1 तिमीहरू पछि नहटोस् भनेर मैले तिमीहरूलाई यी कुराहरू भनेको छु । 2 तिनीहरूले तिमीहरूलाई सभाघरहरूबाट बाहिर निकाल्नेछन् । तर यस्तो घडी आउँदैछ, जब तिमीहरूलाई मार्ने हरेकले आफूले परमेश्वरको सेवा गरिरहेको छु भनी ठान्नेछन् । 3 तिनीहरूले यी कुराहरू गर्नेछन्, किनभने तिनीहरूले न त पितालाई न मलाई नै चिनेका छन् । 4 मैले तिमीहरूलाई यी कुराहरू भनेको छु, ताकि त्यो घडी आउँदा मैले तिमीहरूलाई तिनीहरूको बारेमा भनेको कुरा तिमीहरूले सम्झन सक । मैले तिमीहरूलाई यी कुराहरू पहिले नै भनिनँ, किनभने म तिमीहरूसँगै नै थिएँ । 5 तर अहिले म मलाई पठाउनुहुनेकहाँ जान्छु, तर पनि तिमीहरू कसैले पनि ‘तपाईं कहाँ जाँदै हुनुहन्छ?’ भनी मलाई सोध्दैनौ । 6 तर मैले तिमीहरूलाई यी कुराहरू भनेको कारण, तिमीहरूको हृदय निराशाले भरिएको छ । 7 तर म तिमीहरूलाई साँच्चै भन्दछु, म जानु नै तिमीहरूको निम्ति असल छ । किनकि म गइनँ भने सल्लाहकार तिमीहरूकहाँ आउनुहुनेछैन, तर यदि म गएँ भने, म उहाँलाई तिमीहरूकहाँ पठाउनेछु । 8 जब सल्लाहकार आउनुहुन्छ, उहाँले संसारलाई पाप, धार्मिकता र न्यायको बारेमा गलत साबित गर्नुहुनेछ– 9 पापको बारेमा, किनभने तिनीहरूले ममाथि विश्वास गर्दैनन्; 10 धार्मिकताको बारेमा, किनभने म पिताकहाँ जाँदैछु, र अब उप्रान्त तिमीहरूले मलाई देख्नेछैनौ; 11 अनि न्यायको बारेमा, किनभने यस संसारको शासकको न्याय गरिएको छ । 12 मैले तिमीहरूलाई धेरै कुरा भन्नु छ, तर तिमीहरू अहिल्यै ती कुराहरू बुझ्दैनौ । 13 तर जब उहाँ अर्थात् सत्यको आत्मा आउनुहुन्छ, उहाँले तिमीहरूलाई सबै सत्यतामा डोर्याउनुहुनेछ, किनकि उहाँ आफ्नो तर्फबाट बोल्नुहुनेछैन । तर उहाँले जे सुन्नुहुन्छ, त्यही बोल्नुहुनेछ, र हुन आउने कुराहरू उहाँले तिमीहरूलाई बताउनुहुनेछ । 14 उहाँले मलाई महिमित तुल्याउनुहुनेछ, किनभने उहाँले जे मेरो हो त्यहीबाट लिनुहुन्छ, र उहाँले ती तिमीहरूलाई बताउनुहुनेछ । 15 पितासँग भएका सबै थोक मेरा हुन् । यसकारण मैले भनें कि आत्माले जे मेरो हो त्यहीबाट लिनुहुनेछ र उहाँले यो तिमीहरूलाई बताउनुहुनेछ । 16 अब उप्रान्त तिमीहरूले मलाई केही बेरमा नै देख्नेछैनौ, र फेरि केही बेरपछि तिमीहरू मलाई देख्नेछौ । 17 तब उहाँका चलाहरूमध्ये केहीले एक आपसमा भने “उहाँले हामीलाई यो के भन्नुभएको हो? 'अब उप्रान्त तिमीहरूले मलाई केही बेरमा नै देख्नेछैनौ, र फेरि केही बेरपछि तिमीहरू मलाई देख्नेछौ ।’ र ‘किनकि म पिताकहाँ जाँदैछु' ।" 18 यसकारण तिनीहरूले भने, “उहाँले ‘केही बेरमा’ भनेर यो के भन्नुभएको हो? उहाँले केको बारेमा बताउँदै हुनुहुन्छ, सो हामी जान्दैनौ ।” 