11

1 एकदिन कुनै एउटा ठाउँमा येशू प्रार्थना गरिरहनुभएको थियो । उहाँले प्रार्थना गरिसक्‍नुभएपछि उहाँका चेलाहरूमध्ये एक जनाले उहाँलाई भने, “प्रभु, हामीलाई प्रार्थना गर्न सिकाउनुहोस् जसरी यूहन्‍नाले आफ्ना चेलाहरूलाई सिकाए ।” 2 येशूले तिनीहरूलाई भन्‍नुभयो, “जब तिमीहरू प्रार्थना गर्छौ यसो भन्‍नू, ‘हे पिता, तपाईंको नाउँ पवित्र गरियोस् । तपाईंको राज्य आओस् । 3 हामीलाई प्रत्येक दिन हाम्रो दैनिक रोटी दिनुहोस् । 4 हाम्रा पापहरू क्षमा गर्नुहोस्, जसरी हामीले हाम्रा ऋणीहरूलाई क्षमा गरेका छौं । हामीलाई परीक्षामा नडोर्‍याउनुहोस् ।’ 5 येशूले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूमध्ये कसको एक जना मित्र होला, जसकहाँ मध्यरातमा गएर तिनलाई भन्‍नेछ, 'ए मित्र मलाई तीनवटा रोटी सापटी दिनुहोस्, 6 किनकि मेरो एक जना मित्र यात्राबाट मकहाँ आएका छन्, र तिनलाई दिनका लागि मसित केही पनि छैन ।' 7 त्यसपछि भित्रबाट उनलाई जवाफ दिनेले यसो भन्‍न सक्छन्, 'मलाई दिक्क नबनाउनुहोस् । ढोका बन्द भइसकेको छ, र मेरा छोराछोरीहरू मसँगै ओछ‍्यानमा छन् । म उठेर तपाईंलाई रोटी दिन सक्दिनँ ।' 8 म तिमीहरूलाई भन्दछु, तिमीहरू तिनको मित्र भएकोले तिनले उठेर तिमीहरूलाई रोटी नदिए तापनि, बिना लाज लगातार मागिरहेकोले तिनी उठ्नेछन् र तिमीहरूलाई आवश्यक पर्ने जति दिनेछन् । 9 म तिमीहरूलाई भन्दछु, “माग र तिमीहरूलाई यो दिइनेछ; खोज र तिमीहरूले भेट्टाउनेछौ; ढकढक्याऊ, र तिमीहरूका लागि यो उघारिनेछ । 10 किनकि माग्‍ने हरेकले पाउँछ; र खोज्‍ने व्यक्‍तिले भेट्टाउँछ; र ढकढक्याउने व्यक्‍तिका लागि त्यो उघारिनेछ । 11 तिमीहरूमध्ये कुनचाहिं बुबाले आफ्नो छोराले माछा माग्दा, माछाको सट्टा सर्प दिनेछ? 1 12 अथवा त्यसले अण्डा माग्दा, तिमीले त्यसलाई बिच्छी दिनेछ? 13 यसकारण तिमीहरू दुष्‍ट भएर पनि आफ्ना छोराछोरीहरूलाई असल चिजहरू दिन जान्दछौ भने, तिमीहरूका स्वर्गका पिताले उहाँसँग माग्‍नेहरूलाई झन् कति प्रशस्त गरेर पवित्र आत्मा दिनुहुनेछ?” 14 अब येशूले एउटा गूँगोबाट भूतात्मा निकाल्दै हुनुहुन्थ्यो । जब भूतात्मा निस्क्यो, गूँगो बोल्यो, र भीड छक्‍क पर्‍यो । 15 तर केही मानिसहरूले भने, “भूतात्माहरूको शासक बालजिबुलद्वारा त्यसले भूतात्माहरूलाई निकाल्दैछ।” 16 अरूहरूले उहाँको परीक्षा गरे र उहाँबाट स्वर्गबाटको एउटा चिन्‍ह खोजे । 17 तर येशूले तिनीहरूको विचार थाहा पाउनुभयो र तिनीहरूलाई भन्‍नुभयो, "आफ्‍नै विरुद्धमा विभाजित भएको हरेक राज्‍य उजाड पारिन्छ, र आफ्‍नै विरुद्धमा विभाजित भएको घरको पतन हुन्छ । 18 यदि शैतान आफैंमा विभाजित हुन्छ भने त्यसको राज्य कसरी टिक्नेछ? किनकि तिमीहरू भन्छौ कि म बालजिबुलद्वारा भूतात्माहरू धपाउँछु । 19 यदि मैले बालजिबुलद्वारा भूतात्माहरू धपाउँछु भने तिमीहरूका चेलाहरूले कसद्वारा तिनीहरूलाई धपाउँछन्? यसकारण तिनीहरू तिमीहरूका न्याय गर्नेहरू हुनेछन् । 