1 उहाँले बाह्र जनालाई एकैसाथ बोलाउनुभयो र तिनीहरूलाई सबै भूतहरू निकाल्ने र रोगहरू निको पार्ने शक्ति र अधिकार दिनुभयो । 2 उहाँले तिनीहरूलाई परमेश्वरको राज्यको प्रचार गर्न र बिरामी निको पार्न पठाउनुभयो । 3 उहाँले तिनीहरूलाई भन्नुभयो, “आफ्ना यात्राका निम्ति केही नलैजाओ— न त लौरो, न त थैली, न त रोटी, न त पैसा, न त दुईवटा दौरा । 4 तिमीहरू जुन घरमा पस्छौ, त्यस ठाउँलाई नछोडेसम्म त्यहीं बस । 5 जहाँ तिनीहरूले तिमीहरूलाई ग्रहण गर्दैनन्, तिमीहरूले त्यो सहर छोड्दा तिनीहरूका विरुद्धमा साक्षीका लागि तिमीहरूका खुट्टाको धुलो टकटकाइदेओ ।” 6 तब तिनीहरू बिदा भए र सुसमाचारको घोषणा गर्दै र सबैतिर निको पार्दै गाउँभरि गए । 7 अब जे भइरहेको थियो, त्यो सब शासक हेरोद सुने र तिनी अन्योलमा परे, किनभने यूहन्ना जीवित भएका थिए भनी कसैद्वारा भनिएको थियो, 8 र अरूहरूले 'एलिया देखा परेका थिए', र अझै अरूहरूले 'पुराना अगमवक्ताहरूमध्ये एक जना फेरि पुनर्जीवित भएका थिए' भनी भनेका थिए । 9 हेरोदले भने, “मैले यूहन्नाको टाउको काटें । यिनी को हुन्, जसको बारेमा म यस्ता कुराहरू सुन्दै छु?” र तिनले उहाँलाई हेर्न खोजे । 10 जब प्रेरितहरू फर्केर आए, तिनीहरूले गरेका सबै कुरा उहाँलाई तिनीहरूले बताए । त्यसपछि उहाँले तिनीहरूलाई साथमा लिएर बेथसेदा भनिने सहरमा सुटुक्क जानुभयो । 11 तर जब भीडहरूले यसबारे सुने, तिनीहरूले उहाँलाई पछ्याए । उहाँले तिनीहरूलाई स्वागत गर्नुभयो, र परमेश्वरको राज्यको बारेमा तिनीहरूलाई बताउनुभयो, र निको हुन आवश्यक भएकाहरूलाई उहाँले निको पार्नुभयो । 12 अब दिन ढल्किन लागेको थियो, र बाह्रै जना उहाँकहाँ आए र भने, “यस भीडलाई बिदा दिनुहोस्, ताकि तिनीहरूले वरिपरिका बस्तीहरू र गाउँहरूमा गएर बास बस्न र खान पाउन सकून्, किनभने हामी यहाँ निर्जन ठाउँमा छौं ।” 13 तर उहाँले तिनीहरूलाई भन्नुभयो, “तिमीहरूले नै तिनीहरूलाई खानलाई देओ ।” तिनीहरूले भने, “हामीसँग पाँचवटा रोटी र दुईवटा माछाभन्दा बढी केही छैन, नभए हामी गएर यी सबै मानिसहरूका लागि खानेकुरा किन्नुपर्ला ।” 14 (त्यहाँ प्रायः पाँच हजार जति पुरुषहरू थिए ।) उहाँले आफ्ना चेलाहरूलाई भन्नुभयो, "तिनीहरूलाई पचास-पचास जनाको समूहमा बस्न लगाओ ।” 15 अनि तिनीहरूले त्यसै गरे, र सबैलाई बस्न लगाए । 16 उहाँले पाँचवटा रोटी र दुईवटा माछा लिएर स्वर्गतिर हेर्नुभयो, उहाँले तिनीहरूलाई आशीर्वाद दिनुभयो, र ती भाँचेर टुक्रा-टुक्रा पार्नुभयो, र भीडको सामु राखिदिनलाई उहाँले चेलाहरूलाई ती दिनुभयो । 17 तिनीहरू सबैले खाए र सन्तुष्ट भए, र उब्रेका रोटीका टुक्राहरू—बाह्र डाला बटुले । 18 येशू एक्लै प्रार्थना गरिरहनुहुँदा चेलाहरू पनि उहाँसँग थिए । उहाँले तिनीहरूलाई यसो भन्दै प्रश्न गर्नुभयो, “भीडहरूले म को हुँ भनी भन्छन्?” 19 तिनीहरूले जवाफ दिए, “बप्तिस्मा-दिने यहून्ना । तर अरूहरूले एलिया, र अरूहरूले पहिलेका कोही अगमवक्ताहरूमध्ये एक उठेका छन् भनी भन्छन् ।” 20 त्यसपछि उहाँले तिनीहरूलाई भन्नुभयो, “तर तिमीहरूचाहिँ म को हुँ भनी भन्छौ?” पत्रुसले जवाफ दिए, “परमेश्वरका ख्रीष्ट ।” 