1 यी कुराहरू बोलिसक्नुभएपछि येशू आफ्ना चेलाहरूसित किद्रोन उपत्यकाको अर्कोपट्टि जानुभयो । त्यहाँ एउटा बगैंचा थियो जसमा उहाँ र उहाँका चेलाहरू प्रवेश गर्नुभयो । 2 अब उहाँलाई विश्वासघात गर्ने यहूदालाई पनि त्यो ठाउँ थाहा थियो, किनकि येशू आफ्ना चेलाहरूसित प्रायः त्यस बगैंचामा जानुहुन्थ्यो । 3 अनि मुख्य पूजाहारीहरू र फरिसीहरूले पठाएका सिपाहीहरूको एक समूह र केही अधिकारीहरू लिएर यहूदा लालटिन, राँको र हतियारहरूसहित त्यहाँ आए । 4 तब आफूमाथि भइरहेका सबै कुराहरू जान्नुहुने येशू अगाडि आउनुभयो, र तिनीहरूलाई भन्नुभयो, “तिमीहरू कसलाई खोजिरहेका छौ?” 5 तिनीहरूले उहाँलाई जवाफ दिए, “नासरतका येशूलाई ।” येशूले तिनीहरूलाई भन्नुभयो, “म हुँ ।” उहाँलाई विश्वासघात गर्ने यहूदा पनि सिपाहीहरूसँगै उभिरहेको थियो । 6 त्यसैले जब येशूले “म हुँ” भन्नुभयो तिनीहरू पछाडि हटे अनि जमिनमा ढले । 7 अनि उहाँले तिनीहरूलाई फेरि सोध्नुभयो, “तिमीहरू कसलाई खोजिरहेका छौ?” तिनीहरूले फेरि भने, “नासरतका येशूलाई ।” 8 येशूले जवाफ दिनुभयो, “मैले तिमीहरूलाई भनें कि म हुँ । त्यसैले यदि तिमीहरू मलाई खोजिरहेका छौ भने, यिनीहरूलाई जान देओ ।” 9 यो “तपाईंले मलाई दिनुभएकाहरूमध्ये, मैले कसैलाई पनि गुमाइनँ” भनी उहाँले भन्नुभएको वचन पूरा हुनको निम्ति थियो । 10 तब सिमोन पत्रुस जससँग तरवार थियो, तिनले त्यो थुतेर प्रधान पूजाहारीका सेवकलाई प्रहार गरे र उसको दाँया कान काटिदिए । त्यस सेवकको नाम माल्खस थियो । 11 येशूले पत्रुसलाई भन्नुभयो, “तरवारलाई त्यसको म्यानमा राख । के पिताले मलाई दिनुभएको कचौरा मैले पिउनुपर्दैन र?” 12 त्यसैले सिपाहीहरूको समूह र कप्तान, र यहूदी अधिकारीहरूले येशूलाई पक्रे र बाँधे । 13 तिनीहरूले पहिले उहाँलाई हन्नासकहाँ लगे, किनकि तिनी कैयाफाका ससुरा थिए जो त्यस वर्षका प्रधान पूजाहारी थिए । 14 अब मानिसहरूको निम्ति एउटा मानिस मर्नु उत्तम हुन्छ भनी यहूदीहरूलाई सल्लाह दिने व्यक्ति कैयाफा नै थिए । 15 सिमोन पत्रुस येशूको पछिपछि लागे, र अर्को चेलाले पनि त्यसै गरे । अब ती चेलाको प्रधान पूजाहारीसँग चिनजान थियो, र तिनी येशूसँगै प्रधान पूजाहारीको आँगनभित्र पसे; 16 तर पत्रुसचाहिं बाहिर बाहिर ढोकामा उभिरहेका थिए । त्यसैले प्रधान पूजाहारीसँग चिनजान भएको अर्को चेला बाहिर गए र ढोकामा पालो बस्ने ठिटीसँग कुरा गरे, र तिनले पत्रुसलाई भित्र ल्याए । 17 तब महिला सेवक अर्थात् ढोकामा पालो बस्ने ठिटीले पत्रुसलाई भनी, “के तिमी पनि यी मानिसका चेलाहरूमध्ये एक जना होइनौ र?” तिनले भने, “म होइनँ ।” 18 अब सेवकहरू र अधिकारीहरू त्यहाँ उभिरहेका थिए, र तिनीहरूले आगोको भुङ्ग्रो बनाएका थिए, किनकि जाडो थियो, अनि तिनीहरूले आफैंलाई न्यानो बनाइराखेका थिए । पत्रुस पनि आफूलाई न्यानो पार्दै तिनीहरूसँगै उभिरहेका थिए । 19 तब प्रधान पूजाहारीले येशूलाई उहाँका चेलाहरू र उहाँको शिक्षाको बारेमा सोधपुछ गरे । 20 येशूले तिनलाई जवाफ दिनुभयो, “मैले संसारसँग खुल्लमखुल्ला बोलेको छु । मैले सधैं सभाघरहरूमा र मन्दिरमा शिक्षा दिइरहेको थिएँ जहाँ सबै यहूदीहरूसँगै आउँछन् । मैले कुनै पनि कुरा गुप्तमा भनिनँ । 21 तपाईंहरूले मलाई किन सोध्नुभयो? तिनीहरूलाई नै सोध्नुहोस् जसले मैले भनेको सुनेका छन् । हेर, मैले भनेका कुरा यी मानिसहरूले जान्दछन् ।” 