6

1 उहाँ त्यहाँबाट जानुभयो र आफ्नो गाउँमा आउनुभयो, अनि उहाँका चेलाहरूले उहाँलाई पछ्‍याए । 2 जब विश्रामको दिन आयो उहाँले सभाघरमा शिक्षा दिनुभयो । धेरै मानिसहरूले उहाँको शिक्षा सुने र छक्‍क परे । तिनीहरूले भने, “यिनले यी शिक्षाहरू कहाँबाट पाए? यिनलाई दिइएको यो बुद्धि के हो? यिनका हातले गरेका यी कस्ता अचम्मका कामहरू हुन्?” 3 “के यिनी मरियमका पुत्र अनि याकूब, योसेफ, यहूदा र सिमोनका दाजु सिकर्मी होइनन् र? के यिनका बहिनीहरू हामीसित छैनन् र?” र तिनीहरू येशूद्वारा क्रुद्ध पारिए । 4 अनि येशूले तिनीहरूलाई भन्‍नुभयो, “एउटा अगमवक्‍ताको आफ्नो गाउँ, नातेदार र आफ्नो घर परिवारबाहेक कहीं पनि अनादर हुँदैन ।” 5 केही बिरामी मानिसहरूमा हात राखेर निको पार्नुबाहेक त्यहाँ उहाँले कुनै शक्‍तिशाली कामहरू गर्न सक्‍नुभएन । 6 तिनीहरूको अविश्‍वासले उहाँलाई अचम्मित तुल्यायो । अनि उहाँ गाउँहरूभरि शिक्षा दिंदै हिंड्नुभयो । 7 अनि उहाँले बाह्र जनालाई बोलाउनुभयो, र दुई-दुई जना गरी तिनीहरूलाई पठाउन लाग्‍नुभयो, र तिनीहरूलाई अशुद्ध आत्माहरूमाथि अधिकार दिनुभयो । 8 र उहाँले तिनीहरूलाई यात्रामा एउटा लट्ठी बाहेक केही पनि नबोक्‍नू— न रोटी, न झोला, न त पटुकीमा पैसा नै बोक्‍नू— 9 तर जुत्ता लगाउनू र दुइवटा दौरा चाहिं नलगाउनू भनी निर्देशन दिनुभयो । 10 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “जब तिमीहरू कुनै घरभित्र पस्छौ, त्यो ठाउँ नछोडेसम्‍म त्यहीं बस । 11 यदि कुनै नगरले तिमीहरूलाई स्वागत गरेन वा तिमीहरूलाई सुनेनन् भने तिमीहरूले त्यो ठाउँ छोड्दा तिनीहरूका निम्ति गवाहीको रूपमा आफ्नो पैतालाको धुलो टकटकाइदिनू ।” 12 तिनीहरू त्यहाँबाट बाहिर गए र मानिसहरूले पश्‍चात्ताप गर्नुपर्छ भनी प्रचार गरे । 13 तिनीहरूले धेरै भूतहरू निकाले, धेरै बिरामीहरूलाई तेलले अभिषेक गरे र निको पारे । 14 हेरोद राजाले यो सुने, किनकि येशूको नाउँ प्रसिद्ध भएको थियो । केहीले भनिरहेका थिए, “बप्‍तिस्मा-दिने यूहन्‍ना मृत्युबाट जीवित भई उठेका छन् । त्यसैले यी आश्‍चर्यजनक शक्तिहरू यिनमा काम गर्दछन् ।” 15 अरूहरूले भने, “यिनी एलिया हुन् ।”, अझ अरूहरूले भने, “यिनी प्राचीन समयका अगमवक्‍ताहरूजस्तै एक अगमवक्‍ता हुन् ।” 16 तर जब हेरोदले यो सुने, तिनले भने, “यूहन्‍ना, जसको मैले टाउको काटें, तिनी जीवित भई उठेका छन्!” 17 किनकि हेरोदले हेरोदियास (तिनको भाइ फिलिपकी पत्‍नी) को कारण यूहन्‍नालाई गिरफ्तार गर्न र कैदमा हाल्न लगाए, किनभने हेरोदले उनलाई विवाह गरेका थिए । 18 किनकि यूहन्‍नाले हेरोदलाई भने, “आफ्नो भाइकी पत्‍नीलाई विवाह गर्न तपाईंलाई उचित छैन ।” 