1 उहाँहरू समुद्रको पारिपट्टि गदरिनीहरूको क्षेत्रमा आउनुभयो । 2 जब येशू डुङ्गाबाट ओर्लंदै हुनुहुन्थ्यो, अशुद्ध आत्मा लागेको एक जना मानिस चिहानबाट तुरुन्तै उहाँकहाँ आयो । 3 त्यो मानिस चिहानमा बस्थ्यो । कसैले पनि त्यसलाई साङ्लाले समेत बाँधेर राख्न सकेको थिएन । 4 त्यसलाई धेरै पटक ठिंगुरो लगाएर र साङ्लाहरूले बाँधेर राखिएको थियो । त्यसले साङ्लाहरूलाई चुँडाल्थ्यो, र त्यसको ठिंगुरो तोडिन्थ्यो । त्यसलाई वशमा राख्ने सामर्थ्य कसैमा थिएन । 5 हरेक रात र दिन चिहान घारीमा र डाँडाहरूमा त्यो चिच्च्याउँथ्यो र त्यसले धारिलो ढुङ्गाहरूले आफैंलाई काटेर चोट पार्थ्यो । 6 जब त्यसले येशूलाई टाढैबाट देख्यो, त्यो उहाँकहाँ दौड्यो अनि उहाँको अगि घोप्टो पर्यो । 7 त्यसले ठुलो स्वरमा कराएर भन्यो, “हे येशू, सर्वोच्च परमेश्वरका पुत्र, मेरो तपाईंसँग के सरोकार छ? म परमेश्वरको नाउँमा बिन्ती गर्छु, कि मलाई नसताउनुहोस् ।” 8 किनकि येशूले त्यसलाई भनिरहनुभएको थियो, “तँ अशुद्ध आत्मा, यस मानिसबाट बाहिर निस्किआइज ।” 9 उहाँले त्यसलाई सोध्नुभयो, “तेरो नाम के हो?” त्यसले उहाँलाई भन्यो, “मेरो नाम फौज हो, किनकि हामी धेरै छौं ।” 10 त्यसले उहाँलाई त्यस क्षेत्रबाट तिनीहरूलाई बाहिर नपठाउन बारम्बार बिन्ती गर्यो । 11 अब त्यहाँ सुँगुरको एउटा ठुलो बथान डाँडामा चरिरहेको थियो, 12 अनि तिनीहरूले यसो भन्दै उहाँसँग बिन्ती गरे, “हामीलाई ती सुँगुरहरूभित्र पठाउनुहोस्; हामीलाई तिनीहरूमा पस्न दिनुहोस्।” 13 उहाँले तिनीहरूलाई अनुमति दिनुभयो; अशुद्ध आत्माहरू निस्किए र सुँगुरहरूभित्र पसे, अनि तिनीहरू भिरालो पहाडबाट समुद्रतिर हुर्रिए अनि लगभग दुई हजार सुँगुर समुद्रमा डुबे । 14 अनि सुँगुरहरू चराइरहेका मानिसहरू दौडेर गए, र तिनीहरूले के भएको थियो भनी सहर र गाउँघरतिर खबर दिए अनि के भएको रहेछ भनी हेर्न धेरै मानिसहरू गए । 15 तिनीहरू येशूकहाँ आए, र तिनीहरूले भूत लागेको मानिस जससँग फौज नै थियो, त्यसलाई लुगा लगाएर दिमाग ठिक भई बसिरहेको देखेर तिनीहरू डराए । 16 भूत लागेको मानिसलाई के भएको थियो भनी देख्नेहरूले त्यसको बारेमा तिनीहरूलाई विस्तृत रूपमा बताए, र तिनीहरूले सुँगुरहरूको बारेमा पनि तिनीहरूलाई बताए । 17 अनि तिनीहरूले येशूलाई तिनीहरूको क्षेत्रबाट जान बिन्ती गर्न लागे । 18 जब येशू डुङ्गामा चढ्दै हुनुहुन्थ्यो त्यो भूत लागेको मानिसले त्यो पनि उहाँसँगै रहनलाई उहाँलाई बिन्ती गर्यो । 19 तर येशूले त्यसलाई आफूसँग आउन अनुमति दिनुभएन । तर उहाँले त्यसलाई भन्नुभयो, “तिम्रो घरमा र तिम्रा मानिसकहाँ जाऊ, र प्रभुले तिम्रो निम्ति के गर्नुभयो र कसरी उहाँले तिमीलाई कृपा गर्नुभयो, सो तिनीहरूलाई भन ।” 20 त्यसैले त्यो मानिस गयो र येशूले त्यसको निम्ति गर्नुभएका महान् कुराहरू डेकापोलिसमा बताउन थाल्यो, अनि सबैजना छक्क परे । 21 अब येशू फेरि डुङ्गा चढेर पारिपट्टि पुग्नुभयो र उहाँ समुद्रको छेउमा हुनुहुँदा उहाँको वरिपरि एउटा ठुलो भीड भेला भयो । 