19 तिनीहरूले येशूलाई सोध्न चाहेको उहाँले देख्नुभयो, र उहाँले तिनीहरूलाई भन्नुभयो, “'अब उप्रान्त तिमीहरूले मलाई केही बेरपछि देख्नेछैनौ, र फेरि केही बेरपछि तिमीहरू मलाई देख्नेछौ’ भनेर मैले के भन्न खोजेको हो भनी के तिमीहरूले एक आपसमा सोधिरहेका छौ?” 20 साँचो साँचो म तिमीहरूलाई भन्दछु, तिमीहरू रुनेछौ र विलाप गर्नेछौ, तर संसार खुसी हुनेछ । तिमीहरू निराशाले भरिनेछौ, तर तिमीहरूको दुःख आनन्दमा बद्लिनेछ । 21 जब स्त्रीले जन्म दिन्छिन्, तिनी निराश हुन्छिन्, किनभने तिनको समय आएको छ, तर जब तिनले बच्चा जन्माउँछिन्, संसारमा एक बालक जन्मिएको छ भन्ने आनन्दले तिनलाई अब पीडाको सम्झना हुँदैन । 22 त्यसैले तिमीहरू अहिले निराश हुन्छौ, तर म तिमीहरूलाई फेरि भेट्नेछु, अनि तिमीहरूको हृदय खुसी हुनेछ, र तिमीहरूको आनन्द तिमीहरूबाट कसैले लैजान सक्नेछैन । 23 त्यस दिन तिमीहरूले मलाई कुनै पनि कुरा माग्नेछैनौ । साँचो साँचो म तिमीहरूलाई भन्दछु, यदि तिमीहरूले मेरो नाउँमा मेरा पितासँग कुनै पनि कुरा माग्यौ भने यो उहाँले त्यो तिमीहरूलाई दिनुहुनेछ । 24 अहिलेसम्म तिमीहरूले मेरो नाउँमा केही मागेका छैनौ । माग र तिमीहरूले पाउनेछौ, ताकि तिमीहरूको आनन्द पूर्ण होस् । 25 मैले तिमीहरूलाई यी कुराहरू आलङ्कारिक भाषामा भनेको छु, तर त्यस घडी आउँदै छ जब म अब उप्रान्त आलङ्कारिक भाषामा बोल्नेछैन, बरु म तिमीहरूलाई पिताको बारेमा स्पष्ट रूपमा बताउनेछ । 26 त्यस दिन तिमीहरूले मेरो नाउँमा माग्नेछौ, र म तिमीहरूको निम्ति पितासँग प्रार्थना गर्नेछु भनेर म तिमीहरूलाई भन्दिनँ, 27 किनकि पिता आफैंले तिमीहरूलाई प्रेम गर्नुहुन्छ, किनभने तिमीहरूले मलाई प्रेम गरेका छौ र म पिताबाट आएँ भनी तिमीहरूले विश्वास गरेका छौं । 28 म पिताबाट आएँ, र म संसारमा आएको छु । फेरि म संसार छोड्दैछु, र म पिताकहाँ जाँदैछु ।” 29 उहाँका चेलाहरूले भने, “हेर्नुहोस्, अहिले तपाईं स्पष्ट रूपमा बोल्दैहुनुहुन्छ अनि तपाईंले आलङ्कारिक भाषा प्रयोग गरिरहनुभएको छैन । 30 अब हामी जान्दछौं, कि तपाईं सबै थोक जन्नुहुन्छ, अनि कसैले पनि तपाईंलाई प्रश्नहरू सोध्नु आवश्यक छैन । यही कारणले हामी विश्वास गर्छौं, कि तपाईं परमेश्वरबाट आउनुभएको हो ।” 31 येशूले जवाफ दिनुभयो, “के तिमीहरू अब विश्वास गर्छौ? 32 हेर, त्यस घडी आउँदै छ, हो वास्तवमा आइसकेको छ, जब तिमीहरू छरपष्ट भई सबै आ-आफ्नो घरतिर जानेछौ र मलाई एक्लै छोड्नेछौ । तरै पनि म एक्लो हुन्नँ, किनभने पिता मसँग हुनुहुन्छ । 33 मैले तिमीहरूलाई यी कुरा भनेको छु, ताकि तिमीहरूलाई ममा शान्ति मिलोस् । संसारमा तिमीहरूलाई कष्ट हुन्छ, तर साहस गर, मैले संसारलाई जितेको छु ।