1 जब मानिसहरू येशूको वरिपरि ठेलमठेल गर्दै र परमेश्वरको वचन सुन्दै थिए , येशू गनेसरेतको तालमा उभिरहनुभएको थियो । 2 उहाँले तालको किनारमा दुईवटा डुङ्गा राखिएको देख्नुभयो । मछुवाहरू बाहिर निस्केका र आफ्ना जालहरू धोइरहेका थिए । 3 येशू तीमध्ये एउटा डुङ्गामा चढ्नुभयो जुनचाहिं सिमोनको थियो, र उहाँले तिनलाई जमिनभन्दा पर पानी भएको ठाउँमा त्यसलाई लैजान भन्नुभयो । त्यसपछि उहाँ बस्नुभयो र डुङ्गाबाटै मानिसहरूलाई शिक्षा दिनुभयो । 4 उहाँले बोलिसक्नुभएपछि सिमोनलाई भन्नुभयो, “डुङ्गालाई अझै गहिरो पानीतिर लैजाऊ र माछाहरू समात्नलाई तिम्रा जाल हान ।” 5 सिमोनले जवाफ दिएर भने, “प्रभु, हामीले रातभरि मेहनत गर्यौं, र केहीपनि पक्रन सकेनौं, तरै पनि तपाईं भन्नुहुन्छ भने म जाल हान्नेछु ।” 6 तिनीहरूले यसो गरेपछि तिनीहरूले धेरै सङ्ख्यामा माछाहरू बटुले, र तिनीहरूका जाल फाटिरहेका थिए । 7 त्यसैले तिनीहरूले अर्को डुङ्गाका साथीहरूलाई सहयोग गर्न आउनको लागि इसारा गरे । तिनीहरू आए र दुवै डुङ्गा भरे, जसको कारण ती डुब्न थाले । 8 तर सिमोन पत्रुसले यो देखेर येशूको अगाडि यसो भन्दै घुँडा टेके, “हे प्रभु, मबाट टाढा जानुहोस् किनकि म पापी मानिस हुँ ।” 9 आफूले पक्रेका माछाहरू देखेर तिनी र तिनीसँग भएका सबै जना आश्चर्य चकित भए । 10 त्यसै गरी जब्दियाका छोराहरू याकूब र यूहन्ना पनि चकित भए, जो सिमोनसँग साझेदार थिए । येशूले सिमोनलाई भन्नुभयो, “नडराऊ, किनभने अबदेखि तिमीले मानिसहरू पक्रनेछौ ।” 11 तिनीहरूले आफ्ना डुङ्गालाई जमिनमा ल्याएपछि तिनीहरूले सबै छोडेर उहाँको पछि लागे । 12 जब उहाँ सहरहरूमध्ये एउटामा हुनुहुन्थ्यो, कुष्ठरोगले भरिएको एउटा मानिस त्यहाँ थियो । जब त्यसले येशूलाई देख्यो, त्यो घोप्टो पर्यो र यसो भन्दै उहाँलाई बिन्ती गर्यो, “हे प्रभु, तपाईंले इच्छा गर्नुभयो भने मलाई शुद्ध पार्न सक्नुहुन्छ ।” 13 त्यसपछि येशूले हात पसार्नुभयो र यसो भन्दै त्यसलाई छुनुभयो, “म इच्छा गर्छु । तिमी शुद्ध होऊ ।” अनि तत्कालै कुष्ठरोगले त्यसलाई छोड्यो । 14 उहाँले यो कुरा कसैलाई नभन्नू भनी आज्ञा गर्नुभयो तर त्यसलाई भन्नुभयो, "आफ्नो बाटो लाग र आफैँलाई पूजाहारीकहाँ देखाऊ, र मोशाको व्यवस्थाबमोजिम तिम्रो शुद्धताको लागि तिनीहरूलाई गवाही दिन बलि चढाऊ ।" 15 तर उहाँको विषयमा कुराहरू अझै परसम्म फैलियो, र मानिसका ठुला भीडहरू उहाँको शिक्षा सुन्नलाई र आ-आफ्नो बिमारीपनबाट निको हुनलाई एकसाथ आए । 16 तर उहाँ प्रायः एकान्त ठाउँतिर जानुहुन्थ्यो र प्रार्थना गर्नुहुन्थ्यो । 17 एक दिन उहाँले शिक्षा दिइरहनुभएको बेलामा, त्यहाँ फरिसीहरू र व्यवस्थाका शिक्षकहरू पनि बसिरहेका थिए, जो गालील र यहूदियाका हरेक गाउँबाट अनि यरूशलेमबाट आएका थिए । निको पार्नका लागि उहाँसँग परमप्रभुको शक्ति थियो । 18 अब केही मानिसहरूले एक जना मानिसलाई गुन्द्रीमा बोकेर ल्याए जो पक्षाघती थिए, र तिनीहरूले त्यसलाई येशूको अगाडि राख्नको लागि भित्र ल्याउने बाटो खोजे । 19 भीडको कारणले गर्दा तिनीहरूले त्यसलाई भित्र ल्याउने बाटो पाएनन्, त्यसैले तिनीहरू छानामाथि चढे र त्यस मानिसलाई छानाबाट तल, त्यसको गुन्द्रीमा, मानिसहरूको माझमा, येशूकै अगाडि झारे । 