1 उहाँ फेरि सभाघरभित्र जानुभयो, र त्यहाँ एक जना हात सुकेको मानिस थियो । 2 उहाँले त्यसलाई विश्रामको दिनमा निको पार्नुहुन्छ, कि भनेर केही मानिसहरूले चेवा गरे, ताकि तिनीहरूले उहाँलाई दोष लगाउन सकून् । 3 येशूले हात सुकेको मानिसलाई भन्नुभयो, “उठ र यहाँ सबैका माझमा खडा होऊ ।” 4 तब उहाँले मानिसहरूलाई भन्नुभयो, “विश्रामको दिनमा असल गर्नु कि हानि गर्नु, जीवन बचाउनु कि मार्नु, कुन चाहिं उचित हुन्छ?” तर तिनीहरू चूप थिए । 5 तिनीहरूका कठोर हृदयको कारण दुःखित हुँदै उहाँले रिसाएर वरिपरि तिनीहरूतिर हेर्नुभयो, र उहाँले त्यस मानिसलाई भन्नुभयो, “तिम्रो हात पसार ।” त्यसले हात पसार्यो र त्यसको हात पहिलेको जस्तै भयो । 6 फरिसीहरू गए र तिनीहरूले उहाँलाई कसरी मारौं भनेर हेरोदीहरूसँग उहाँको विरुद्धमा तुरुन्तै षड्यन्त्र रच्न थाले । 7 तब येशू आफ्ना चेलाहरूसँग समुद्रतिर जानुभयो, अनि गालीलबाट, यहूदियाबाट, 8 यरूशलेमबाट, इदुमिआबाट, र यर्दनपारी, र टुरोस र सीदोन वरिपरिबाटका मानिसहरूको ठुलो भीडले उहाँलाई पछ्यायो । उहाँले गरिरहनुभएका कुराहरूका बारेमा सुन्दा, त्यो ठूलो भीड उहाँकहाँ आयो । 9 भीडको कारण उहाँले आफ्ना चेलाहरूलाई आफ्नो लागि एउटा सानो डुङ्गा तयार गर्न लगाउनुभयो, ताकि तिनीहरूले उहाँलाई नकुल्चून् । 10 किनभने उहाँले धेरैलाई निको पार्नुभयो, त्यसैले कष्टमा परेकाहरू सबैले उहाँलाई छुन उत्सुकतासाथ उहाँको नजिक गए । 11 जब अशुद्ध आत्माहरूले उहाँलाई देख्थे, तिनीहरू उहाँको सामु ढल्थे, चिच्च्याउँथे अनि तिनीहरूले भन्थे , “तपाईं परमेश्वरका पुत्र हुनुहुन्छ ।” 12 उहाँलाई नचिनाउन उहाँले तिनीहरूलाई कडा आज्ञा दिनुभयो । 13 उहाँ डाँडामाथि जानुभयो, र उहाँले चाहनुभएकाहरूलाई बोलाउनुभयो, अनि तिनीहरू उहाँकहाँ आए । 14 उहाँले बाह्र जनालाई नियुक्त गर्नुभयो, (जसलाई उहाँले प्रेरित नाउँ दिनुभयो), ताकि तिनीहरू उहाँसँग रहन सकून् र उहाँले तिनीहरूलाई प्रचार गर्न पठाउन सक्नुभएको होस्, 15 अनि भूतहरूलाई निकाल्ने अधिकार पाउन् । 16 उहाँले यी बाह्र जनालाई नियुक्त गर्नुभयोः सिमोन, जसलाई उहाँले पत्रुस नाउँ दिनुभयो । 17 जब्दियाका छोरा याकूब र याकूबका भाइ यूहन्ना, जसलाई उहाँले बोअनर्गेश अर्थात् गर्जनका छोराहरू नाउँ दिनुभयो; 18 अनि अन्द्रियास, फिलिप, बारथोलोमाइ, मत्ती, थोमा, अल्फयसका छोरा याकूब, थेदियस, सिमोन कनानी, 19 अनि यहूदा इस्करयोत, जसले उहाँलाई धोका दिने थियो । 20 तब उहाँ घर जानुभयो, र फेरि धेरै भीड जम्मा भयो । त्यसकारण उहाँले खानसम्म पनि पाउनु भएन । 21 जब उहाँको परिवारले यसबारे सुन्यो, तिनीहरू उहाँलाई पक्रन गए, किनकि तिनीहरूले भने, “उहाँको दिमाग ठाँउमा छैन ।” 22 यरूशलेमबाट आएका शास्त्रीहरूले भने, “त्यसलाई बालजिबुल लागेको छ” र “त्यसले भूतहरूका शासकद्वारा भूतहरू निकाल्छ ।” 23 येशूले तिनीहरूलाई आफूकहाँ बोलाउनुभयो र तिनीहरूलाई दृष्टान्तमा भन्नुभयो, “शैतानले शैतानलाई कसरी निकाल्न सक्छ?” 24 यदि राज्य आफैंमा विभाजित हुन्छ भने, त्यो राज्य टिक्न सक्दैन । 25 यदि घर आफैंमा विभाजित हुन्छ भने, त्यो घर टिक्न सक्दैन । 26 यदि शैतान आफ्नै विरुद्धमा खडा भएको छ र विभाजित छ भने त्यो टिक्न सक्दैन, तर त्यसको अन्त आएको हुन्छ । 27 तर कसैले पनि पहिले बलियो मानिसलाई नबाँधिकन त्यसको घरमा पस्न र त्यसका सम्पत्ति चोर्न सक्दैन, त्यसपछि त्यसले त्यसको घर लुट्नेछ । 28 साँच्चै म तिमीहरूलाई भन्दछु, कि मानिसहरूका सन्तानहरूका सबै पाप क्षमा गरिनेछन्, र तिनीहरूले गरेका सबै ईश्वर-निन्दा पनि क्षमा गरिनेछन्, 29 तर पवित्र आत्माको विरुद्धमा गरिने ईश्वर-निन्दा कहिल्यै क्षमा हुनेछैन, तर त्यो अनन्त पापको दोषी हुन्छ । 30 येशूले यसो भन्नुभयो, किनभने तिनीहरूले “त्योसँग अशुद्ध आत्मा छ” भनिरहेका थिए । 31 उहाँकी आमा र उहाँका भाइहरू आए र बाहिर उभिए । तिनीहरूले उहाँलाई बोलाउन पठाए । 32 एउटा भीड उहाँको वरिपरि बसिरहेको थियो, र तिनीहरूले उहाँलाई भने, “तपाईंकी आमा र भाइहरू बाहिर छन्, अनि उहाँहरूले तपाईंलाई खोजिरहेका छन् ।” 33 उहाँले तिनीहरूलाई जवाफ दिनुभयो, “मेरा आमा र भाइहरू को हुन्?” 34 उहाँले उहाँका वरिपरि गोलाकारमा बसिरहेकाहरूलाई हेर्नुभयो र भन्नुभयो, “हेर, मेरी आमा र मेरा भाइहरू यहाँ छन्!” 35 किनकी जसले परमेश्वरको इच्छालाई पालन गर्छ, त्यो व्यक्ति नै मेरो भाइ र बहिनी र मेरी आमा हो ।”