19 तर हेरोदियासले वैरभाव राखेकी थिइन् र तिनलाई मार्न चाहन्थिन्, तर उनले सकेकी थिइनन्, 20 किनकि हेरोद यूहन्‍नासित डराउँथे; तिनी धर्मी र पवित्र जन थिए भन्‍ने तिनलाई थाहा थियो, अनि हेरोदले तिनलाई सुरक्षित राखे । तिनको प्रचार सुन्दा हेरोद ज्यादै अशान्त हुन्थे, तरै पनि तिनले खुसीसाथ सुन्थे । 21 त्यसपछि एउटा उपयुक्‍त मौका मिल्यो जब हेरोदले आफ्‍नो जन्म दिनमा आफ्ना अधिकारहरू, कप्‍तानहरू र गालीलका अगुवाहरूलाई भोज दिए । 22 हेरोदियासकी छोरी आफैं आई र तिनीहरूको लागि नाची अनि त्यसले हेरोद र तिनका पाहुनाहरूलाई प्रशन्‍न तुल्याई । राजाले त्यस केटीलाई भने, “तिमीलाई जे इच्छा लाग्‍छ सो माग, म तिमीलाई दिनेछु ।” 23 तिनले यसो भन्दै शपथ खाए, “तिमीले मसित जे माग्छौ, म तिमीलाई मेरो राज्यको आधा भागसम्म पनि दिनेछु ।” 24 त्यो बाहिर निस्की र आफ्नी आमालाई भनी, “म उहाँसित के मागूँ?” र तिनले भनिन्, “बप्‍तिस्मा-दिने यूहन्‍नाको शिर ।” 25 त्यो तुरुन्तै राजाकहाँ आई र यसो भन्दै मागी, “मलाई झट्टै बप्‍तिस्मा-दिने यूहन्‍नाको शिर थालीमा दिनुहोस् भन्‍ने म चाहन्छु ।” 26 राजा निकै दुःखित भए, तर आफ्ना पाहुनाहरू र शपथको कारण राजाले त्यसको बिन्‍ती इन्कार गर्न सकेनन् । 27 त्यसैले राजाले आफ्ना रक्षकका एक जना सिपाहीलाई यूहन्‍नाको शिर ल्याउने आदेश दिएर पठाए । सिपाही गयो र झ्यालखानामा उनको शिर काट्‍यो । 28 सिपाहीले थालमा उनको शिर ल्यायो र त्यस केटीलाई दियो, र त्यस केटीले आफ्नी आमालाई दिई । 29 त्यो सुनेर यूहन्‍नाका चेलाहरू आए, र उनको लासलाई चिहानमा राखे । 30 अनि प्रेरितहरू येशूको वरिपरि एकसाथ भेला भए, र तिनीहरूले गरेका र सिकाएका सबै कुरा उहाँलाई बताए । 31 अनि उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू आफैं निर्जन स्थानमा आओ र केही समय आराम गर ।” किनकि धेरै जना आउने र जाने गरिरहेका थिए र उहाँहरूसँग खाना खाने समय पनि थिएन । 32 त्यसैले उहाँहरू आफैं डुङ्गा चढेर निर्जन स्थानतिर जानुभयो । 33 तर तिनीहरूले उहाँहरू गइरहेको देखे अनि धेरैले उहाँहरूलाई चिने र तिनीहरू सबै नगरबाट दौडेर उहाँहरूभन्दा अगि नै त्यस ठाउँमा पुगे । 34 जब उहाँहरू समुद्रीय तटमा आउनुभयो, उहाँले एउटा ठुलो भीड देख्‍नुभयो, र उहाँले तिनीहरूलाई टिठ्‍याउनुभयो, किनभने तिनीहरू गोठालाबिनाका भेडाहरूजस्तै थिए । अनि उहाँले तिनीहरूलाई धेरै कुरा सिकाउन थाल्‍नुभयो । 35 जब दिन ढल्क्यो, उहाँका चेलाहरू उहाँकहाँ आए र भने “यो निर्जन स्थान हो र दिन ढल्किसकेको छ । 36 तिनीहरूलाई पठाउनुहोस्, ताकि तिनीहरू नजिकैको गाउँघरतिर जाऊन् र आफ्ना निम्ति केही खानेकुराहरू किन्‍न सकून् ।” 