22 जब येशूले यो कुरा भन्नुभएको थियो, त्यहाँ उभिरहेका अधिकारीहरूमध्ये एक जनाले येशूलाई एक मुक्का हाने र भने, “के प्रधान पूजाहारीलाई जवाफ दिने तेरो तरिका त्यही हो?” 23 येशूले त्यसलाई जवाफ दिनुभयो, “यदि मैले गलत तवरले बोलें भने, त्यो गलत कुराको गवाही देऊ, तर यदि ठिकै हो भने तिमी मलाई किन हिर्काउँछौ?” 24 अनि हन्नासले उहाँलाई बाँधेकै अवस्थामा प्रधान पूजाहारी कैयाफाकहाँ पठाए । 25 अब सिमोन पत्रुसचाहिं उभिएर आफूलाई न्यानो पार्दै थिए । अनि मानिसहरूले तिनलाई भने, “के तिमी पनि उनका चेलाहरूमध्येका एक जना होइनौ?” तिनले यो इन्कार गरे र भने, “म होइनँ ।” 26 अनि प्रधान पूजाहारीका सेवकहरूमध्ये पत्रुसले कान काटिदिएका सेवकका एक जना नातेदारले भने, “के मैले तिमीलाई बगैंचामा उनीसित देखिनँ र?” 27 तब पत्रुसले फेरि इन्कार गरे; र तुरुन्तै भाले बास्यो । 28 त्यसपछि तिनीहरूले येशूलाई कैयाफाबाट सरकारी मुख्यालयतिर लगे । बिहान सबेरै थियो, तिनीहरू सरकारी मुख्यालयमा पसेनन्, ताकि तिनीहरूले अशुद्ध नहोऊन् तर निस्तार-चाड खान सकून् । 29 त्यसैले पिलातस तिनीहरूकहाँ बाहिर गए र भने, “तिमीहरूले यी मानिसको विरुद्धमा के आरोप ल्याउँदैछौ?” 30 तिनीहरूले तिनलाई जवाफ दिए, र भने, “यदि यो मानिस अपराधी नभएको भए हामीले यसलाई तपाईंकहाँ सुम्पने थिएनौं ।” 31 त्यसकारण पिलातसले तिनीहरूलाई भने, “तिमीहरू आफैंले यिनलाई लैजाओ, र आफ्नो व्यवस्थाअनुसार यिनको न्याय गर ।” यहूदीहरूले तिनलाई भने, “कुनै मानिसलाई मृत्युदण्ड दिनु हाम्रो लागि न्यायसङ्गत छैन ।" 32 उहाँको मृत्यु कस्तो किसिमले हुनेछ भनी येशूले सङ्केत गरेर भन्नुभएको उहाँको वचन पूरा होस् भनेर तिनीहरूले यसो भने । 33 त्यसपछि पिलातस फेरि सरकारी मुख्यालयभित्र पसे अनि येशूलाई बोलाए र तिनले उहाँलाई भने, “के तिमी यहूदीहरूका राजा हौ?” 34 येशूले जवाफ दिनुभयो, “तपाईं आफैंले भन्नुभएको हो वा तपाईंलाई मेरो बारेमा अरू कसैले भन्यो?” 35 पिलातसले जवाफ दिए, “म यहूदी होइनँ, हुँ र? तिम्रा आफ्नै मानिसहरू र मुख्य पूजाहारीहरूले तिमीलाई मकहाँ सुम्पे । तिमीले के गर्यौ?” 36 येशूले जवाफ दिनुभयो, “मेरो राज्य यस संसारको होइन । यदि मेरो राज्य यस संसारको हिस्सा थियो भने, मेरा सेवकहरू लड्ने थिए, ताकि मलाई यहूदीहरूको हातमा नसुम्पियोस् । तर अब मेरो राज्य यहाँको होइन ।” 37 तब पिलातसले उहाँलाई भने, “त्यसो भए तिमी राजा नै हौ त?” येशूले जवाफ दिनुभयो, “तपाईं नै मलाई राजा भन्नुहुन्छ । म यही उद्देश्यको निम्ति जन्मिएको हुँ, अनि म यही उद्देश्यको निम्ति म यस संसारमा आएको छु, ताकि मैले सत्यको गवाही दिऊँ । सबै जो सत्यका हुन्, तिनीहरूले मेरो आवाज सुन्छन् ।” 38 पिलातसले उहाँलाई भने, “सत्य के हो?” जब तिनले यसो भने, तिनी फेरि यहूदीहरूकहाँ बाहिर गए र तिनीहरूलाई भने, “म यस मानिसमा कुनै अपराध पाउँदिनँ ।” 39 तर निस्तार-चाडमा मैले तिमीहरूका निम्ति एक जना व्यक्तिलाई छोडिदिने तिमीहरूको प्रचलन छ । त्यसैले के म तिमीहरूका निम्ति यहूदीहरूका राजालाई छोडिदिऊँ भन्ने तिमीहरू चाहन्छौ?” 40 तब तिनीहरू फेरि कराए र भने, “यस मानिसलाई होइन, तर बारब्बालाई ।” बारब्बाचाहिं एक विद्रोही थियो ।