1 कैसर तिबेरियसको शासनकालको पन्ध्रौं वर्षमा—जति बेला पन्तियस पिलातस यहूदियाका हाकिम थिए, हेरोद गालीलका शासक, तिनका भाइ फिलिप इतुरिया र त्राखोनितिस क्षेत्रका शासक थिए, र लुसानियास अबिलेनेका शासक थिए । 2 हन्नास र कैयाफा प्रधान पूजाहारी भएको समयमा—जकरियाका छोरा यूहन्नाकहाँ उजाड-स्थानमा परमेश्वरको वचन आयो । 3 तिनी पाप क्षमाका निम्ति पश्चातापको बप्तिस्माको प्रचार गर्दै यर्दन नदी वरपरिका सबै क्षेत्रहरूमा हिंडे । 4 जसरी यशैया अगमवक्ताको वचनको पुस्तकमा लेखिएको छ, “उजाड-स्थानमा एक जना कराउनेको आवाज, 'परमप्रभुको बाटो तयार पार, उहाँका मार्गहरू सोझो बनाओ । 5 हरेक उपत्यका पुरिनेछ, हरेक पहाड र डाँडाहरू समतल पारिनेछ, बाङ्गा बाटाहरू सोझो हुन आउनेछन् र अप्ठेरा बाटाहरू सम्म हुन आउनेछन् । 6 सबै प्राणीहरूले परमेश्वरको उद्धारलाई देख्नेछन् ।” 7 यसकारण यूहन्नाले आफूकहाँ बप्तिस्मा लिन आइरहेका भीडहरूलाई भने, “हे विषालु सर्पका सन्तान हो, कसले तिमीहरूलाई आउँदै गरेको क्रोधबाट भाग्नलाई चेताउनी दियो? 8 यसकारण पश्चात्ताप योग्यका फल फलाओ, र आफ्नो मनमा "हाम्रा पिता त अब्राहाम हुन्" भन्नतिर नलाग, किनकि म तिमीहरूलाई भन्दछु, परमेश्वरले यी चट्टानहरूबाट अब्राहामको निम्ति सन्तान खडा गर्न सक्नुहुन्छ । 9 अहिले रूखहरूको जरामा बन्चरो परिसकेको छ । त्यसैले असल फल नफलाउने हरेक रूख काटिन्छ र आगोमा फालिन्छ ।” 10 तब भीडहरूले यसो भन्दै सोधिरहे, “त्यसो भए हामीले के गर्ने त?” 11 तिनले तिनीहरूलाई जवाफ दिएर भने, “यदि कसैसँग दुई जोर दौरा छन् भने त्यसले नहुने व्यक्तिलाई दिनुपर्छ, र जससँग खानेकुरा छ, त्यसले पनि त्यस्तै गर्नुपर्छ ।” 12 कर उठाउनेहरू पनि बप्तिस्मा लिन आए, र तिनीहरूले तिनलाई भने, “गुरुज्यू, हामीले के गर्नुपर्छ नि?” 13 तिनले तिनीहरूलाई जवाफ दिए, “तिमीहरूलाई उठाउन भनिएको भन्दा बढी पैसा नउठाउनू ।” 14 केही सिपाहीहरूले पनि यसो भन्दै सोधे, “हाम्रो बारेमा नि? हामीले चाहिं के गर्नुपर्छ?” तिनले तिनीहरूलाई भने, “कसैबाट जबरजस्ती पैसा नलेओ र कसैलाई पनि झुटो दोष नलगाओ ।आफ्ना तलबमा नै सन्तुष्ट होओ ।” 15 अब जसै मानिसहरूले ख्रीष्ट आउनुहुन्छ भनेर उत्सुकतासाथ प्रतीक्षा गरिरहेका थिए, सबैले मनमा यूहन्नाको विषयमा, कतै यिनी नै ख्रीष्ट हुन् कि भनेर विचार गरिरहेका थिए । 16 यूहन्नाले सबैलाई यसो भन्दै जवाफ दिए, “म त तिमीहरूलाई पानीले बप्तिस्मा दिन्छु, तर एकजना आउँदै हुनुहुन्छ जो मभन्दा शक्तिशाली हुनुहुन्छ, र म उहाँको जुत्ताको फित्ता फुकाल्न पनि योग्यको छैनँ । उहाँले तिमीहरूलाई पवित्र आत्मा र आगोले बप्तिस्मा दिनुहुनेछ । 17 उहाँको खला राम्ररी सफा गर्न र गहूँलाई उहाँको भण्डारमा जम्मा गर्नलाई उहाँको हातमा निफन्ने नाङ्लो छ । तर उहाँले भुसलाई चाहिं कहिल्यै ननिभ्ने आगोमा जलाउनुहुनेछ । 