अध्याय १४

1 “तिमीहरूको हृदय विचलित नहोस् । तिमीहरूले परमेश्‍वरमाथि विश्‍वास गर्छौ, ममाथि पनि विश्‍वास गर । 2 मेरा पिताको घरमा बस्‍ने धेरै कोठाहरू छन् । यदि त्यसो नहुँदो हो त, मैले तिमीहरूलाई भन्‍ने थिएँ, किनकि म तिमीहरूका लागि ठाउँ तयार पार्न गइरहेको छु । 3 यदि म जान्छु र तिमीहरूका लागि ठाउँ तयार पार्छु भने, म फेरि आउनेछु र तिमीहरूलाई आफैंसँग लानेछु, ताकि जहाँ म हुन्छु तिमीहरू पनि त्यहाँ हुनेछौ । 4 तिमीहरूले म जहाँ गइरहेको छु त्यो बाटो चिन्छौ ।” 5 थोमाले येशूलाई भने, “प्रभु, तपाईं कहाँ जाँदै हुनुहुन्छ, हामी जान्दैनौं, हामीले बाटो कसरी चिन्‍न सक्छौं?” 6 येशूले तिनलाई भन्‍नुभयो, “बाटो, सत्य र जीवन म नै हुँ; मद्वारा बाहेक कोही पनि पिताकहाँ आउन सक्दैन । 7 यदि तिमीहरूले मलाई चिनेका भए, तिमीहरूले मेरा पितालाई पनि चिन्‍नेथियौ । अबदेखि उसो तिमीहरूले उहाँलाई चिन्छौ र उहाँलाई देखेका छौ ।” 8 फिलिपले येशूलाई भने, “प्रभु, हामीलाई पिता देखाउनुहोस्, र त्यो नै हामीलाई पर्याप्‍त हुनेछ ।” 9 येशूले तिनलाई भन्‍नुभयो, “म तिमीहरूसँग यति लामो समयदेखि रहेको छु, र पनि फिलिप, अझै तिमी मलाई चिन्दैनौ? जसले मलाई देखेको छ त्यसले पितालाई देखेको छ । तिमीहरू कसरी ‘हामीलाई पिता देखाउनुहोस्’ भन्‍न सक्‍छौ?” 10 म पितामा छु र पिता ममा हुनुहुन्छ भनी के तिमीहरू विश्‍वास गर्दैनौ? मैले तिमीहरूलाई भनेका वचनहरू, म आफ्नै अधिकारले बोल्दिनँ, तर ममा रहनुहुने पिताले नै आफ्नो काम गरिरहनुभएको छ । 11 म पितामा छु, र पिता ममा हुनुहुन्छ भनी विश्‍वास गर, नत्रभने यी कामहरूकै खातिर विश्‍वास गर । 12 साँचो साँचो, म तिमीहरूलाई भन्दछु, जसले ममाथि विश्‍वास गर्छ त्यसले मैले गर्ने कामहरू गर्नेछ, र त्यसले यीभन्दा पनि ठुल्ठुला कामहरू गर्नेछ किनभने म पिताकहाँ गइरहेको छु । 13 तिमीहरूले मेरो नाउँमा जे माग्छौ, सो म गर्नेछु, ताकि पुत्रमा पिता महिमित हुनुभएको होस् । 14 यदि तिमीहरूले मेरो नाउँमा कुनै थोक माग्यौ भने सो म गर्नेछु । 15 यदि तिमीहरूले मलाई प्रेम गर्छौ भने तिमीहरूले मेरा आज्ञाहरू पालन गर्नेछौ, 16 अनि म पितासँग प्रार्थना गर्नेछु, अनि उहाँले तिमीहरूलाई अर्को सल्लाहकार दिनुहुनेछ, ताकि उहाँ तिमीहरूसँग सदासर्वदा रहनुहुनेछ— 17 सत्यका आत्मा । संसारले उहाँलाई ग्रहण गर्न सक्दैन किनभने यसले उहाँलाई देख्‍दैन वा उहाँलाई चिन्दैन । तर तिमीहरू उहाँलाई चिन्दछौ, किनकि उहाँ तिमीहरूसँग रहनुहुन्छ र तिमीहरूमा हुनुहुनेछ । 