7

1 यरूशलेमबाट आएका फरिसीहरू र केही शास्‍‍त्रीहरू उहाँको वरिपरि भेला भए । 2 तिनीहरूले उहाँका चेलाहरूले अशुद्ध अर्थात् नधोएका हातले रोटी खाएको देखे । 3 (किनकि फरिसीहरू र सबै यहूदीहरू आफ्ना हात नधोउन्जेल केही खाँदैनन्, किनभने तिनीहरू धर्म-गुरुहरूका परम्परामा लागि पर्छन् । 4 जब फरिसीहरू बजारबाट आउँछन्, तिनीहरू आफैं ननुहाईकन खाँदैनन्, र तिनीहरूले पाएका अरू धेरै कुराहरूको पालन गर्छन्, जस्तै कचौरा, भाँडाहरू, काँसाका भाँडाहरू र बस्‍ने ठाउँहरू धुने जहाँ तिनीहरू बस्‍छन् ।) 5 फरिसीहरू र शास्‍‍त्रीहरूले येशूलाई सोधे, “तपाईंका चेलाहरू किन धर्म-गुरुहरूको परम्पराअनुसार चल्दैनन्, तर तिनीहरूले आफ्ना हात नधोई रोटी खान्छन्?” 6 तर उहाँले तिनीहरूलाई भन्‍नुभयो, “यशैयाले तिमी पाखण्डीहरूको विषयमा राम्ररी अगमवाणी गरे । जस्तो लेखिएको छ, ‘यी मानिसहरूले मलाई तिनीहरूका ओठले आदर गर्छन्, तर तिनीहरूका हृदय मबाट टाढिएको छ । 7 तिनीहरूले शिक्षाको रूपमा मानिसहरूका नियमहरूलाई सिकाउँदै मलाई खोक्रो आराधना चढाउँछन् ।' 8 तिमीहरू परमेश्‍वरको आज्ञालाई त्याग्छौ र मानिसहरूको परम्परालाई पक्रिराख्छौ ।” 9 अनि उहाँले तिनीहरूलाई फेरि भन्‍नुभयो, “तिमीहरूले आफ्नो परम्परा पालन गर्नलाई परमेश्‍वरको आज्ञालाई सहजै इन्कार गर्छौ! 10 किनभने मोशाले भने, ‘तिम्रो बुबा र आमाको आदर गर’, र ‘जसले आफ्ना बुबा वा आमाको विरुद्ध खराब कुरा बोल्छ, त्यो निश्‍चय नै मारिनेछ ।’ 11 तर तिमीहरू भन्छौ, ‘यदि एउटा मानिसले आफ्नो बुबा वा आमालाई भन्छ, “तपाईंहरूले मबाट जति सहायता पाउनुपर्थ्यो त्यो त कुर्बान हो (अर्थात्, 'परमेश्‍वरलाई दिइएको') ।'” 12 तब तिमीहरूले त्यसलाई आफ्नो बुबा वा आमाको निम्ति केही गर्न दिंदैनौ । 13 तिमीहरूले चल्दै आएको आफ्नो परम्पराले परमेश्‍वरको आज्ञालाई व्यर्थ तुल्याउँदैछौ । र तिमीहरू त्यस्तै धेरै काम गर्छौ ।” 14 उहाँले भीडलाई फेरि बोलाउनुभयो र तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू सबैले मेरो कुरा सुन, र बुझ । 15 त्यस्तो केही कुरा छैन, जो बाहिरबाट व्यक्तिभित्र पसेर त्यसलाई अशुद्ध पार्न सक्छ । तर व्यक्तिबाट बाहिर निस्कने कुराले नै त्यसलाई अशुद्ध पार्छ ।” 16 1 17 जब येशूले भीडलाई छोडेर घरभित्र पस्‍नु‍भयो, उहाँका चेलाहरूले उहाँलाई त्यो उखानको बारेमा सोधे । 18 येशूले भन्‍नुभयो, “के तिमीहरू अझै पनि अबुझ छौ? बाहिरबाट व्यक्तिभित्र पस्‍ने कुराले त्यसलाई अशुद्ध पार्न सक्दैन भनेर के तिमीहरू देख्दैनौ? 19 किनकि त्यो त्यसको हृदयमा जान सक्दैन, तर त्यसको पेटमा जान्छ र निस्‍केर शौचालयमा पुग्‍छ ।” यस भनाइद्वारा येशूले सबै भोजन शुद्ध हो भनेर बताउनुभयो । 