18 यूहन्नाले मानिसहरूलाई धेरै अर्ती दिंदै सुसमाचार प्रचार गरे । 19 जब शासक हेरोदले आफ्नो भाइकी पत्नी हेरोदियासलाई विवाह गरेको निम्ति र तिनले गरेका अन्य खराबीहरूका निम्ति पनि हप्की पाए, 20 यी सबैमा तिनले यो पनि थपे, कि तिनले यूहन्नालाई जेलमा हाले । 21 जब सबै मनिसहरूले बप्तिस्मा लिए, येशूले पनि बप्तिस्मा लिनुभयो र उहाँले प्रार्थना गरिरहनुहुँदा, स्वर्ग खुल्यो, 22 र पवित्र आत्मा शारीरिक रूपमा ढुकुर जस्तै उहाँमाथि ओर्लनुभयो, र स्वर्गबाट यस्तो आवाज आयो, “तिमी मेरा पुत्र हौ जसलाई म प्रेम गर्छु। म तिमीसँग प्रसन्न छु ।” 23 येशूले आफ्नो सेवकाई सुरु गर्नुहुँदा उहाँ तीस वर्षको हुनुहुन्थ्यो । उहाँ योसेफका छोरा (जस्तो सोचिएको थियो) हुनुहुन्थ्यो, एलीका छोरा योसेफ, 24 मत्तातका छोरा एली, लेवीका छोरा मत्तात, मल्कीका छोरा लेवी, यान्नाका छोरा मल्की, योसेफका छोरा यान्ना थिए । 25 मत्ताथियासका छोरा योसेफ, आमोसका छोरा मत्ताथियास, नहूमका छोरा आमोस, इसलीका छोरा नहूम, नग्गैका छोरा इसली, 26 माथका छोरा नग्गै, मत्ताथियासका छोरा माथ, सेमैनका छोरा मत्ताथियास, योसेखका छोरा सेमैन, योदाका छोरा योसेख थिए । 27 योआनानका छोरा योदा, रेसाका छोरा योआनान, यरुबाबेलका छोरा रेसा, शालतिएलका छोरा यरुबाबेल, नेरीका छोरा शालतिएल, 28 मल्कीका छोरा नेरी, अद्दीका छोरा मल्की, कोसामका छोरा अद्दी, एलमादमका छोरा कोसाम, एर्का छोरा एलमादम, 29 यहोशूका छोरा एर्, एलीएजरका छोरा यहोशू, योरीमका छोरा एलीएजर, मत्तातका छोरा योरीम, लेवीका छोरा मत्तात थिए । 30 शिमियोनका छोरा लेवी, यहूदाका छोरा शिमियोन, योसेफका छोरा यहूदा, योनानका छोरा योसेफ, एल्याकीमका छोरा योनान, 31 मलेआका छोरा एल्याकीम, मिन्नाका छोरा मलेआ, मत्ताथाका छोरा मिन्ना, नातानका छोरा मत्ताथा, दाऊदका छोरा नातान, 32 यिशैका छोरा दाऊद, ओबेदका छोरा यिशै, बोअजका छोरा ओबेद, सल्मोनका छोरा बोअज, नहशोनका छोरा सल्मोन थिए । 33 अम्मीनादाबका छोरा नहशोन, आरामका छोरा अम्मीनादाब, अरनीका छोरा आराम, हेस्रोनका छोरा अरनी, फारेसका छोरा हेस्रोन, यहूदाका छोरा फारेस, 34 याकूबका छोरा यहूदा, इसहाकका छोरा याकूब, अब्राहामका छोरा इसहाक, तेरहका छोरा अब्राहाम, नाहोरका छोरा तेरह, 35 सरूगका छोरा नाहोर रऊका छोरा सरूग, पेलेगका छोरा रऊ, एबेरका छोरा पेलेग, शेलहका छोरा एबेर थिए । 36 केनानका छोरा शेलह, अर्पक्षदका छोरा केनान, शेमका छोरा अर्पक्षद, नोआका छोरा शेम, लेमेखका छोरा नोआ, 37 मतूशेलहका छोरा लेमेख, हनोकका छोरा मतूशेलह, येरेदका छोरा हनोक, महलालेलका छोरा येरेद, केनानका छोरा महलालेल, 38 एनोशका छोरा केनान, शेतका छोरा एनोश, आदमका छोरा शेत, आदम परमेश्वरका छोरा थिए ।