10

1 येशू त्यो ठाउँ छोडेर यहूदियाको क्षेत्रमा र यर्दन नदि पारिपट्टि जानुभयो अनि भीड फेरि उहाँकहाँ आयो । उहाँले आफ्नो बानी अनुसार फेरि तिनीहरूलाई सिकाउँदै हुनुहुन्थ्यो । 2 अनि फरिसीहरू उहाँलाई परीक्षा गर्न उहाँकहाँ आए र सोधे, “के कुनै पतिले आफ्नी पत्‍नीसँग विवाहविच्छेद गर्नु उचित हो?” 3 उहाँले जवाफ दिनुभयो, “मोशाले तिमीहरूलाई के आज्ञा दिए?” 4 तिनीहरूले भने, "मोशाले त्यागपत्र दिन र त्यसलाई पठाइदिन अनुमति दिए ।” 5 येशूले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूका कठोर हृदयको कारण तिनले तिमीहरूका लागि यो व्यवस्था लेखिदिए । 6 तर सृष्‍टिको सुरुदेखि नै ‘परमेश्‍वरले तिनीहरूलाई पुरुष र स्‍‍त्री बनाउनुभयो ।’ 7 'यही कारणले गर्दा पुरुषले आफ्ना बुबा र आमालाई छोड्नेछ र आफ्नी पत्‍नीसँग मिलिरहन्छ, 8 र दुई जना एउटै शरीर हुनेछन् ।’ त्यसैले तिनीहरू दुई होइनन्, तर एउटै शरीर हुन्छन् । 9 त्यसकारण जसलाई परमेश्‍वरले एक पार्नुभएको छ, त्यसलाई कुनै मानिसले अलग नगरोस् ।” 10 उहाँहरू घरभित्र हुनुहुँदा चेलाहरूले उहाँलाई यसको बारेमा फेरि सोधे ।” 11 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “जसले आफ्नी पत्‍नीसँग विवाहविच्छेद गर्छ र अर्की स्‍‍त्रीसँग विवाह गर्छ, त्यसले त्यसको विरुद्धमा व्यभिचार गर्छ । 12 र यदि त्यसले आफ्नो पतिसँग विवाहविच्छेद गर्छ र अर्को पुरुषससँग विवाह गर्छ भने, त्यसले व्यभिचार गर्छ ।” 13 अनि उहाँले छोइदिनुभएको होस् भनी मानिसहरूले आफ्ना स-साना बालबालिकाहरूलाई उहाँकहाँ ल्याए, तर चेलाहरूले तिनीहरूलाई हप्काए । 14 तर जब येशूले यो देख्‍नुभयो, उहाँ तिनीहरूसँग रिसाउनुभयो र तिनीहरूलाई भन्‍नुभयो, “स-साना बालबालिकाहरूलाई मकहाँ आउन देओ, र तिनीहरूलाई मनाही नगर, किनकि परमेश्‍वरको राज्य यस्तैहरूको हो ।” 15 साँच्‍चै म तिमीहरूलाई भन्दछु, जसले परमेश्‍वरको राज्यलाई सानो बालकको रूपमा ग्रहण गर्दैन, त्यो निश्‍चय नै यसभित्र प्रवेश गर्नेछैन ।” 16 त्यसपछि उहाँले बालबालिकाहरूलाई आफ्नो अङ्गालोमा लिनुभयो र तिनीहरूमाथि आफ्नो हात राखेर आशिष्‌‌ दिनुभयो । 17 उहाँले यात्रा सुरु गर्न लाग्‍नुहुँदा एक जना मानिस दौडेर आई उहाँको सामु घुँडा टेकेर बिन्ती गर्‍यो, “हे असल गुरु, अनन्त जीवनको हकदार हुन मैले के गर्नुपर्छ?” 18 येशूले भन्‍नुभयो, “किन तिमी मलाई असल भन्दछौ? एकमात्र परमेश्‍वरबाहेक कोही पनि असल छैन । 19 तिमी यी आज्ञाहरू जान्दछौः 'हत्या नगर्नू, व्यभिचार नगर्नू, चोरी नगर्नू, झूटो गवाही नदिनू, ठगी नगर्नू, आफ्ना बुबा र आमालाई आदर गर्नू ।'” 20 त्यो मानिसले भन्यो, “गुरुज्यू, ती सबै त मैले बाल्यकालदेखि नै पालन गरेको छु ।” 