20 तर यदि मैले परमेश्‍वरको औंलाद्वारा भूतात्माहरू निकाल्छु भने परमेश्‍वरको राज्य तिमीहरूमा आएको छ । 21 जब कुनै बलियो मानिसले हातहतियारसहित आफ्नो घरको रक्षा गर्छ, त्यसका सामानहरू सुरक्षित हुन्छन्, 22 तर जब त्यसभन्दा अझ बलियो मानिसले त्यसलाई हराउँछ, त्यस मानिसले भरोसा गरेका हातहतियारहरू त्यो अझ बलियो मानिसले कब्जा गर्छ र त्यस मानिसका धन सम्पत्तिहरू लुट्छ । 23 मसँग नहुने मेरो विरुद्धमा हुन्छ, र मसँगै जम्मा नगर्नेले छरपष्‍ट पार्छ । 24 "जब अशुद्ध आत्मा मानिसबाट निस्केर जान्छ, तब त्यो पानी नभएको ठाउँ भएर जान्छ र आराम गर्न खोज्छ । केही पनि नपाउँदा, त्यसले भन्‍छ, 'म निस्केर आएको मेरै घरमा फर्किजानेछु' । 25 फर्किसकेपछि त्यसले त्यो घर सफासँग व्यवस्थित पारेर राखेको भेट्टाउँछ । 26 त्यसपछि त्यो जान्छ र आफूभन्दा धेरै दुष्‍ट अरू सातवटा भूतात्मालाई साथमा ल्याउँछ र तिनीहरू सबै आएर त्यहाँ बस्‍छन् । त्यसपछि त्यस मानिसको पछिल्‍लो अवस्था पहिलेको भन्दा अझ खराब हुन्छ ।" 27 उहाँले यी कुराहरू भन्‍नुहुँदा, एउटी स्‍‍त्री भीडबाट कराई र उहाँलाई भनी, “त्यो कोख धन्यको हो जसले तपाईंलाई जन्मायो र ती स्तन जसले तपाईंलाई दूध खुवाए ।” 28 तर उहाँले भन्‍नुभयो, “त्योभन्दा पनि तिनीहरू धन्यका हुन् जसले परमेश्‍वरको वचन सुन्छन् र त्यसलाई पालन गर्छन् ।” 29 भीडहरू बढ्दै गर्दा येशूले भन्‍न लाग्‍नुभयो, “यो पुस्ता दुष्‍ट पुस्ता हो । यसले चिन्‍ह खोज्‍छ तर योनाको चिन्‍ह बाहेक यसलाई कुनै चिन्‍ह दिइनेछैन । 30 किनकि जसरी निनवेका मानिसहरूका लागि योना एक चिन्‍ह थिए, त्यसै गरी यो पुस्ताका लागि मानिसका पुत्र पनि एक चिन्‍ह हुनेछन् । 31 दक्षिणकी रानी यस पुस्ताका मानिसहरूसँग न्यायमा उठ्नेछिन् र तिनीहरूलाई दोष लगाउनेछिन्, किनकि तिनी पृथ्वीको पल्लो कुनाबाट सोलोमनको बुद्धि सुन्‍नलाईआइन्, र हेर, सोलोमनभन्दा पनि महान् यहाँ एकजना छ । 32 निनवेका मानिसहरू यस पुस्ताका मानिसहरूसँग न्यायमा उभिनेछन् र यसलाई दोष लगाउनेछन्, किनकि तिनीहरूले योनाको प्रचारमा पश्‍चात्ताप गरे र हेर, योनाभन्दा पनि महान् यहाँ एकजना छ । 33 कसैले बत्ती बालेर गुप्तमा राख्दैन, वा टोकरीमुनि राख्दैन, तर त्यसलाई सामदानमा राख्छ, ताकि भित्र पस्‍नेहरूले उज्‍यालो देखून्। 34 तिम्रो आँखा शरीरको बत्ती हो । तिम्रो आँखा असल छ भने पूरै शरीर उज्यालो हुन्छ । तर तिम्रो आँखा खराब छ भने तिम्रो शरीर पूरै अँध्यारो हुन्छ । 35 त्यसकारण होसियार होऊ, कि तिमीमा भएको उज्यालो अँध्यारो नहोस् । 36 यदि तिम्रो शरीर उज्यालोले पूर्ण छ, र कुनै पनि भाग अँध्यारोमा छैन भने, बत्ती चम्कँदा त्यसको उज्यालो तिमीमाथि परेजस्तै तिम्रो पूरै शरीर त्यस्तै हुनेछ ।" 37 उहाँ बोलिसक्‍नुभएपछि एक जना फरिसीले उहाँलाई आफ्नो घरमा आफूसँग खाना खान बोलाए, त्यसैले येशू भित्र पस्‍नुभयो र टेबुलमा अडेस लगाएर बस्‍नुभयो । 