1 ती दिनमा त्यहाँ फेरि एउटा ठुलो भीड भेला भयो, र तिनीहरूसँग खानको लागि केही थिएन । येशूले आफ्ना चेलाहरूलाई बोलाउनुभयो र तिनीहरूलाई भन्नुभयो, 2 “यो भीडमाथि मलाई दया लागेको छ, किनकि तिनीहरू मसँग निरन्तर तीन दिनसम्म रहेका छन् र तिनीहरूसँग कुनै खानेकुरा छैन । 3 यदि मैले तिनीहरूलाई नखुवाइकन तिनीहरूका घर पठाएँ भने तिनीहरू बाटोमा मुर्छा पर्न सक्छन् । तिनीहरूमध्ये कोही धेरै टाढाबाट आएका छन् ।” 4 उहाँका चेलाहरूले उहाँलाई जवाफ दिए, “यस्तो निर्जन ठाउँमा यी मानिसहरूलाई तृप्त पार्न पर्याप्त रोटी हामी कहाँ पाउन सक्छौं र?” 5 उहाँले तिनीहरूलाई सोध्नुभयो, “तिमीहरूसँग कतिवटा रोटी छन्?” तिनीहरूले भने “सातवटा ।” 6 उहाँले भीडलाई भुइँमा बस्न आज्ञा दिनुभयो । उहाँले ती सातवटा रोटी लिनुभयो, धन्यवाद दिनुभयो, र ती भाँच्नुभयो । भीडको अगाडि राखून् भनी उहाँले आफ्ना चेलाहरूलाई ती दिनुभयो, र तिनीहरूले भीडको अगाडि ती राखिदिए । 7 तिनीहरूसँग थोरै स-साना माछा पनि थिए, त्यसको लागि धन्यवाद दिनुभएपछि उहाँले ती पनि बाँडिदिन चेलाहरूलाई आज्ञा गर्नुभयो । 8 तिनीहरूले खाए र अघाए । अनि तिनीहरूले खाएर उब्रेका सात टोकरी रोटीका टुक्रा-टाक्रीहरू बटुले । 9 त्यहाँ लगभग चार हजार जना पुरुष थिए । येशूले तिनीहरूलाई पठाउनुभयो । 10 त्यसपछि तुरुन्तै उहाँ चेलाहरूसँग डुङ्गामा चढ्नुभयो र दलमनुथाको क्षेत्रमा जानुभयो । 11 तब फरिसीहरू आए, र उहाँसँग वादविवाद गर्न थाले । तिनीहरूले उहाँको जाँच गर्न उहाँसँग स्वर्गबाट एउटा चिन्ह मागे । 12 उहाँले आत्मामा सुस्केर हाल्नुभयो र भन्नुभयो, “यो पुस्ताले किन चिन्हको खोजी गर्छ? साँच्चै म तिमीहरूलाई भन्दछु, यो पुस्तालाई कुनै चिन्ह दिइनेछैन ।” 13 त्यसपछि उहाँले तिनीहरूलाई छोड्नुभयो, फेरि डुङ्गामा चढ्नुभयो र पारिपट्टि जानुभयो । 14 अब चेलाहरूले आफूसँग रोटी ल्याउन बिर्सेका थिए । तिनीहरूसँग डुङ्गामा एउटाभन्दा बढी रोटी थिएन । 15 उहाँले तिनीहरूलाई यसो भनेर चेतावनी दिनुभयो, “फरिसीहरूको खमीर र हेरोदको खमीरदेखि सचेत रहो र होसियार बस ।” 16 चेलाहरूले एक-आपसमा बहस गरे, “हामीसँग रोटी नभएकोले हो ।” 17 येशू यसप्रति सजग हुनुहुन्थ्यो, र उहाँले तिनीहरूलाई भन्नुभयो, “तिमीहरूले रोटी नल्याएको विषयमा किन बहस गरिरहेका छौ? के तिमीहरू अझै महसुस गर्दैनौ? के तिमीहरू बुझ्दैनौ? के तिमीहरूका हृदय यति बोधो भएका छन्? 18 तिमीहरूका आँखा छन्, के तिमीहरू देख्दैनौ? तिमीहरूका कान छन्, के तिमीहरू सुन्दैनौ? के तिमीहरूलाई याद छैन? 19 मैले पाँच हजारका सामु पाँच वटा रोटी भाँच्दा कति टोकरी रोटीका टुक्राहरू तिमीहरूले बटुलेका थियौ?” तिनीहरूले उहाँलाई भने, “बाह्र" । 