14

1 एउटा विश्रामको दिनमा जब उहाँ फरिसीहरूका अगुवाहरूमध्ये एक जनाको घरमा रोटी खान जानुभयो, तिनीहरूले उहाँलाई नजिकबाट हेरिराखेका थिए । 2 हेर, त्यहाँ उहाँको अगाडि एउटा मानिस थियो जो जलग्रह रोगबाट ग्रसित थियो । 3 येशूले यहूदी व्यवस्थाका पण्डितहरू र फरिसीहरूलाई सोध्‍नुभयो, “विश्रामको दिनमा निको पार्नु उचित छ वा छैन?" 4 तर तिनीहरू मौन रहे । त्सैले येशूले त्यसलाई समातेर निको पार्नुभयो र त्यसलाई पठाइदिनुभयो । 5 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूमध्ये कसले आफ्नो छोरा अथवा गोरुलाई विश्रामको दिनमा इनारमा खस्दा तुरुन्तै बाहिर निकाल्दैन?” 6 तिनीहरूले ती कुराहरूको जवाफ दिन सकेनन् । 7 जब येशूले निम्तोमा बोलाइएकाहरूले आदरको आसन छानेको देख्नुभयो, उहाँले तिनीहरूलाई यसो भन्दै एउटा द‍ृष्‍टान्त भन्‍नुभयो, 8 “जब तिमीहरूलाई कसैले विवाह भोजमा निम्तो दिन्छ, आदरको स्थानमा नबस, किनभने तिमीभन्दा अझै आदरको मानिसलाई निम्तो दिएको हुन सक्छ । 9 जब तिमीहरू दुवै जनालाई निम्तो दिने व्यक्ति आउँछ, त्यसले तिमीलाई भन्‍नेछ, ‘तपाईंको स्थान यिनलाई छोडिदिनुहोस्', र लाजकासाथ तिमी तल्लो स्थानमा बस्‍नुपर्ने हुनेछ । 10 तर जब तिमीले निम्तो पाउँछौ, गएर तल्‍लो स्थानमा बस, ताकि तिमीलाई निम्तो दिनले आएर तिमीलाई यसो भन्‍न सक्छ, 'साथी माथिल्लो स्थानमा गएर बस्‍नुहोस्' । तब तिम्रो टेबुलमा बस्‍नेहरूका सबैका बीचमा तिम्रो आदर हुनेछ । 11 किनकि हरेक जसले आफूलाई उचाल्छ, त्यसलाई होच्याइनेछ, र जसले आफूलाई होच्याउँछ त्यो उच्‍च पारिनेछ । 12 येशूले आफूलाई निम्तो दिनेलाई पनि भन्‍नुभयो, “जब तिमीले बिहानको अथवा बेलुकीको भोजमा बोलाउँछौ, तब आफ्ना साथीहरू वा आफ्ना दाजुभाइहरू वा आफ्ना नातेदारहरू वा आफ्ना धनी छिमेकीहरूलाई नबोलाऊ, किनकि तिनीहरूले पनि तिमीलाई त्यसको साटो निम्तो दिन सक्छन् र तिम्रो गुण फेरि तिरिनेछ । 13 तर जब तिमीले भोज दिन्छौ, गरिब, लुला-लङ्गडा, र अन्धाहरूलाई बोलाऊ, 14 र तिमी आशिषित् हुनेछौ, किनभने तिनीहरूले तिम्रो गुण फेरि तिर्न सक्दैनन् । किनकि धर्मीहरूको पुनरुत्थानमा तिम्रो गुण फेरि तिरिनेछ ।” 15 येशूसँगै टेबुलमा बस्‍नेहरूमध्ये एक जनाले जब यी कुराहरू सुन्यो तब त्यसले उहाँलाई भन्यो, “त्यो धन्यको हो जसले परमेश्‍वरको राज्यमा रोटी खानेछ ।” 16 तर येशूले त्यसलाई भन्‍नुभयो, “एक जना मानिसले बेलुकीको ठुलो भोजको तयार गर्‍यो र धेरैलाई निम्तो दियो । 