18 म तिमीहरूलाई एक्लै छोड्नेछैनँ; म तिमीहरूकहाँ फर्किआउनेछु । 19 तैपनि केही समय मात्र हो, अनि अब उप्रान्त संसारले मलाई देख्‍नेछैन, तर तिमीहरू मलाई देख्‍छौ । किनभने म जिउँछु, तिमीहरू पनि जिउनेछौ । 20 त्यस दिन तिमीहरूले म पितामा छु, अनि तिमीहरू ममा छौ र म तिमीहरूमा छु भनी जान्‍नेछौ । 21 जोसँग मेरा आज्ञाहरू छन् र ती पालन गर्छन्, मलाई प्रेम गर्ने त्यही हो, अनि जसले मलाई प्रेम गर्छ त्यसलाई मेरा पिताद्वारा प्रेम गरिनेछ, र म त्यसलाई प्रेम गर्नेछु र म आफैं त्यसकहाँ देखा पर्छु ।” 22 यहूदाले (स्करियोत होइन) येशूलाई भने, “प्रभु, किन यस्तो, हामीकहाँ तपाईं आफैंलाई प्रकट गर्नुहुनेछ र संसारकहाँ चाहिं होइन?” 23 येशूले जवाफ दिनुभयो र तिनलाई भन्‍नुभयो, “यदि कसैले मलाई प्रेम गर्छ भने, त्यसले मरो वचन पालन गर्नेछ । मेरा पिताले त्यसलाई प्रेम गर्नुहुनेछ, अनि हामी त्यसकहाँ आउनेछौं र त्यससँग हामी हाम्रो बासस्‍थान बनाउनेछौं ।” 24 जसले मलाई प्रेम गर्दैन, त्यसले मेरा वचनहरू पालन गर्दैन । तिमीहरूले सुनेका वचन मबाट आएको होइन, तर पिताबाट आएको हो जसले मलाई पठाउनुभयो । 25 म तिमीहरूसँग रहिरहँदा नै मैले तिमीहरूलाई यी कुराहरू भनेको छु । 26 तापनि सल्लाहकार—पवित्र आत्मा जसलाई पिताले मेरो नाउँमा पठाउनुहुनेछ—उहाँले तिमीहरूलाई सबै कुरा सिकाउनुहुनेछ र मैले तिमीहरूलाई भनेका सबै कुरा तिमीहरूलाई याद दिलाउनुहुनेछ । 27 म तिमीहरूलाई शान्ति छोड्छु; म तिमीहरूलाई मेरो शान्ति दिन्छु । संसारले जसरी दिन्छ त्यसरी म यो तिमीहरूलाई दिन्‍नँ । तिमीहरूका हृदय विचलित नहोस्, र भयभीत नहोस् । 28 मैले तिमीहरूलाई “म गइरहेछु, अनि म तिमीहरूकहाँ फेरि आउनेछु ।” भनेको तिनीहरूले सुन्यौ । यदि तिमीहरूले मलाई प्रेम गरेका भए, तिमीहरू खुसी हुनेथियौ, किनभने म पिताकहाँ गइरहेको छु, किनकि पिता मभन्दा महान् हुनुहुन्छ । 29 अहिले मैले तिमीहरूलाई यो हुन अगाडि नै बताएको छु, ताकि जब यो हुन आउँछ तिमीहरूले विश्‍वास गर्न सक । 30 म तिमीहरूसँग अब धेरै बोल्नेछैनँ, किनकि यस संसारको शासक आउँदैछ । ममाथि त्यसको केही शक्‍ति छैन, 31 तर म पितालाई प्रेम गर्छु भनी संसारले जानोस् भनेर पिताले मलाई जस्तो आज्ञा गर्नुभएको छ म त्यसै गर्छु । उठौं, र यहाँबाट जाऔं ।”