21 येशूले त्यसलाई हेर्नुभयो र हेर्नुभयो र प्रेम गर्नुभयो । उहाँले त्यसलाई भन्‍नुभयो, “तिमीमा एउटा कुराको कमी छ । तिमीले आफूसँग भएका सबै थोक बेच्‍नुपर्छ र ती गरिबहरूलाई दिनुपर्छ, अनि स्वर्गमा तिम्रो धन हुनेछ । त्यसपछि आऊ र मेरो पछि लाग ।” 22 तर यो भनाइको कारण त्यो निरुत्साहित भयो, त्यो धेरै दुःखित भएर त्यहाँबाट गयो, किनभने त्यससँग धेरै धन सम्पत्ति थियो । 23 येशूले वरिपरि हेर्नुभयो र आफ्ना चेलाहरूलाई भन्‍नुभयो, “धनी मानिसहरूले परमेश्‍वरको राज्यमा कति कठिनसाथ प्रवेश गर्नेछन्!” 24 चेलाहरू उहाँका वचनहरूमा छक्‍क परे । तर येशूले फेरि तिनीहरूलाई भन्‍नुभयो, “बालकहरू हो, परमेश्‍वरको राज्‍यमा प्रवेश गर्नु कति कस्तो गाह्रो छ!” 25 धनी मानिसलाई परमेश्‍वरको राज्यमा प्रवेश गर्नुभन्दा त ऊँटलाई सियोको नाथ्रीबाट छिर्न सजिलो हुन्छ ।” 26 तिनीहरू अति चकित भए र एक-आपसमा भन्‍न लागे, “त्यसो हो भने, कसले उद्धार पाउन सक्छ त?” 27 येशूले तिनीहरूलाई हेर्नुभयो र भन्‍नुभयो, “मानिसहरूका लागि यो असम्भव हुन्छ, तर परमेश्‍वरको लागि होइन, किनकि परमेश्‍वरको निम्ति सबै कुरा सम्भव छ ।” 28 पत्रुसले उहाँसँग कुरा गर्न थाले, “हेर्नुस्, हामीले सबै थोक त्यागेर तपाईंलाई पछ्यायौं ।” 29 येशूले भन्‍नुभयो, “साँच्चै म तिमीहरूलाई भन्दछु, जसले मेरो र सुसमाचारको खातिर आफ्नो घर वा दाजुभाइहरू वा दिदीबहिनीहरू वा आमा वा बुबा वा छोराछोरीहरू वा जग्गा जमिन त्याग्छ, 30 त्यसले अहिले यही समयमा सतावटको साथै सय गुणा घरहरू, दाजुभाइहरू, दिदीबहिनीहरू, आमाहरू, छोराछोरीहरू र आउने संसारमा अनन्त जीवन पाउनेछ । 31 तर धेरै जना जो पहिला छन्, पछिल्ला हुनेछन्, र पछिल्ला चाहिं पहिला हुनेछन् । 32 उहाँहरू यरूशलेम जाने बाटोमा उक्लँदै हुनुहुन्थ्यो, र येशू तिनीहरूका अगि-अगि जाँदै हुनुहुन्थ्यो । चेलाहरू छक्‍क परिरहेका थिए र अरू पछ्याउनेहरू चाहिं डराएका थिए । अनि येशूले फेरि ती बाह्र जनालाई अलग्गै लानुभयो र अब चाँडै उहाँलाई के हुनेछ, सो बताउन थाल्नुभयो । 33 “हेर, हामी यरूशलेमतिर उक्लँदैछौं, र मानिसका पुत्रलाई त्यहाँ मुख्य पूजाहारीहरू र शास्‍‍त्रीहरूका हातमा सुम्पिनेछ । तिनीहरूले उनलाई मृत्युदण्डको दोष लगाउनेछन् र गैरयहूदीहरूकहाँ सुम्पिदिनेछन् । 34 तिनीहरूले उनको गिल्ला गर्नेछन्, र थुक्‍नेछन् र कोर्रा लगाउनेछन् र मार्नेछन् । तर तीन दिनपछि उनी फेरि जीवित भई उठ्नेछन् ।” 35 जब्दियाका छोराहरू याकूब र यूहन्‍ना उहाँकहाँ आए र उहाँलाई भने, “गुरुज्यू, हामीले तपाईंसँग जे माग्‍छौं सो तपाईंले हाम्रो निम्ति गरिदिनुहोस् भन्‍ने हामी चाहन्छौं ।” 