा कुनै दोष भेट्टाउँदिनँ ।” 7 यहूदीहरूले तिनलाई जवाफ दिए, “हामीसँग व्यवस्था छ, अनि त्यो व्यवस्थाअनुसार यो मर्नुपर्छ, किनभने यसले परमेश्‍वरका पुत्र हुँ भनी दाबी गर्‍यो ।” 8 जब पिलातसले यो भनाइ सुने, तिनी झन् डराए, 9 अनि तिनी फेरि सरकारी मुख्‍यालयभित्र पसे र येशूलाई भने, “तिमी कहाँबाट आएका हौ?” तर येशूले तिनलाई जवाफ दिनुभएन । 10 तब पिलातसले उहाँलाई भने, “के तिमी मसँग बोल्दैनौ? मसित तिमीलाई छोडिदिने र क्रूसमा टाँग्‍ने शक्‍ति छ भन्‍ने के तिमीलाई थाहा छैन?” 11 येशूले तिनलाई जवाफ दिनुभयो, “तपाईंलाई माथिबाट दिइएको बाहेक तपाईंसँग ममाथि कुनै शक्‍ति छैन । यसकारण जसले मलाई तपाईंको हातमा सुम्‍प्‍यो त्यसको पाप अझ ठुलो हुन्छ ।” 12 यस जवाफमा पिलातसले उहाँलाई छोड्ने कोसिस गरे, तर यहूदीहरू यसो भन्दै कराए, “तपाईंले यो मानिसलाई छोड्नुभयो भने तपाईं कैसरको मित्र हुनुहुन्‍न । हरेक जसले आफैंलाई राजा तुल्याउँछ, त्यो कैसरको विरुद्ध बोल्छ ।” 13 जब पिलातसले यी कुराहरू सुने, तिनले येशूलाई बाहिर ल्याए, र “ढुङ्गाको पेटी” तर आरमेइक भाषामा “गब्बथा” भनिने ठाउँको न्याय आसनमा बसे । 14 अब निस्तार-चाडको तयारीको दिन, करिब छैठौं घडी भएको थियो । पिलातसले यहूदीहरूलाई भने, “हेर, तिमीहरूका राजा यहाँ हुनुहुन्छ!” 15 तिनीहरू ठुलो सोरमा कराए, “यसलाई लानुहोस्, यसलाई लानुहोस्, यसलाई क्रूसमा टाँग्‍नुहोस्!” पिलातसले तिनीहरूलाई भने, “के तिमीहरूका राजालाई मैले क्रूसमा टाँग्‍नुपर्ने हो?” मुख्य पूजाहारीहरूले जवाफ दिए, “हामीसँग कैसरबाहेक अरू कुनै राजा छैन ।” 16 तब पिलातसले क्रूसमा टाँग्‍नको लागि येशूलाई तिनीहरूकहाँ सुम्पे । 17 तब तिनीहरूले येशूलाई लगे, अनि उहाँ आफ्‍नो क्रूस आफैं बोकी, “खप्परे ठाउँ” भन्‍ने ठाउँतिर जानुभयो, जसलाई आरमेइक भाषामा “गलगथा” भनिन्छ । 18 त्यहाँ तिनीहरूले येशूलाई क्रूसमा टाँगे, र येशूलाई बीचमा पारेर, उहाँसँगै अरू दुई जना मानिसलाई पनि, दुवैपट्टि एक-एक जना गरी क्रूसमा टाँगे । 19 पिलातसले एउटा चिन्ह पनि लेखे र त्यो क्रूसमाथि राखे । त्यहाँ यस्तो लेखिएको थियोः 'नासरतका येशू, यहूदीहरूका राजा ।' 20 यहूदीहरूमध्ये धेरैले यो चिन्ह पढे, किनभने येशूलाई टाँगिएको ठाउँ सहरको नजिकै थियो । यो चिन्ह आरमेइक, ल्याटिन, र ग्रीकमा लेखिएको थियो । 21 तब यहूदीहरूका मुख्य पूजाहारीहरूले पिलातसलाई भने,"'यहूदीहरूका राजा' नलेख्‍नुहोस्, बरु 'यसले म यहूदीहरूका राजा हुँ भन्यो' भनी लेख्‍नुहोस् ।” 22 पिलातसले जवाफ दिए, “मैले जे लेखें सो लेखें ।” 23 सिपाहीहरूले येशूलाई क्रूसमा टाँगेपछि तिनीहरूले उहाँका वस्‍‍त्र लिए, प्रत्‍येक सिपाहीको लागि एक-एक भाग हुने गरी त्यसलाई चार भागमा बाँडे; र लबेदा पनि । अब लबेदाचाहिं सिउनीविनाको माथिदेखि पूरै बुनेको थियो । 24 तब तिनीहरूले एक आपसमा भने, “यसलाई नच्यातौं, बरु यो कसको हुनेछ भनी निर्णय गर्न चिट्ठा हालौं ।” धर्मशास्‍‍‍त्रको वचन पूरा होस् भनेर यसो भयो, “तिनीहरूले मेरो वस्‍‍त्र आपसमा भाग लगाए र मेरो वस्‍‍त्रको लागि चिट्ठा हाले ।” सिपाहीहरूले यसो गरे । 