6

1 अब विश्रामको दिनमा यस्तो भयो कि येशू अन्‍नको खेत भएर जाँदै हुनुहुन्थ्‍यो, र उहाँका चेलाहरूले अन्‍नका बाला टिप्दै, आफ्ना हातमा त्यसलाई माड्दै, र अन्‍न खाँदै थिए । 2 तर केही फरिसीहरूले भने, “किन तिमीहरू विश्रामको दिनमा जे गर्न उचित छैन त्यो गरिरहेका छौ?" 3 तिनीहरूलाई जवाफ दिंदै येशूले भन्‍नुभयो, “दाऊद र तिनीसँग भएका मानिसहरू भोकाएका बेला दाऊदले के गरे भनी तिमीहरूले पढेका छैनौ? 4 तिनी परमेश्‍वरको भवनभित्र पसे र परमेश्‍वरको उपस्थितिको रोटी लिएर केही खाए र आफूसँग भएका मानिसहरूलाई पनि केही खान दिए जुन पूजाहारीहरूले मात्र खान उचित थियो ।” 5 तब उहाँले तिनीहरूलाई भन्‍नुभयो, “मानिसका पुत्र विश्रामको दिनको पनि प्रभु हुन् ।” 6 अर्को विश्रामको दिनमा यसो भयो कि उहाँ सभाघरभित्र जानुभयो र त्यहाँ भएका मानिसहरूलाई शिक्षा दिनुभयो । त्यहाँ दाहिने हात सुकेको एक जना मानिस थियो । 7 उहाँले विश्रामको दिनमा कसैलाई निको पार्नुहुन्छ कि हुन्‍न भनेर शास्‍‍त्रीहरू र फरिसीहरूले नजिकबाट उहाँलाई हेरिरहेका थिए, ताकि तिनीहरूले उहाँलाई दोष लगाउने कारण भेट्टाउन सकून् । 8 तर तिनीहरूले के सोचिरहेका थिए भनी उहाँलाई थाहा थियो, र हात सुकेको मानिसलाई उहाँले भन्‍नुभयो, “उठ र यहाँ सबैका बीचमा खडा होऊ ।” त्यसैले त्यो मानिस उठ्‍यो र त्यहाँ खडा भयो । 9 येशूले तिनीहरूलाई भन्‍नुभयो, “म तिमीहरूलाई सोध्छु, विश्रामको दिनमा असल गर्नु वा खराब गर्नु, प्राण बचाउनु वा नाश गर्नु, कुन उचित हो?” 10 तब उहाँले वरिपरि तिनीहरू सबैलाई हेर्नुभयो र त्यस मानिसलाई भन्‍नुभयो, “तिम्रो हात पसार ।” त्यसले त्यसै गर्‍यो, र त्यसको हात पहिलाको जस्तै भयो । 11 तर तिनीहरू रिसले चूर भए र तिनीहरूले येशूलाई के गर्न सक्छन् भनी एक अर्कामा कुराकानी गरे । 12 ती दिनहरूमा उहाँ डाँडामा प्रार्थना गर्न जानुभयो । उहाँले परमेश्‍वरसँग रातभर निरन्तर प्रार्थना गर्नुभयो । 13 उज्यालो भइसकेपछि उहाँले आफ्‍ना चेलाहरूलाई आफूकहाँ बोलाउनुभयो, र उहाँले तिनीहरूमध्येबाट बाह्र जनालाई चुन्‍नुभयो जसलाई उहाँले “प्रेरित” नाउँ पनि दिनुभयो । 14 प्रेरितहरूका नाउँहरू थिएः सिमोन (जसलाई उहाँले पत्रुस नाउँ पनि दिनुभयो), र तिनका दाजु अन्द्रियास, याकूब, यूहन्‍ना, फिलिप, बारथोलोमाइ, 15 मत्ती, थोमा, अल्फयासका छोरा याकूब, सिमोन जसलाई उग्रपन्थी भनिन्थ्यो, 16 याकूबका छोरा यहूदा, र यहूदा इस्करियोत, जो एक धोकेबाज भयो । 17 त्यसपछि येशू तिनीहरूसँगै डाँडाबाट तल ओर्लनुभयो र उहाँका चेलाहरूको ठुलो भीड र यहूदिया, र यरूशलेम, र सिदोन, र टुरोसको समुद्री तटका मानिसहरूको ठुलो भीडसँग उहाँ एउटा समथर ठाउँमा उभिनुभयो । 