22 त्यसपछि सभाघरका अगुवाहरूमध्ये याइरस नाउँ गरेका एक जना उहाँकहाँ आए । जब तिनले येशूलाई देखे, तब उहाँको पाउमा परे । 23 तिनले यसो भन्दै बारम्बार बिन्ती गरे, “मेरी सानी छोरी मृत्युको मुखमा पुगेकी छे । म तपाईंलाई बिन्ती गर्छु, कि आउनुहोस् र त्यसमाथि आफ्नो हात राखिदिनुहोस्, ताकि त्यो ठिक हुन सकोस् र बाँच्न सकोस्।” 24 त्यसैले उहाँ तिनीसँग जानुभयो, अनि ठुलो भीडले उहाँलाई पछ्यायो, अनि तिनीहरूले उहाँको वरिपरि ठेलमठेल गरे । 25 अब त्यहाँ बाह्र वर्षदेखि रगत बग्ने रोगले ग्रस्त भएकी एक स्त्री थिई । 26 त्यसले धेरै वैद्यकहाँ गएर धेरै दुःख कष्ट भोगेकी थिई अनि त्यससँग भएका सबै थोक त्यसले खर्च गरिसकेकी थिई, तर निको हुनुको सट्टा त्यसको अवस्था झनै नराम्रो भयो । 27 त्यसले येशूको बारेमा खबर सुनेर भीडमा उहाँको पछाडि आई, अनि उहाँको खास्टो छोई । 28 किनकि त्यसले भनी, “यदि मैले उहाँको वस्त्र मात्र छोएँ भने म निको हुनेछु ।” 29 जब त्यसले उहाँलाई छोई, रगत बग्न रोकियो, अनि त्यसले आफ्नो कष्टबाट आफू निको भएको शरीरमा महसुस गरी । 30 येशूले आफूबाट शक्ति निस्केर गएको तुरुन्तै थाहा पाउनुभयो । अनि उहाँ भीडतिर फर्केर भन्नुभयो, “कसले मेरो लुगा छोयो?” 31 उहाँका चेलाहरूले उहाँलाई भने, “तपाईंको वरिपरि ठेलमठेल गरेको भीडलाई देख्नुभएकै छ, अनि तपाईं भन्नुहुन्छ ‘मलाई कसले छोयो’?” 32 तर यो कसले गरेको थियो भनी हेर्न येशूले वरिपरि हेर्नुभयो । 33 त्यस स्त्रीले आफूलाई के भएको थियो भन्ने कुरा थाहा पाएर त्यो डरले कामी । त्यो आई र उहाँको सामु घोप्टो परी र सबै सत्यता उहाँलाई बताई । 34 उहाँले त्यसलाई भन्नुभयो, “हे छोरी, तिम्रो विश्वासले तिमीलाई निको पारेको छ । शान्तिसाथ जाऊ र तिम्रो कष्टबाट निको होऊ ।” 35 उहाँ बोल्दै गर्नुहुँदा सभाघरका अगुवाकहाँबाट केही मानिसहरू यसो भन्दै आए, “तपाईंकी छोरी मरी । अब गुरुज्यूलाई किन दुःख दिने?” 36 तर जब येशूले तिनीहरूले भनेको कुरा सुन्नुभयो, उहाँले सभाघरका अगुवालाई भन्नुभयो, “नडराऊ, विश्वास मात्र गर ।” 37 उहाँले पत्रुस, याकूब अनि याकूबका भाइ यूहन्नालाई बाहेक अरू कसैलाई पनि उहाँसँग जान अनुमति दिनुभएन । 38 उहाँहरू सभाघरका अगुवाको घरमा आउनुभयो अनि उहाँले त्यहाँ मानिसहरूलाई ज्यादै खैलाबैला गरिरहेको देख्नुभयो; तिनीहरू रोइरहेका र विलाप गरिरहेका थिए । 39 जब उहाँ घरभित्र पस्नुभयो, उहाँले तिनीहरूलाई भन्नुभयो, “तिमीहरू किन निरास छौ र रुन्छौ? बालिका मरेकी छैन, सुतेकी मात्र हो ।” 40 उहाँको कुरामा तिनीहरू हाँसे । तर उहाँले ती सबैलाई बाहिर निकाल्नुभयो अनि बालिकाका बुबा र आमा अनि उहाँसँग आएकाहरूलाई लिएर उहाँ त्यस बालिका भएको ठाउँमा जानुभयो । 41 उहाँले बालिकालाई हात समातेर तिनलाई भन्नुभयो, “तालिता कूमी”, जसको अर्थ हुन्छ, “सानी नानी, म तिमीलाई भन्दछु, उठ!” 42 तुरुन्तै बालिका उठी अनि हिंडी (त्यो बाह्र वर्षकी थिई) । त्यति नै बेला तिनीहरू अत्यन्तै चकित भए । 43 उहाँले तिनीहरूलाई त्यस बारेमा कसैले थाहा नपाओस् भन्ने कडा आज्ञा दिनुभयो । अनि उहाँले त्यो बालिकालाई केही खाने कुरा दिन भनी भन्नुभयो ।