14

1 अब यो निस्तार र अखमिरी रोटीको चाडभन्दा दुई दिन अगि थियो । मुख्य पूजाहारीहरू र शास्‍‍त्रीहरूले येशूलाई कसरी गुप्‍त रूपमा गिरफ्तार गर्ने र मार्ने भनी विचार गरिरहेका थिए । 2 किनकि तिनीहरूले भनिरहेका थिए, “चाडको समयमा होइन, ताकि मानिसहरूमाझ दङ्गा उत्पन्‍न नहोस् ।” 3 जब येशू बेथानियामा सिमोन कुष्‍ठरोगीको घरमा हुनुहुन्थ्यो, उहाँ टेबुलमा अडेस लागेर बसिरहनुहुँदा एउटी स्‍‍त्री अति मूल्यवान् तरल पदार्थ सिङ्गमरमरको शीशीमा लिएर उहाँकहाँ आई, जुन शुद्ध जटामसी थियो । त्यसले त्यो शीशी फुटाई र जटामसी उहाँको टाउकोमा खन्याई 4 तर त्यहाँका कोही-कोही रिसाए । तिनीहरूले आपसमा कुरा गरे र भने, "यो खेर फाल्‍नुको कारण के हो? 5 यो अत्तरलाई तीन सय दिनारभन्दा बढीमा बेच्‍न सकिन्थ्यो र गरिबहरूलाई दिन सकिन्थ्यो ।” त्यसपछि तिनीहरूले त्यसलाई गाली गरे । 6 तर येशूले भन्‍नुभयो, “त्यसलाई छोडिदेओ । तिमीहरूले त्यसलाई किन दुःख दिइरहेका छौ? त्यसले मेरो निम्ति राम्रो कुरा गरेकी छे । 7 गरिबहरू तिमीहरूसँग सधैं हुन्छन्, र तिमीहरूले जहिले चाहन्छौ तिनीहरूको निम्ति असल गर्न सक्छौ, तर म त तिमीहरूसित सधैं हुनेछैन । 8 त्यसले जे गर्न सक्थी त्‍यही गरी । त्यसले मेरो शरीर दफनको निम्ति अभिषेक गरेकी छे । 9 साँच्‍चै म तिमीहरूलाई भन्दछु, सारा संसारभरि जहाँ-जहाँ सुसमाचार प्रचार गरिन्छ, त्यहाँ-त्यहाँ यस स्‍‍त्रीले गरेको काम त्यसको सम्झनामा बताइनेछ । 10 अनि बाह्रमध्येका एक जना यहूदा इस्करियोत मुख्य पूजाहारीहरूकहाँ गयो, ताकि त्यसले उहाँलाई तिनीहरूका हातमा सुम्पन सकोस् । 11 जब मुख्य पूजाहारीहरूले यो सुने, तिनीहरू खुसी भए र त्यसलाई पैसा दिने वाचा गरे । त्यसले येशूलाई तिनीहरूका हातमा सुम्पने अवसर हेर्न थाल्यो । 12 अखमिरी रोटीको चाडको पहिलो दिन तिनीहरूले निस्तार-चाडको थुमा चढाउँदा उहाँका चेलाहरूले उहाँलाई भने, “हामी कहाँ गएर तयारी गरेको तपाईं चाहनुहुन्छ, ताकि तपाईंले निस्तार-चाडको भोज खान सक्‍नुभएको होस्?” 13 उहाँले आफ्ना चेलाहरूमध्ये दुई जनालाई पठाउनुभयो र तिनीहरूलाई भन्‍नुभयो, “सहरमा जाओ र एक जना पानीको गाग्रो बोक्‍ने मानिसले तिमीहरूलाई भेट्नेछ । त्यसलाई पछ्याओ । 14 जुन घरभित्र त्यो पस्छ, त्यसलाई भित्र पछ्‍याओ र त्यस घरको मालिकलाई भन, “गुरुज्यू भन्‍नुहुन्छ, 'मेरो पाहुना कोठा कहाँ छ, जहाँ म मेरा चेलाहरूसँग निस्तार-चाडको भोज खानेछु?'” 15 त्यसले तिमीहरूलाई एउटा तयार भएको माथिल्लो तलाको ठुलो कोठा देखाउनेछ। त्यहाँ नै हाम्रो निम्ति तयारी गर्नू ।” 16 तब चेलाहरू निस्के र सहरतिर लागे । उहाँले तिनीहरूलाई भन्‍नुभएजस्तै तिनीहरूले सबै पाए र तिनीहरूले निस्तार-चाडको भोज तयारी गरे । 