15

1 बिहान सबेरै मुख्य पूजाहारीहरूले धर्म-गुरुहरू, शास्‍‍त्रीहरू र सम्पूर्ण यहूदी परिषद्‍लाई एकसाथ भेटे । अनि तिनीहरूले येशूलाई बाँधे र उहाँलाई लिएर गए । तिनीहरूले उहाँलाई पिलातसकहाँ सुम्पिदिए । 2 पिलातसले उहाँलाई सोधे, “के तिमी यहूदीहरूका राजा हौ?” उहाँले तिनलाई जवाफ दिनुभयो, “तपाईं नै त्यसो भन्‍नुहुन्छ ।” 3 मुख्य पूजाहारीहरूले उहाँलाई धेरै कुराहरूको दोष लगाइरहेका थिए । 4 पिलातसले फेरि पनि येशूलाई सोधे, “के तिमी कुनै जवाफ दिंदैनौ? हेर तिनीहरूले तिमीलाई कति धेरै कुराहरूको दोष लगाउँदैछन्!” 5 तर येशूले पिलातसलाई कुनै जवाफ दिनुभएन, र जसले गर्दा तिनी छक्‍क परे । 6 अब चाडको समयमा पिलातसले सामान्यतया तिनीहरूले अनुरोध गरेअनुसार एउटा कैदीलाई मुक्‍त गर्थे । 7 बारब्बा नाउँ गरेको एकजना मानिस विद्रोहीहरूसँग झ्यालखानामा थिए, जसले विद्रोहको समयमा हत्या गरेका थिए । 8 भीड पिलातसकहाँ आयो र तिनले बिगतमा गरेझैं तिनीहरूका निम्ति गर्नलाई अनुरोध गर्न थाल्यो । 9 पिलातसले तिनीहरूलाई जवाफ दिए र भने, “के तिमीहरू मैले यहूदीहरूका राजालाई मुक्‍त गरेको चाहन्छौ?” 10 किनकि डाहको कारणले गर्दा नै मुख्य पूजाहारीहरूले येशूलाई तिनको हातमा सुम्पेका हुन् भन्‍ने तिनलाई थाहा थियो । 11 तर मुख्य पूजाहारीहरूले भीडलाई बरु बारब्बालाई नै मुक्‍त गरिनुपर्छ भनी कराउन उक्साए । 12 पिलातसले तिनीहरूलाई फेरि जवाफ दिए र भने, “त्यसो भए यहूदीहरूका राजालाई म के गरूँ त?” 13 तिनीहरू फेरि चिच्‍च्याए, “त्यसलाई क्रूसमा टाँग्‍नुहोस्!” 14 पिलातसले तिनीहरूलाई भने, “त्यसले के गल्ती गरेको छ र?” तर तिनीहरू झन् ठुलो स्वरमा चिच्‍च्याए, “त्यसलाई क्रूसमा टाँग्‍नुहोस् ।” 15 पिलातसले भीडलाई सन्तुष्‍ट पार्न चाहे, त्यसैले तिनले तिनीहरूका निम्ति बारब्बालाई छोडिदिए । तिनले येशूलाई कोर्रा लगाए र त्यसपछि उहाँलाई क्रूसमा टाँग्‍नको निम्ति सुम्पिदिए । 16 सिपाहीहरूले उहाँलाई चोक (अर्थात् सरकारी मुख्यालय) भित्र लगे, र तिनीहरूले सिपाहीहरूको सम्पूर्ण जत्थालाई एकसाथ बोलाए । 17 तिनीहरूले येशूलाई बैजनी रङ्गको पोशाक पहिराइदिए, र तिनीहरूले काँढाको मुकुट बनाएर उहाँको टाउकोमा लगाइदिए । 18 तिनीहरूले “यहूदीहरूका राजाको जय!” भनी उहाँलाई सलाम गर्न थाले । 19 तिनीहरूले निगालोले उहाँको टाउकोमा हिर्काइरहेका र उहाँलाई थुकिरहेका थिए । तिनीहरूले उहाँको सामु घुँडा टेके र घोप्‍टो परे । 20 तिनीहरूले उहाँको गिल्ला गरिसकेपछि, तिनीहरूले बैजनी रङ्गको पोशाक फुकालिदिए र उहाँको आफ्नै पोशाक लगाइदिए, र उहाँलाई क्रूसमा टाँग्‍न बाहिर लिएर गए । 21 एकजना मानिस, कुरेनीका सिमोन गाउँबाट आइरहेका थिए, (तिनी अलेक्जेन्डर र रूफसका बुबा थिए), र तिनीहरूले उहाँको क्रूस बोक्‍न तिनलाई कर लगाए । 22 सिपाहींहरूले येशूलाई गलगथा भनिने ठाउँमा ल्याए (जसको अर्थ “खप्परको ठाउँ” हुन्छ) । 23 तिनीहरूले उहाँलाई मूर्र मिसाएको दाखमद्य पिउन दिए, तर उहाँले त्यो पिउनुभएन । 24 तिनीहरूले उहाँलाई क्रूसमा टाँगे, र प्रत्येक सिपाहींले उहाँको पोशाकको कुनचाहिं टुक्रा लिने भनी चिट्ठा हालेर भाग लगाए । 