10

1 अब यी कुराहरूपछि, प्रभुले अरू सत्तरी 1 जनालाई नियुक्‍त गर्नुभयो, र आफू जान लाग्‍नुभएको हरेक सहर र गाउँमा आफूभन्दा अगाडि तिनीहरूलाई दुई-दुई जना गरी पठाउनुभयो । 2 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “फसल त प्रशस्त छ, तर खेतालाहरू थोरै छन् । यसकारण फसलका प्रभुसँग उहाँको फसलमा खेतालाहरूलाई पठाउनको लागि प्रार्थना गर । 3 तिमीहरूको बाटो लाग । हेर, म तिमीहरूलाई ब्वाँसाहरूका बीचमा भेडाका पाठाहरूझैं पठाउँछु । 4 पैसाको थैली, वा यात्राको निम्ति झोला, वा जुत्ता नबोक, र बाटोमा कसैलाई अभिवादन नगर । 5 तिमीहरू जुन घरमा पस्छौ, पहिला यसो भन, “यस घरमा शान्ति होस्!” 6 यदि शान्तिको एउटा मानिस त्यहाँ छ भने, तिमीहरूको शान्ति त्यससँग रहनेछ, तर यदि छैन भने, त्यो तिमीहरूमा नै फर्कनेछ । 7 तिनीहरूले दिएका कुराहरू खादै र पिउँदै त्यही घरमा रहो, किनकि खेताला आफ्नो ज्यालाको योग्य हुन्छ । घर-घरमा नजाओ । 8 तिमीहरू जुन सहरमा जान्छौ, त्यहाँ तिनीहरूले स्वागत गर्छन् भने तिमीहरूका अगि जे राखिएको छ त्यो खाओ 9 र त्यहाँ भएका बिरामीहरूलाई निको पार । तिनीहरूलाई भन, “परमेश्‍वरको राज्य तिमीहरूको नजिक आएको छ ।” 10 जब तिमीहरू सहरमा प्रवेश गर्छौ र तिनीहरूले तिमीहरूलाई स्वागत गर्दैनन् भने, त्यसका सडकहरूमा जाओ र भन, 11 “हाम्रा खुट्टाहरूमा टाँसिएको तिमीहरूको सहरको धुलो समेत हामी तिमीहरूको विरुद्ध टकटकाउँछौं! तर यो जानः परमेश्‍वरको राज्य नजिकै आएको छ ।” 12 म तिमीहरूलाई भन्दछु, न्यायको दिनमा त्यस सहरलाई भन्दा सदोमलाई बढी सहनीय हुनेछ । 13 खोराजीन तँलाई धिक्‍कार छ! बेथसेदा तँलाई धिक्‍कार छ! यदि तिमीहरूमा गरिएका शक्‍तिशाली कामहरू टुरोस र सिदोनमा गरिएका भए, तिनीहरूले अघि नै भाङ्ग्रा र खरानी लगाएर पश्‍चात्ताप गर्ने थिए । 14 तर न्यायको दिनमा तिमीहरूलाई भन्दा टुरोस र सदोमलाई बढी सहनीय हुनेछ । 15 तँ कफर्नहुम, के तँ स्वर्गतिर उचालिनेछस् जस्तो लाग्छ? होइन, तँलाई नर्कमा खसालिनेछ । 16 जसले तिमीहरूलाई सुन्छ, त्यसले मलाई सुन्छ, जसले तिमीहरूलाई इन्कार गर्छ, त्यसले मलाई इन्कार गर्छ, र जसले मलाई इन्कार गर्छ, त्यसले मलाई पठाउनुहुनेलाई इन्कार गर्छ । 17 ती सत्तरी जना आनन्दित भएर यसो भन्दै फर्के, “प्रभु, तपाईंको नाउँमा भूतहरू पनि हाम्रो वशमा आए ।” 18 येशूले तिनीहरूलाई भन्‍नुभयो, “मैले शैतानलाई स्वर्गबाट बिजुलीजस्तै खसेको देखिरहेको थिएँ । 19 हेर, मैले तिमीहरूलाई सर्पहरू र बिच्छीहरूलाई कुल्चने र शत्रुका सबै शक्‍तिमाथि अधिकार दिएको छु, र कुनै कुराले तिमीहरूलाई कुनै पनि तरिकाले हानि पुर्‍याउनेछैन । 20 तथापि आत्माहरू तिमीहरूको वशमा छन् भनेर मात्र नरमाओ, तर तिमीहरूको नाम स्वर्गमा लेखिएका छन् भनेर अझ बढी रमाओ ।” 21 त्यही समय उहाँ पवित्र आत्मामा रमाउनुभयो, र भन्‍नुभयो, “हे पिता, पृथ्वी र स्वर्गका प्रभु, म तपाईंको प्रशंसा गर्छु, किनभने तपाईंले यी कुराहरू बुद्धिमान् र समझदारहरूबाट लुकाउनुभयो र साना बालकहरूजस्ता अन्जानहरूलाई प्रकट गर्नुभयो । हे पिता, किनकि यो नै तपाईंको द‍ृष्‍टिमा असल थियो । 22 सबै कुराहरू पिताबाट मलाई सुम्पिएका छन् र पुत्र को हो भनी पितालेबाहेक कसैले जान्दैन र पिता को हुनुहुन्छ भनी पुत्रले र जसलाई पुत्रले प्रकट गर्ने इच्छा गर्छन्, त्यसले बाहेक कसैले जान्दैन ।” 