20 उहाँले भन्‍नुभयो, “व्यक्तिको भित्रबाट जुन कुरा बाहिर निस्कन्छ त्यसले नै त्यसलाई अशुद्ध पार्छ । 21 किनकि मानिसको भित्रबाट अर्थात् हृदयबाट नै दुष्‍ट विचार, यौन अनैतिकता, चोरी, हत्या, 22 व्यभिचार, लोभ, दुष्‍टता, धोका, कामुकता, ईर्ष्या, निन्दा, घमण्ड, मूर्खता निस्कन्छन् । 23 यी सबै खराबी भित्रबाट नै आउँछन्, र यिनीहरूले नै व्यक्तिलाई अशुद्ध पार्छन् ।” 24 उहाँ त्यहाँबाट उठ्नुभयो र त्यहाँबाट टुरोस र सीदोनको क्षेत्रतिर जानुभयो । उहाँ एउटा घरभित्र आउनुभयो र उहाँ त्यहाँ हुनुहुन्छ भनी कसैले थाहा नपाऊन् भन्‍ने उहाँ चाहनुहुन्थ्यो, तैपनि उहाँ लुक्‍न सक्‍नुभएन । 25 तर तुरुन्तै एउटा स्‍‍त्रीले उहाँको बारेमा सुनी र त्यहाँ आई जसकी सानी छोरीलाई अशुद्ध आत्मा लागेको थियो । त्यो आई उहाँको पाउमा घोप्‍टो परी । 26 त्यो स्‍‍त्री एक ग्रीक र सिरियाको फोनिकेमा जन्मेकी थिई । त्यसले आफ्नी छोरीबाट भूत निकालिदिन उहाँसँग बिन्ती गरी । 27 उहाँले त्यसलाई भन्‍नुभयो, “छोराछोरीहरूलाई पहिले खुवाइयोस् । किनकि छोराछोरीहरूको रोटी खोसेर कुकुरहरूलाई दिनु ठिक होइन ।” 28 तर त्यसले जवाफ दिएर उहाँलाई भनी “हो प्रभु, तर कुकुरहरूले पनि त छोराछोरीहरूको टेबुलबाट झरेको रोटीका टुक्राहरू खान्छन् नि ।” 29 उहाँले त्यसलाई भन्‍नुभयो, “तिमीले यसो भनेकी हुनाले तिमी जानलाई स्वतन्‍‍त्र छौ । तिम्री छोरीबाट भूत निस्केर गएको छ ।” 30 त्यो आफ्नो घर फर्केर गई र आफ्नी छोरी ओछ्‍यानमा पल्टिरहेकी पाई, र भूत निस्केर गएको थियो । 31 उहाँ फेरि टुरोसको क्षेत्रबाट निस्केर सिदोन हुँदै डेकापोलिसको क्षेत्र भएर गालील समुद्रतिर जानुभयो । 32 तिनीहरूले बहिरा र भकभके मानिसलाई उहाँकहाँ ल्याए र तिनीहरूले त्यसमाथि हात राखिदिनुहुन उहाँलाई बिन्ती गरे । 33 तब उहाँले त्यसलाई भीडबाट एकातिर एकान्तमा लैजानुभयो, त्यसको कानमा औंला हाल्नुभयो र त्यसपछि उहाँले थुक्‍नुभयो र त्यसको जिब्रो छुनुभयो । 34 तब उहाँले स्वर्गतिर हेर्नुभयो, सुस्केरा हाल्‍नुभयो, र त्यसलाई भन्‍नुभयो, “इफ्फाता” जसको अर्थ हुन्छ, “खोलिजा!” 35 तुरुन्तै त्यसको कान खोलियो, र त्यसको जिब्रोलाई बाधा दिने कुरा नष्‍ट भयो र त्यसले प्रष्‍टसँग बोल्न थाल्यो । 36 येशूले कसैलाई केही पनि नभन्‍नू भनी तिनीहरूलाई आज्ञा गर्नुभयो । तर उहाँले जति धेरै तिनीहरूलाई आज्ञा दिनुभयो त्यति नै धेरै तिनीहरूले त्यो प्रचार गरे । 37 तिनीहरू अत्यन्तै अचम्मित भए र भने, “उहाँले सबै कुरा असल गर्नुभएको छ । उहाँले बहिरालाई सुन्‍ने र गूँगोलाई बोल्ने पनि बनाउनुहुन्छ ।”


1प्राचीन उत्कृष्‍ट प्रतिलिपिहरूमा १६ पद छैन । यदि कसैको सुन्‍ने कान छ भने त्यसले सुनोस् ।