1 त्यसै बेला जब हजारौं हजार मानिस अत्यधिक मात्रामा जम्मा भएको कारण एउटाले अर्कोलाई कुल्चे, तब सबैभन्दा पहिले उहाँले आफ्ना चेलाहरूलाई भन्न लाग्नुभयो, “फरिसीहरूको खमिरदेखि सावधान रहो, जुनचाहिं पाखण्डीपना हो । 2 तर ढाकिएको केही छैन जुन प्रकट हुनेछैन, र लुकेको केही छैन जुन थाहा लाग्नेछैन । 3 त्यसैले तिमीहरूले जे कुराहरू अन्धकारमा भनेका छौ, त्यो ज्योतिमा सुनिनेछ र जे कुरा तिमीहरूले भित्री कोठामा कानमा भनेका छौ, त्यो घरको धुरीबाट घोषणा गरिनेछ । 4 मेरा मित्रहरू, म तिमीहरूलाई भन्दछु, तिनीहरूसँग नडराओ जसले शरीरलाई मार्छन् र त्यसपछि केही गर्न सक्दैनन् । 5 तर कोसँग डराउने भनी म तिमीहरूलाई चेताउनी दिनेछु । त्यो व्यक्तिसँग डराओ जससित मारेपछि नरकमा फालिदिने अधिकार छ । हो, म तिमीहरूलाई भन्दछु, तिनीसित डराओ । 6 के पाँचवटा भङ्गेरा दुई साना सिक्कामा बेचिंदैनन् र? तरै पनि परमेश्वरको दृष्टिमा तीमध्ये एउटै पनि बिर्सिएको हुँदैन । 7 तर तिमीहरूका शिरका सबै केशहरू समेत गणना गरिएका छन् । नडराओ, तिमीहरू धेरै भङ्गेराहरूभन्दा पनि मूल्यवान् छौ । 8 म तिमीहरूलाई भन्दछु, हरेक जसले मानिसहरूका अगि मलाई स्वीकार गर्छ, परमेश्वरका दूतहरूका अगि मानिसका पुत्रले पनि त्यसलाई स्वीकार गर्नेछन्, 9 तर जसले मलाई मानिसहरूका सामु इन्कार गर्छ, परमेश्वरका दूतहरूले पनि त्यसलाई इन्कार गर्नेछन् । 10 हरेक जसले मानिसका पुत्रको विरुद्धमा बोल्छ, त्यसलाई क्षमा गरिनेछ, तर जसले पवित्र आत्माको विरुद्धमा निन्दा गर्छ, त्यसलाई क्षमा गरिनेछैन । 11 जब तिनीहरूले तिमीहरूलाई सभाघरहरू,शासकहरू र अधिकारीहरूको अगि ल्याउनेछन्, तब तिमीहरूले कसरी प्रतिकार गर्ने र के बोल्ने भन्ने बारेमा चिन्तित नहोओ । 12 किनकि पवित्र आत्माले तिमीहरूलाई त्यही घडी के भन्नुपर्ने हो भनी सिकाउनुहुनेछ ।" 13 त्यसपछि भीडबाट एक जनाले उहाँलाई भन्यो, “गुरुज्यू, मेरो दाजुलाई सम्पत्तिको भागबन्डा गर्नू भनी बताइदिनुहोस् ।” 14 येशूले त्यसलाई भन्नुभयो, “हे मानिस, कसले मलाई तिमीहरूमाथि न्यायधीश वा मध्यस्तकर्ता बनायो?” 15 उहाँले तिनीहरूलाई भन्नुभयो, “हेर आफैंलाई सबै लोभी इच्छाबाट अलग राख, किनभने कुनै व्यक्तिको जीवन त्यसको धन सम्पत्तिको प्रशस्ततामा रहँदैन ।” 16 तब येशूले तिनीहरूलाई यसो भन्दै एउटा दृष्टान्त भन्नुभयो, “धनी मानिसको भूमिले प्रशस्त उब्जनी दियो, 17 र त्यसले मनमनै यसो भन्यो, ‘म के गरूँ?, किनभने मेरो अन्न भण्डार गर्ने ठाउँ छैन!‘ 18 त्यसले भन्यो, 'म यसो गर्नेछु । म आफ्ना भकारीहरू भत्काउनेछु र झन् ठुला ठुला बनाउनेछु, र त्यहीं नै मेरा सबै अन्नहरू र अन्य सामग्रीहरू भण्डार गर्नेछु ।’ 19 म मेरो प्राणलाई भन्नेछु, ‘हे प्राण, तेरो लागि प्रशस्तै असल चिजहरू धेरै वर्षको लागि भण्डारण गरिएको छ । आराम गर्, खा, पी र आनन्दित हो ।’ 