36 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “मैले तिमीहरूका निम्ति के गरेको तिमीहरू चाहन्छौ?” 37 तिनीहरूले भने, “तपाईंको महिमामा हामीमध्ये एउटालाई तपाईंको दायाँपट्टि र अर्कोलाई बायाँपट्टि बस्‍ने मन्जूरी हामीलाई दिनुहोस् ।” 38 तर येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “तिमीहरूले के मागिरहेका छौ, सो तिमीहरू जान्दैनौ । के तिमीहरू मैले पिउन लागेको कचौरा पिउन सक्छौ वा मैले लिने बप्‍तिस्मा तिमीहरू सहन सक्छौ?” 39 तिनीहरूले उहाँलाई भने, “हामी सक्छौं ।” येशूले तिनीहरूलाई भन्‍नुभयो, “मैले पिउने कचौरा तिमीहरूले पिउनेछौ, र मैले लिएको बप्‍तिस्मा तिमीहरूले पनि लिनेछौ । 40 तर मेरो दाहिनेपट्टि वा देब्रेपट्टि बस्‍नुचाहिं मैले दिने कुरा होइन, तर यो जसको निम्ति तयार पारिएको छ, तिनीहरूका निम्ति नै हो ।” 41 जब अरू दस जना चेलाहरूले यसबारे सुने, तिनीहरू याकूब र यूहन्‍नासँग निकै रिसाउन थाले । 42 येशूले तिनीहरूलाई आफूकहाँ बोलाउनुभयो र भन्‍नुभयो, “गैरयहूदीहरूमाथि शासकहरू मानिनेहरूले तिनीहरूमाथि प्रभुत्व जमाउँछन्, र तिनीहरूका महत्‍वपूर्ण मानिसहरूले तिनीहरूमाथि अधिकार गर्छन् भन्‍ने तिमीहरू जान्दछौ । 43 तर तिमीहरूका माझमा यस्तो हुनेछैन । तिमीहरूका माझमा जो महान् हुने इच्छा गर्छ, त्यो तिमीहरूको सेवक हुनुपर्छ । 44 र तिमीहरूमध्ये जो पहिलो हुने इच्छा गर्छ, त्यो सबैको दास हुनुपर्छ । 45 किनकि मानिसका पुत्र सेवा पाउन होइन, तर सेवा गर्नका निम्ति र धेरैको छुटकाराको मोलको रूपमा आफ्नो जीवन दिन आए । 46 उहाँहरू यरीहोमा आउनुभयो । उहाँ आफ्ना चेलाहरू र ठुलो भीडसँगै यरीहोबाट जानुहुँदा तिमैको छोरा बारतिमै अन्धो भिखारी बाटोको छेउमा बसेको थियो । 47 जब त्यसले येशू नासरी भन्‍ने सुन्यो, त्यो कराउन थाल्यो र भन्यो, “हे येशू, दाऊदका पुत्र, ममाथि दया गर्नुहोस्!” 48 धेरैले चूप लाग् भनी त्यो अन्धा मानिसलाई हप्काए । तर त्यो झन् ठुलो स्वरले करायो, “दाऊदका पुत्र, ममाथि दया गर्नुहोस्!” 49 येशू रोकिनुभयो र त्यसलाई बोलाएर ल्याउन आज्ञा दिनुभयो । तिनीहरूले त्यस अन्धा मानिसलाई यसो भन्दै बोलाए, “साहस गर्! खडा हो! उहाँले तँलाई बोलाउँदै हुनुहुन्छ ।” 50 त्यसले आफ्नो खास्टो एकातिर फाल्यो, र उफ्रेर येशूकहाँ आयो । 51 येशूले त्यसलाई जवाफ दिनुभयो र भन्‍नुभयो, “मैले तिम्रो निम्ति के गरेको तिमी चाहन्छौ?” त्यो अन्धा मानिसले भन्यो, “रब्बी, म मेरो द‍ृष्‍टि प्राप्त गर्न चाहन्‍छु” 52 तब येशूले त्यसलाई भन्‍नुभयो, “जाऊ! तिम्रो विश्‍वासले तिमीलाई निको पारेको छ ।” र त्यसले तुरुन्तै फेरि देख्‍न सक्‍ने भयो र बाटोमा त्यो उहाँको पछिपछि गयो ।