1 उहाँले तिनीहरूलाई भन्नुभयो, “साँच्चै म तिमीहरूलाई भन्दछु, यहाँ खडा हुनेहरूमा तिमीहरूमध्ये केहीले परमेश्वरको राज्य शक्तिसित आएको देख्नु अगि मृत्यु चाख्नेछैनन् । 2 छ दिनपछि येशूले पत्रुस, याकूब र यूहन्नालाई आफ्नो साथमा लिएर एउटा अग्लो पहाडमा जानुभयो । त्यसपछि तिनीहरूको सामु उहाँको रूप परिवर्तन भयो । 3 उहाँका लुगाहरू एकदमै चहकिलो, अति सेतो भयो, यति सेतो भयो कि पृथ्वीमा कुनै पनि धोबीले त्यतिको सेतो बनाउन सक्दैनथ्यो । 4 त्यसपछि एलिया र मोशा उहाँहरूकहाँ देखा परे । तिनीहरूले येशूसँग कुरा गरिरहेका थिए । 5 पत्रुसले जवाफ दिए र येशूलाई भने, “गुरुज्यू, हामीलाई यहाँ बस्न राम्रो हुन्छ । त्यसैले यहाँ हामी तीनवटा बस्ने ठाउँ बनाऔं, एउटा तपाईंको निम्ति, एउटा मोशाको निम्ति र एउटा एलियाको निम्ति ।” 6 (तिनले के भन्ने भनी जानेनन्, किनभने तिनीहरू त्रसित भएका थिए ।) 7 अनि एउटा बादल आयो र उहाँहरूलाई छोप्यो । तब बादलबाट एउटा आवाज आयो, “यिनी मेरा प्रिय पुत्र हुन् र तिमीहरूले यिनले भनेका कुरा सुन ।” 8 अचानक जब तिनीहरूले आफ्नो वरिपरि हेरे, तिनीहरूले आफूसँग येशूबाहेक अरू कसैलाई पनि देखेनन् । 9 उहाँहरू पहाडबाट तल ओर्लंदै गर्नुहुँदा, मानिसको पुत्र मृत्युबाट जीवित भएर नउठेसम्म तिनीहरूले देखेका कुरा कसैलाई केही पनि नभन्नू भनी उहाँले तिनीहरूलाई आज्ञा गर्नुभयो । 10 त्यसैले ती कुराहरू तिनीहरूले आफैंसँग राखे, तर तिनीहरूले “मृत्युबाट जीवित भई उठ्नु” को अर्थ के हो भनी तिनीहरूले आपसमा छलफल गरे । 11 तिनीहरूले उहाँलाई सोधे “शास्त्रीहरूले किन एलिया नै पहिला आउनुपर्छ भन्छन् त?” 12 उहाँले तिनीहरूलाई भन्नुभयो, “वास्तवमा सबै थोकलाई पुनर्स्थापना गर्न एलिया नै पहिले आउनुपर्छ । त्यसो भए मानिसको पुत्रले धेरै कष्ट भोग्नुपर्छ र घृणित हुनेछ भनी किन लेखिएको छ त?” 13 तर म तिमीहरूलाई भन्दछु, कि एलिया आइसकेका छन्, र तिनको बारेमा लेखिएअनुसार तिनीहरूले एलियालाई जे चाहे त्यही गरे ।” 14 जब उहाँ चेलाहरूकहाँ आउनुभयो, उहाँले तिनीहरूका वरिपरि ठुलो भीड देख्नुभयो, र शास्त्रीहरूले तिनीहरूसँग बहस गरिरहेका थिए । 15 जब तिनीहरूले उहाँलाई देखे, सबै भीड छक्क परे र सबै उहाँलाई अभिवादन गर्न दौडेर गए । 16 उहाँले आफ्ना चेलाहरूलाई सोध्नुभयो, “तिमीहरूले तिनीहरूसँग के बहस गरिरहेका छौ?” 