38 खाना खानुभन्दा पहिले येशूले हात नधुनुभएको देखेर ती फरिसी छक्‍क परे । 39 तर प्रभुले तिनीलाई भन्‍नुभयो, “तिमी फरिसीहरू गिलासहरू र कचौराहरूको बाहिर सफा गर्छौ, तर तिमीहरूको भित्रपट्टि लोभ र दुष्‍ट कुराले भरिएको हुन्छ । 40 तिमी मूर्खहरू मानिसहरू! जसले बाहिरको बनायो के त्यसले भित्रको पनि बनाएको होइन र? 41 भित्रका कुराहरूलाई गरिबलाई देओ, र त्यसपछि सबै कुराहरू तिमीहरूका लागि सफा हुनेछन् । 42 तर तिमी फरिसीहरूलाई धिक्‍कार! किनभने तिमीहरूले पुदिना, आरूद र बगैंचाका हरेक जडीबुटीको दशांश दिन्छौ, तर न्याय र परमेश्‍वरको प्रेमलाई बेवास्ता गर्छौ । यी कामहरू पनि गर्न नचुकिकन न्यायपूर्ण व्यवहार गर्न र परमेश्‍वरलाई प्रेम गर्न आवश्यक छ । 43 तिमी फरिसीहरूलाई धिक्‍कार, किनकि तिमीहरूले सभाघरको मुख्‍य-मुख्‍य आसन र बजारहरूमा आदरपूर्ण सलाम लिन रूचाउँछौ । 44 तिमीहरूलाई धिक्‍कार, किनकि तिमीहरू चिन्ह नलगाइएका चिहानहरूजस्ता छौ, जसमाथि मानिसहरू थाहा नपाईकन हिंड्छन् ।” 45 व्यवस्थाका पण्डितहरूमध्ये एकले उहाँलाई भने, “गुरुज्यू, तपाईंले भन्‍नुभएका कुराहरूले हाम्रो पनि अपमान हुन्छ ।” 46 येशूले भन्‍नुभयो, “तिमी व्यवस्थाका शिक्षकहरूलाई धिक्‍कार! किनकि तिमीहरू मानिसहरूमाथि बोक्न नसक्ने भारीहरू लाद‍्दछौ, तर तिमीहरूले आफ्नो एउटा औंलाले पनि ती भारहरू छुँदैनौ । 47 तिमीहरूलाई धिक्‍कार, किनभने तिमीहरू अगमवक्‍ताहरूका निम्ति चिहानहरू बनाउँछौ, र तिनीहरूलाई मार्ने तिमीहरूकै पुर्खाहरू थिए । 48 त्यसैले तिमीहरू साक्षीहरू हौ र तिम्रा पुर्खाहरूका कामहरूमा सहमति जनाउँछौ, किनकि तिनीहरूले साँच्‍चै तिनीहरूलाई मारे र तिमीहरू तिनीहरूका चिहानहरू बनाउँछौ । 49 किनकि यसैकारणले परमेश्‍वरको बुद्धिले भन्छ, 'म तिनीहरूकहाँ अगमवक्‍ताहरू र प्रेरितहरू पठाउनेछु, र तिनीहरूमध्ये कोहीलाई तिनीहरूले सताउनेछन् र मार्नेछन् ।' 50 तब संसारको सुरूदेखि भएको सबै अगमवक्ताहरूको रक्तपातको जिम्मेवार यस पुस्ता हुनेछ, 51 हाबिलको रगतदेखि वेदी र पवित्र स्थानमा मारिएका जकरियाको रगतसम्म । हो, म तिमीहरूलाई भन्दछु, यसको जिम्मेवार यस पुस्ता हुनेछ । 52 तिमी व्यवस्थाका पण्डितहरूलाई धिक्‍कार, किनभने तिमीहरूले ज्ञानको साँचो टाढा लग्‍यौ; तिमीहरू आफैं पनि भित्र पसेनौ, र पस्‍नेहरूलाई पनि तिमीहरूले रोक्यौ । 53 येशू त्यहाँबाट गइसक्‍नुभएपछि शास्‍‍त्रीहरू र फरिसीहरूले उहाँको विरोध गरे र उहाँसँग धेरै कुराहरूमा बहस गरे, 54 र उहाँका आफ्नै वचनहरूमा उहाँलाई फसाउन खोजे ।


1प्राचीन उत्कृष्‍ट प्रतिलिपिहरूमा छोटो गरी लेखिएको छ । केही प्राचीन प्रतिलिपिहरूमा लामो गरी लेखिएको छ, जुन मत्ती ७ः९ मा पनि यसरी लेखिएको पाइन्छः तिमीहरूमध्ये कसले आफ्नो छोराले रोटी माग्दा त्यसलाई ढुङ्गा दिनेछ? वा माछा माग्दा सर्प दिनेछ?