1 जसै येशू मन्दिरबाट जाँदै हुनुहुन्थ्यो, उहाँका चेलाहरूमध्ये एक जनाले उहाँलाई भने, “गुरुज्यू, हेर्नुहोस् कति राम्रा ढुङ्गाहरू र कति राम्रा भवनहरू!” 2 उहाँले तिनलाई भन्नुभयो, “के तिमी यी भव्य भवनहरू देख्छौ? एउटा ढुङ्गामाथि अर्को ढुङ्गा नरहने गरी सबै भत्काइनेछ ।” 3 जब उहाँ मन्दिरको सामुन्ने जैतूनको डाँडामा बस्नुभयो, पत्रुस, याकूब, यूहन्ना र अन्द्रियासले उहाँलाई गुप्तमा सोधे, 4 “हामीलाई भन्नुहोस्, कि यी कुराहरू कहिले हुनेछन्? यी सबै कुरा हुन लाग्दा कस्ता-कस्ता चिन्हहरू हुनेछन्?” 5 येशूले तिनीहरूलाई भन्न सुरु गर्नुभयो, “होसियार रहो, कसैले पनि तिमीहरूलाई नबहकाओस् ।” 6 मेरो नाउँमा धेरै जना आउनेछन् र भन्नेछन् ‘म उही हुँ’ र तिनीहरूले धेरैलाई भड्काउनेछन् । 7 जब तिमीहरूले युद्ध र युद्धको हल्ला सुन्नेछौ, चिन्ता नगर; यी कुराहरू हुनैपर्छ, तर अन्त्य अझै आइसकेको हुँदैन । 8 किनकि जातिको विरुद्धमा जाति, र राज्यको विरुद्धमा राज्य खडा हुनेछ । धेरै ठाउँमा भूकम्पहरू र अनिकालहरू हुनेछन् । यी प्रसव-वेदनाको सुरुवात हुन् । 9 आफूलाई सचेत राख । तिनीहरूले तिमीहरूलाई परिषदहरूमा सुम्पिनेछन्, र सभाघरहरूमा तिमीहरू पिटिनेछौ । शासकहरू र राजाहरूका सामु मेरा खातिर साक्षीको रूपमा तिमीहरू खडा हुनेछौ । 10 तर सबै जातिहरूलाई पहिले सुसमाचार प्रचार गरिनुपर्छ । 11 जब तिनीहरूले तिमीहरूलाई गिरफ्तार गर्छन् र सुम्पन्छन्, तब तिमीहरूले के बोल्ने भनी चिन्ता नगर । किनकि त्यो समय तिमीहरूले के बोल्नुपर्ने हो, सो तिमीहरूलाई दिइनेछ; बोल्ने तिमीहरू होइनौ, तर पवित्र आत्मा हुनुहुनेछ । 12 भाइले भाइलाई मृत्युको लागि सुम्पिनेछ, र बुबाले छोरोलाई । छोराछोरीहरू आफ्ना बुबाआमाको विरुद्धमा खडा हुनेछन् र तिनीहरूलाई मृत्युमा पुर्याउनेछन् । 13 मेरो नाउँको खातिर तिमीहरू सबैद्वारा घृणित हुनेछौ । तर जो अन्त्यसम्म स्थिर रहन्छ, त्यो बचाइनेछ । 14 जब तिमीहरूले विनाशकारी घृणित थोक खडा नहुनुपर्ने ठाउँमा खडा भइरहेको देख्छौ (पाठकले बुझोस्), यहूदियामा हुनेहरू पहाडहरूतिर भागून् । 15 घरको छतमा हुने तल घरमा नओर्लोस् वा त्यहाँबाट केही ननिकालोस्, 16 र खेतमा हुने आफ्नो खास्टो लिन नफर्कोस् । 17 तर हाय, ती दिनहरूमा गर्भवतीहरू र दूध खुवाउनेहरू! 18 यो हिउँदमा नपरोस् भनी प्रार्थना गर । 