4

1 तब येशू पवित्र आत्माले भरिएर यर्दन नदीबाट फर्कनुभयो, अनि आत्माद्वारा उजाड-स्थानमा डोर्‍याइनुभयो, 2 जहाँ उहाँ चालिस दिनसम्म शैतानद्वारा परीक्षामा पर्नुभयो । ती दिनहरूमा उहाँले केही खानुभएन, र त्‍यो समयको अन्त्‍यमा उहाँ भोकाउनुभयो । 3 तब शैतानले येशूलाई भन्यो, “यदि तपाईं परमेश्‍वरका पुत्र हुनुहुन्छ भने यो ढुङ्गालाई रोटी हुन आज्ञा दिनुहोस् ।” 4 येशूले त्यसलाई जवाफ दिनुभयो, “लेखिएको छ, मानिस रोटीले मात्र बाँच्‍दैन ।” 5 त्यसपछि शैतानले उहाँलाई उच्‍च स्थानमा लगेर संसारका सबै राज्यहरूलाई छिनभरमै देखायो । 6 शैतानले उहाँलाई भन्यो, “म यी सबै अधिकार र यिनको गौरव तपाईंलाई दिनेछु, किनकि यी मलाई दिइएको छ, र म जसलाई चाहन्छु यो त्यसलाई दिन सक्छु । 7 यसकारण यदि तपाईंले मलाई दण्डवत् गर्नुभयो र मेरो आराधना गर्नुभयो भने, यी तपाईंकै हुनेछन् ।” 8 तर येशूले जवाफ दिनुभयो र त्‍यसलाई भन्‍नुभयो, “लेखिएको छ, तैंले परमप्रभु आफ्ना परमेश्‍वरको आराधना गर्नू र उहाँको मात्र सेवा गर्नू ।” 9 त्यसपछि शैतानले येशूलाई यरूशलेममा लग्यो र मन्‍दिरको टुप्‍पामा राख्यो र उहाँलाई भन्यो, “यदि तपाईं परमेश्‍वरका पुत्र हुनुहुन्छ भने, यहाँबाट तल हाम्फाल्नुहोस् । 10 किनकि लेखिएको छ, 'तिम्रो रक्षा गर्न उहाँले आफ्ना स्‍वर्गदूतहरूलाई आज्ञा गर्नुहुनेछ,’ 11 'अनि तिनीहरूले तिमीलाई हात हातै थाम्‍नेछन्, ताकि तिम्रो खुट्टा ढुङ्गामा ठोकिने छैन' ।” 12 त्यसलाई जवाफ दिंदै येशूले भन्‍नुभयो, “यस्तो भनिएको छ, तैंले परमप्रभु आफ्ना परमेश्‍वरको परीक्षा नगर्नू ।” 13 शैतानले येशूको परीक्षा गरिसकेपछि त्यो गयो र अर्को समय सम्मको लागि उहाँलाई छोड्‍यो । 14 त्यसपछि आत्माको शक्‍तिमा येशू गालील फर्कनुभयो र उहाँको विषयको खबर वरिपरिका सबै क्षेत्रहरूमा फैलियो । 15 त्यसपछि उहाँले तिनीहरूका सभाघरहरूमा शिक्षा दिन लाग्‍नुभयो र हरेकले उहाँको प्रशंसा गरे । 16 उहाँ नासरतमा आउनुभयो, जहाँ उहाँ हुर्कनुभएको थियो, र उहाँको रीतिअनुसार उहाँ विश्रामको दिनमा सभाघरमा प्रवेश गर्नुभयो र ठुलो स्‍वरमा पढ्‍नलाई खडा हुनुभयो । 17 उहाँलाई यशैया अगमवक्‍ताको चर्मपत्रको मुट्ठो दिइयो । उहाँले चर्मपत्रको मुट्ठो खोल्नुभयो र यो लेखिएको ठाउँ भेट्टाउनुभयो, 18 “परमप्रभुको आत्मा ममाथि छ, किनभने उहाँले मलाई गरिबहरूलाई सुसमाचार सुनाउनको निम्ति अभिषेक गर्नुभयो । उहाँले कैदीहरूलाई छुटकाराको घोषणा गर्न, अन्धाहरूलाई द‍ृष्‍टि दिन, अन्यायमा परेकाहरूलाई स्वतन्‍‍त्रता प्रदान गर्न, 19 र परमप्रभुको निगाहको वर्ष घोषणा गर्न मलाई पठाउनुभएको छ ।” 20 त्यसपछि उहाँले चर्मपत्रको मुट्ठो बन्‍द गर्नुभयो, सेवकलाई फिर्ता गर्नुभयो र बस्‍नुभयो । सभाघरमा भएका सबैको नजर उहाँमाथि पर्‍यो । 21 उहाँले तिनीहरूलाई भन्‍न लाग्‍नुभयो, “आज धर्मशास्‍‍त्रको यो वचन तिमीहरूले सुन्दा सुन्दै पूरा भएको छ ।” 22 त्यहाँ भएका सबैजनाले उहाँको सराहना गरे र उहाँको मुखबाट निस्केको अनुग्रही वचनप्रति तिनीहरू आश्‍चर्य चकित भए, र तिनीहरूले सोधे, “के यिनी योसेफका छोरा होइनन् र?" 23 येशूले तिनीहरूलाई भन्‍नुभयो, “निश्‍चय नै तिमीहरूले मलाई यो उखान भन्‍नेछौ, 'ए वैद्य आफैंलाई निको पार । कफर्नहुममा जे-जति कामहरू तिमीले गर्‍यौ भन्‍ने हामीले सुन्‍यौं, तिम्रो आफ्नो सहरमा पनि त्यस्तै गर' ।” 