20 तर परमेश्वरले त्यसलाई भन्नुभयो, ‘मूर्ख मानिस, आजको राती नै तेरो प्राण चाहिएको छ, र तैंले तयार गरेको ती सब चिजहरू कसको हुनेछ?’ 21 आफ्नै लागि धन सम्पत्तिको संचय गरेर राख्ने, र परमेश्वरमा चाहिं धनी नहुने मानिस त्यस्तै हुन्छ ।" 22 येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, “यसकारण म तिमीहरूलाई भन्दछु, आफ्नो जीवनको विषयमा के खाऔंला वा शरीरको विषयमा के पहिरौंला भनी चिन्ता नगर । 23 किनकि जीवन खानेकुराभन्दा र शरीर लुगाभन्दा ठुलो हो । 24 कागहरूलाई विचार गर, तिनीहरूले न त छर्छन् न बटुल्छन् । तिनीहरूका न त भण्डारहरू छन्, न भकारी छन्, तर परमेश्वरले तिनीहरूलाई खुवाउनुहुन्छ । तिमीहरू चराहरूभन्दा कति धेरै मूल्यवान् छौ! 25 र तिमीहरूमध्ये कसले चिन्ता गरेर आफ्नो जीवनको आयुमा एकपल थप्न सक्छ? 26 तिमीहरू यस्तो सानो काम पनि गर्न सक्दैनौ भने अरू कुराको किन चिन्ता गर्छौ? 27 लिली फूलहरूलाई विचार गर—कसरी तिनीहरू बढ्छन् । तिनीहरूले न त परिश्रम गर्छन्, न कात्छन् । तर म तिमीहरूलाई भन्दछु, सोलोमन पनि आफ्ना सबै महिमामा यिनीहरूझैं आभूषित थिएनन् । 28 यदि आज अस्तित्वमा भएको, र भोलि आगोमा फालिने जमिनका घाँसलाई परमेश्वरले आभूषित गर्नुहुन्छ भने, हे अल्प विश्वासी हो, तिमीहरूलाई कति बढी आभूषित गर्नुहुनेछ । 29 तिमीहरू के खाऔंला र के पिऔंला भनी खोजी नगर र चिन्ता नगर । 30 किनकि संसारभरका सबै मानिसहरूले यी कुराहरूको खोजी गर्छन्, र तिमीहरूका पिताले ती सबै तिमीहरूलाई आवश्यक छ भनी जान्नुहुन्छ । 31 तर उहाँको राज्यको खोजी गर, र यी थोकहरू तिमीहरूलाई थपिनेछन् । 32 सानो बगाल हो, नडराओ, किनभने तिमीहरूलाई राज्य दिन तिमीहरूका पिता अति खुसी हुनुहुन्छ । 33 आफ्ना धन सम्पत्ति बेच र गरिबहरूलाई देओ । आफ्ना निम्ति थोत्रो नहुने थैलीहरू बनाओ—स्वर्गमा कहिल्यै नसकिने धन संचय गर, जहाँ चोर नजिक आउँदैन, र किराले हानि पुर्याउँदैन । 34 किनकि जहाँ तिम्रो धन छ, त्यहीं नै तिम्रो मन पनि हुनेछ । 35 तिमीहरूका लामा पोसाक कम्मरको पेटीमा कसिएका, र तिमीहरूका बत्तीहरू बलिरहेका होऊन्, 36 र आफ्नो मालिक विवाहको भोजबाट फर्केर आउने प्रतीक्षामा रहेका मानिसहरूझैं तिमीहरू होओ, जसले मालिक फर्केर आउँदा र ढकढकाउँदा तिनको निम्ति तुरुन्तै ढोका खोलिदिन्छन् । 37 धन्य हुन् ती सेवकहरू, जसलाई तिनीहरूका मालिक फर्केर आउँदा जागा रहेको भेट्टाउनेछन् । साँच्चै म तिमीहरूलाई भन्दछु, कि तिनले लामा पोसाक कम्मरको पेटीमा कस्नेछन् र तिनीहरूलाई टेबुलमा अडेस लगाएर बसाउनेछन्, र तिनी आएर तिनीहरूलाई खाना दिनेछन् । 38 यदि मालिक रातको दोस्रो पहरमा आउँछन् वा तेस्रो पहरमा आउँछन् र तिनीहरूलाई जागा भेट्टाउँछन् भने ती सेवकहरू धन्यका हुन् । 39 तर यो जान, कि यदि घरको मालिकलाई चोर कुन घडी आउँछ भन्ने थाहा भएको भए, तिनले आफ्नो घर फोर्न दिनेथिएनन् । 40 तिमीहरू पनि तयार रहो, किनभने तिमीहरूलाई मानिसका पुत्र कुन घडीमा आउँछन् भन्ने कुरा थाहा छैन ।" 