1 तब जसै उहाँहरू यरूशलेममा आउनुभयो, उहाँहरू जैतुन डाँडाको बेथफागे र बेथानी नजिकै हुनुहुन्थ्यो, र येशूले उहाँका दुई जना चेलालाई पठाउनुभयो । 2 र तिनीहरूलाई भन्नुभयो, “तिमीहरू हाम्रो सामुन्नेको गाउँमा जाओ । तिमीहरू पस्ने बित्तिकै तिमीहरूले कहिल्यै नचढेको बछेडो पाउनेछौ । त्यसलाई फुकाओ र मकहाँ ल्याओ । 3 कसैले तिमीहरूलाई ‘तिमीहरूले किन यसो गरिरहेका छौ?’ भनेर सोध्यो भने, तिमीहरूले भन्नू, ‘प्रभुलाई यसको खाँचो छ, र उहाँले तुरुन्तै यहाँ नै फिर्ता पठाउनुहुनेछ’ ।” 4 तिनीहरू गए र खुल्ला गल्लीमा ढोका बाहिर बाँधिएको एउटा बछेडो भेटे र तिनीहरूले त्यसलाई फुकाए । 5 त्यहाँ केही मानिसहरू उभिरहेका थिए जसले तिनीहरूलाई भने, “तिमीहरूले त्यो बछेडोलाई फुकाएर के गर्न लागिरहेका छौ?” 6 तिनीहरूलाई येशूले भन्नुभएजस्तै गरी तिनीहरूले उनीहरूलाई भने, अनि मानिसहरूले तिनीहरूलाई जान दिए । 7 तिनीहरूले बछेडोलाई येशूकहाँ ल्याए र आफ्ना खास्टोहरू त्यसमाथि राखे र उहाँ त्यसमाथि चढ्नुभयो । 8 धेरै मानिसले आफ्ना कपडाहरू बाटोभरि ओछ्याए र अरूहरूले खेतबाट काटेर ल्याएका रूखका हाँगाहरू बिछ्याए । 9 उहाँको अगिअगि जाने र उहाँका पछिपछि आउनेहरूले यसरी ठुलो सोरमा कराए, “होसन्ना! परमप्रभुको नाउँमा आउने धन्यका हुनुहुन्छ । 10 हाम्रा पिता दाऊदको आउने राज्य धन्यको होस्! सर्वोच्चमा होसन्ना!” 11 त्यसपछि येशू यरूशलेम प्रवेश गर्नुभयो र मन्दिरभित्र जानुभयो, अनि वरिपरि सबैतिर हेर्नुभयो । अब अबेर भएकोले उहाँ बाह्र जनासँग बेथानियातिर जानुभयो । 12 अर्को दिन उहाँहरू बेथानियाबाट फर्कंदैगर्नुहुँदा उहाँ भोकाउनुभयो । 13 उहाँले पातसहितको अन्जीरको रूख टाढैबाट देखेर त्यसमा कुनै फल पाइन्छ कि भनी हेर्न उहाँ जानुभयो । जब उहाँ त्यहाँ आउनुभयो उहाँले पातबाहेक केही पनि पाउनुभएन, किनकि यो अन्जीर फल्ने समय थिएन । 14 उहाँले त्यसलाई भन्नुभयो, “तेरो फल फेरि कसैले कहिल्यै पनि खानेछैन ।” र उहाँका चेलाहरूले यो सुने । 15 उहाँहरू यरूशलेम आउनुभयो र उहाँ मन्दिरभित्र प्रवेश गर्नुभयो अनि उहाँले मन्दिरमा किन्ने र बेच्नेहरूलाई बाहिर खेद्न थाल्नुभयो । उहाँले पैसा साट्नेहरूका टेबुल र परेवा बेच्नेहरूको बस्ने मेचलाई पल्टाइदिनुभयो । 16 उहाँले कसैलाई कुनै पनि बेच्ने कुरा मन्दिरबाट भएर लैजाने अनुमति दिनुभएन । 