4

1 फेरि उहाँले समुद्रको छेउमा शिक्षा दिन थाल्नुभयो, अनि धेरै ठुलो भीड उहाँको वरिपरि भेला भयो । उहाँ समुद्रमा भएको एउटा डुङ्गामा चढ्नुभयो र बस्‍नुभयो । सबै भीड समुद्र किनारको छेउमा थिए । 2 उहाँले तिनीहरूलाई धेरै कुरा द‍ृष्‍टान्तमा सिकाउनुभयो र आफ्नो शिक्षामा उहाँले तिनीहरूलाई यसो भन्‍नुभयो, 3 “सुन! बीउ छर्ने बीउ छर्न निस्क्यो । 4 त्यसले बीउ छर्दा केही बीउ बाटोमा प‍रे, र चराहरू आएर त्यो खाइदिए । 5 अरू बीउ चाहिं त्यति माटो नभएको ढुङ्गेनी जमिनमा परे । त्यो तुरुन्तै उम्रियो, किनभने त्यहाँ माटो गहिरो थिएन । 6 तर जब घाम लाग्यो, बिरूवाहरू ओइलाए, अनि तिनीहरूका जरा नभएकोले ती सुकिहाले । 7 अरू बीउ काँडाका झाङ्हरूको बीचमा परे । काँडाका झाङ्हरू बढे, र त्यसलाई निसासिदिए, अनि त्यसले कुनै फल फलाएन । 8 अरू बीउ असल जमिनमा परे, र ती बढ्दै र हुर्कंदै गर्दा केहीले तीस गुणा, केहीले साठी गुणा र केहीले सय गुणा पनि फल फलाए ।” 9 अनि उहाँले भन्‍नुभयो, “जसको सुन्‍ने कान छ, त्यसले सुनोस्!” 10 येशू एक्लै हुनुहुँदा उहाँका नजिकका मानिसहरू र बाह्र जना चेलाले उक्‍त द‍ृष्‍टान्तको बारेमा उहाँसँग सोधे । 11 उहाँले तिनीहरूलाई भन्‍नुभयो, "तिमीहरूलाई परमेश्‍वरको राज्यको रहस्य दिइएको छ । तर बाहिरकाहरूलाई हरेक कुरा द‍ृष्‍टान्तहरूमा दिइएको छ । 12 त्यसैले तिनीहरू हेर्न त हेर्छन्, तर देख्दैनन्, सुन्‍न त सुन्छन् तर बुझ्दैनन्, नत्रता तिनीहरू फर्कन्‍थे र परमेश्‍वरले तिनीहरूलाई क्षमा गर्नुहुने थियो ।” 13 अनि उहाँले तिनीहरूलाई भन्‍नुभयो, “के तिमीहरूले यो द‍ृष्‍टान्त बुझ्दैनौ? त्यसो भए तिमीहरूले सबै द‍ृष्‍टान्तहरू कसरी बुझ्‍नेछौ?” 14 बीउ छर्नेले वचन छर्छ । 15 वचन छर्दा बाटोतिर परेका बीउ यी नै हुन् । जब तिनीहरूले वचन सुन्छन्, र तुरुन्तै शैतान आउँछ र तिनीहरूमा छरिएका वचन खोसेर लैजान्छ । 16 र ढुङ्गेनी जमिनमा छरिएका केही बीउचाहिं यी नै हुन्; जब तिनीहरूले वचन सुन्छन्, तिनीहरूले यसलाई तुरुन्तै आनन्दसाथ ग्रहण गर्छन् । 17 तर तिनीहरूको आफ्‍नो कुनै जरा हुँदैन, र तिनीहरू केही समयसम्म मात्र टिक्छन् । पछि वचनको कारणले सङ्कष्‍ट वा सतावट आउँदा तिनीहरूले तुरुन्तै ठेस खान्छन् । 18 अरूहरूचाहिं ती हुन्, जो काँडाहरूका माझमा छरिएका छन् । तिनीहरूले वचन सुन्छन्, 19 तर संसारको फिक्री, धन-सम्पत्तिको छल र अन्य कुराहरूको लालसामा प्रवेश गर्छन् जसले वचनलाई निसासिदिन्छन् र यो फलदायी हुँदैन । 20 असल जमिनमा छरिएका बीउहरूचाहिं ती नै हुन्, जसले वचन सुन्छन्, यसलाई ग्रहण गर्छन् अनि तीस गुणा, साठी गुणा वा सय गुणा पनि फल फलाउँछन् ।” 21 येशूले तिनीहरूलाई भन्‍नुभयो, “के तिमीहरूले बत्तीलाई पाथीमुनि अथवा खाटमुनि राख्‍न घरभित्र ल्याउँछौ? के सामदानमाथि राख्‍नलाई होइन? तिमीहरूले यसलाई ल्याउँछौ र सामदानमाथि राख्‍छौ । 