2

1 ती दिनहरूमा कैसर अगस्टसले जगत‍्मा बसोबास गर्ने सारा मानिसहरूको जनगणना गर्नू भनी उर्दी जारी गरे । 2 कुरेनियस सिरियाका हाकिम हुँदा गरिएको यो पहिलो जनगणना थियो । 3 त्यसैले सबै जना जनगणनाको लागि नाउँ दर्ता गर्न आ-आफ्ना सहर गए । 4 योसेफ पनि गालीलको नासरतबाट यहूदियाको बेथलेहेम भन्‍ने दाऊदको सहरमा गए, किनभने तिनी दाऊदको घराना र वंशका थिए । 5 तिनी नाउँ दर्ता गर्न मरियमसँगै त्यहाँ गए, जसको मगनी तिनीसँग भएको थियो र जो गर्भवती थिइन् । 6 तिनीहरू त्यहीं छँदा मरियमले बालक जन्माउने समय आयो । 7 उनले आफ्नो पहिलो छोरो जन्माइन्, र उनले उहाँलाई लामो कपडाले बेह्रेर डूँडमा राखिन्, किनभने तिनीहरूका निम्ति पौवामा ठाउँ थिएन । 8 त्यस इलाकामा भएका गोठालाहरू राती आ-आफ्ना बगालको रखवाली गर्दै चौरमा बसिरहेका थिए । 9 परमप्रभुका एउटा दूत तिनीहरूकहाँ देखा परे, र तिनीहरूका वरिपरि परमप्रभुको महिमा चम्‍क्यो, र तिनीहरू साह्रै भयभीत भए । 10 तब स्वर्गदूतले तिनीहरूलाई भने, “नडराओ, किनभने मैले तिमीहरूकहाँ सुसमाचार ल्याएको छु, जसले सबै मानिसहरूमा ठुलो आनन्द ल्याउनेछ । 11 आज तिमीहरूका निम्ति दाऊदको सहरमा एउटा मुक्‍तिदाताको जन्म भएको छ! उहाँ ख्रीष्‍ट प्रभु हुनुहुन्छ! 12 तिमीहरूलाई यो चिन्‍ह दिइनेछ: तिमीहरूले एउटा बालकलाई कपडाले बेह्रेको र डूँडमा सुतिरहेको भेट्टाउनेछौ ।” 13 एक्‍कासि ती स्वर्गदूतसँग स्वर्गीय सेनाको एउटा ठुलो दल देखा पर्‍यो र तिनीहरूले यसो भन्‍दै परमेश्‍वरको प्रशंसा गरे, 14 “सर्वोच्‍चमा परमेश्‍वरलाई महिमा, र पृथ्वीमा उहाँ प्रसन्‍न हुनुभएका मानिसहरूका बीचमा शान्ति होस् ।" ‍+ केही प्रचीन प्रतिलिपीहरूमा भिन्‍नाभिन्‍दै हिज्जेहरू छन् जसले पद १४ "ख" मा दुई सम्भावित सुझाव दिन्छन्, जसमा दोस्रो बढी रुचाइन्छ । ती सुझावहरू हुन्ः मानिसहरूप्रति सद्‍भाव होस् वा उहाँ (परमेश्‍वर) प्रसन्‍न हुनुभएका मानिसहरूका बीचमा शान्ति होस् । 15 जब स्वर्गदूतहरू तिनीहरूबाट स्वर्ग फर्के, तब गोठालाहरूले एक-अर्कालाई भने, “आओ, हामी बेथलेहेमसम्म जाऔं, र घटेको यो घटना गएर हेरौं जुन परमप्रभुले हामीलाई प्रकट गर्नुभएको छ ।” 16 तिनीहरू हतार-हतार गर्दै त्यहाँ गए, अनि मरियम, योसेफ र डूँडमा सुतिरहेको बालकलाई भेट्टाए । 17 तिनीहरूले उहाँलाई देखेपछि, यस बालकको बारेमा तिनीहरूलाई बताइएका कुरा तिनीहरूले बताए । 