19 किनकि ती महासङ्कष्टका दिनहरू हुनेछन्, यस्तो त परमेश्वरले सृजनु भएको सृष्टिको सुरुदेखि अहिलेसम्म भएको छैन, न त कहिल्यै हुनेछ । 20 परमप्रभुले ती दिनलाई नघटाउनुभएको भए, कुनै पनि प्राणी बाँच्ने थिएन । तर ती चुनिएकाहरूका खातिर, जसलाई उहाँले छान्नुभयो, उहाँले दिनहरू घटाइदिनुभयो । 21 यदि कसैले तिमीहरूलाई, 'हेर ख्रीष्ट यहाँ हुनुहुन्छ! वा हेर उहाँ त्यहाँ हुनुहुन्छ!' भन्यो भने विश्वास नगर । 22 किनकि झूटा ख्रीष्टहरू र झूटा अगमवक्ताहरू देखा पर्नेछन् र सम्भव भए चुनिएकाहरूलाई पनि तिनीहरूले धोका दिन चिन्हहरू र आश्चर्यकर्महरू गर्नेछन् । 23 सचेत रहो! मैले तिमीहरूलाई अगिबाटै यी सबै कुराहरू बताइदिएको छु । 24 तर ती दिनको महासङ्कष्टपछि सूर्य अँध्यारो हुनेछ, र चन्द्रमाले आफ्नो प्रकाश दिनेछैन 25 ताराहरू आकाशबाट खस्नेछन्, र स्वर्गमा भएका शक्तिहरू हल्लिनेछन् । 26 त्यसपछि तिनीहरूले मानिसका पुत्रलाई बादलमा महान् शक्ति र महिमामा आउँदै गरेको देख्नेछन् । 27 तब उनले आफ्ना स्वर्गदूहरूलाई पठाउनेछन् र उनले चारै दिशाबाट, पृथ्वीको अन्तिम छेउदेखि आकाशको अन्तिम छेउसम्म आफ्ना चुनिएकाहरूलाई एकै ठाउँमा जम्मा गर्नेछन् । 28 अञ्जीरको रूखबाट पाठ सिक । हाँगाहरू कमलो भएर पातहरू लाग्नेबित्तिकै, ग्रीष्म नजिकै छ भनी तिमीहरू जान्दछौ । 29 त्यसै गरी, जब तिमीहरूले यी सबै कुराहरू घटिरहेको देख्छौ, उनी नजिकै छन्, ढोकाकै नजिक छन् भनी तिमीहरूले जान । 30 साँच्चै म तिमीहरूलाई भन्दछु, यी सबै कुरा नभएसम्म यो पुस्ता बितेर जानेछैन । 31 स्वर्ग र पृथ्वी बितेर जानेछन्, तर मेरो वचन कहिल्यै बितेर जानेछैन । 32 तर त्यस दिन वा घडीको विषयमा पितालाई बाहेक कसैलाई पनि थाहा छैन, न स्वर्गमा हुने स्वर्गदूतहरूलाई, न त पुत्रलाई । 33 सचेत रहो! होसियार होओ, किनभने यो कुन समयमा हुन्छ भनी तिमीहरू जान्दैनौ । 1 34 यो यात्रामा गएका एक जना मानिसजस्तो हो— तिनले आफ्नो घर छोड्छन् र आफ्ना नोकरहरू हरेकलाई आ-आफ्नो कामसहित तिनको घरको जिम्मा दिन्छन् । अनि तिनले पहरेदारलाई जागा रहन आज्ञा दिन्छन् । 35 त्यसकारण जागा रहो किनभने घरको मालिक कहिले आउँछन् भनी तिमीहरू जान्दैनौ; त्यो साँझ, मध्यरात, भाले बास्दा, वा बिहान हुन सक्छ । 36 यदि तिनी अचानक आइपुगे भने तिनले तिमीहरूलाई सुतिरहेको नभेट्टाउन् । 37 जे म तिमीहरूलाई भन्दछु, त्यो म सबैलाई भन्दछु: जागा रहो!”