13

1 त्यस बेला त्यहाँ भएका केही मानिसहरूले उहाँलाई गालीलीहरूको बारेमा बताए, जसका रगत पिलातसले तिनीहरूको आफ्नै बलिदानहरूसँग मिसाइदिए । 2 येशूले जवाफ दिनुभयो र तिनीहरूलाई भन्‍नुभयो, “के ती गालीलीहरूले यस्तो शासना भोगेकाले तिनीहरू अरू सबै गालीलीहरूभन्दा पापी थिए भन्‍ने तिमीहरू सोच्छौ? 3 होइन, म तिमीहरूलाई भन्दछु । तर यदि तिमीहरूले पश्‍चात्ताप गरेनौ भने तिमीहरू सबै त्‍यसरी नै नष्‍ट हुनेछौ । 4 वा सिलोआमका ती अठार जना मानिसहरू, जसमाथि धरहरा ढल्यो र तिनीहरूलाई मार्‍यो, के तिमीहरू सोच्छौ कि तिनीहरू यरूशलेमका अरू मानिसहरूभन्दा बढी पापी थिए? 5 म भन्‍दछु, होइन । तर यदि तिमीहरूले पश्‍चात्ताप गरेनौ भने, तिमीहरू सबै पनि यसरी नै नष्‍ट हुनेछौ । 6 येशूले यो द‍ृष्‍टान्त भन्‍नुभयो, “कसैले आफ्नो दाखबारीमा अञ्‍जीर रूख रोपेको थियो र त्यो आयो र त्यसले त्यसमा फल खोज्यो, तर केही पनि पाएन । 7 त्यस मानिसले मालीलाई भन्यो, ‘हेर, म तीन वर्षदेखि आएर यस अञ्‍जीरको रूखमा फल भेट्टाउने कोसिस गरेको छु, तर केही पनि पाइनँ । यसलाई काटेर ढालिदे । यसले जमिन किन ओगट्ने?' 8 मालीले त्यसलाई जवाफ दिएर भन्यो, ‘हजुर, 'यसलाई यो वर्ष रहन दिनुहोस् । म यसको वरिपरि खनेर मल हाल्नेछु । 9 यसले अर्को वर्ष फल फलाउँछ भने, ठिकै छ; तर यदि फलाउँदैन भने त्यसलाई ढालिदिनुहोस्!’” 10 यस बेला येशू विश्रामको दिनमा सभाघरहरूमध्ये एउटामा शिक्षा दिंदै हुनुहुन्थ्यो । 11 हेर, त्यहाँ अठार वर्षदेखि दुर्बलताको आत्मा लागेकी एउटी स्‍‍त्री थिई । त्यो कुप्रो थिई र पूर्ण रूपमा उभिन सक्दिन थिई । 12 जब येशूले त्यसलाई देख्‍नुभयो, उहाँले त्यसलाई बोलाउनुभयो र भन्‍नुभयो, “ए नारी! तिमीले आफ्नो दुर्बलताबाट छुटकारा पायौ ।” 13 उहाँले त्यसमाथि हात राख्‍नुभयो र त्यो तत्कालै सीधा उभिई र परमेश्‍वरको महिमा गरी । 14 तर सभाघरका शासक क्रूद्ध भए, किनभने येशूले विश्रामको दिनमा निको पार्नुभएको थियो । त्यसैले शासकले जवाफ दिए र भीडलाई भने, “काम गर्नको निम्ति छ दिन छन् । ती दिनमा आओ र निको होओ, विश्रामको दिनमा होइन ।” 15 प्रभुले तिनलाई जवाफ दिनुभयो र भन्‍नुभयो, “पाखण्डीहरू हो! के तिमीहरू प्रत्‍येकले विश्रामको दिनमा आफ्ना गोरू कि गधालाई गोठबाट फुकाएर पानी पियाउन लाँदैनौ र? 16 त्यसैले यी अब्राहामकी छोरी पनि, जसलाई अठार वर्षदेखि शैतानले बन्धनमा पारेको छ, के त्यसको बन्धन विश्रामको दिनमा फुकाउनु पर्दैन र?” 17 जब उहाँले यी कुराहरू भन्‍नुभयो, उहाँका विरोध गर्नेहरू सबै लज्‍जित भए, तर सम्पूर्ण भीड उहाँले गर्नुभएका यी सबै महिमामय कार्यहरूमा आनन्दित भए । 18 तब येशूले भन्‍नुभयो, “परमेश्‍वरको राज्य के जस्तो छ, र म यसलाई केसँग तुलना गर्न सक्छु? 