20 “मैले चार हजारका बीचमा सातवटा रोटी भाँच्दा कति टोकरी रोटीका टुक्राहरू तिमीहरूले बटुल्यौ?” तिनीहरूले उहाँलाई भने, “सात" । 21 उहाँले भन्नुभयो, “के तिमीहरू अझै पनि बुझ्दैनौ?” 22 उहाँहरू बेथसेदामा आउनुभयो । त्यहाँ मानिसहरूले एउटा अन्धा मानिसलाई उहाँकहाँ ल्याए र त्यसलाई छोइदिनुहोस् भनी येशूसँग बिन्ती गरे । 23 येशूले त्यस अन्धालाई हातमा समाउनुभयो, र गाउँबाहिर लैजानुभयो । जब उहाँले त्यसको आँखामा थुक्नुभयो, र त्यसमाथि आफ्नो हात राख्नुभयो र त्यसलाई सोध्नुभयो, “के तिमी केही देख्छौ?” 24 त्यसले माथितिर हेर्यो र भन्यो, “म मानिसहरू रूखहरूजस्तै हिंडेको देख्छु ।” 25 उहाँले फेरि आफ्नो हात त्यसका आँखामा राख्नुभयो, र त्यस मानिसले आफ्ना आँखा खोल्यो अनि त्यसको दृष्टि पुनः प्राप्त भयो, र त्यसले सबै थोक स्पष्टसँग देख्यो । 26 येशूले त्यसलाई त्यसको घर पठाउनुभयो र भन्नुभयो, "त्यस सहरमा नपस ।" 27 येशू आफ्ना चेलाहरूसँगै कैसरिया फिलिप्पीका गाउँहरूतिर जानुभयो । बाटोमा उहाँले आफ्ना चेलाहरूलाई सोध्नुभयो, “मानिसहरूले म को हुँ भन्छन्?” 28 तिनीहरूले उहाँलाई जवाफ दिए, र भने, “बप्तिस्मा-दिने यूहन्ना, अरूहरूले, ‘एलिया’ र अरूले भने ‘अगमवक्ताहरूमध्ये एक’ भन्छन् ।” 29 उहाँले तिनीहरूलाई सोध्नुभयो, “तर तिमीहरूचाहिं म को हुँ भन्छौ?” पत्रुसले उहाँलाई भने, “तपाईं ख्रीष्ट हुनुहुन्छ” 30 येशूले उहाँको विषयमा कसैलाई पनि नभन्नू भनी तिनीहरूलाई चेतावनी दिनुभयो । 31 उहाँले मानिसका पुत्रले धेरै कुरा भोग्नुपर्छ, र धर्म-गुरुहरू, मुख्य पूजाहारीहरू र शास्त्रीहरूबाट तिरस्कृत हुनेछ, मारिनेछ र तीन दिनपछि फेरि जीवित भई उठ्नेछ भनी तिनीहरूलाई शिक्षा दिन थाल्नुभयो । 32 उहाँले यो सन्देश स्पष्टसँग भन्नुभयो । तब पत्रुसले उहाँलाई एकातिर लगे र उहाँलाई हपार्न थाले । 33 तर येशू फर्कनुभयो र आफ्ना चेलाहरूतिर हेर्नुभयो अनि पत्रुसलाई हप्काउनुभयो र भन्नुभयो, “मबाट पछि हट् शैतान! तैलें परमेश्वरको कुराहरूमा मन लगाइरहेको छैनस्, तर मानिसका कुराहरूमा लगाइरहेको छस् ।” 34 त्यसपछि उहाँले भीड र आफ्ना चेलाहरूलाई सँगै बोलाउनुभयो, र उहाँले तिनीहरूलाई भन्नुभयो, “यदि कसैले मलाई पछ्याउन चाहन्छ भने, त्यसले आफैंलाई इन्कार गर्नुपर्छ, आफ्नो क्रूस बोक्नुपर्छ र मलाई पछ्याउनुपर्छ । 35 किनकि जसले आफ्नो जीवन बचाउन खोज्छ त्यसले त्यो गुमाउनेछ, र जसले मेरो र सुसमाचारको खातिर आफ्नो जीवन गुमाउँछ, त्यसले त्यो बचाउनेछ । 36 मानिसले सारा संसार प्राप्त गरेर आफ्नै जीवन गुमायो भने त्यसलाई के लाभ हुन्छ र? 37 मानिसले आफ्नो जीवनको बदलामा के दिन सक्छ र? 38 यस व्यभिचारी र पापी पुस्तामा जो म र मेरो वचनदेखि शर्माउँछ, मानिसका पुत्र पवित्र स्वर्गदूतहरूसँग आफ्ना पिताको महिमामा आउँदा त्यससँग शर्माउनेछ ।”