अध्याय २१

1 यी कुराहरूपछि फेरि येशूले आफैंलाई तिबेरियासको समुद्रमा चेलाहरूकहाँ प्रकट गर्नुभयो । उहाँले आफैंलाई यसरी प्रकट गर्नुभयोः 2 सिमोन पत्रुस, दिदुमस भनिने थोमा, गालीलको कानाका नथानेल, जब्दियाका छोराहरू, र येशूका अरू दुई चेलासँगै थिए । 3 सिमोन पत्रुसले तिनीहरूलाई भने, “म माछा मार्न जाँदैछु ।” तिनीहरूले तिनलाई भने, “हामी पनि तिमीसँगै आउनेछौं ।” तिनीहरू गए, र डुङ्गामा चढे, तर रातभरिमा तिनीहरूले केही पक्रेनन् । 4 अब बिहान सबेरै येशू समुद्रको किनारमा खडा हुनुभयो, तर उहाँ येशू हुनुहुन्थ्यो भनी चेलाहरूले चिनेनन् । 5 त्यसैले येशूले तिनीहरूलाई भन्‍नुभयो, “ए जवान मानिसहरू, के तिमीहरूसँग कुनै खानेकुरा छ?” तिनीहरूले उहाँलाई जवाफ दिए, “छैन ।” 6 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूको जाल डुङ्गाको दाहिनेपट्टि हान, अनि तिमीहरूले केही भेट्टाउनेछौ ।” त्यसैले तिनीहरूले आफ्नो जाल हाने, तर माछाहरू अति धेरै भएकोले तिनीहरूले त्यो तान्‍न सकेनन् । 7 तब येशूले प्रेम गर्नुभएका चेलाले पत्रुसलाई भने, “उहाँ प्रभु हुनुहुन्छ ।” जब सिमोन पत्रुसले उहाँ प्रभु हुनुहुन्छ भन्‍ने सुने, तिनले तिनको बाहिरी वस्‍‍त्र बाँधे (किनकि तिनले त्यो फुकालेका थिए), र समुद्रमा हामफाले । 8 अरू चेलाहरू डुङ्गामा चढे (किनकि तिनीहरू जमिनबाट धेरै टाढा थिएनन्, करिब सय मिटर टाढा मात्र थिए), र तिनीहरूले माछाले भरिएको जाल तानिरहेका थिए । 9 जब तिनीहरू जमिनमा उत्रे, तिनीहरूले आगोको भुङ्ग्रो र त्यसमा रोटीसँगै माछा राखेको देखे । 10 येशूले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूले भर्खरै पक्रेका केही माछाहरू ल्याओ ।” 11 तब सिमोन पत्रुस गए, र १५३ ठुला-ठुला माछाले भरिएको त्यो जाल जमिनमा ल्याए, तर यति धैरै भए तापनि जाल च्यातिएन । 12 येशूले तिनीहरूलाई भन्‍नुभयो, “आओ, र खाजा खाओ ।” कुनै पनि चेलाले “तपाईं को हुनुहुन्छ?” भनी उहाँलाई सोध्‍ने साहस गरेन । तिनीहरूले उहाँ प्रभु हुनुहुन्थ्यो भनी जान्दथिए । 13 येशू आउनुभयो, रोटी लिनुभयो, र त्यो तिनीहरूलाई दिनुभयो र माछा पनि दिनुभयो । 14 मृत्युबाट जीवित हुनुभएपछि येशूले आफूलाई चेलाहरूकहाँ प्रकट गर्नुभएको यो तेस्रो पटक थियो । 