18 तिनीहरू उहाँका कुरा सुन्‍न र आ-आफ्ना रोगहरूबाट निको हुनलाई आएका थिए । अशुद्ध आत्माले सताइएका मानिसहरू पनि निको भए । 19 भीडमा भएका सबैले उहाँलाई छुन खोजिरहेका थिए, किनभने निको पार्ने शक्ति उहाँबाट निस्‍किरहेको थियो, र उहाँले तिनीहरू सबैलाई निको पार्नुभयो । 20 तब उहाँले आफ्ना चेलाहरूलाई हेर्नुभयो र भन्‍नुभयो, “धन्य तिमीहरू जो दीन छौ, किनकि परमेश्‍वरको राज्य तिमीहरूकै हो । 21 धन्य तिमीहरू जो अहिले भोकाउँछौ, किनकि तिमीहरू तृप्‍त हुनेछौ । धन्य तिमीहरू जो अहिले रुन्छौ, किनकि तिमीहरू हाँस्‍नेछौ । 22 धन्य हौ तिमीहरू, जब मानिसका पुत्रका खातिर मानिसहरूले तिमीहरूलाई घृणा गर्छन् र तिमीहरूलाई निकालिदिन्छन्, तिमीहरूलाई अपमान गर्छन् र दुष्‍ट ठानी तिमीहरूका नाउँ बहिस्कार गर्छन्, 23 त्यस दिन रमाओ र आनन्दले उफ्र, किनभने स्वर्गमा तिमीहरूको इनाम ठुलो हुनेछ, किनकि तिनीहरूका पुर्खाहरूले पनि अगमवक्‍ताहरूलाई त्यसै गरे । 24 तर धिक्‍कार तिमीहरू जो धनी छौ, किनकि तिमीहरूले आफ्ना सान्त्वना पाइसकेका छौ । 25 धिक्‍कार तिमीहरू जो अहिले तृप्‍त छौ, किनकि तिमीहरू पछि भोकाउनेछौ । धिक्‍कार तिमीहरू जो अहिले हाँस्‍छौ, किनकि तिमीहरू शोक गर्नेछौ र रुनेछौ । 26 धिक्‍कार तिमीहरू जब सबै मानिसहरूले तिमीहरूको असल बोल्‍छन्, किनकि तिनीहरूका पुर्खाहरूले झूटा अगमवक्‍ताहरूलाई पनि त्यसै गरे । 27 तर म तिमीहरूलाई भन्दछु जसले सुनिरहेका छौ, आफ्ना शत्रुहरूलाई प्रेम गर र तिमीहरूलाई घृणा गर्नेहरूको भलाइ गर । 28 तिमीहरूलाई सराप्‍नेहरूलाई आशिष्‌‌ देओ र तिमीहरूलाई दुर्व्यवहार गर्नेहरूका निम्ति प्रार्थना गर । 29 तिम्रो एउटा गालामा जसले हिर्काउँछ त्यसलाई अर्को गाला पनि थापिदेऊ । यदि कसैले तिम्रो खास्‍टो खोस्‍छ भने त्यसलाई दौरा पनि दिन इन्कार नगर । 30 तिमीसँग माग्‍ने सबैलाई देऊ । यदि कसैले तिम्रो केही कुरा लैजान्छ भने त्यससँग त्यो फिर्ता नमाग । 31 मानिसहरूले तिमीहरूलाई जसो गरेको चाहन्छौ, तिमीहरूले पनि तिनीहरूलाई त्यस्तै गर्नुपर्छ । 32 यदि तिमीहरूलाई प्रेम गर्नेहरूलाई मात्र प्रेम गर्छौ भने तिमीहरूलाई के लाभ हुन्छ र? किनकि पापीहरूले पनि आफूहरूलाई प्रेम गर्नेहरूलाई मात्र प्रेम गर्छन् । 33 यदि तिमीहरूलाई असल गर्नेहरूलाई मात्र असल गर्छौ भने तिमीहरूलाई के लाभ हुन्छ र? किनकि पापीहरूले पनि त त्यसै गर्छन् । 34 यदि तिमीहरूले ती मानिसहरूलाई मात्र ऋण दिन्छौ जसबाट तिमीहरूले फिर्ता पाउने आशा गर्छौ भने तिमीहरूलाई के लाभ हुन्छ र? उत्ति नै फिर्ता पाउनलाई पापीहरूले पनि पापीहरूलाई ऋण दिन्छन् । 