37 तर उहाँले जवाफ दिनुभयो र तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूले नै तिनीहरूलाई केही खानेकुरा देओ ।” तिनीहरूले उहाँलाई भने, “के हामी दुई सय दिनार बराबरको रोटी किन्‍न जाऊँ र तिनीहरूलाई खान दिऊँ?” 38 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूसँग कतिवटा रोटी छन्? जाओ र हेर ।” जब तिनीहरूले पत्ता लगाए, तिनीहरूले भने, “पाँच रोटी र दुई माछा छन् ।” 39 उहाँले सबै मानिसलाई हरियो घाँसमाथि समूह-समूहमा मिलेर बस्‍ने आज्ञा गर्नुभयो । 40 तिनीहरू सय र पचासको समूह- समूहमा बसे । 41 उहाँले पाँच रोटी र दुईवटा माछा लिनुभयो, स्वर्गतिर हेरेर आशिष् दिनुभयो, र भाँच्‍नुभयो अनि मानिसहरूलाई ती बाँडिदिन चेलाहरूलाई दिनुभयो । अनि उहाँले दुईवटा माछा पनि सबै जनालाई बाँडिदिनुभयो । 42 तृप्‍त नहुन्जेल तिनीहरू सबै जनाले खाए । 43 तिनीहरूले बाह्र डाला रोटीका टुक्राहरू बटुले र माछाका टुक्राहरू पनि बटुले । 44 त्यहाँ रोटी खाने पाँच हजार पुरुषहरू थिए । 45 उहाँका चेलाहरूलाई तुरुन्तै डुङ्गामा चढ्न लगाएर पारिपट्टि बेथसेदातिर उहाँभन्दा अगि जना लगाउनुभयो र त्यतिन्जेल उहाँले चाहिं भीडलाई बिदा दिनुभयो । 46 जब तिनीहरू गए, उहाँ डाँडातिर प्रार्थना गर्न जानुभयो । 47 साँझ पर्‍यो, र अब डुङ्गा समुद्रको बीचमा थियो, र उहाँ जमिनमा एक्लै हुनुहुन्थ्यो । 48 तिनीहरूलाई डुङ्गा खियाउन गाह्रो भएको उहाँले देख्‍नुभयो, किनकि हावा तिनीहरूको विपरीत दिशाबाट आइरहेको थियो । लगभग रातको चौथो प्रहरमा समुद्रमाथि हिंडेर उहाँ तिनीहरूकहाँ आउनुभयो, र तिनीहरूलाई उछिन्‍न चाहनुभयो । 49 तर जब तिनीहरूले उहाँलाई समुद्रमाथि हिंडिरहनुभएको देखे, तब तिनीहरूले उहाँ भूत हुनुहुन्थ्‍यो भनी ठाने र चिच्‍च्याए, 50 किनभने तिनीहरूले उहाँलाई देखे र भयभीत भए । अनि तुरुन्तै उहाँ तिनीहरूसँग बोल्नुभयो र तिनीहरूलाई भन्‍नुभयो, “साहसी होओ, म नै हुँ, नडराओ ।” 51 उहाँ तिनीहरूसँगै डुङ्गामा चढ्नुभयो, र बतास चल्न छोड्यो । तिनीहरू पूर्ण रूपमा अचम्मित भए । 52 किनकि तिनीहरूले रोटीहरूको अर्थ बुझेका थिएनन् । बरु तिनीहरूका हृदय कठोर पारिएको थियो । 53 जब उहाँहरू पारी तर्नुभयो, उहाँहरू गनेसरेतमा आउनुभयो र डुङ्गालाई त्यहीं अड्‍याउनुभयो । 54 जब उहाँहरू डुङ्गाबाट ओर्लनुभयो, मानिसहरूले उहाँलाई तुरुन्तै चिने । 55 तिनीहरू सबै क्षेत्रमा दौडेर गए र उहाँ जहाँ-जहाँ आउँदै हुनुहुन्छ भनी तिनीहरूले सुने तिनीहरूले त्यहाँ-त्यहाँ बिरामीहरूलाई उहाँकहाँ ओछ्‍यानसँगै ल्याउन थाले । 56 उहाँ गाउँहरूमा, सहरहरूमा, वा ग्रामीण ठाउँहरूमा जहाँ-जहाँ जानुहुन्थ्यो, तिनीहरूले बिरामीहरूलाई बजार क्षेत्रहरूमा राख्थे । तिनीहरूले उहाँको कपडाको छेउ मात्र भए पनि छुन दिइयोस् भनी बिन्ती गर्थे, र जतिले उहाँलाई छोए, तिनीहरू निको हुन्थे ।