1 येशूले यी कुराहरू भनिसक्नुभएपछि उहाँले स्वर्गतिर आफ्ना आँखा उचाल्नुभयो र भन्नुभयो, “पिता, समय आएको छ, आफ्ना पुत्रलाई महिमित पार्नुहोस् ताकि पुत्रले तपाईंलाई महिमित पार्नेछन्— 2 जसरी तपाईंले पुत्रलाई सारा शरीरमाथि अधिकार दिनुभयो ताकि जसलाई तपाईंले उनलाई दिनुभएको छ, तिनीहरू सबैलाई उनले अनन्त जीवन दिऊन् । 3 यो अनन्त जीवन होः तिनीहरूले तपाईंलाई अर्थात् एक मात्र साँचो परमेश्वर, र जसलाई तपाईंले पठाउनुभयो अर्थात् येशू ख्रीष्टलाई चिनून् । 4 मैले पृथ्वीमा तपाईंलाई महिमित तुल्याएँ । तपाईंले मलाई गर्न दिनुभएको काम मैले सिद्ध्याएको छु । 5 अब, हे पिता, संसार बनिनुभन्दा अगि नै मसँग तपाईंमा भएको महिमाले मलाई तपाईंसँगै महिमित पार्नुहोस् । 6 तपाईंले मलाई संसारबाट दिनुभएका मानिसहरूकहाँ मैले तपाईंको नाउँ प्रकट गरें । तिनीहरू तपाईंका थिए, र तपाईंले तिनीहरू मलाई दिनुभयो, अनि तिनीहरूले तपाईंको वचन पालन गरेका छन् । 7 अब तपाईंले मलाई दिनुभएका सबै थोक तपाईंबाट नै आउँछन् भनी तिनीहरू जान्दछन्, 8 किनकि मैले सबै वचनहरू तिनीहरूलाई दिएको छु जुन तपाईंले मलाई दिनुभयो । तिनीहरूले ती ग्रहण गरे र म तपाईंबाटै आएँ भनेर तिनीहरूले साँच्चै जाने, र तपाईंले नै मलाई पठाउनुभयो भनी तिनीहरूले विश्वास गरे । 9 म तिनीहरूका लागि प्रार्थना गर्दछु । म संसारको निम्ति प्रार्थना गर्दिनँ तर तपाईंले मलाई दिनुभएकाहरूका निम्ति प्रार्थना गर्दछु, किनकि तिनीहरू तपाईंका हुन् । 10 सबै जो मेरा हुन्, ती तपाईंका हुन् र तपाईंका मेरा हुन्, र म तिनीहरूमा महिमित हुन्छु । 11 अब उप्रान्त म संसारमा हुन्नँ, तर यी मानिसहरू संसारमा छन् र म तपाईंकहाँ आउँदैछु । हे पवित्र पिता, यिनीहरूलाई तपाईंको नाउँमा सुरक्षित राख्नुहोस् जसलाई तपाईंले मलाई दिनुभएको छ, ताकि जसरी हामी एक छौं त्यसरी नै तिनीहरू एक होऊन् । 12 म तिनीहरूसँग हुँदा मैले तिनीहरूलाई तपाईंको नाउँमा सुरक्षित राखें, जसलाई तपाईंले मलाई दिनुभएको छ । मैले तिनीहरूलाई सुरक्षा दिएँ, र विनाशको पुत्रबाहेक तिनीहरूमध्ये कोही पनि नष्ट भएन, ताकि धर्मशास्त्र पूरा होस् । 13 अब म तपाईंकहाँ आउँदैछु, तर म यी कुराहरू संसारमा भनिरहेको छु, ताकि तिनीहरूले मेरो आनन्द तिनीहरूमा पूरा भएको पाउनेछन् । 14 मैले तिनीहरूलाई तपाईंको वचन दिएको छु, र संसारले तिनीहरूलाई घृणा गरेको छ किनभने जस्तो म संसारको होइनँ, तिनीहरू पनि संसारका होइनन् । 15 तपाईंले तिनीहरूलाई संसारबाट लैजानुहोस् भनेर होइन, तर तिनीहरूलाई दुष्टबाट बचाउनुहोस् भनी म तपाईंसँग बिन्ती गर्दछु । 16 जस्तो म संसारको होइन, तिनीहरू पनि संसारका होइनन् । 17 सत्यले तिनीहरूलाई अलग गर्नुहोस्। तपाईंको वचन सत्य छ । 18 जसरी तपाईंले मलाई संसारमा पठाउनुभयो, त्यसरी नै मैले तिनीहरूलाई संसारमा पठाएको छु । 19 तिनीहरूका खातिर मैले आफैंलाई अलग गरेको छु, ताकि तिनीहरू आफैं पनि सत्यतामा अलग होऊन् । 20 म यिनीहरूका लागि मात्र होइन तर तिनीहरूका लागि पनि प्रार्थना गर्दछु जसले यिनीहरूको वचनद्वारा मलाई विश्वास गर्नेछन्, 21 ताकि जसरी तपाईं अर्थात् पिता ममा हुनुहुन्छ, र म तपाईंमा छु त्यसरी नै तिनीहरू सबै एक होऊन् । तिनीहरू पनि हामीमा होऊन् ताकि तपाईंले मलाई पठाउनुभएको हो भनी संसारले विश्वास गर्नेछ । 22 तपाईंले मलाई दिनुभएको महिमा मैले तिनीहरूलाई दिएको छु, ताकि हामी एक भएझैं तिनीहरू पनि एक हुनेछन्ः 23 म तिनीहरूमा छु, र तपाईं ममा हुनुहुन्छ—ताकि तिनीहरू पूर्णरूपले एक होऊन्, ताकि तपाईंले मलाई पठाउनुभयो भनी संसारले जान्नेछ, अनि तपाईंले मलाई प्रेम गर्नुभएजस्तै तिनीहरूलाई पनि तपाईंले प्रेम गर्नुभएको छ । 24 हे पिता, जसलाई तपाईंले मलाई दिनुभएको छ, तिनीहरू म जहाँ छु त्यहीं होऊन्, र तपाईंले मलाई दिनुभएको मेरो महिमा देखून् भन्ने म चाहन्छु किनभने संसारको सृष्टिअगि देखि नै तपाईंले मलाई प्रेम गर्नुभयो । 25 हे धर्मी पिता, यो संसारले तपाईंलाई चिनेन, तर म तपाईंलाई चिन्दछु; र तपाईंले मलाई पठाउनुभयो भनी यिनीहरू जान्दछन् । 26 मैले तपाईंको नाउँलाई तिनीहरूका बीचमा परिचित तुल्याए र म यसलाई परिचित तुल्याउनेछु, ताकि जुन प्रेमले तपाईंले मलाई प्रेम गर्नुभएको छ, त्यो तिनीहरूमा रहनेछ र म तिनीहरूमा रहनेछु ।