25 तिनीहरूले उहाँलाई क्रूसमा टाँग्‍दा तेस्रो घडी भएको थियो । 26 उहाँको विरुद्धमा यस्‍तो दोष-पत्र लेखे, “यहूदीहरूका राजा ।” 27 तिनीहरूले उहाँसँग दुई जना डाँकूलाई क्रूसमा टाँगे, एउटालाई उहाँको दाहिनेपट्टि र अर्कोलाई उहाँको देब्रेपट्टि । 28 प्राचीन उत्कृष्‍ट प्रतिलिपिहरूमा मर्कूस १५ः२८ छैन; “उहाँ अधर्मीहरूसँग गनिनुभयो” भन्‍ने धर्मशास्‍‍त्रको वचन पूरा भयो । 29 त्यहाँबाट जानेहरूले आफ्नो टाउको हल्लाउँदै यसो भनेर उहाँको अपमान गरे, “वाह! तँ मन्दिरलाई नष्‍ट गरेर तीन दिनभित्रै निर्माण गर्ने, 30 क्रूसबाट ओर्लेर आफैंलाई बचा!” 31 त्यसै गरी मुख्य पूजाहारीहरूले शास्‍‍त्रीहरूसँग मिलेर एक-आपसमा उहाँको गिल्‍ला गर्दै थिए, र भने “यसले अरूहरूलाई त बचायो, तर आफैंलाई बचाउन सक्दैन । 32 इस्राएलका राजा, ख्रीष्‍ट अब क्रूसबाट तल ओर्लेर आओस्, ताकि हामीले देखौं र विश्‍वास गरौं ।” अनि उहाँसँगै क्रूसमा टाँगिएकाहरूले पनि उहाँको गिल्‍ला गरे । 33 छैटौं घडीदेखि नवौं घडीसम्म सारा जगत्‌मा अन्धकार छायो । 34 नवौं घडीमा येशू ठुलो स्वरमा कराउनुभयो, “इलोई, इलोई, लामा सबख‍थनी?” जसको अर्थ, “मेरा परमेश्‍वर, मेरा परमेश्‍वर, मलाई किन त्याग्‍नुभएको छ?” भन्‍ने हुन्छ । 35 त्यहाँ उभिएकाहरूमध्ये केहीले उहाँको वचन सुने र भने, “हेर, त्यसले एलियालाई बोलाउँदैछ ।” 36 कोही दौडेर गयो, एउटा स्पन्जमा सिर्का हाल्यो, त्यसलाई निगालोको लट्ठीमा राख्यो, अनि उहाँलाई त्यो पिउन दियो । त्यो मानिसले भन्यो, “हेरौं, त्यसलाई तल झार्न एलिया आउँछन् कि ।” 37 तब येशू ठुलो सोरले कराउनुभयो र प्राण त्याग्‍नुभयो । 38 अनि मन्दिरको पर्दा माथिदेखि तलसम्म दुई भागमा चिरियो । 39 येशू यसरी मर्नुभएको देखेर उहाँको सामु उभिएको कप्तानले भने, "साँच्‍चै, यी मानिस परमेश्‍वरका पुत्र नै थिए!" 40 त्यहाँ टाढाबाटै हेर्ने स्‍‍त्रीहरू पनि थिए । तिनीहरूमध्ये मरियम मग्दलिनी, मरियम (सानो याकूब र योसेफकी आमा) र सलोमी थिए । 41 उहाँ गालीलमा हुनुहुँदा तिनीहरूले उहाँलाई पछ्याए र उहाँको सेवा गरे । अरू धेरै स्‍‍त्रीहरू पनि उहाँसँग यरूशलेम आए । 42 जब साँझ पर्‍यो, यो तयारी गर्ने दिन अर्थात् विश्रामको दिनको अगिल्लो दिन भएको हुनाले 43 अरिमाथियाका योसेफ त्यहाँ आए । तिनी परिषद्का आदरणीय व्‍यक्‍ति थिए, जसले परमेश्‍वरको राज्यको प्रतीक्षा गरिरहेका थिए । तिनी साहसका साथ पिलातसकहाँ गए, अनि येशूको लास मागे । 44 येशू पहिले नै मरिसक्‍नुभएको थियो भनी सुन्दा पिलातस छक्‍क परे; तिनले कप्‍तानलाई बोलाए र येशू मर्नुभएको थियो वा थिएन भनी सोधे । 45 पिलातसले येशू मर्नुभएको कुरा कप्‍तानबाट थाहा पाएपछि तिनले योसेफलाई लास दिए । 46 योसेफले मलमलको कपडा ल्याएका थिए । तिनले उहाँलाई क्रूसबाट तल झारे, उहाँलाई मलमलको कपडाले बेह्रे, अनि चट्टान काटेर बनाइएको चिहानमा उहाँलाई राखे । तब तिनले एउटा ढुङ्गालाई गुडाएर चिहानको मुख छोपे । 47 मरियम मग्दलिनी र योसेफकी आमा मरियमले येशूलाई कहाँ गाडिएको थियो भन्‍ने देखेका थिए ।