अध्याय १५

1 म साँचो दाखको बोट हुँ, र मेरा पिता किसान हुनुहुन्छ । 2 ममा भएका फल नफलाउने हरेक हाँगालाई उहाँले छाँट्नुहुन्छ, र उहाँले फल फलाउने हरेक हाँगालाई पनि छिंवल्नुहुन्छ, ताकि त्यसले धेरै फल फलाओस् । 3 मैले तिमीहरूलाई भनेको सन्देशले तिमीहरू अगि नै शुद्ध भइसकेका छौ । 4 ममा रहो, र म तिमीहरूमा रहन्छु । जसरी हाँगा दाखको बोटमा नरहेसम्म आफैंले फल फलाउन सक्दैन, त्यसरी नै तिमीहरू पनि ममा नरहेसम्म फल फलाउन सक्दैनौ । 5 म दाखको बोट हुँ, र तिमीहरू त्यसका हाँगाहरू हौ । जो ममा रहन्छ र म त्यसमा रहन्छु, त्यसले धैरै फल फलाउँछ, किनकि मबिना तिमीहरू केही पनि गर्न सक्दैनौ । 6 यदि कोही ममा रहँदैन भने, त्यसलाई हाँगालाई झैं फालिन्छ र त्यो सुक्‍छ, अनि तिनीहरूले हाँगाहरू बटुल्छन् र ती आगोमा फालिदिन्छन्, अनि ती जलाइन्छन् । 7 यदि तिमीहरू ममा रहन्छौ र मेरा वचनहरू तिमीहरूमा रहन्छन् भने, तिमीहरू जे इच्छा गर्छौ सो माग, र त्यो तिमीहरूका निम्ति गरिनेछ ।” 8 मेरा पिता यसमा महिमित हुनुहुन्छ कि तिमीहरू धेरै फल फलाउँछौ र तिमीहरू मेरा चेलाहरू हौ भनी प्रमाणित गर्छौ । 9 जसरी पिताले मलाई प्रेम गर्नुभएको छ, त्यसरी नै मैले पनि तिमीहरूलाई प्रेम गरेको छु। मेरो प्रेममा रहो । 10 तिमीहरूले मेरा आज्ञाहरू पालन गर्छौ भने जसरी मैले मेरा पिताको आज्ञा पालन गरेको छु र उहाँको प्रेममा रहेको छु, त्यसरी नै तिमीहरू मेरो प्रेममा रहनेछौ । 11 मैले तिमीहरूलाई यी कुराहरू भनेको छु, ताकि मेरो आनन्द तिमीहरूमा होस् र तिमीहरूको आनन्द पूर्ण होस् । 12 यो मेरो आज्ञा हो, कि मैले तिमीहरूलाई जसरी प्रेम गरेको छु तिमीहरूले एक अर्कालाई त्यसरी नै प्रेम गर । 13 यो भन्दा महान् प्रेम कसैको हुँदैन—कि कसैले आफ्ना मित्रहरूको लागि आफ्नो जीवन अर्पण गरिदियोस् । 14 यदि तिमीहरूले मैले आज्ञा गरेका कुराहरू गर्छौ भने तिमीहरू मेरा मित्रहरू हौ । 15 अबदेखि म तिमीहरूलाई सेवकहरू भन्‍दिनँ, किनकि त्यसका मालिकले के गरिरहेछ सो सेवकले जान्दैन । मैले तिमीहरूलाई मित्रहरू भनेको छु, किनकि मैले मेरा पिताबाट सुनेका सबै कुरा मैले तिमीहरूलाई प्रष्‍ट पारेको छु । 16 तिमीहरूले मलाई चुनेनौ, तर मैले तिमीहरूलाई चुनें, र तिमीहरूलाई नियुक्‍त गरें, ताकि तिमीहरू जाओ, र फल फलाओ, अनि तिमीहरूका फल रहनुपर्छ । त्यसैले तिमीहरूले मेरो नाउँमा पितासँग जे माग्छौ, सो उहाँले तिमीहरूलाई दिनुहुनेछ । 17 म तिमीहरूलाई यी कुराहरू आज्ञा गर्छु, ताकि तिमीहरूले एक अर्कालाई प्रेम गर । 18 यदि संसारले तिमीहरूलाई घृणा गर्छ भने, जान कि यसले तिमीहरूलाई घृणा गर्नुअगि मलाई घृणा गरेको छ । 19 यदि तिमीहरू संसारका थियौ त, संसारले तिमीहरूलाई आफ्नै झैं प्रेम गर्ने थियो । तर तिमीहरू संसारका होइनौ, र मैले तिमीहरूलाई संसारबाट चुनें, यसकारण संसारले तिमीहरूलाई घृणा गर्छ । 20 मैले तिमीहरूलाई भनेको वचन याद राख, ‘सेवक त्यसको मालिकभन्दा महान् हुँदैन ।’ यदि तिनीहरूले मलाई सताए भने, तिनीहरूले तिमीहरूलाई पनि सताउनेछन्; यदि तिनीहरूले मेरो वचन पालन गरे भने, तिनीहरूले तिमीहरूको पनि पालन गर्नेछन् । 21 तिनीहरू मेरो नाउँको कारणले तिमीहरूलाई यी सबै कुराहरू गर्नेछन्, किनभने मलाई पठाउनुहुनेलाई तिनीहरूले चिन्दैनन् । 22 यदि म नआएको, र तिनीहरूसँग नबोलेको भए त, तिनीहरूले पाप गर्ने थिएनन्, तर अब त तिनीहरूसित आफ्नो पापको लागि कुनै बहाना छैन । 23 जसले मलाई घृणा गर्छ, त्यसले मेरा पितालाई पनि घृणा गर्छ । 24 यदि मैले तिनीहरू माझ कसैले नगरेका कामहरू नगरेको भए, तिनीहरूमा कुनै पाप हुने थिएन, तर अहिले तिनीहरूले म र मेरा पिता दुवैलाई देखेका छन्, र घृणा गरेका छन् । 25 तर यो तिनीहरूको व्यवस्थामा लेखिएको वचन पूरा हुनलाई हो, ‘तिनीहरूले मलाई विनाकारण घृणा गरे ।’ 26 जब सल्लाहकार आउनुहुन्छ—जसलाई म तिमीहरूको निम्ति पिताको तर्फबाट पठाउनेछु अर्थात्, सत्यको आत्मा जो पिताबाट निस्की आउनुहुनेछ—उहाँले मेरो बारेमा गवाही दिनुहुनेछ । 27 तिमीहरूले पनि गवाही दिनुपर्छ, किनभने तिमीहरू मसँग सुरुदेखि नै छौ ।