23 त्यसपछि उहाँ चेलाहरूतिर फर्कनुभयो र गुप्‍तमा भन्‍नुभयो, “तिमीहरूले देखेका कुराहरू देख्‍नेहरू धन्यका हुन् । 24 म तिमीहरूलाई भन्दछु, धेरै अगमवक्‍ताहरू र राजाहरूले तिमीहरूले देखेका कुराहरू देख्‍ने इच्छा गरे, र तिनीरूले ती देखेनन्, र तिमीहरूले सुनेका कुराहरू सुन्‍ने इच्छा गरे, र तिनीरूले ती सुनेनन् ।” 25 हेर, एउटा यहूदी व्यवस्थाका एक शिक्षक खडा भए ताकि तिनले यसो भन्दै उहाँको परीक्षा गर्न सकून् “गुरुज्यू, मैले अनन्त जीवन पाउन के गर्नुपर्छ?” 26 येशूले तिनलाई भन्‍नुभयो, “व्यवस्थामा के लेखिएको छ? तिमीहरू यसलाई कसरी पढ्छौ?” 27 तिनले जवाफ दिए र भने, “तैंले परमप्रभु आफ्ना परमेश्‍वरलाई आफ्ना सारा हृदयले, आफ्ना सारा प्राणले, आफ्ना सारा सामर्थ्यले र आफ्ना सारा मनले प्रेम गर्, अनि आफ्नो छिमेकीलाई आफैंलाई जस्तै प्रेम गर् ।” 28 येशूले तिनलाई भन्‍नुभयो, “तिमीले ठिकसँग जवाफ दिएका छौ । यसै गर र तिमी बाँच्‍नेछौ ।” 29 तर आफैंलाई धर्मी ठहराउने इच्छा गर्दै तिनले येशूलाई भने, “मेरो छिमेकी को हो ?” 30 येशूले जवाफ दिनुभयो र भन्‍नुभयो, "एक जना मानिस यरूशलेमबाट यरीहोतिर जाँदै थियो । त्यो लुटेराहरूको हातमा पर्‍यो, जसले त्यसका सामानहरू लुटे, र त्यसलाई पिटे, अनि त्यसलाई अर्ध-मृत अवस्थामा छोडे । 31 संयोगले एक जना पूजाहारी त्यही बाटो भएर झरिरहेको थियो र जब त्यसले त्यसलाई देख्यो, त्यो अर्को छेउबाट भएर गयो । 32 यसै गरी एक जना लेवी पनि जब त्यस ठाउँमा आइपुग्यो र त्यसलाई देख्यो, त्यो अर्को छेउबाट भएर गयो । 33 तर एक जना सामरी पनि यात्रा गर्दा त्यो भएको ठाउँमा आइपुग्यो । जब उसले त्यसलाई देख्यो, ऊ दयाले भरियो । 34 ऊ त्यसको नजिक गयो र तेल र दाखमद्य लगाएर त्यसको घाउमा पट्टी बाँधिदियो । उसले आफ्नो जनावरमाथि राखेर त्यसलाई धर्मशालामा ल्यायो, र त्यसको हेरचाह गर्‍यो । 35 अर्को दिन उसले दुई दिनार झिकेर धर्मशालाका मालिकलाई दियो र भन्यो, “यसको हेरचाह गर, र तिमीले जेजति थप खर्च गरौला, पछि म फर्कंदा तिमीलाई तिर्नेछु ।” 36 यी तीनजनामध्ये लुटेराहरूको हातमा पर्नेको छिमेकी कुनचाहिं हो जस्तो तिमीलाई लाग्छ?” 37 तिनले भने, “त्यो जसले त्यसलाई दया देखायो ।” येशूले तिनलाई भन्‍नुभयो, “जाऊ र तिमी पनि त्यसै गर ।” 38 अब उहाँहरू यात्रा गरिरहनुहुँदा उहाँ एउटा गाउँमा पस्‍नुभयो, र मार्था नाउँ गरेकी एउटी स्‍‍त्रीले आफ्‍नो घरमा उहाँलाई स्वागत् गरिन् । 39 मरियम नाउँ गरेकी तिनकी एउटी बहिनी थिइन्, जो प्रभुको चरणमा बसेर उहाँका वचन सुन्थिन् । 40 तर मार्था खाना पकाउने काममा अत्ति नै व्यस्त थिइन् । तिनी येशूकहाँ आइन् र भनिन्, “प्रभु, मेरी बहिनीले मलाई काममा एक्लै छोडेको तपाईंलाई वास्‍ता छैन? त्यसकारण मलाई सहायता गर्न त्यसलाई भनिदिनुहोस् ।” 41 तर प्रभुले जवाफ दिनुभयो र तिनलाई भन्‍नुभयो, “मार्था, मार्था, तिमी धेरै कुराको बारेमा चिन्ता र फिक्री गर्छ्यौ, 42 तर एउटा मात्र कुरा आवश्यक छ । मरियमले सबैभन्दा असल कुरा चुनेकी छिन् जुन कुरा तिनीबाट खोसिनेछैन ।”


1प्राचीन उत्कृष्‍ट प्रतिलिपिहरूमा सत्तरी लेखिएको हुन्छ, तर केहीमा बहत्तर लेखिएको हुन्छ ।