1 येशूले सुनिरहेका मानिसहरूलाई सबै कुरा भनिसक्नुभएपछि उहाँ कफर्नहुममा प्रवेश गर्नुभयो । 2 एउटा कप्तानको दास जो तिनका लागि अति नै महत्त्वपूर्ण थियो, त्यो साह्रै बिरामी थियो र मर्नै आँटेको थियो । 3 जब कप्तानले येशूको बारेमा सुने तब तिनले यहूदीहरूका धर्म-गुरुहरूलाई येशूकहाँ गई उहाँलाई आउन र तिनको दासलाई निको पार्न भन्नलाई पठाए । 4 तिनीहरू येशूकहाँ आएपछि उहाँसँग यसो भन्दै व्यग्रताका साथ बिन्ती गरे, "तपाईंले तिनको निम्ति यसो गरिदिनलाई तिनी योग्यका छन्, 5 किनभने तिनले हाम्रा जातिलाई प्रेम गर्छन्, र हाम्रा लागि सभाघर निर्माण गरिदिने तिनी नै हुन् ।” 6 त्यसैले येशू तिनीहरूसँगै सरासर आफ्नो बाटो लाग्नुभयो । तर उहाँ घरबाट धेरै टाढा नहुँदै कप्तानले साथीहरू पठाएर उहाँलाई यसो भन्न लगाए, “प्रभु तपाईंले आफैंलाई दुःख नदिनुहोस्, किनकि तपाईं मेरो घरभित्र प्रवेश गर्नलाई म योग्यको छैनँ । 7 यही कारणले मैले आफैंलाई तपाईंकहाँ आउन योग्यको ठानिनँ, तर वचन मात्र बोलिदिनुहोस् र मेरो दास निको हुनेछ । 8 किनकि म पनि एउटा अधिकारमा रहेको मानिस हुँ, र ममुनि सिपाहीहरू छन् । म एउटालाई 'जा' भन्छु, र त्यो जान्छ र अर्कोलाई 'आइज' भन्छु, र त्यो आउँछ, र मेरो नोकरलाई ‘यसो गर' भन्छु, र त्यसले त्यो गर्छ ।” 9 जब येशूले यो सुन्नुभयो, उहाँ तिनीसित अचम्मित हुनुभयो, र उहाँलाई पछ्याइरहेको भीडतिर फर्केर उहाँले भन्नुभयो, “म तिमीहरूलाई भन्दछु, मैले इस्राएलमा पनि यस्तो विश्वास भेट्टाएको छैनँ ।” 10 जब ती पठाइएकाहरू घर फर्केर आए, त्यस दासलाई स्वस्थ भएको भेट्टाए । 11 त्यसको केही समयपछि येशू नाइन भन्ने सहरमा जानुभयो, र उहाँका चेलाहरू र एउटा ठुलो भीड उहाँसँगै गयो । 12 जसै उहाँ सहरको मूल ढोकानजिक पुग्नुभयो, हेर, एउटा मृत मानिसलाई बोकेर लगिंदै थियो, त्यो त्यसकी आमाको (जो एक विधवा थिईन्) एक मात्र छोरो थियो, र सहरको एउटा ठुलो भीड तिनीसँग थियो । 13 जब प्रभुले तिनलाई देख्नुभयो, उहाँ तिनीप्रति अति नै दयाले भरिनुभयो र तिनलाई भन्नुभयो, “नरोऊ" । 14 तब उहाँ अगाडि जानुभयो र अरथी छुनुभयो जसमाथि तिनीहरूले लास बोकिरहेका थिए, र त्यसलाई बोक्नेहरू टक्क अडिए । उहाँले भन्नुभयो, “जवान मानिस, म तिमीलाई भन्दछु, उठ ।” 15 त्यो मृत मानिस उठ्यो र बोल्न थाल्यो, र येशूले त्यसलाई त्यसकी आमालाई सुम्पनुभयो । 16 तब तिनीहरू सबै डराए, र तिनीहरूले यसो भन्दै परमेश्वरको प्रशंसा गरिरहे, “हाम्रा बीचमा एउटा महान् अगमवक्ता खडा भएका छन्" र "परमेश्वरले आफ्ना मानिसहरूलाई हेर्नुभएको छ ।” 17 येशूको बारेमा यो खबर सारा यहूदियाभरि र सबै छिमेकी इलाकाहरूमा फैलियो । 18 यूहन्नाका चेलाहरूले उनलाई यी सबै कुराहरूको बारेमा बताइदिए । 