41 पत्रुसले भने, “प्रभु, के तपाईंले यो दृष्टान्त हामीलाई मात्रै भन्नुभएको हो, कि सबैलाई पनि?” 42 प्रभुले भन्नुभयो, “त्यसो भए विश्वासयोग्य र बुद्धिमान् व्यवस्थापक को हो? जसलाई मालिकले आफ्ना सेवकहरूलाई ठिक समयमा खाना दिन खटाएका हुन्छन् । 43 धन्य हो त्यो सेवक, जसलाई त्यसका मालिक फर्कंदा त्यसै गरिरहेको भेट्टाउनेछन् । 44 साँच्चै म तिमीहरूलाई भन्दछु, तिनले आफ्नो सबै सम्पत्तिको हक त्यसलाई दिनेछन् । 45 तर यदि सेवकले आफ्नो हृदयमा 'मेरो मालिक फर्की आउन ढिलो गर्नुहुन्छ' भन्छ र पुरुष तथा स्त्री सेवकहरूलाई कुटपिट गर्न अनि खान, पिउन र दाखमद्यले मात्न लाग्यो भने, 46 त्यस सेवकले नचिताएको दिन र थाहै नभएको घडीमा त्यसका मालिक आउनेछन् र त्यसलाई टुक्रा-टुक्रा गरी काट्नेछन् र अविश्वासीहरूसँग त्यसको लागि एउटा ठाउँ नियुक्त गर्नेछन् । 47 त्यस सेवकले आफ्नो मालिकको इच्छा थाहा हुँदाहुँदै पनि तयार नगरेको वा तिनको इच्छाअनुसार नगरेको कारण त्यसलाई धेरै मुक्का हानिनेछ । 48 तर जसलाई थाहै थिएन र मुक्का पाउने योग्यको काम गर्यो, त्यसलाई थोरै मात्र मुक्काहरू हानिनेछ । तर हरेक जसलाई धेरै दिइएको छ, तिनीहरूबाट धेरै नै लिइनेछ, र जसलाई धेरै जिम्मा दिइएको छ त्यसबाट धेरै नै मागिनेछ । 49 म पृथ्वीमा आगो वर्षाउन आएको हुँ, र यो अघि नै सल्किसकेको होस् भनेर म चाहना गर्छु । 50 तर मैले बप्तिस्मा लिनुपर्ने एउटा बप्तिस्मा छ, र यो पूरा नहुन्जेलसम्म म अति व्याकुल छु । 51 के म पृथ्वीमा शान्ति ल्याउन आएको हुँ भनी तिमीहरू सोच्छौ ? होइन, म तिमीहरूलाई भन्दछु, बरु म विभाजन ल्याउन आएँ । 52 किनकि अब उप्रान्त एउटा घरका पाँच जना विभाजित हुनेछन्—दुई जनाको विरुद्धमा तीन जना, र तीन जनाको विरुद्धमा दुई जना हुनेछन् । 53 तिनीहरू विभाजित हुनेछन्, बुबा छोराको विरुद्धमा, र छोरा बुबाको विरुद्धमा हुनेछ; आमा छोरीको विरुद्धमा , र छोरी आमाको विरुद्धमा, सासू आफ्नी बुहारीको विरुद्धमा, र बुहारी सासूको विरुद्धमा हुनेछे ।" 54 येशूले भीडलाई पनि यसो भनिरहनुभएको थियो, “जब तिमीहरूले पश्चिम दिशामा बादल उठिरहेको देख्छौ र तुरुन्तै तिमीहरू भन्दछौ, ‘वृष्टि हुन्छ' र त्यस्तै हुन्छ । 55 जब दक्षिणी बतास बहन्छ, तिमीहरू भन्छौ, ‘एकदमै गर्मी हुनेछ' र त्यस्तै हुन्छ । 56 पाखण्डीहरू हो, तिमीहरू पृथ्वी र आकाशको रूपको अर्थ लाउन जान्दछौ, तर तिमीहरू वर्तमान समयको अर्थ लाउन किन जान्दैनौ? 57 तिमीहरू आफ्नै लागि कुन कुरा ठिक हो भनेर किन निर्णय गर्दैनौ? 58 तिमी आफ्नो विरोधीसँग न्यायीक अधिकारीकहाँ जाँदा, बाटोमा त्योसँग नै मुद्दा मिलाउने कोसिस गर ताकि त्यसले तिमीलाई न्यायधीशकहाँ नडोर्याओस्, र न्यायधीशले तिमीहरूलाई अधिकारीकहाँ नसुम्पोस्, र अधिकारीले तिमीलाई झ्यालखानामा नहालोस् । 59 म तिमीलाई भन्दछु, “तिमीले आखिरी पैसा चुक्ता नगरेसम्म तिमी कहिल्यै पनि त्यहाँबाट मुक्त भएर आउनेछैनौ ।”