8

1 त्यसपछि छिट्टै येशू वरपरका विभिन्‍न सहरहरू र गाउँहरूमा प्रचार गर्दै र परमेश्‍वरको राज्यको सुसमाचार घोषणा गर्दै भ्रमण गर्न थाल्‍नुभयो । उहाँसँग बाह्रजना चेलाहरू थिए, 2 साथै केही स्‍‍त्रीहरू जो दुष्‍टात्मा र रोगहरूबाट निको भएका थिएः मरियम जसलाई मग्दलनी भनिन्थ्यो, जसबाट सातवटा भूतात्मा निकालिएका थिए; 3 हेरोदका कारिन्दा खुजासकी पत्‍नी योअन्‍ना; सुसन्‍ना; र अरूहरू धेरै, जसले आफ्ना सम्पत्तिहरूबाट उहाँहरूका निम्ति जुटाईदिए । 4 एउटा ठुलो भीड एकसाथ भेला भ‍इरहँदा, र प्रत्येक सहरबाट मानिसहरू उहाँकहाँ आइरहँदा, उहाँले एउटा द‍ृष्‍टान्त भन्‍नुभयो । 5 “एउटा किसान बीउ छर्नलाई निस्क्यो । त्यसले छर्दा केही बीउहरू बाटोको छेउमा परे र ती खुट्टाले कुल्चिए, र आकाशका चराहरूले ती खाए । 6 केही बीउहरू ढुङ्गेनी जमिनमा परे र उम्रने बित्तिकै ती सुकिहाले, किनकि त्यसमा ओस थिएन । 7 केही बीउहरू काँडाहरूका बीचमा परे, र बीउहरू सँगसँगै काँडाहरू पनि बढे र बीउहरूलाई निसासिदिए । 8 तर केही बीउहरू असल जमिनमा परे र सय गुणा फल फलाए ।” येशूले यी कुराहरू भनिसक्‍नुभएपछि उहाँले भन्‍नुभयो, "जसको सुन्‍ने कान छ त्यसले सुनोस् ।" 9 उहाँका चेलाहरूले उहाँलाई यो द‍ृष्‍टान्तको अर्थ के हो भनी सोधे । 10 उहाँले भन्‍नुभयो, “तिमीहरूलाई परमेश्‍वरको राज्यका रहस्यका कुराहरू बुझ्‍ने ज्ञान दिइएको छ, तर अरूहरूका लागि म द‍ृष्‍टान्तमा बोल्छु, ताकि 'हेरेर पनि तिनीहरूले नदेखून्, र सुनेर पनि तिनीहरूले नबुझून् ।’ 11 अब द‍ृष्‍टान्तको अर्थ यही होः बीउ परमेश्‍वरको वचन हो । 12 बाटोको छेउमा परेकाहरू चाहिं ती हुन्, जसले वचन सुन्छन्, तर शैतान आउँछ र तिनीहरूको हृदयबाट वचन खोसेर लैजान्छ, ताकि तिनीहरूले विश्‍वास नगरून् र नबाँचून् । 13 ढुङ्गेनी जमिनमा परेकाहरू चाहिं ती हुन्, जसले वचन सुन्छन्, खुसीसाथ ग्रहण गर्छन् । तर तिनीहरूको जरा हुँदैन; तिनीहरूले केही समयको लागि मात्र विश्‍वास गर्छन्, र परीक्षाको समयमा तिनीहरू पतन भएर जान्छन् । 14 काँडामा परेकाहरू चाहिं ती मानिसहरू हुन्, जसले वचन सुन्छन्, तर जीउने क्रममा जीवनका फिक्री, धन सम्पत्ति, र सुख विलासका कारण निसासिएर परिपक्‍व हुन सक्दैनन् । 15 तर असल जमिनमा परेका बीउचाहिं ती हुन्, जसले इमानदार र असल हृदयसाथ वचन सुनेर यसलाई सुरक्षितसाथ पक्री राख्छन् र धैर्यसाथ फल फलाउँछन् । 16 "बत्ती बालेर कसैले पनि भाँडाले छोप्दैन अथवा खाटमुनि राख्दैन । बरु त्यसलाई त्यसले सामदानमा राख्छ, ताकि भित्र पस्‍ने सबैले उज्यालो देखून् । 17 किनकि प्रकट नहुने गरी कुनै पनि कुरा लुकाइएको छैन, न त प्रकट नहुने र ज्योतिमा नआउने कुनै गोप्य कुरा हुन्छ । 18 त्यसैले ध्यानसित सुन, किनकि जससँग छ त्यसलाई अझै दिइनेछ, तर जससँग छैन त्यसले आफूसँग जे छ भनी ठान्‍छ, त्योसमेत त्यसबाट खोसिनेछ ।” 19 त्यसपछि उहाँकी आमा र भाइहरू उहाँकहाँ आए, तर भीडको कारणले गर्दा उहाँको नजिक आउन सकेनन् । 20 उहाँलाई यसो भनिएको थियो, “तपाईंकी आमा र भाइहरू तपाईंलाई भेट्ने इच्छा गरी बाहिर उभिरहेका छन् ।” 