22 किनकि प्रकट नहुने गरी कुनै पनि कुरा लुकाइएको छैन, र खुलस्त नै नहुने कुनै पनि गुप्‍त कुरा छैन । 23 यदि कसैको सुन्‍ने कान छ भने, त्यसले सुनोस् ।” 24 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूले जे सुन्छौ, त्यसमा ध्यान देओ, किनकि जुन नापले तिमीहरू नाप्‍छौ, त्यही नापले तिमीहरूलाई पनि नापिनेछ, र तिमीहरूलाई अझ बढी थपिनेछ । 25 किनभने जोसँग छ, त्यसलाई अझ बढ्ता गरी दिइनेछ र जोसँग छैन, त्यससँग भएको पनि खोसिनेछ ।” 26 उहाँले यो पनि भन्‍नुभयो, “परमेश्‍वरको राज्य जमिनमा बीउ छर्ने मानिसजस्तो हो । 27 त्यो रातमा सुत्छ अनि दिन भएपछि उठ्छ, अनि कसरी भयो भन्‍ने त्यसले नजाने पनि बीउ उम्रन्छ र बढ्छ । 28 जमिन आफैंले अन्‍न फलाउँछः पहिला टुसा पलाउँछ, त्यसपछि बाला लाग्छ अनि बालामा अन्‍न पाक्छ । 29 जब अन्‍न पाक्छ, तुरुन्तै त्यसले त्यसलाई हँसियाले काट्छ, किनभने कटनीको समय आएको छ ।” 30 उहाँले भन्‍नुभयो, “हामीले परमेश्‍वरको राज्यलाई केसँग तुलना गर्न सक्छौं, अथवा यसको व्याख्या गर्न कुन द‍ृष्‍टान्त प्रयोग गर्न सक्छौं? 31 यो रायोको बीउजस्तो हो, जसलाई छर्दा पृथ्वीका बीउहरूमध्ये यो सबैभन्दा सानो हुन्छ । 32 तैपनि यसलाई छरेपछि यो बढ्छ र बारीका सबै सागपातहरूभन्दा ठुलो हुन्छ, र यसमा ठुला हाँगाहरू पलाउँछन्, ताकि आकाशमा उड्ने चराहरूले यसको छहारीमा गुँड बनाउन सकून् । 33 तिनीहरूले बुझ्‍न सक्‍नेसम्म उहाँले तिनीहरूलाई यस्ता धेरै द‍ृष्‍टान्तद्वारा वचन सुनाउनुभयो, 34 अनि उहाँले तिनीहरूलाई द‍ृष्‍टान्तबिना केही बताउनुभएन । तर उहाँ एक्‍लै हुनुहुँदा आफ्ना चेलाहरूलाई सबै कुरा व्याख्या गरिदिनुभयो । 35 त्यो दिन जब साँझ पर्‍यो, उहाँले तिनीहरूलाई भन्‍नुभयो, “आओ, हामी पारिपट्टि जाऔं ।” 36 त्यसैले तिनीहरूले त्यो भीडलाई छोडी येशू जुन डुङ्गामा हुनुहुन्थ्यो त्यसैमा उहाँलाई आफ्नो साथमा लगे । अरू डुङ्गाहरू पनि उहाँसँगसँगै गए । 37 त्यहाँ भयङ्कर आँधी चल्न थाल्यो र छालहरू डुङ्गामा पस्‍न लागे, अनि डुङ्गा पानीले भरिन लाग्यो । 38 तर येशू डुङ्गाको पछिल्लो भागमा सिरानी लगाएर मस्‍त निदाउनुभएको थियो । तिनीहरूले यसो भन्दै उहाँलाई ब्युँझाए, “गुरुज्यू, हामी मर्नै लाग्दा पनि तपाईंलाई वास्ता छैन?” 39 अनि उहाँ ब्युँझनुभयो र बतासलाई हप्काउनुभयो अनि समुद्रलाई भन्‍नुभयो, “शान्त हो! रोकिजा!” अनि बतास चल्न रोकियो र त्यहाँ सन्‍नाटा छायो । 40 अनि उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू किन डराएका छौ? के तिमीहरूसँग अझै विश्‍वास छैन?” 41 तिनीहरू साह्रै डराए र एक-अर्कालाई भने, “यिनी को हुन्, किनभने बतास र समुद्रले पनि यिनले भनेको मान्छन्?”