17 भीडमध्येका कसैले उहाँलाई जवाफ दियो, “गुरुज्यू, मैले तपाईंकहाँ मेरो छोरो ल्याएँ । त्यसलाई भूत लागेको छ जसले त्यसलाई बोल्न दिंदैन, 18 र त्यसले त्यसलाई पक्रन्छ, पछार्छ; त्यसले मुखमा फिंज काढ्छ र दाह्रा किट्छ र अरट्ठ पर्छ । मैले तपाईंका चेलाहरूलाई त्यसलाई निकाल्नलाई बिन्ती गरें, तर तिनीहरूले निकाल्न सकेनन् ।” 19 उहाँले तिनीहरूलाई जवाफ दिएर भन्नुभयो, “हे अविश्वासी पुस्ता हो, कति समयसम्म म तिमीहरूसँग बस्नुपर्नेछ? कति समयसम्म म तिमीहरूलाई सहनु? त्यसलाई मकहाँ ल्याओ ।” 20 तिनीहरूले त्यस केटोलाई उहाँकहाँ ल्याए । जब भूतात्माले येशूलाई देख्यो, त्यो आत्माले त्यस केटोलाई जोडले काम्न लगायो । त्यो केटो भुइँमा लड्यो र मुखमा फिंज काढ्यो । 21 येशूले त्यसको बुबालाई सोध्नुभयो, “यस्तो भएको कति भयो?” बुबाले भने, “बाल्यकालदेखि नै हो । 22 त्यसले त्यसलाई नाश गर्नलाई प्रायः आगोमा वा पानीमा फ्याँकेको छ । यदि तपाईंले केही गर्न सक्नुहुन्छ भने हामीमाथि दया देखाउनुहोस् र सहायता गर्नुहोस् ।” 23 येशूले तिनलाई भन्नुभयो, “‘यदि तपाईंले गर्न सक्नुहुन्छ भने’? विश्वास गर्नेको निम्ति सबै कुरा सम्भव छ ।” 24 तुरुन्तै त्यस बालकको बुबा चिच्च्याए र भने, “म विश्वास गर्छु! मेरो अविश्वासमा सहायता गर्नुहोस् ।” 25 जब येशूले भीड दगुर्दै उहाँहरूतिर आइरहेको देख्नुभयो, उहाँले त्यो अशुद्ध आत्मालाई हप्काउनुभयो र भन्नुभयो, “तँ गूँगा र बहिरो आत्मा, म आज्ञा गर्छु यसबाट निस्किजा र कहिल्यै पनि यसमा प्रवेश नगर ।” 26 अनि त्यो चिच्च्यायो र डरलाग्दो गरी लछारपछार गर्यो र निस्क्यो । त्यो केटो मरेकोजस्तै देखियो त्यसैले धेरैले भने, “त्यो मर्यो ।” 27 तर येशूले त्यस केटोलाई हातले समातेर उठाउनुभयो, र त्यो केटो उभियो । 28 जब येशू घरभित्र पस्नुभयो, चेलाहरूले उहाँलाई गुप्तमा सोधे, “हामीले त्यसलाई किन निकाल्न सकेनौं?” 29 उहाँले तिनीहरूलाई भन्नुभयो, “यस्तो किसिमको कुरालाई प्रार्थनाले बाहेक निकाल्न सकिंदैन ।” 30 उहाँहरू त्यहाँबाट जानुभयो र गालील हुँदै जानुभयो । उहाँहरू कहाँ हुनुहुन्छ कसैलाई थाहा नहोस् भन्ने उहाँले चाहनुभयो, 31 किनभने उहाँले आफ्ना चेलाहरूलाई सिकाइरहनुभएको थियो । उहाँले तिनीहरूलाई भन्नुभयो, “मानिसका पुत्र मानिसहरूका हातमा सुम्पिनेछन् र तिनीहरूले उनलाई मार्नेछन् । जब उनलाई मारिनेछ त्यसको तीन दिनपछि उनी फेरि जीवित भई उठ्नेछन् ।” 32 तर तिनीहरूले यो भनाइ बुझेनन् र उहाँलाई सोध्न तिनीहरू डराए । 