18 गोठालाहरूद्वारा भनिएका कुरा सुन्‍नेहरू जति सबै जना आश्‍चर्य चकित भए । 19 तर मरियमले सुनेका यी सबै कुराहरू आफ्नो मनमै राख्दै सोचिरहिन् । 20 गोठालाहरूले आफूहरूलाई भनिएअनुसार आफूहरूले सुनेका र देखेका हरेक कुराका निम्ति परमेश्‍वरलाई महिमा दिंदै र प्रशंसा गर्दै तिनीहरू फर्के । 21 आठौं दिनपछि उहाँको खतना हुँदा उहाँको नाउँ येशू राखियो, जुन नाउँ उहाँ गर्भमा आउनुभन्दा अगि स्वर्गदूतद्वारा उहाँलाई दिइएको थियो । 22 मोशाको व्यवस्थाअनुसार तोकिएका शुद्धिकरणका दिनहरू सकिएपछि, तिनीहरूले उहाँलाई परमप्रभुकहाँ हाजिर गराउन यरूशलेमको मन्दिरमा ल्याए । 23 परमप्रभुको व्यवस्थामा लेखिएझैं “पहिलो जन्मेको प्रत्येक पुरुष परमप्रभुको निम्ति अलग गरिनेछ ।” 24 अनि तिनीहरूले परमप्रभुको व्यवस्थामा भनेअनुसार “एक जोड ढुकुर वा दुईवटा परेवाका बचेरा" बलिदान चढाए ।” 25 हेर, यरूशलेममा एक जना सिमियोन नाउँ गरेका मानिस थिए, र यी मानिस धर्मी र ईश्‍वरभक्‍त थिए । तिनले इस्राएलको सान्त्वनाको प्रतीक्षा गरिरहेका थिए, र पवित्र आत्मा तिनीमाथि हुनुहुन्थ्‍यो । 26 पवित्र आत्माद्वारा तिनलाई यो प्रकट गरिएको थियो कि परमप्रभुका ख्रीष्‍टलाई नदेखेसम्म तिनको मृत्यु हुनेछैन । 27 आत्माको अगुवाइमा शिमियोन मन्दिरभित्र आए । जब व्यवस्था अनुसारको विधि गर्नलाई आमाबुबाले बालक येशूलाई मन्दिरमा ल्याए, 28 तब शिमियोनले उहाँलाई हातमा लिएर परमेश्‍वरको प्रशंसा गरे र तिनले भने, 29 "अब हे परमप्रभु, तपाईंको वचनअनुसार आफ्नो दासलाई शान्‍तिसँग बिदा दिनुहोस् ।" 30 किनकि मेरा आँखाले तपाईंको उद्धारलाई देखेका छन्, 31 जुन तपाईंले सबै मानिसहरूको उपस्थितिमा तयार गर्नुभएको छः 32 अन्यजातिहरूका लागि प्रकाशको निम्ति ज्योति, र इस्राएल, तपाईंका मानिसहरूका लागि महिमा" 33 उहाँका बुबा र आमा 1 उहाँको विषयमा भनिएका कुरामा अचम्मित भए । 34 शिमियोनले तिनीहरूलाई आशीर्वाद दिए र उहाँकी आमा मरियमलाई भने, “हेर, यो बालक इस्राएलमा भएका धेरै मानिसहरूको पतन र उत्थानका निम्ति र अस्वीकार गरिएको चिन्‍हको निम्ति नियुक्‍त गरिएको छ— 35 र तरवारले तिम्रो आफ्नै प्राण छेड्नेछ— ताकि धेरैका हृदयका विचारहरू प्रकट होऊन् ।” 36 त्यहाँ एक जना हन्‍ना नामकी अगमवादिनी थिइन् । तिनी आशेर कुलकी फनुएलकी छोरी थिइन् । तिनी धेरै वृद्ध थिइन् । तिनी विवाहपछि सात वर्षसम्म आफ्ना पतिसँग बसेकी थिइन्, 37 अनि तिनी चौरासी वर्ष विधवा नै रहिन् । तिनले मन्दिर कहिल्यै छोडिनन् तर प्रार्थना र उपवास गर्दै दिनरात सेवा गर्दै थिइन् । 