24 तर उहाँले भन्‍नुभयो, "साँच्‍चै म तिमीहरूलाई भन्दछु, कुनै पनि अगमवक्‍तालाई आफ्नै सहरमा स्वीकार गरिंदैन । 25 तर सत्यतामा म तिमीहरूलाई भन्दछु, तीन वर्ष छ महिनासम्म स्वर्गको ढोका बन्द गरी वृष्‍टि रोकिंदा र सारा भूमीमा ठुलो अनिकाल पर्दा एलियाको समयमा इस्राएलमा धेरै विधवाहरू थिए । 26 तर एलियालाई अरू कसैकहाँ नपठाई सिदोन देशको सारपतमा बस्‍ने विधवाकहाँ पठाइयो । 27 अगमवक्‍ता एलीशाको समयमा इस्राएलमा धेरै कुष्‍ठरोगीहरू थिए, तर सिरियाली नामानबाहेक अरू कोही पनि निको पारिएन । 28 जब सभाघरमा भएका सबै मानिसहरूले यी कुराहरू सुने, तब तिनीहरू रिसले चूर भए । 29 तिनीहरू उठे, उहाँलाई सहरको बाहिर निकाले, र पहाड टाकुरामा बसालिएको तिनीहरूको सहरमा लगे, ताकि तिनीहरूले उहाँलाई टाकुराबाट खसाल्न सकून् । 30 तर उहाँ तिनीहरूका बीचबाट निस्कनुभयो र उहाँ अर्को ठाउँ जानुभयो । 31 त्यसपछि उहाँ गालील सहरको कफर्नहुममा ओर्लनुभयो, र विश्रामको दिनमा उहाँले तिनीहरूलाई शिक्षा दिन थाल्नुभयो । 32 तिनीहरू उहाँको शिक्षामा आश्‍चर्य चकित भए, किनभने उहाँले अधिकारसहित बोल्नुभयो । 33 तब सभाघरमा एक जना अशुद्ध भूतात्मा भएको मानिस त्यहाँ थियो, र त्यो ठुलो स्वरले चिच्यायो, 34 “हे नासरतका येशू, हामीहरूको तपाईंसँग के सरोकार? के तपाईं हामीलाई नाश गर्न आउनुभएको हो? तपाईं को हुनुहुन्छ भनी मलाई थाहा छ—तपाईं परमेश्‍वरका पवित्र जन हुनुहुन्छ!” 35 येशूले दुष्‍टात्मालाई यसो भन्दै हकार्नुभयो, “चुप लाग्! त्यसबाट बाहिर निस्केर आइज!” भूतात्माले त्यसलाई तिनीहरूको बीचमा लडाएपछि त्यो त्यसबाट निस्केर आयो, र त्यसलाई कुनै पनि हानि गरेन । 36 सबै मानिसहरू अति आश्‍चर्य चकित भए, र तिनीहरूले त्यसको बारेमा एक अर्का सित कुराकानी गरिरहे । तिनीहरूले भने, "यी कस्ता वचनहरू हुन्? यिनले अशुद्ध आत्माहरूलाई अधिकार र शक्‍तिसाथ आज्ञा गर्छन् र ती बाहिर निस्केर आउँछन्?” 37 उहाँको विषयमा भएका समाचारहरू वरिपरिका सबै क्षेत्रमा चारैतिर फैलिन लाग्‍यो । 38 त्यसपछि येशू सभाघरबाट निस्कनुभयो र सिमोनको घरमा पस्‍नुभयो । सिमोनकी सासुलाई उच्‍च ज्वरोले सताएको थियो, र तिनीहरूले तिनको निम्ति उहाँसँग बिन्ती गरे । 39 त्यसैले उहाँ तिनको छेउमा उभिनुभयो, र ज्वरोलाई हकार्नुभयो, र त्यसले तिनलाई छोड्‍यो । तिनी तुरुन्तै उठिन् र उहाँहरूको सेवा गर्न थालिन् । 40 सूर्य अस्ताउँदै गर्दा मानिसहरूले धेरै प्रकारका रोग लागेका बिरामीहरू सबैलाई येशूकहाँ ल्याए । उहाँले तिनीहरू हरेकमाथि आफ्नो हात राख्‍नुभयो र तिनीहरूलाई निको पार्नुभयो । 41 तिनीहरूमध्ये धेरैबाट भूतात्माहरू चिच्याउँदै र यसो भन्‍दै बाहिर निस्के, “तपाईं परमेश्‍वरका पुत्र हुनुहुन्छ!” येशूले भूतात्माहरूलाई हकार्नुभयो र तिनीहरूलाई बोल्न दिनुभएन, किनभने उहाँ ख्रीष्‍ट हुनुहुन्थ्यो भनी तिनीहरूलाई थाहा थियो । 42 जब बिहान भयो, उहाँ निस्‍केर एकान्त ठाउँमा जानुभयो । मानिसका भीडहरूले उहाँलाई खोजी राखेको थिए र उहाँ हुनुभएको ठाउँमा आए । तिनीहरूले उहाँलाई तिनीहरूबाट जानदेखि रोक्‍ने कोसिस गरे । 43 तर उहाँले तिनीहरूलाई भन्‍नुभयो, “मैले अरू धेरै सहरहरूमा पनि परमेश्‍वरको राज्यको सुसमाचार प्रचार गर्नैपर्छ, किनभने म यहाँ पठाइनुको कारण यही हो ।” 44 त्यसपछि यहूदियाभरका सभाघरहरूमा उहाँले निरन्तर प्रचार गर्नुभयो ।