25 अब येशूकी आमा, उहाँकी आमाकी बहिनी, क्लोपासकी पत्‍नी मरियम र मरियम मग्दलिनी येशूको क्रूसको छेउमा उभिरहेका थिए । 26 जब येशूले आफ्नी आमा र आफूले माया गर्नुभएका चेलालाई नजिकै उभिरहेका देख्‍नुभयो, उहाँले आफ्नी आमालाई भन्‍नुभयो, “हे नारी, हेर्नुहोस्, तपाईंको छोरो!” 27 तब उहाँले ती चेलालाई भन्‍नुभयो, “हेर, तिम्री आमा!” त्यस बेलादेखि ती चेलाले तिनलाई आफ्नो घरमा लगे । 28 यसपछि येशूले सबै कुरा अब सिद्धिए भन्‍ने जान्‍नुभयो र त्यसैले धर्मशास्‍‍त्र पूरा होस् भनेर उहाँले भन्‍नुभयो, “मलाई तिर्खा लाग्यो ।” 29 अमिलो दाखमद्यले भरिएको एउटा भाँडा त्यहाँ राखिएको थियो, त्यसैले तिनीहरूले अमिलो दाखमद्यले भरिएको स्पन्जलाई हिसपको हाँगामा चोपेर उहाँको मुखमा पुर्‍याइदिए । 30 जब येशूले अमिलो दाखमद्य लिनुभयो, उहाँले भन्‍नुभयो, “अब सिद्धियो ।” उहाँले आफ्नो शिर झुकाउनुभयो र आफ्नो आत्‍मा त्याग्‍नुभयो । 31 यो तयारीको दिन भएकोले, र विश्रामको दिनको अवधिमा शरीरहरू क्रूसमा नरहोस् भन्‍ने हेतुले (किनकि त्यो विश्रामको दिन विशेष महत्त्‍वपूर्ण थियो), यहूदीहरूले पिलातसलाई तिनीहरूका खुट्टा भाँचेर तिनीहरूलाई हटाउनलाई आग्रह गरे । 32 तब सिपाहीहरू आए र येशूसँगै क्रूसमा टाँगिएका पहिलो र दोस्रो मानिसका खुट्टा भाँचिदिए । 33 जब तिनीहरू येशूकहाँ आए, तिनीहरूले उहाँको मृत्यु अगि नै भइसकेको देखे, त्यसैले तिनीहरूले उहाँका खुट्टा भाँचेनन् । 34 तापनि सिपाहीहरूमध्ये एक जनाले उहाँको कोखमा भालाले घोचे, र तत्कालै रगत र पानी निस्क्यो । 35 जसले यो देखे तिनले यो गवाही दिएका छन्, र तिनको गवाही सत्य छ । तिनले भनेको सत्य हो भनी तिनी जान्‍दछन्, ताकि तिमीहरूले पनि विश्‍वास गर्न सक । 36 किनकि “उहाँको एउटै पनि हड्डी भाँचिनेछैन" भन्‍ने धर्मशास्‍‍त्र पूरा होस् भन्‍ने हेतुले यी कुराहरू भए । 37 फेरि, अर्को ठाउँमा धर्मशास्‍‍त्र भन्छ, “तिनीहरूले उहाँलाई हेर्नेछन् जसलाई तिनीहरूले घोचे ।” 38 यी कुराहरूपछि अरिमाथियाका योसेफ, येशूका चेला भएका हुनाले (तर यहूदीहरूको डरले तिनी गुप्‍तमा मात्र चेला थिए), तिनले येशूको शरीरलाई लान पाऊँ भनी पिलातससँग अनुरोध गरे । पिलातसले तिनलाई अनुमति दिए । त्यसकारण योसेफ आए र उहाँको शरीर लगे । 39 निकोदेमस पनि आए जो पहिले येशूकहाँ राति आएका थिए । तिनले झण्डै तेत्तिस किलो मूर्र र एलवाको मिश्रण ल्याए । 40 त्यसैले तिनीहरूले येशूको शरीरलाई लगे र दफनको निम्ति यहूदीहरूको चलनअनुसार मसलासहित सुती कपडाले बेह्रे । 41 अब उहाँलाई क्रूसमा झुण्ड्‍याइएको ठाउँमा एउटा बगैंचा थियो; र त्यो बगैंचामा एउटा नयाँ चिहान थियो जसमा अहिलेसम्म कसलाई गाडिएको थिएन । 42 यो दिन यहूदीहरूका निम्ति तयारीको दिन भएको हुनाले र चिहान पनि नजिकै भएको हुनाले तिनीहरूले येशूलाई त्यसैमा राखे ।