21 तर येशूले जवाफ दिनुभयो र तिनीहरूलाई भन्‍नुभयो, “मेरी आमा र मेरा भाइहरू ती नै हुन्, जसले परमेश्‍वरको वचन सुन्छन् र पालना गर्छन् ।” 22 अब एक दिन उहाँ आफ्ना चेलाहरूसँग डुङ्गामा चढ्नुभयो, र उहाँले तिनीहरूलाई भन्‍नुभयो, “आओ, हामी तालको पल्लोपट्टि जाऔं ।” उहाँहरू डुङ्गामा चढेर जानुभयो । 23 तर जसै उहाँहरू डुङ्गामा जानुभयो, उहाँ निदाउनुभयो । त्यस तालमा ठुलो आँधीबेहरी आयो, अनि डुङ्गा पानीले भरिदै थियो र तिनीहरू खतरामा परे । 24 त्यसपछि येशूका चेलाहरू उहाँकहाँ आए र यसो भन्दै उहाँलाई ब्युँझाए, “गुरुज्यू, गुरुज्यू, हामी त मर्नै लाग्यौं!” उहाँ उठ्नुभयो र बतास र पानीको बेगलाई हप्काउनुभयो, र ती थामिए र त्यहाँ शान्‍त भयो । 25 अनि उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूको विश्‍वास कहाँ छ?” तर तिनीहरू डराए र अचम्मित भए, र एक-अर्कालाई सोधे “यिनी को हुन् जसले बतास र पानीलाई पनि आज्ञा दिन्छन्, र तिनीहरू यिनको आज्ञा मान्छन्?” 26 उहाँहरू गेरासेनसको इलाकामा आइपुग्‍नुभयो, जुन गालीलको पारीपट्टि पर्छ । 27 जब येशू पाखामा उत्रनुभयो, सहरबाट आएको एक जना मानिसले उहाँलाई भेट्‍यो, जसमा भूतात्माहरू थिए । लामो समयदेखि त्यसले कुनै कपडाहरू लगाएको थिएन, र त्यो घरमा बस्दैनथ्यो, तर चिहानहरूमा बस्थ्यो । 28 जब त्यसले येशूलाई देख्यो, त्यो चिच्‍च्‍यायो, र उहाँको सामु घोप्‍टो पर्‍यो र त्यसले उच्‍च स्वरमा भन्यो, “सर्वोच्‍च परमेश्‍वरका पुत्र येशू, मसँग तपाईंको के सरोकार? म तपाईंलाई बिन्ती गर्छु, मलाई नसताउनुहोस् ।” 29 किनकि येशूले त्यस मानिसबाट अशुद्ध आत्मालाई निस्केर आउने आज्ञा गर्नुभएको थियो । किनकि धेरै पटक त्यसले त्यसलाई पक्रेको थियो र त्यसलाई साङ्ग्ला र नेलले बाँधेर पहरामा राखिएको भए तापनि त्यसले ती साङ्ग्लाहरू छिनालेको थियो र त्यस भूतात्माद्वारा त्यो उजाडस्थानतिर डोर्‍याइन्थ्यो । 30 त्यसपछि येशूले त्यसलाई सोध्‍नुभयो, “तेरो नाउँ के हो?” र त्यसले भन्यो, “फौज” । किनकि धेरै भूतात्माहरू त्यसभित्र पसेका थिए । 31 तिनीहरूलाई गहिरो खाडलमा नपठाउनुहोस् भनी तिनीहरूले उहाँलाई निरन्तर बिन्ती गरे । 32 अब त्‍यहाँ नजिकै डाँडामा सुँगुरहरूको एक ठुलो बथान चरिरहेको थियो । भूतात्माहरूले तिनीहरूभित्र पस्‍न दिनुहोस् भनी उहाँलाई बिन्ती गरे, र उहाँले तिनीहरूलाई अनुमति दिनुभयो । 33 त्यसैले त्यस मानिसबाट भूतात्माहरू निस्के र सुँगुरहरूभित्र पसे, र त्यो बथान भिरालोबाट हुर्रिंदै गएर तालमा डुबे । 34 जब सुँगुर चराइरहेका मानिसहरूले जे भएको थियो त्यो देखे, तिनीहरू भागे र त्यसको बारेमा सहर र गाउँमा बताए । 35 त्यसैले जे भएको थियो त्यो हेर्नलाई मानिसहरू निस्केर गए, र तिनीहरू येशूकहाँ आए र त्यस मानिसलाई भेटाए जसबाट भूतात्माहरू निस्केर गएका थिए । त्यो लुगा लगाएर सद्दे मनको भएर येशूको चरणमा बसिरहेको थियो; अनि तिनीहरू डराए । 36 तब त्यो देख्‍नेहरूले भूतात्मा लागेको मानिस कसरी निको भएको थियो, सो तिनीहरूलाई बताइदिए । 37 त्यसपछि गेरासेनसका क्षेत्रका सबै मानिसहरूले येशूलाई तिनीहरूकहाँबाट जान आग्रह गरे, किनकि तिनीहरू साह्रै डराएका थिए । त्यसैले उहाँ डुङ्गामा चढ्नुभयो ताकि उहाँहरू फर्कन सक्नुभएको होस् । 