17 जब साँझ पर्‍यो, उहाँ बाह्र जनासँग आउनुभयो । 18 जसै उहाँहरू टेबुलमा अडेस लागेर खाँदै हुनुहुन्थ्यो, येशूले भन्‍नुभयो, “साँच्‍चै म तिमीहरूलाई भन्दछु, मसँग खाइरहेकाहरूमध्ये एक जनाले मलाई धोका दिनेछ ।” 19 तिनीहरू सबै अत्ति निराश भए, र तिनीहरू एक-एक जनाले उहाँलाई भने, “पक्‍कै म होइन?” 20 येशूले जवाफ दिनुभयो र तिनीहरूलाई भन्‍नुभयो, “यी बाह्र जनामध्येका एक हुन्, जसले मसँग कचौरामा रोटी चोपिरहेको छ । 21 किनकि मानिसका पुत्र धर्मशास्‍‍त्रमा उनको बारेमा लेखिएबमोजिम जानेछन् । तर धिक्‍कार त्यो मानिसलाई जसद्वारा मानिसका पुत्रलाई धोका दिइन्छ! त्यसको निम्ति त्यो नजन्मिएको भए नै असल हुनेथियो ।” 22 जसै उहाँहरू खाँदै हुनुहुन्थ्यो, येशूले रोटी लिनुभयो, त्यसलाई आशिष्‌‌ दिनुभयो, र त्यो भाँच्‍नुभयो । उहाँले त्यो तिनीहरूलाई दिनुभयो र भन्‍नुभयो, “यो लेओ । यो मेरो शरीर हो ।” 23 उहाँले कचौरा लिनुभयो, धन्यवाद दिनुभयो, र त्यो तिनीहरूलाई दिनुभयो र तिनीहरू सबैले त्यसबाट पिए । 24 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “यो करारको मेरो रगत हो । यो रगत धेरैका निम्ति बगाइएको छ । 25 साँच्‍चै म तिमीहरूलाई भन्दछु, म यो दाखको फलबाट फेरि त्यस दिनसम्‍म पिउनेछैनँ, जबसम्म म परमेश्‍वरको राज्यमा त्यसलाई नयाँ गरी पिउँदिनँ ।" 26 उहाँहरूले एउटा भजन गाउनुभएपछि उहाँहरू जैतून डाँडामा जानुभयो । 27 येशूले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू सबै पछि हट्नेछौ, किनकि यसरी लेखिएको छ, ‘म गोठालोलाई हिर्काउनेछु र भेडाहरू छरपष्‍ट हुनेछन् ।’ 28 तर म जीवित भई उठेपछि म तिमीहरूभन्दा अगि गालीलमा जानेछु ।” 29 पत्रुसले उहाँलाई भने, “सबैजना पछि हटे पनि म पछि हट्नेछैनँ ।” 30 येशूले तिनलाई भन्‍नुभयो, “साँच्‍चै, म तिमीलाई भन्दछु, आज—हो, यसै रात—भाले दुई पल्ट बास्‍नुअगि तिमीले मलाई तीन पल्ट इन्कार गर्नेछौ ।” 31 तर पत्रुसले भने, “यदि म तपाईंसँगै मर्नुपर्छ भने पनि म तपाईंलाई इन्‍कार गर्नेछैनँ ।” तिनीहरू सबैले उही प्रतिज्ञा गरे । 32 उहाँहरू गेतसमनी नाउँ भएको ठाउँमा आइपुग्‍नुभयो र येशूले आफ्ना चेलाहरूलाई भन्‍नुभयो, “मैले प्रार्थना गर्दा यहाँ बस ।” 33 उहाँले पत्रुस, याकूब र यूहन्‍नालाई आफूसँग लानुभयो, र उहाँ दुःखित र अति व्याकुल हुन लाग्‍नुभयो । 34 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “मेरो प्राण मरेजतिकै गहिरो वेदनामा छ । यहाँ बस र जागा रहो ।” 35 येशू अलि परतिर जानुभयो, भुइँमा घोप्‍टो पर्नुभयो र यदि सम्भव भए त्यो घडी उहाँबाट हटेर जाओस् भनेर प्रार्थना गर्नुभयो । 