17 उहाँले तिनीहरूलाई सिकाउनुभयो र भन्नुभयो, “के यस्तो लेखिएको छैन, ‘मेरो घर सबै जातिका निम्ति प्रार्थनाको घर कहलाइनेछ'? तर तिमीहरूले यसलाई डाँकूहरूको ओढार बनाएका छौ ।” 18 उहाँले भन्नुभएको कुरा मुख्य पूजाहारीहरू र शास्त्रीहरूले सुने र उहाँलाई मार्ने उपाय खोजे । किनकि उहाँको शिक्षामा सम्पूर्ण भीड नै छक्क परेका हुनाले तिनीहरू उहाँसित डराए । 19 जब साँझ पर्यो, उहाँहरू सहर छोडेर जानुभयो । 20 बिहान त्यही बाटो भएर जानुहुँदा उहाँहरूले अन्जीरको रूख जरैदेखि सुकेको देख्नुभयो । 21 पत्रुसले सम्झे र भने, “गुरुज्यू, हेर्नुहोस् त! तपाईंले सराप दिनुभएको अन्जीरको रुख त सुकेछ ।” 22 येशूले तिनीहरूलाई उत्तर दिनुभयो, “परमेश्वरमा विश्वास गर । 23 साँच्चै म तिमीहरूलाई भन्दछु, जसले यो पहाडलाई, ‘उठ् र आफैंलाई समुद्रमा झार्’ भन्छ, अनि त्यसले आफ्नो हृदयमा कुनै शङ्का गर्दैन, तर त्यसले भनेको कुरा हुनेछ भनी विश्वास गर्छ, परमेश्वरले त्यही नै गर्नुहुनेछ । 24 त्यसकारण म तिमीहरूलाई भन्दछु, तिमीहरूले जुन कुराको निम्ति प्रार्थना गर्छौ र माग्छौ, त्यो तिमीहरूले पाएका छौ भनी विश्वास गर र त्यो तिमीहरूको हुनेछ । 25 जब तिमीहरू खडा हुन्छौ र प्रार्थना गर्छौ, तिमीहरूसँग कसैको विरुद्धमा कुनै कुरा छ भने तिमीहरूले क्षमा दिनुपर्छ, ताकि स्वर्गमा हुनुहुने तिमीहरूका पिताले पनि तिमीहरूका अपराधहरू क्षमा गरिदिनुहुनेछ ।” 26 1 27 उहाँहरू फेरि यरूशलेममा आउनुभयो । जसै येशू मन्दिरमा हिंडिरहनुभएको थियो, मुख्य पूजाहारीहरू, शास्त्रीहरू र धर्म-गुरुहरू उहाँकहाँ आए । 28 तिनीहरूले उहाँलाई भने, “कुन अधिकारले तिमीले यी कुराहरू गर्छौ, र ती गर्न तिमीलाई कसले अधिकार दियो?” 29 येशूले तिनीहरूलाई भन्नुभयो, “म तिमीहरूलाई एउटा प्रश्न सोध्छु । मलाई भन र यी कुराहरू म कुन अधिकारले गर्छु सो तिमीहरूलाई बताउनेछु । 30 यूहन्नाको बप्तिस्मा स्वर्गबाट भएको हो कि मानिसहरूबाट? मलाई जवाफ देओ ।” 31 तिनीहरूले एक-आपसमा छलफल र बहस गरे र भने, “यदि हामीले ‘स्वर्गबाट’ भन्यौं भने तिनले भन्नेछन्, ‘त्यसो भए, किन उनलाई विश्वास गर्दैनौ?’ 32 तर यदि हामीले ‘मानिसबाट’ भन्यौँ भने...।" तिनीहरू मानिसहरूसित डराउँथे, किनकि सबैले यूहन्ना अगमवक्ता थिए भनी मान्थे । 33 त्यसपछि तिनीहरूले येशूलाई जवाफ दिए र भने, “हामीलाई थाहा छैन ।” त्यसपछि येशूले तिनीहरूलाई भन्नुभयो, “म पनि यी कुराहरू कुन अधिकारले गर्छु भनी तिमीहरूलाई बताउँदिनँ।”