1 जब विश्रामको दिन सकियो, मरियम मग्दलिनी र याकूबकी आमा मरियम र सलोमीले सुगन्धित मसला किने, कि तिनीहरू आउन सकून् र येशूको शरीर अभिषेक गर्न सकून् । 2 हप्ताको पहिलो दिन बिहान सबेरै घाम झुल्कँदा तिनीहरू चिहानमा गए । 3 तिनीहरूले एक-आपसमा भन्दै थिए, “चिहानको मुखबाट हाम्रो लागि ढुङ्गा कसले हटाइदिन्छ होला?” 4 जब तिनीहरूले माथितिर हेरे, ढुङ्गा हटाइसकेको तिनीहरूले देखे, किनकि त्यो धेरै ठुलो थियो । 5 तिनीहरू चिहानभित्र प्रवेश गरे र एक जना जवान मानिस सेतो पोशाक लगाएर दाहिनेपट्टि बसिरहेको देखे, र तिनीहरू छक्क परे । 6 तिनले तिनीहरूलाई भने, “छक्क नपर” तिमीहरूले येशू नासरीलाई खोज्दैछौ जसलाई क्रूसमा टाँगिएको थियो । उहाँ जीवित भई उठ्नुभएको छ! उहाँ यहाँ हुनुहुन्न । तिनीहरूले उहाँलाई राखेको ठाउँलाई हेर । 7 तर जाओ, उहाँका चेलाहरू र पत्रुसलाई भनिदेओ, 'उहाँ तिमीहरूभन्दा अगि गालीलमा जाँदैहुनुहुन्छ । उहाँले तिमीहरूलाई भन्नुभएजस्तै तिमीहरूले उहाँलाई त्यहाँ देख्नेछौ । 8 तिनीहरू बाहिर निस्के र चिहानबाट दौडेर गए; तिनीहरू कामिरहेका थिए र छक्क परे । तिनीहरूले कसैलाई केही पनि भनेनन्, किनभने तिनीहरू डराएका थिए । 9 1 [हप्ताको पहिलो दिन सबेरै, उहाँ जीवित भई उठ्नुभएपछि उहाँ पहिले मरियम मग्दलिनीकहाँ देखा पर्नुभयो जसबाट उहाँले सातवटा भूत निकाल्नुभएको थियो । 10 तिनी गइन् र उहाँसँग भएकाहरूलाई बताइन्, त्यस बेला तिनीहरू विलाप गरिरहेका र रोइरहेका थिए । 11 उहाँ जीवित हुनुहुन्थ्यो र तिनले उहाँलाई देखेकी थिइन् भन्ने तिनीहरूले सुने, तर तिनीहरूले विश्वास गरेनन् । 12 त्यसपछि तिनीहरूमध्ये दुई जना गाउँतिर जाँदै गर्दा उहाँ तिनीहरूकहाँ अर्कै स्वरूपमा देखा पर्नुभयो । 13 तिनीहरू गएर अरू चेलाहरूलाई बताए, तर तिनीहरूले तिनीहरूलाई विश्वास गरेनन् । 14 पछिबाट येशू एघार जनाकहाँ, तिनीहरू टेबुलमा अडेस लगाएर बसिरहँदा देखा पर्नुभयो, अनि उहाँले तिनीहरूको अविश्वास र हृदयको कठोरताको निम्ति तिनीहरूलाई हप्काउनुभयो, किनभने उहाँ मृतकबाट जीवित भई उठ्नुभएपछि उहाँलाई देख्नेहरूका कुरा तिनीहरूले विश्वास गरेनन् । 15 उहाँले तिनीहरूलाई भन्नुभयो, “सारा संसारमा जाओ, र समग्र सृष्टिलाई सुसमाचार प्रचार गर । 16 जसले विश्वास गर्छ र बप्तिस्मा लिन्छ त्यो बचाइनेछ, र जसले विश्वास गर्दैन त्यो दोषी ठहरिनेछ । 17 विश्वास गर्नेहरूसँग यी चिन्हहरू हुनेछन्ः तिनीहरूले मेरो नाउँमा भूतहरू धपाउनेछन् । तिनीहरूले नयाँ भाषाहरूमा बोल्नेछन् । 18 तिनीहरूले आफ्ना हातले सर्पहरू समाउनेछन् र यदि तिनीहरूले कुनै विषालु पदार्थ पिए पनि त्यसले तिनीहरूलाई कुनै हानि गर्नेछैन । तिनीहरूले बिरामीमाथि हात राख्नेछन् र तिनीहरू निको हुनेछन् । 19 प्रभु तिनीहरूसँग बोलिसक्नुभएपछि उहाँ स्वर्गमा उचाली लगिनुभयो र परमेश्वरको दाहिने हातपट्टि बस्नुभयो । 20 चेलाहरू गए र सबैतिर प्रचार गरे र प्रभुले तिनीहरूसँग काम गर्नुभयो र तिनीहरूसँग भएका चिन्हहरूद्वारा वचनलाई पुष्टि गर्नुभयो ।] 2