19 तब यूहन्नाले आफ्ना दुई जना चेलाहरूलाई बोलाए र प्रभुकहाँ यसो भन्न तिनीहरूलाई पठाए, "के आउनुहुने तपाईं नै हुनुहुन्छ, कि हामी अरू कसैको प्रतीक्षा गरौं ?" 20 जब तिनीहरू येशूको नजिक आए, तब मानिसहरूले भने, "बप्तिस्मा-दिने यूहन्नाले हामीलाई तपाईंकहाँ यसो भन्न पठाएका छन्, 'के आउनुहुने तपाईं नै हुनुहुन्छ, कि हामी अरू कसैको प्रतीक्षा गरौं?'" 21 त्यस घडीमा उहाँले धेरै मानिसहरूलाई बिमारी, दुःखकष्ट र दुष्टात्माबाट निको पार्नुभयो र उहाँले धेरै अन्धाहरू मानिसहरूलाई दृष्टि दिनुभयो । 22 येशूले जवाफ दिनुभयो र तिनीहरूलाई भन्नुभयो, “तिमीहरू आफ्नो बाटो लागिसकेपछि तिमीहरूले जे सुनेका र देखेका छौ, सो यूहन्नालाई बताइदेओ । अन्धाहरू मानिसहरूले दृष्टि पाइराखेका छन्, लङ्गडाहरू हिंडिराखेका छन्, कुष्ठरोगीहरू शुद्ध भइराखेका छन्, बहिरा मानिसहरूले सुनिराखेका छन्, मृतकहरू जीवित भइराखेका छन्, र खाँचोमा परेकाहरूलाई सुसमाचार सुनाइँदैछ । 23 मेरा कार्यहरूको कारणले मलाई विश्वास गर्न नछोड्ने त्यो मानिस धन्यको हो । 24 यूहन्नाका समाचार वाहकहरू गइसकेपछि येशूले भीडहरूलाई यूहन्नाको बारेमा बताउन थाल्नुभयो, “तिमीहरू उजाड-स्थानमा के हेर्नलाई गयौ? के बतासले हल्लाएको निगालोलाई? 25 तर के हेर्नलाई तिमीहरू बाहिर निस्क्यौ? नरम लुगा लगाएको एउटा मानिसलाई? हेर, महङ्गा लुगा लाउने र भोगविलासमा जिउनेहरू त राजाका दरबारहरूमा हुन्छन् । 26 तर के हेर्नलाई तिमीहरू बाहिर निस्क्यौ? के एउटा अगमवक्तालाई? हो, म तिमीहरूलाई भन्दछु, र एउटा अगमवक्ताभन्दा पनि महान्लाई । 27 यी तिनै हुन्, जसको बारेमा लेखिएको छ, 'हेर, म मेरा सन्देशवाहकलाई तिम्रो अगि-अगि पठाउँदै छु जसले तिम्रो अगि तिम्रो बाटो तयार पार्नेछ' । 28 म तिमीहरूलाई भन्दछु, 'स्त्रीहरूबाट जन्मेकाहरूमध्येमा यूहन्नाभन्दा महान् कोही छैन । तापनि जो परमेश्वरको राज्यमा सबैभन्दा सानो छ, उनीभन्दा महान् हुन्छ' ।” 29 जब कर उठाउनेहरू लगायत सबै मानिसहरूले यो सुने तब तिनीहरूले परमेश्वर धर्मी हुनुहुन्छ भनी घोषणा गरे, किनभने तिनीहरूले यूहन्नाबाट बप्तिस्मा लिएका थिए । 30 तर फरिसीहरू र व्यवस्थाका पण्डितहरूले आफ्ना निम्ति परमेश्वरको योजनालाई इन्कार गरे, किनभने तिनीहरूले यहून्नाबाट बप्तिस्मा लिएका थिएनन् । 31 "त्यसैले यस पुस्ताका मानिसहरूलाई म केसित तुलना गरूँ? तिनीहरू केजस्ता छन्? 32 तिनीहरू बजारमा बसिरहेका बालबालिकाहरूजस्तै छन्, जसले एक अर्कालाई यसो भन्दै बोलाउँछन्, 'हामीले तिमीहरूका लागि बाँसुरी बजायौं, तर तिमीहरू नाचेनौ । हामीले विलाप गर्यौं, तर तिमीहरू रोएनौ ।' 