19 यो एउटा रायोको बीउजस्तो हो, जसलाई एउटा मानिसले लगेर आफ्नो बारीमा छर्‍यो र यो बढेर एउटा ठुलो बिरुवा भयो र आकाशका चराहरूले यसका हाँगाहरूमा गुँड बनाए ।” 20 उहाँले फेरि भन्‍नुभयो, “परमेश्‍वरको राज्यलाई म केसँग तुलना गर्न सक्छु? 21 यो एउटा खमीरजस्‍तो हो, जसलाई एउटी स्‍‍त्रीले लिई र तीन भाँडो पिठोमा यो सबैतिर नफैलिएसम्म‍ मिसाई ।" 22 तब येशू सहरहरू र गाउँहरूतिर यात्रा गर्दै र शिक्षा दिंदै यरूशलेमतिर जानुभयो । 23 कसैले उहाँलाई भन्यो, “प्रभु, के बचाइने मानिसहरू थोरै मात्र छन्?” त्यसैले उहाँले तिनीहरूलाई भन्‍नुभयो, 24 “साँगुरो ढोका भएर पस्‍ने कोसिस गर, किनभने म तिमीहरूलाई भन्दछु, धेरैले पस्‍न प्रयास गर्नेछन्, तर पस्‍न सक्‍नेछैन । 25 एक पटक घरको मालिक उठेर ढोका थुनेपछि, तिमीहरू बाहिर उभिनेछौ र ढोका ढक्ढक्याउनेछौ र भन्‍नेछौ, ‘प्रभु, प्रभु हामीलाई भित्र आउन दिनुहोस्’। "उनले जवाफ दिनेछन् र तिमीहरूलाई भन्‍नेछन्, ‘‘म तिमीहरूलाई चिन्दिनँ वा तिमीहरू कहाँबाट आएका हौ" 26 तब तिमीहरूले भन्‍नेछौ, ‘हामीले तपाईंको सामुन्‍ने खायौं, पियौं र तपाईंले हाम्रा गल्लीहरूमा शिक्षा दिनुभयो ।’ 27 तर उनले जवाफ दिनेछन्, ‘म तिमीहरूलाई भन्दछु, तिमीहरू कहाँबाट आएका हौ, म चिन्दिनँ । दुष्‍ट काम गर्नेहरू हो, मबाट गइहाल ।’ 28 जब तिमीहरूले अब्राहाम, इसहाक, याकूब र सबै अगमवक्‍ताहरूलाई परमेश्‍वरको राज्यभित्र देख्‍छौ, तर आफैलाई चाहिं बाहिर फालिएको देख्‍छौ, तब त्यहाँ रुवाइ र दाह्रा किटाइ हुनेछ । 29 तिनीहरू पूर्व, पश्‍चिम, उत्तर र दक्षिणबाट आउनेछन् र परमेश्‍वरको राज्यमा टेबुलमा बस्‍नेछन् । 30 यो जान, तिनीहरू जो पछिल्ला छन् पहिला हुनेछन्, र पहिलाचाहिं पछिल्ला हुनेछन् । 31 यस लगत्तै केही फरिसीहरू आए र उहाँलाई भने, “यहाँबाट निस्‍केर गइहाल्‍नुहोस्, किनभने हेरोदले तपाईंलाई मार्न चाहन्छन् ।” 32 येशूले भन्‍नुभयो, “जाऊ र त्यो स्याललाई भन, 'हेर, म आज र भोलि भूतहरू निकाल्छु र निको पार्ने काम गर्छु, र तेस्रो दिन मेरो लक्ष्य पूरा गर्नेछु । 33 तापनि आज, भोलि र पर्सि मैले निरन्तरता दिनु आवश्यक छ, किनभने यरूशलेमबाट टाढामा एउटा अगमवक्‍तालाई मार्नु ग्रहणयोग्य हुँदैन । 34 यरूशलेम, ए यरूशलेम! तँ जो अगमवक्‍ताहरूलाई मार्ने र तँकहाँ पठाइएकाहरूलाई ढुङ्गाले हान्‍ने! जसरी एउटी पोथीले आफ्ना चल्लाहरूलाई पखेटामुनि बटुल्छ, त्यसरी नै कतिपटक मैले तेरा सन्तानहरूलाई बटुल्न इच्छा गरें, तर तैंले त्यो मानिनस् । 35 हेर, तिमीहरूको घर त्यागिएको छ । म तिमीहरूलाई भन्दछु, तिमीहरूले 'परमप्रभुको नाउँ धन्यको हो' नभनेसम्म तिमीहरूले मलाई देख्‍नेछैनौ ।”