20 तिनीहरूको विश्वासलाई देखेर येशूले भन्नुभयो, “हे मानिस, तिम्रा पाप तिमीलाई क्षमा भएका छन् ।” 21 शास्त्री र फारिसीहरूले यसो भन्दै प्रश्न गर्न थाले, “ईश्वर-निन्दा गर्ने यो को हो? परमेश्वरबाहेक कसले पापको क्षमा दिन सक्छ?” 22 तर येशूले तिनीहरूले के सोचिरहेका थिए भनी जानेर जवाफ दिनुभयो र तिनीहरूलाई भन्नुभयो, “तिमीहरू आफ्ना हृदयमा किन यस्तो प्रश्न गरिरहेका छौ? 23 कुन कुरा भन्न सजिलो छ, ‘तिम्रा पाप तिमीलाई क्षमा भएका छन्' भन्नु कि 'उठ र हिंड' भन्नु? 24 तर तिमीहरूलाई थाहा होस् कि मानिसका पुत्रलाई पृथ्वीमा पाप क्षमा गर्ने अधिकार छ,"—उहाँले त्यस पक्षघातीलाई भन्नुभयो—"म तिमीलाई भन्दछु, उठ, तिम्रो गुन्द्री उठाऊ र आफ्नो घर जाऊ ।” 25 त्यो तुरुन्तै तिनीहरूको सामुन्ने उठ्यो र त्यो सुतिरहेको गुन्द्री उठायो । त्यसपछि त्यो परमेश्वरको महिमा गर्दै आफ्नो घरतर्फ लाग्यो । 26 सबै जना अचम्मित भए, र तिनीहरूले परमेश्वरलाई महिमा दिए । तिनीहरू डरले भरिएर भने, “आज हामीले असाधारण काम देखेका छौं । 27 यी कुराहरू भएपछि येशू त्यहाँबाट जानुभयो र लेवी नाउँ गरेको कर उठाउनेलाई कर उठाउने पालमा बसिरहेको देख्नुभयो । उहाँले तिनलाई भन्नुभयो, “मलाई पछ्याऊ ।” 28 त्यसैले लेवीले सबै थोक छाडेर उठे अनि उहाँलाई पछ्याए । 29 तब लेवीले येशूको निम्ति आफ्नो घरमा एउटा ठुलो भोज दिए । त्यहाँ धेरै जना कर उठाउनेहरू र अरू मानिसहरू थिए, जो टेबुलमा अडेस लगाएर तिनीहरूसँगै खाइरहेका थिए । 30 तर फरिसीहरू र तिनीहरूका शास्त्रीहरूले उहाँका चेलाहरूसँग यसो भन्दै गुनासो गरिरहेका थिए, “तिमीहरू किन कर उठाउनेहरू र पापीहरूसँग खानपिन गर्छौ?” 31 येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “निरोगी मानिसलाई वैद्यको आवश्यकता पर्दैन; तर बिरामीहरूलाई मात्र । 32 म धर्मीहरूलाई होइन, तर पापीहरूलाई पश्चात्तापको निम्ति बोलाउन आएको हुँ ।" 33 तिनीहरूले उहाँलाई भने, “यूहन्नाका चेलाहरू प्रायः उपवास बस्छन् र प्रार्थना गर्छन् अनि फरिसीहरूका पनि त्यसै गर्छन् । तर तपाईंका चेलाहरू खान्छन् र पिउँछन् ।” 34 येशूले तिनीहरूलाई भन्नुभयो, “के कसैले दुलहा जन्तीको साथमा हुँदा तिनीहरूलाई उपवास बस्न लगाउन सक्छ?” 35 तर तिनीहरूबाट दुलहालाई लगिने दिनहरू आउनेछन्, तब तिनीहरू ती दिनहरूमा उपवास बस्नेछन् ।” 36 त्यसपछि येशूले तिनीहरूलाई एउटा दृष्टान्त पनि भन्नुभयो, “कसैले पनि नयाँ कपडाको टुक्रा च्यातेर पुरानो कपडामा टाल्नको लागि प्रयोग गर्दैन । यदि त्यसले त्यसो गर्छ भने त्यसले नयाँ कपडाको टुक्रालाई फटाउनेछ, र त्यो नयाँ कपडाको टुक्रा पुरानो कपडासँग मिल्दैन । 37 कसैले पनि पुरानो मशकमा नयाँ दाखमद्य हाल्दैन । यदि त्यसले त्यसो गर्छ भने नयाँ दाखमद्यले पुरानो मशकलाई फुटाउनेछ र दाखमद्य पोखिनेछ र मशक पनि नष्ट हुनेछ । 38 तर नयाँ दाखमद्य नयाँ मशकमा नै राख्नुपर्छ । 39 पुरानो दाखमद्य पिएर कसैले पनि नयाँ दाखमद्यको चाह गर्दैन, किनकि त्यसले 'पुरानो नै असल छ' भन्छ ।"