36 उहाँले भन्‍नुभयो, “हे अब्बा, पिता तपाईंमा सबै थोक सम्भव छ । यो कचौरा मबाट हटाउनुहोस् । तर मेरो इच्छा होइन, तपाईंको इच्छा पूरा होस् ।” 37 उहाँ फर्केर आउनुभयो र तिनीहरूलाई सुतिरहेको भेट्टाउनुभयो र उहाँले पत्रुसलाई भन्‍नुभयो, “सिमोन, तिमी निदायौ? के एक घण्टा पनि जागा रहन सकेनौ? 38 जागा रहो र तिमीहरू परीक्षामा नपरोस् भनी प्रार्थना गर । वास्तवमा आत्मा त तत्पर छ, तर शरीर कमजोर छ ।” 39 उहाँ फेरि जानुभयो र अनि प्रार्थना गर्नुभयो र उहाँले उही वचनहरू प्रयोग गर्नुभयो । 40 जब उहाँ फेरि आउनुभयो, उहाँले तिनीहरूलाई सुतिरहेको भेट्टाउनुभयो, किनकि तिनीहरूका आँखा लोलाएका थिए । उहाँलाई के भन्‍ने भनी तिनीहरूले जानेनन् । 41 उहाँ तेस्रो पल्ट आउनुभयो र तिनीहरूलाई भन्‍नुभयो, “के तिमीहरू अझै सुतिरहेका छौ र आराम गरिरहेका छौ? भयो! समय आएको छ । हेर! मानिसका पुत्र पापीहरूको हातमा सुम्पिंदै छन् । 42 उठ; जाऔं । हेर, मलाई धोका दिने नजिकै छ ।” 43 उहाँ बोल्दै गर्नुहुँदा बाह्र जनामध्येको यहूदा आइपुग्यो अनि त्योसँग मुख्य पूजाहारीहरू, शास्‍‍त्रीहरू र धर्म-गुरुहरूबाट आएका तरवार र लाठा बोकेको एउटा ठुलो हुल थियो । 44 अब उहाँलाई विश्‍वासघात गर्नेले तिनीहरूलाई यसो भनेर एउटा सङ्केत दिएको थियो, “जसलाई मैले चुम्बन गर्छु, तिनी त्यही हुन् । तिनलाई समात र सुरक्षा घेरामा लैजाओ ।” 45 जब यहूदा आयो, तुरुन्तै त्यो येशूकहाँ आयो र भन्यो, “रब्बी,” र त्यसले उहाँलाई चुम्बन गर्‍यो । 46 त्यसपछि तिनीहरूले उहाँमाथि हात हाले र उहाँलाई पक्रे । 47 तर त्यहाँ उभिनेहरूमध्ये एक जनाले आफ्नो तरवार थुते र प्रधान पूजाहारीको नोकरलाई प्रहार गरे र त्यसको कान काटिदिए । 48 येशूले तिनीहरूलाई भन्‍नुभयो, “के तिमीहरू डाँकूको विरुद्धमा आएझैं तरवार र भाला लिएर मलाई पक्रन आउँछौ? 49 जब म तिमीहरूसँग दैनिक हुन्थें र मैले मन्दिरमा सिकाइरहेको थिएँ, तिमीहरूले मलाई गिरफ्तार गरेनौ । तर धर्मशास्‍‍त्र पूरा होस् भनेर यस्तो भयो ।” 50 अनि येशूसँग भएका सबैले उहाँलाई छाडे र भागे । 51 सूतीको कपडा मात्र बेरेको एक जना जवान मानिस येशूलाई पछ्‍याइरहेको थियो । जब मानिसहरूले त्यसलाई पक्रे, 52 त्यसले त्यो सूतीको कपडा त्यहीं नै छाड्‍यो र नाङ्गै भाग्यो । 53 तिनीहरूले येशूलाई प्रधान पूजाहारीकहाँ लगे । त्यहाँ उहाँसँग मुख्य पूजाहारीहरू, धर्म-गुरुहरू र शास्‍‍त्रीहरू सबै भेला भएका थिए । 54 अब पत्रुसले चाहिं टाढैबाट उहाँलाई प्रधान पूजाहारीको घरको आँगनसम्म पछ्याए, र तिनी पहरेदारहरूमाझ बसे, जसले न्यानो हुन आगो ताप्दै थिए । 