33 अनि उहाँहरू कफर्नहुममा आइपुग्नुभयो । उहाँ घरमा पस्नुभएपछि, उहाँले तिनीहरूलाई सोध्नुभयो, “तिमीहरूले बाटोमा के छलफल गरिरहेका थियौ?” 34 तर तिनीहरू चुपचाप भए । किनकि तिनीहरूले “कोचाहिं सबैभन्दा ठुलो हो” भनी बहस गरिरहेका थिए । 35 उहाँ बस्नुभयो र बाह्र जनालाई एकसाथ बोलाउनुभयो अनि उहाँले तिनीहरूलाई भन्नुभयो, “यदि कोही पहिलो हुन चाहन्छ भने त्यो सबैभन्दा अन्तिम र सबैको सेवक हुनेछ ।” 36 उहाँले एउटा सानो बालकलाई लिएर तिनीहरूका माझमा राख्नुभयो । उहाँले त्यसलाई अङ्गालोमा लिनुभयो र तिनीहरूलाई भन्नुभयो, 37 “जसले यस्तो बालकलाई मेरो नाउँमा ग्रहण गर्छ, त्यसले मलाई पनि ग्रहण गर्छ; र जसले मलाई ग्रहण गर्छ, त्यसले मलाई मात्र होइन, तर मलाई पठाउनुहुनेलाई पनि ग्रहण गर्छ ।” 38 यूहन्नाले उहाँलाई भने, “गुरुज्यू, हामीले कसैलाई तपाईंको नाममा भूतात्मा धपाउँदै गरेको देख्यौं र हामीले त्यसलाई रोक्यौं, किनभने त्यसले हामीलाई पछ्याउँदैन ।” 39 तर येशूले भन्नुभयो, “त्यसलाई नरोक, किनकि कसैले पनि मेरो नाउँमा शक्तिशाली काम गरेर तत्कालै मेरो बारेमा कुनै खराब कुरा भन्न सक्दैन । 40 जो हाम्रो विरुद्धमा छैन, त्यो हाम्रो हो । 41 तिमीहरू ख्रीष्टका भएको हुनाले कसैले एक गिलास पानी दिन्छ भने पनि साँच्चै म तिमीहरूलाई भन्दछु, कि त्यसले आफ्नो इनाम गुमाउनेछैन । 42 जसले ममा विश्वास गर्ने यी सानामध्ये एक जनालाई ठेस खान लगाउँछ, त्यसको निम्ति त बरु त्यसको घाँटीमा ठुलो जाँतोको ढुङ्गा बाँधेर समुद्रमा फ्याँक्नु राम्रो हुन्छ । 43 यदि तिम्रो हातले तिमीलाई ठेस खान लगाउँछ भने त्यसलाई काटिदेऊ । दुईवटा हात लिएर कहिल्यै ननिभ्ने आगोको नरकमा जानुभन्दा अपाङ्ग भएर जीवनमा प्रवेश गर्नु नै राम्रो हुन्छ । 44 1 45 यदि तिम्रो खुट्टाले तिमीलाई ठेस खान लगाउँछ भने त्यसलाई काटिदेऊ। दुईवटा खुट्टा लिएर नरकमा फालिनुभन्दा त लङ्गडो भएर जीवनमा प्रवेश गर्नु नै असल हुन्छ । 46 2 47 यदि तिम्रा आँखाले तिमीलाई ठेस खान लगाउँछ भने, त्यसलाई निकालेर फालिदेऊ । दुईवटा आँखा लिएर नरकमा फालिनुभन्दा एउटा मात्र आँखा लिएर परमेश्वरको राज्यमा प्रवेश गर्नु नै असल हुन्छ । 48 जहाँ किराहरू मर्दैनन् र आगो पनि निभ्दैन । 49 किनकि सबैलाई आगोले नुनिलो पार्नेछ । 50 नुन असल हो, तर यदि नुनले आफ्नो नुनिलोपना गुमाउँछ भने यसलाई फेरि कसरी नुनिलो बनाउने? आफू-आफूमा नुन राख र एक-आपसमा शान्तिमा बस ।