33 किनकि बप्तिस्मा-दिने यूहन्ना न त रोटी खाँदै आए न दाखमद्य नै पिउदै आए, र तिमीहरू भन्छौ, 'उनलाई भूत लागेको छ' । 34 मानिसका पुत्र खाँदै र पिउँदै आए, र तिमीहरू भन्छौ, 'हेर, एउटा घिचुवा र पियक्कड मानिस, कर उठाउने र पापीहरूका मित्र!' 35 तर बुद्धि तिनका सबै सन्तानहरूद्वारा प्रमाणित भयो ।” 36 अब एक जना फरिसीले येशूलाई आफूसँग भोजन गर्नका लागि निम्तो गर्यो । त्यसैले येशू फरिसीको घरभित्र प्रवेश गर्नुभयो, भोजन खानलाई उहाँ टेबुलमा अडेस लगाएर बस्नुभयो । 37 हेर, त्यस सहरमा एउटी पापी स्त्री थिई । जब त्यसले उहाँ फरिसीको घरमा टेबुलमा अडेस लगाएर बस्नुभएको छ भनी थाहा पाई, त्यसले सिङ्गमरमरको शीशीमा अत्तर ल्याई । 38 जसै त्यो उहाँको पछाडिपट्टि उहाँका पाउ नजिकै रूँदै उभिई, त्यसले आफ्नो आँसुले उहाँका पाउ भिजाउन थाली, र आफ्नो टाउकाको कपालले उहाँको पाउ पुछी र उहाँका पाउमा म्वाइ खाई र त्यो अत्तर घसी । 39 जब येशूलाई बोलाउने फरिसीले यो देख्यो, तिनले यसो भन्दै मनमनै विचार गरे, “यदि यी मानिस एउटा अगमवक्ता भएको भए, को र कस्ती स्त्रीले यिनलाई छोइरहेकी छे भनेर यिनले जान्ने थिए, कि त्यो एउटी पापी स्त्री हो।” 40 येशूले जवाफ दिनुभयो र तिनलाई भन्नुभयो, “सिमोन, मैले तिमीलाई केही भन्नु छ ।” तिनले भने, “गुरुज्यू, भन्नुहोस्!” 41 येशूले भन्नुभयो, “एक जना साहुका दुई जना ऋणीहरू थिए । एउटाले पाँच सय दिनार, र अर्कोले पचास दिनार ऋण लिएका थिए । 42 जब तिनीहरूले तिनलाई तिर्न सकेनन्, तिनले ती दुवै जनालाई माफ गरिदिए । त्यसकारण तिनीहरूमध्ये कुनचाहिंले तिनलाई बढी प्रेम गर्नेछ?” 43 सिमोनले उहाँलाई जवाफ दिए र भने, “मेरो विचारमा जसलाई तिनले बढी माफ गरे ।" येशूले तिनलाई भन्नुभयो, "तिमीले ठिकसित न्याय गरेका छौ।” 44 येशूले स्त्रीतिर फर्कनुभयो र सिमोनलाई भन्नुभयो, “तिमी यस स्त्रीलाई देख्छौ । म तिम्रो घरभित्र प्रवेश गरेको छु । तिमीले मेरा पाउको लागि पानी दिएनौ, तर यसले त मेरा पाउ आफ्नो आँसुले भिजाई, र आफ्नो कपालले ती पुछी । 45 तिमीले मलाई म्वाइँ खाएनौ, तर म भित्र पसेको समयदेखि यसले मेरा पाउमा म्वाइँ खान छोडिन । 46 तिमीले मेरो शिर तेलले अभिषेक गरेनौ, तर यसले मेरा पाउमा अत्तर घसिन् । 47 यसकारण म तिमीलाई भन्दछु, यसका पापहरू जो धेरै थिए, ती क्षमा भएका छन्—किनकि यसले धेरै प्रेम गरेकी छे । तर जसलाई थोरै क्षमा गरिएको छ, त्यसले थोरै नै प्रेम गर्छ ।” 48 तब उहाँले त्यसलाई भन्नुभयो, “तिम्रा पापहरू क्षमा भएका छन् ।” 49 "त्यहाँ एकसाथ अढेस लगाएर बसिरहेकाहरूले एक-अर्कामा भन्न थाले, ‘‘पापहरू क्षमा गर्ने यी को हुन् र? 50 तब येशूले त्यस स्त्रीलाई भन्नुभयो, “तिम्रो विश्वासले तिमीलाई बचाएको छ । शान्तिसँग जाऊ ।”