38 भूतात्माहरू निस्केर गएको मानिसले आफूलाई उहाँसँगै लैजान भनी उहाँलाई बिन्ती गर्‍यो, तर येशूले यसो भन्दै त्यसलाई पठाउनुभयो, 39 “आफ्नो घर फर्क र परमेश्‍वरले तिम्रो निम्ति जे गर्नुभएको छ त्यो पूर्णरूपमा वर्णन गर ।” त्यस मानिसले येशूले त्यसको निम्ति जे गर्नुभएको थियो त्यो सारा सहरभरि घोषणा गर्दै आफ्नो बाटो लाग्यो । 40 जब येशू फर्कनुभयो, भीडले उहाँलाई स्वागत गर्‍यो, किनकि तिनीहरू सबैले उहाँलाई पर्खिरहेका थिए । 41 हेर, याइरस नाउँ गरेका एक जना मानिस, जो सभाघरका अगुवाहरूमध्ये एक थिए, तिनी आए र येशूका पाउमा घोप्‍टो परे र आफ्नो घरमा आउन तिनले उहाँलाई बिन्ती गरे । 42 किनभने तिनको एउटै मात्र बाह्र वर्षकी छोरी मर्नै लागेकी थिई । उहाँ जाँदै गर्नुहुँदा मानिसहरूको भीडहरूले उहाँलाई घचेटिरहेका थिए । 43 अब त्यहाँ एउटी स्‍‍त्री थिई जसको बाह्र वर्षसम्म रगत बग्‍ने समस्या थियो र त्यसले आफ्नो सम्पूर्ण पैसा खर्च गरिसकेकी थिई 1 , र कसैद्वारा पनि निको हुन सकेकी थिइन । 44 त्यो येशूको पछिल्तिरबाट आई र उहाँको लुगाको छेउ छोई र तुरुन्तै त्यसको रगत बग्‍ने रोकियो । 45 येशूले भन्‍नुभयो, “मलाई कसले छोयो?” जब सबैले यसलाई इन्कार गरे, पत्रुसले भने, “गुरुज्यू, तपाईंका वरिपरि मानिसहरूका भीडहरू छन् र तिनीहरूले तपाईंलाई घचेट्दै छन् ।” 46 तर येशूले भन्‍नुभयो, “कसैले मलाई छोएकै हो, किनकि शक्‍ति मबाट बाहिर गएको मलाई थाहा छ ।” 47 जब त्यस स्‍‍त्रीले आफू लुक्‍न नसक्‍ने देखी, तब त्यो काँप्दै आई र उहाँको चरणमा घोप्‍टो परी । त्यसले उहाँलाई किन छोएकी थिई र त्यो कसरी तुरुन्तै निको भएकी थिई, सो सबै मानिसहरूका सामु बताइदिई । 48 त्यसपछि उहाँले त्यसलाई भन्‍नुभयो, “छोरी, तिम्रो विश्‍वासले तिमीलाई निको पारेको छ । शान्तिसँग जाऊ ।” 49 जब उहाँ अझै बोल्दै हुनुहुन्थ्यो, सभाघरका अगुवाको घरबाट एक जना यसो भन्दै आयो, “तपाईंकी छोरी मरिसकी । अब गुरुज्यूलाई दुःख नदिनुहोस् ।” 50 तर जब येशूले यो सुन्‍नुभयो, उहाँले याइरसलाई जवाफ दिनुभयो, “नडराऊ, विश्‍वास मात्र गर, र त्यो बचाइनेछे ।” 51 जब उहाँ घरमा आउनुभयो, तब पत्रुस, यूहन्‍ना र याकूब, बालिकाका बुबा र आमाबाहेक अरू कसैलाई पनि उहाँसित भित्र आउन दिनुभएन । 52 अब सबै त्यसको निम्ति निम्ति रुँदै र विलाप गर्दै थिए, तर उहाँले भन्‍नुभयो, “नरोओ, त्यो मरेकी छैन, तर निदाएकी मात्र छे ।” 53 तर त्यो मरिसकी भन्‍ने थाहा पाएर तिनीहरू उहाँको गिल्ला गर्दै हाँसे । 54 तर उहाँले त्यसको हातमा समात्‍नुभयो र यसो भनेर बोलाउनुभयो, “नानी उठ!” 55 त्यसको आत्मा फर्क्यो, र त्यो तुरुन्तै उठी । उहाँले त्यसलाई केही खान दिनू भनी तिनीहरूलाई आज्ञा दिनुभयो । 56 त्यसका बुबा-आमा अचम्मित भए, तर जे भएको थियो त्यो कसैलाई नभन्‍नू भनी उहाँले तिनीहरूलाई आज्ञा दिनुभयो ।


1यहाँ त्यसले आफ्नो सम्पूर्ण पैसा खर्च गरिसकेकी थिई भन्‍ने वाक्यांश समावेश हुनुपर्छ वा पर्दैन भन्‍ने सन्दर्भमा विद्वान‍्हरूमा भिन्‍न मतहरू छन् ।