38 त्यही समयमा तिनी तिनीहरूका नजिक आइन् र परमेश्‍वरलाई धन्यवाद चढाउन थालिन्, र यरूशलेमको उद्धार पर्खिरहेका हरेकलाई तिनले बालकको बारेमा बताइन् । 39 परमप्रभुको व्यवस्थाले बताएबमोजिम जब तिनीहरूले सबै काम सिद्धयाए, तिनीहरू आफ्नै सहर गालीलको नासरतमा फर्के । 40 बालक बढ्दै, बलियो हुँदै र बुद्धिमा परिपूर्ण हुँदै जानुभयो, र परमेश्‍वरको अनुग्रह उहाँमाथि थियो । 41 उहाँका आमाबुबा निस्तार-चाडको निम्ति हरेक वर्ष यरूशलेम जान्थे । 42 जब उहाँ बाह्र वर्षको हुनुभयो, उहाँहरू सधैंझैं चाडको निम्ति फेरि जानुभयो । 43 चाडको निम्ति पूरै दिनहरू त्यहाँ बसेपछि उहाँहरू घर फर्कन थाल्नुभयो । तर बालक येशू यरूशलेममा नै रहनुभयो, र उहाँका आमाबुबाले त्यो थाहा पाएनन् । 44 तिनीहरूले उहाँ तिनीहरूसँगै यात्रा गर्ने दलमा हुनुहुन्छ भनी ठाने, त्यसैले तिनीहरूले एक दिनको यात्रा गरे । त्यसपछि तिनीहरूले उहाँलाई नातेदार र साथीहरूको बीचमा खोज्‍न थाले । 45 जब तिनीहरूले उहाँलाई भेट्टाएनन्, तिनीहरू यरूशलेममा फर्के र त्यहाँ उहाँलाई खोज्‍न थाले । 46 तीन दिनपछि तिनीहरूले उहाँलाई मन्दिरमा शिक्षकहरूको बिचमा बसेर तिनीहरूलाई सुन्दै र प्रश्‍न गर्दै गरेको भेट्टाए । 47 जतिले उहाँका कुरा सुने, उहाँको समझशक्‍ति र जवाफमा आश्‍चर्य चकित भए । 48 जब तिनीहरूले उहाँलाई देखे, तब तिनीहरू अचम्मित भए । उहाँकी आमाले उहाँलाई भनिन् “छोरा, तिमीले हामीसँग यस्तो किन गर्‍यौ? हेर! तिम्रा बुबा र मैले कति चिन्तित हुँदै तिमीलाई खोजिरहेका थियौं ।” 49 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तपाईंहरूले मलाई किन खोजिरहनुभएको? म मेरा पिताको घरमा हुनुपर्छ भनेर के तपाईंहरूलाई थाहा थिएन?” 50 तर उहाँले तिनीहरूलाई भन्‍नुभएको कुरा तिनीहरूले बुझेनन् । 51 त्यसपछि उहाँ तिनीहरूसँग आफ्नो घर नासरत फर्कनुभयो र तिनीहरूका आज्ञाकारी भई रहनुभयो । उहाँकी आमाले यी सबै कुरा मनमै राखिन् । 52 तर येशू बुद्धिमा, कदमा र परमेश्‍वर अनि मानिसको निगाहमा निरन्तर बढ्दै जानुभयो ।


1केही प्राचीन ग्रीक प्रतिलिपिहरूमा उहाँका बुबा, योसेफ भनेर खण्डमा राखिएको छ; र केहीमा आमालाई उल्लेख गरिएको छैन । अधिक विश्‍वसनीय प्रतिलिपिहरूमा उहाँका बुबा र आमा छ ।