21 तर यो कसैलाई पनि नभन्नू भनी उहाँले तिनीहरूलाई यसो भन्दै कडा चेताउनी दिनुभयो, 22 "मानिसका पुत्रले धेरै कुरा सहनुपर्छ, धर्म-गुरुहरू, र मुख्य पूजाहारीहरू र शास्त्रीहरूबाट इन्कार हुनुपर्छ, र तिनी मारिनेछन् र तेस्रो दिनमा जीवित हुनेछन् ।" 23 तब उहाँले तिनीहरू सबैलाई भन्नुभयो, “यदि कोही मेरो पछि आउन चाहन्छ भने, त्यसले आफैंलाई इन्कार गर्नुपर्छ, र दिनहुँ आफ्नो क्रुस उठाउनुपर्छ र मलाई पछ्याउनुपर्छ । 24 जसले आफ्नो जीवन बचाउने प्रयास गर्छ, त्यसले त्यो गुमाउनेछ, तर मेरो खातिर जसले आफ्नो जीवन गुमाउँछ, त्यसले त्यो बचाउनेछ । 25 सारा संसार हात पारेर पनि त्यसले आफैंलाई नाश गर्छ वा गुमाउँछ भने, मानिसलाई के लाभ हुन्छ र? 26 जो म र मेरा वचनहरूसँग शर्माउँछ, मानिसका पुत्र पनि आफ्नो महिमा र पिताको र पवित्र दूतहरूको महिमामा आउनुहुँदा त्यससँग शर्माउनेछन् । 27 तर साँच्चै म तिमीहरूलाई भन्दछु, यहाँ केही उभिनेहरू छन् जसले परमेश्वरको राज्य देख्नअगि मृत्यु चाख्नेछैन । 28 अब यी कुरा भन्नुभएको लगभग आठ दिनपछि येशूले पत्रुस, यूहन्ना र याकूबलाई सँगै लिएर प्रार्थना गर्न पहाडमा उक्लनुभयो । 29 जब उहाँले प्रार्थना गर्दै हुनुहुन्थ्यो, उहाँको अनुहारको रूप परिवर्तन भयो, र उहाँको वस्त्र सेतो र चम्किलो भयो । 30 हेर, दुई जना मानिस उहाँसँग कुरा गरिरहेका थिए, जो मोशा र एलिया थिए, 31 तिनीहरू महिमित रूपमा देखा परेर उहाँको मृत्युको विषयमा कुरा गरिरहेका थिए, जुन उहाँले यरूशलेममा पुरा गर्न लाग्नुभएको थियो । 32 अब पत्रुस र तिनीसँग भएकाहरू निन्द्राले लट्ठ भएका थिए, तर जब तिनीहरू पूर्ण रूपले ब्युँझे, तिनीहरूले उहाँको महिमा र उहाँसँगै उभिरहेका दुई मानिसहरूलाई देखे । 33 तिनीहरू येशूबाट बिदा भएर जान लाग्दा, पत्रुसले उहाँलाई भने, “गुरुज्यू, हामी यहीं बस्नु असल छ । हामी तीन वटा टहरा बनाऔं, एउटा तपाईंको लागि, एउटा मोशाको लागि र एउटा एलियाको लागि ।” (आफूले बोलेको कुराको तिनलाई ख्यालै थिएन ।) 34 तिनले यो कुरा भन्दै गर्दा बादल आयो र तिनीहरूलाई ढाक्यो, र जसै तिनीहरू बादलभित्र पसे, तिनीहरू डराए । 35 बादलबाट यसो भन्दै एउटा आवाज आयो, “यिनी मेरा चुनिएका पुत्र हुन्; यिनको कुरा सुन ।” 36 त्यो आवाजले बोलिसकेपछि येशू एक्लै हुनुभयो । तिनीहरू चुप भए र तिनीहरूले देखेका कुनै पनि कुराहरू ती दिनमा कसैलाई भनेनन् । 37 अब भोलिपल्ट तिनीहरू पहाडबाट तल ओर्लेर आउँदा एउटा ठुलो भीडले उहाँलाई भेट्यो । 38 हेर, भीडबाट एक जना मानिस यसो भन्दै चिच्यायो, “गुरुज्यू, म तपाईंसँग बिन्ती गर्छु, मेरो छोरालाई हेर्नुहोस्, किनकि त्यो मेरो एउटै मात्र छोरा हो । 39 हेर्नुहोस, त्यसलाई आत्माले समात्छ र त्यो अचानक चिच्च्याउँछ; त्यसले त्यसलाई काम्न लगाउँछ जसले गर्दा त्यसले मुखमा फिंज काढ्छ । त्यो त्यसबाट मुस्किलले निस्केर जान्छ र त्यसलाई नराम्रो गरी चोट पार्छ । 40 मैले त्यसलाई निकाल्न भनेर तपाईंका चेलाहरूसँग बिन्ती गरें, तर तिनीहरूले सकेनन् ।” 41 येशूले जवाफ दिनुभयो र भन्नुभयो, “हे अविश्वासी र भ्रष्ट पुस्ता, म तिमीहरूसँग कति समयसम्म रहुँला र तिमीहरूलाई सहुँला? तिम्रो छोरालाई यहाँ ल्याऊ ।” 