15 तिनीहरूले खाजा खाइसकेपछि येशूले सिमोन पत्रुसलाई भन्‍नुभयो, “यूहन्‍नाका छोरा सिमोन, के तिमीले मलाई यिनीहरूभन्दा पनि बढी प्रेम गर्छौ?” पत्रुसले उहाँलाई भने, “हो प्रभु, तपाईं जान्‍नुहुन्छ कि म तपाईंलाई प्रेम गर्छु ।” येशूले तिनलाई भन्‍नुभयो, “मेरा पाठाहरूलाई खुवाऊ ।” 16 उहाँले तिनलाई फेरि दोस्रो पटक भन्‍नुभयो, “यूहन्‍नाका छोरा सिमोन, के तिमी मलाई प्रेम गर्छौ?” पत्रुसले उहाँलाई जवाफ दिए, “हो प्रभु, तपाईं जानुहुन्छ कि म तपाईंलाई प्रेम गर्छु ।” येशूले तिनलाई भन्‍नुभयो, “मेरा भेडाहरूको हेरचाह गर ।” 17 उहाँले तिनलाई तेस्रो पटक भन्‍नुभयो, “यूहन्‍नाका छोरा सिमोन, के तिमी मलाई प्रेम गर्छौ?” पत्रुस निराश भए, किनभने येशूले तिनलाई “के तिमी मलाई प्रेम गर्छौ?” भनी तेस्रो पटक सोध्‍नुभएको थियो । तिनले उहाँलाई भने, “प्रभु, तपाईं सबै थोक जान्‍नुहुन्छ, कि म तपाईंलाई प्रेम गर्छु ।” येशूले तिनलाई भन्‍नुभयो, “मेरा भेडाहरूलाई खुवाऊ ।” 18 साँचो साँचो म तिमीलाई भन्दछु, जब तिमी जवान थियौ, तिमी आफैं कपडा लगाउँथ्यौ र जहाँ चाहन्थ्यौ त्यतै हिंड्डुल गर्थ्यौ, तर जब तिमी वृद्ध हुन्छौ, तिमीले आफ्ना हात पसार्नेछौ र कसैले तिमीलाई कपडा लगाइदिनेछ र तिमी जहाँ जान चाहँदैनौ त्यहाँ तिमीलाई बोकेर लैजानेछ । 19 अब पत्रुसले कस्तो किसिमको मृत्युले परमेश्‍वरलाई महिमा गर्नेछन् भनी सङ्केत गर्न येशूले यसो भन्‍नुभयो । उहाँले यो बताउनुभएपछि पत्रुसलाई भन्‍नुभयो, “मलाई पछ्‍याऊ ।” 20 पत्रुस फर्के र तिनले येशूले प्रेम गर्नुभएका चेला अर्थात् भोजमा येशूको छातीमा अडेस लगाएर बसेका र उहाँलाई, “प्रभु, तपाईंलाई विश्‍वासघात गर्ने को हो?” भनी सोधेका चेला उहाँहरूको पछिपछि आइरहेको देखे । 21 पत्रुसले तिनलाई देखे, र त्यसपछि येशूलाई भने, “प्रभु, यी मानिसले चाहिं के गर्नेछन्?” 22 येशूले तिनलाई भन्‍नुभयो, “यदि म नआउञ्‍जेलसम्म तिनी रहेको चाहें भने पनि तिमीलाई के भयो त? मलाई पछ्‍याऊ ।” 23 त्यसैले ती चेला मर्नेछैनन् भन्‍ने यो भनाइ भाइहरूमाझ फैलियो । तरै पनि येशूले पत्रुसलाई अर्का चेला मर्दैनन् भन्‍नुभएन, तर “यदि म नआउञ्‍जेलसम्म तिनी रहेको चाहें भने पनि तिमीलाई के भयो त?” भन्‍नुभयो । 24 यी कुराहरूको गवाही दिने, र यी कुराहरू लेख्‍ने यिनै चेला हुन्, र हामी जान्‍दछौं कि तिनको गवाही सत्य छ । 25 येशूले गर्नुभएका अरू पनि धेरै कुराहरू छन् । यदि ती प्रत्‍येक लेखिएका भए, मलाई लाग्छ, ती लेखिने पुस्तकहरू संसारमा पनि अटाउने थिएनन् ।