2

1 केही दिनपछि जब येशू कफर्नहुममा फर्केर आउनुभयो, उहाँ घरमा हुनुहुन्छ भन्‍ने सुनियो । 2 यति धेरै मानिसहरू भेला भए, कि त्यहाँ ढोकामा समेत कुनै ठाउँ थिएन, अनि येशूले तिनीहरूलाई वचन प्रचार गर्नुभयो । 3 केही मानिसहरू उहाँकहाँ आए, जसले पक्षाघातीलाई ल्याइरहेका थिए; चार जना मानिसले त्यसलाई बोकिरहेका थिए । 4 जब भीडले गर्दा तिनीहरू उहाँको नजिक जान सकेनन्, तब तिनीहरूले येशू हुनुभएको ठिक माथिको छानो हटाए र हटाइसकेपछि त्यस पक्षाघाती सुतेको ओछ्यानलाई तिनीहरूले तल झारे । 5 तिनीहरूको विश्‍वास देखेर येशूले पक्षाघातीलाई भन्‍नुभयो, “छोरो, तिम्रा पापहरू क्षमा भएका छन् ।” 6 तर त्यहाँ बसिरहेका शास्‍‍त्रीहरूमध्ये केहीले तिनीहरूका मनमा तर्क वितर्क गरे । 7 “यो मानिसले कसरी यसरी बोल्‍न सक्छ? यसले त ईश्‍वर-निन्दा पो गर्छ! परमेश्‍वरले बाहेक कसले पाप क्षमा गर्न सक्‍छ?” 8 तिनीहरूले के सोचिरहेका छन् भन्‍ने येशूले आफ्‍नो आत्मामा तुरुन्तै थाहा पाउनुभयो । उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूले आफ्नो हृदयमा किन यस्तो विचार गर्दैछौ?” 9 पक्षाघातीलाई के भन्‍न सजिलो हुन्छ, ‘तिम्रा पापहरू क्षमा भएका छन्’ भन्‍नु कि ‘उठ र आफ्नो ओछ्यान बोक र हिंड’ भन्‍नु? 10 तर तिमीहरूले यो जान्‍न सक, कि पृथ्वीमा मानिसका पुत्रसँग पाप क्षमा गर्ने अधिकार छ ।” उहाँले पक्षाघातीलाई भन्‍नुभयो, 11 “म तिमीलाई भन्दछु, उठ र आफ्नो ओछ्यान बोक र तिम्रो घर जाऊ ।” 12 त्यो मानिस उठ्‍यो र तुरुन्तै आफ्नो ओछ्यान बोक्यो र सबै मानिसको अगाडिबाट नै घर गयो । त्यसैले तिनीहरू छक्‍क परे, र परमेश्‍वरलाई महिमा दिए, अनि तिनीहरूले भने, “हामीले यस्तो कहिल्यै देखेका थिएनौं ।” 13 उहाँ फेरि तालको छेउ भएर जानुभयो र सबै भीड उहाँकहाँ आयो र उहाँले तिनीहरूलाई शिक्षा दिनुभयो । 14 उहाँ जाँदै गर्नुहुँदा उहाँले अल्फयसका छोरा लेवी कर उठाउने ठाउँमा बसिरहेको देख्‍नुभयो र उहाँले तिनलाई भन्‍नुभयो, “मेरो पछि लाग ।” तिनी उठे, र उहाँको पछि लागे । 15 जब येशूले लेवीको घरमा खाना खाँदै हुनुहुन्थ्यो, धेरै कर उठाउनेहरू र पापीहरूले येशू र उहाँका चेलाहरूसँगै खाना खाइरहेका थिए, किनकि त्यहाँ धेरै जना थिए र तिनीहरूले उहाँलाई पछ्‍याए । 16 जब शास्‍‍त्रीहरू, जो फरिसीहरू थिए, तिनीहरूले येशूलाई पापीहरू र कर उठाउनेहरूसँग खाना खाइरहनुभएको देखे, तिनीहरूले उहाँका चेलाहरूलाई भने “तिनी किन कर उठाउनेहरू र पापीहरूसँग खान्छन्?” 17 जब येशूले यो सुन्‍नुभयो, उहाँले तिनीहरूलाई भन्‍नुभयो, “जो मानिस शरीरमा बलियो छ, त्यसलाई वैद्यको आवश्यक पर्दैन, तर बिरामीलाई मात्र वैद्यको आवश्‍यक पर्छ । म धर्मीहरूलाई होइनँ, तर पापीहरूलाई बोलाउन आएको हुँ ।” 18 अब यूहन्‍नाका चेलाहरू र फरिसीहरू उपवास बसिरहेका थिए । केही मानिसहरू आए र उहाँलाई भने, “यूहन्‍नाका चेलाहरू र फरिसीका चेलाहरू उपवास बस्छन्, तर तपाईंका चेलाहरू किन उपवास बस्दैनन्?” 19 येशूले तिनीहरूलाई भन्‍नुभयो, “के दुलहा जन्तीको साथमा हुँदा विवाहमा आउनेहरू उपवास बस्‍छन् र? दुलहा तिनीहरूसँग भएसम्म तिनीहरू उपवास बस्‍न सक्दैनन् । 20 तर ती दिन आउनेछन्, जब दुलहा तिनीहरूबाट लगिनेछन्, र ती दिनमा तिनीहरू उपवास बस्‍नेछन् । 21 कसैले पनि पुरानो लुगालाई नयाँ कपडाले टाल्दैन । नत्रता त्यो टालेको कपडा त्यसबाट अर्थात् पुरानोबाट नयाँ च्यातेर जान्छ, अनि उक्‍त फटाइ झनै नराम्रो हुन्छ । 22 कसैले पनि नयाँ दाखमद्य पुरानो मशकमा हाल्दैन, नत्रता दाखमद्यले छालालाई फटाउनेछ अनि दाखमद्य र मशक दुवै नष्‍ट हुन्छन् । बरु नयाँ दाखमद्य नयाँ मशकमा हालिन्छ ।” 23 विश्रामको दिनमा येशू अन्‍नको खेतबाट भएर जानुभयो, र उहाँका चेलाहरूले अन्‍नका बाला टिप्‍न थाले । 24 अनि फरिसीहरूले उहाँलाई भने, “हेर्नुहोस्, तिनीहरूले विश्रामको दिनमा किन अनुचित कुरा गरिरहेका छन्?” 25 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “दाऊद र तिनीसँग भएका मानिसहरू खाँचोमा परेका र भोकाएका बेला तिनीहरूले के गरे भन्‍ने के तिमीहरूले कहिल्यै पढेका छैनौ? 26 अबियाथार प्रधान पूजाहारी हुँदा तिनी कसरी परमेश्‍वरको भवनभित्र गए र उपस्थितिको रोटी खाए, जुन पूजाहारीबाहेक अरू कसैले खानु हुँदैनथ्यो, अनि केही तिनीसँग हुनेहरूलाई पनि दिए ।" 27 येशूले भन्‍नुभयो, “विश्रामको दिन मानव-जातिको निम्ति बनाइएको थियो, मानव-जाति विश्राम दिनको निम्ति बनाइएको होइन । 28 यसकारण मानिसका पुत्र विश्राम दिनको पनि प्रभु हुन् ।”