42 जब त्यो केटो आउँदै थियो, तब भूतात्माले त्यसलाई भुइँमा पछार्यो, र त्यसलाई काम्न लगायो । तर येशूले अशुद्ध आत्मालाई हप्काउनुभयो र केटोलाई निको पार्नुभयो, र त्यसको बुबालाई फिर्ता दिनुभयो । 43 तब तिनीहरू सबैजना परमेश्वरको महानतामा चकित भए । तिनीहरू सबैजना उहाँले गर्नुभएका यी सबै कुराहरूप्रति चकित भइरहँदा, उहाँले आफ्ना चेलाहरूलाई भन्नुभयो, 44 “यी वचनहरू तिमीहरूका कानका गहिराइसम्म पुगून्ः मानिसका पुत्र मानिसहरूका हातमा सुम्पिनेछन् ।” 45 तर तिनीहरूले यस भनाइलाई बुझेनन् । यो तिनीहरूबाट लुकाइएको थियो, ताकि तिनीहरूले यसको अर्थ बुझ्न नसकून्, र अझै तिनीहरूले त्यस भनाइबारे उहाँलाई सोध्न डराए । 46 तब तिनीहरूमध्ये सबैभन्दा ठुलो को हुने हो भनी तिनीहरूबीच विवाद चल्यो । 47 तर येशूले तिनीहरूका हृदयको विचार थाहा पाएर एउटा सानो बालकलाई लिएर आफ्नो छेउमा राख्नुभयो, 48 र तिनीहरूलाई भन्नुभयो, “यदि कसैले मेरो नाउँमा यस बालकलाई ग्रहण गर्छ भने त्यसले मलाई ग्रहण गर्छ, र कसैले मलाई ग्रहण गर्छ भने, त्यसले मलाई पठाउनुहुनेलाई ग्रहण गर्छ । किनकि तिमीहरू सबैमध्ये सबैभन्दा सानो जो छ त्यो नै महान् हुन्छ ।” 49 यूहन्नाले जवाफ दिए, “गुरुज्यू, हामीले कसैले तपाईंको नाउँमा भूतहरू निकालिरहेको देख्यौं, र त्यसलाई हामीले रोक्यौं, किनभने त्यसले हामीहरूसँग तपाईंलाई पछ्याउँदैन ।” 50 येशूले भन्नुभयो, “त्यसलाई नरोक, किनभने जो तिम्रो विरुद्धमा हुँदैन, त्यो तिम्रो पक्षमा हुन्छ ।” 51 जब उहाँ स्वर्गतिर जाने समय नजिक आयो, तब उहाँले यरूशलेमतिर जाने अठोट गर्नुभयो । 52 उहाँले आफूभन्दा अगि सन्देशवाहकहरूलाई पठाउनुभयो र तिनीहरू गए, र उहाँका निम्ति सबै कुराको तयारी गर्न सामरीहरूको गाउँमा प्रवेश गरे । 53 तर त्यहाँका मानिसहरूले उहाँलाई ग्रहण गरेनन्, किनभने उहाँले यरूशलेमतिर जाने अठोट गर्नुभएको थियो । 54 जब उहाँका चेलाहरू यूहन्ना र याकूबले यो देखे, तिनीहरूले भने, “प्रभु, के स्वर्गबाट आगो बर्साएर तिनीहरूलाई नष्ट गर्नलाई हामीले आज्ञा गरौं भन्ने तपाईं चाहनुहुन्छ?” 55 तर उहाँ फर्केर तिनीहरूलाई हप्काउनुभयो, 56 र उहाँहरू अर्को गाउँतिर जानुभयो । 57 जब उहाँहरू बाटोमा जाँदै हुनुहुन्थ्यो, तब कसैले उहाँलाई भन्यो, “तपाईं जहाँ जानुहुन्छ म तपाईंलाई पछ्याउनेछु ।” 58 येशूले त्यसलाई भन्नुभयो, “फ्याउराहरूका दुला छन् र आकासका चराहरूका गुँड छन्, तर मानिसका पुत्रको टाउको राख्ने ठाउँ पनि छैन ।” 59 तब उहाँले अर्कोलाई भन्नुभयो, “मेरो पछि लाग ।” तर त्यसले भन्यो, “प्रभु, मलाई पहिले मेरा बुबालाई गाड्न जान दिनुहोस् ।” 60 तर उहाँले त्यसलाई भन्नुभयो, “मुर्दालाई तिनीहरूको आफ्नै मुर्दा गाड्न देऊ, तर तिमी जाऊ र जताततै परमेश्वरको राज्यको घोषणा गर ।” 61 तब अर्कोले पनि भन्यो, “प्रभु म तपाईंलाई पछ्याउनेछु, तर पहिले मेरो घरमा भएकाहरूसँग बिदा माग्न दिनुहोस् ।” 62 येशूले त्यसलाई भन्नुभयो, “हलोमा आफ्नो हात राखेर पछाडि हेर्ने कोही पनि परमेश्वरको राज्यको निम्ति योग्य हुँदैन ।”