55 अब मुख्य पूजाहारीहरू र सबै यहूदी परिषद्‍ले येशूको विरुद्धमा गवाही खोजिरहेका थिए, ताकि तिनीहरूले उहाँलाई मृत्युदण्ड दिन सकून् । तर तिनीहरूले कुनै पनि कुरा भेट्टाएनन् । 56 किनकि धेरैले उहाँको विरुद्धमा झूटो गवाही ल्याए, तर तिनीहरूका गवाही मिलेन । 57 कोही खडा भए र उहाँको विरुद्धमा झूटो गवाही ल्याए; तिनीहरूले भने, 58 “यसले यसो भनेको हामीले सुन्यौं, ‘हातद्वारा बनाइएको यो मन्दिर म नष्‍ट गर्नेछु, र तीन दिनमा हातबिना बनाइएको अर्को मन्दिर म बनाउनेछु' ।” 59 तापनि तिनीहरूको गवाही एकै मतको भएन । 60 प्रधान पूजाहारी तिनीहरूका बीचमा उभिए र येशूलाई सोधे, “के तँ कुनै जवाफ दिंदैनस्? यी मानिसहरूले तेरो विरुद्धमा दिएको गवाही के हो?” 61 तर उहाँ चुपचाप रहनुभयो, र जवाफ दिनुभएन । प्रधान पूजाहारीले उहाँलाई फेरि प्रश्‍न गरे र भने, “के तँ धन्यको पुत्र ख्रीष्‍ट होस्?” 62 येशूले भन्‍नुभयो, “म हुँ, र तपाईंहरूले मानिसका पुत्रलाई शक्‍तिको दाहिने हातपट्टि बस्दा र आकाशको बादलसँगै आउँदा देख्‍नुहुनेछ ।” 63 प्रधान पूजाहारीले आफ्नो लुगा च्याते र भने, “के हामीलाई अझै गवाहीको आवश्यक पर्छ र? 64 तिमीहरूले ईश्‍वर-निन्दा सुनेकै छौ । तिमीहरूको के निर्णय छ?” अनि तिनीहरू सबैले उहाँलाई मृत्युको योग्य भएकोलाई झैं दोष लगाए । 65 कोही कोहीले उहाँलाई थुक्‍न, र उहाँको अनुहार छोप्‍न र हिर्काउन थाले र उहाँलाई भने, “अगमवाणी गर्!” अनि अधिकारीहरूले उहाँलाई लगे र पिटे । 66 पत्रुस तल आँगनमा हुँदा प्रधान पूजाहारीका नोकर्नीहरूमध्ये एक जना तिनीकहाँ आई । 67 त्यसले पत्रुसलाई न्यानो हुन आगो तापिरहेको देखी र तिनलाई नियालेर हेरी र भनी, “तिमी पनि येशू नासरीसँग थियौ ।” 68 तर तिनले यसो भन्दै इन्कार गरे, “तैँले केको बारेमा भनिरहेकी छेस्, त्यो न त म जान्दछु, न बुझ्छु ।" त्यसपछि तिनी आँगनमा गए । 1 69 तर नोकर्नीले तिनलाई त्यहाँ देखी र ती त्यहाँ उभिएकाहरूलाई फेरि भन्‍न थाली, “यो मान्छे तिनीहरूमध्येकै एक हो!” 70 तर तिनले फेरि इन्कार गरे । केही समयपछि त्यहाँ उभिनेहरूले पत्रुसलाई भने, “निश्‍चय नै तिमी तिनीहरूमध्येकै एक हौ, किनकि तिमी पनि गालीली नै हौ ।” 71 तर तिनले आफैंलाई सराप्‍न र किरिया हालेर भन्‍न लागे, “तिमीहरूले कुरा गरिरहेका यी मानिसबारे मलाई केही थाहा छैन ।” 72 तुरुन्तै भाले दोस्रो चोटि बास्यो । त्यसपछि पत्रुसले येशूले तिनलाई भन्‍नुभएका वचनहरू स्मरण गरेः “दुई चोटि भाले बास्‍नुअगि तिमीले मलाई तीन पटक इन्कार गर्नेछौ ,” र तिनी धुरुधुरु रोए ।


1केही प्राचीन प्रतिलिपिहरूमा निम्‍न पदावली समावेश छः अनि भाले बास्यो । तर प्राचीन उत्क‍ृष्‍ट प्रतिलिपिहरूमा उक्‍त पदावली छैन ।