35 तर आफ्‍ना शत्रुहरूलाई प्रेम गर र तिनीहरूको भलाइ गर । फेरि फिर्ता पाउने आशा नगरीकन ऋण देओ, र तिमीहरूको इनाम ठुलो हुनेछ, अनि तिमीहरू सर्वोच्‍चका छोराहरू हुनेछौ, किनकि उहाँ आफैं अधन्यवादी र दुष्‍टहरूप्रति कृपालु हुनुहुन्छ । 36 तिमीहरूका पिता कृपालु हुनुभएझैं तिमीहरू पनि कृपालु होओ । 37 कसैको न्याय नगर र तिमीहरूको पनि न्याय गरिनेछैन । दोष नलगाओ र तिमीहरूलाई पनि दोष लाग्‍ने छैन । अरूहरूलाई क्षमा देओ र तिमीहरूलाई पनि क्षमा दिइनेछ । 38 देओ, र तिमीहरूलाई पनि दिइनेछ । प्रशस्त परिमाणमा— खाँदी-खाँदी, हल्लाई-हल्लाई, र पोखिने गरी—तिमीहरूका पोल्टामा खन्याउनेछन् । किनकि जुन नापले तिमीहरू नाप्‍तछौ, त्यही नापले तिमीहरूका निम्ति पनि नापिनेछ ।” 39 त्यसपछि उहाँले तिनीहरूलाई एउटा द‍ृष्‍टान्त पनि भन्‍नुभयो, “के एक जना अन्धा मानिसले अर्को अन्धा मानिसलाई डोर्‍याउन सक्छ? त्यसले त्यसो गर्‍यो भने के दुवै जना खाल्डोमा खस्दैनन् र? 40 एउटा चेला आफ्नो गुरुभन्दा महान् हुँदैन, तर हरेकले जब पूरा तालिम प्राप्‍त गर्छ, तब त्यो आफ्नो गुरुजस्तै हुनेछ । 41 तिमीले आफ्‍नो भाइको आँखामा भएको सानो कसिङ्गर किन देख्‍छौ, तर आफ्नै आँखामा भएको मुढाचाहिं किन थाहा पाउँदैनौ? 42 तिमीले आफ्नै आँखामा भएको मुढा देख्दैनौ भने, तिमीले आफ्नो भाइलाई, 'भाइ मलाई तिम्रा आँखामा भएको कसिङ्गर निकाल्न देऊ' भनी कसरी भन्‍न सक्छौ? हे पाखण्डी हो! पहिले तिम्रा आँखाबाट मुढा निकाल, र तब तिमीले आफ्‍नो भाइको आँखामा भएको कसिङ्गर निकाल्न स्पष्‍टसँग देख्‍नेछौ । 43 किनकि कुनै असल रूख छैन जसले कुहिएको फल फलाउँछ, न त कुहिएको रूख छ जसले असल फल फलाउँछ। 44 किनकि प्रत्येक रूख त्यसले फलाउने फलबाट नै चिनिन्छ । किनकि काँडाको झाडीबाट मानिसहरूले अञ्‍जीर बटुल्दैनन्, न त तिनीहरूले काँडे पोथ्राबाट अङ्गुर बटुल्‍छन् । 45 असल मानिसले आफ्नो हृदयको भण्डारबाट असल कुरा निकाल्छ, र खराब मानिसले आफ्नो हृदयको भण्डारबाट खराब कुरा नै निकाल्छ । किनकि त्यसको हृदयको प्रशस्तबाट त्यसले आफ्नो मुखले बोल्छ । 46 तिमीहरू मलाई किन 'प्रभु, प्रभु' भन्छौ, जब कि मैले भनेका कुराहरूचाहिं तिमीहरूले पालन गर्दैनौ? 47 हरेक व्यक्‍ति जो मकहाँ आउँछ र मेरा वचनहरू सुन्छ र ती पालन गर्छ, त्यो कोजस्तो हो भनी म तिमीहरूलाई भन्‍नेछु । 48 त्यो एक जना घर बनाउने मानिसजस्तो हो, जसले जमिनमा गहिरो गरी खन्यो र घरको जग बलियो चट्टानमाथि बसाल्यो । जब बाढी आयो, तब जलप्रवाह त्यस घरमाथि ओइरियो, तर त्यसलाई हल्लाउन सकेन, किनभने त्यो राम्ररी बनाइएको थियो । 49 तर एक जना मानिस जसले मेरा वचनहरू सुन्छ र पालन गर्दैन, त्यो एउटा मानिस जस्तो हो जसले जमिनमाथि जगबिना घर बनायो । जलप्रवाह त्यस घरमाथि ओइरिंदा त्यो तुरुन्तै ढलिहाल्यो र त्यस घरको पूर्णरूपमा विनाश भयो ।