17 जब भोज तयार भयो, त्यसले आफ्नो सेवकलाई निम्तो गरिएकाहरूलाई यसो भन्‍न पठायो, ‘आउनुहोस् सबै कुरा तयार भइसक्यो ।’ 18 तिनीहरू सबैले उस्तै-उस्तै बहाना बनाउन थाले । पहिलोले त्यसलाई भन्यो, ‘मैले एउटा खेत किनेको छु, र मैले गएर त्यो हेर्नुपर्छ । कृपया मलाई माफ गर्नुहोस् ।’ 19 अर्कोले भन्यो, ‘मैले पाँच हल गोरु किनेको छु र मैले तिनीहरूलाई जाँच्‍नु लागेको छु । कृपया मलाई माफ गर्नुहोस् ।’ 20 र अर्को मानिसले भन्यो, ‘मैले पत्‍नी विवाह गरेको छु, यसकारण म आउन सक्दिनँ ।’ 21 त्यो सेवक फर्केर आएर आफ्ना मालिकलाई ती कुराहरू सुनाइदियो, तब त्यस घरका मालिक रिसाए र आफ्नो सेवकलाई भन्यो, ‘सहरका सडकहरू र गल्लीहरूमा छिटो जा, र गरिब, लुला-लङ्गडा, अन्धाहरूलाई यहाँ भित्र ले ।’ 22 तब सेवकले भन्यो, ‘मालिक, तपाईंको आदेशअनुसार सबै कुरा भएको छ, र पनि त्यहाँ अझै ठाउँ बाँकी छ ।’ 23 मालिकले सेवकलाई भन्यो, ‘राजमार्गहरू र गल्लीहरूमा गएर मानिसहरूलाई भित्र आउन कर गर्, ताकि मेरो घर भरिएको होस् । 24 किनकि म तिमीहरूलाई भन्दछु, निम्तो पाएकाहरूमध्ये कसैले पनि मेरो भोज चाख्‍न पाउने छैन ।’" 25 अब ठुला भीडहरू उहाँसँग गइराखेका थिए, र उहाँ फर्कनुभयो र तिनीहरूलाई भन्‍नुभयो, 26 “यदि कोही मेरो पछि आउँछ र आफ्नो बुबा, आमा, पत्‍नी, छोराछोरी, दाजुभाइ र दिदी-बहिनी, र आफ्नै जीवनलाई समेत तुच्छ ठान्दैन भने, त्यो मेरो चेला हुन सक्दैन । 27 जसले आफ्नो क्रूस बोकेर मेरो पछि लाग्दैन, त्यो मेरो चेला हुन सक्दैन । 28 किनकि तिमीहरूमध्ये कसले एउटा धरहरा बनाउने इच्छा गर्दा, पहिला बसेर निर्माण सम्पन्‍न गर्न सक्‍ने रुपियाँ-पैसा छ कि छैन भनेर त्यसको हिसाब गर्दैन? 29 नत्रभने त्यसले जग बसालिसकेपछि निर्माण सम्पन्‍न गर्न सकेन भने, त्यो देख्‍ने सबैले यसो भन्दै त्यसको गिल्ला गर्नेछन्, 30 ‘यस मानिसले निर्माण गर्न त सुरु गर्‍यो तर सिद्धयाउन सकेन ।’ 31 अथवा कुन राजाले आफूसँग भएको दस हजार मानिसका साथ, अर्को बिस हजार मानिससहित आएको राजाको विरूद्ध लडाईं गर्न सक्छु कि सक्दिनँ भनी पहिले बसेर सल्लाह लिंदैन? 32 र यदि सक्दैन भने, अरू सेना टाढै हुँदा त्यसले राजदूत पठाएर शान्तिको शर्त राख्‍छ । 33 यसकारण तिमीहरूमध्ये कसैले आफूसँग भएको सबै कुरा त्याग्दैन भने, त्यो मेरो चेला हुन सक्दैन । 34 नुन असल हो, तर यदि नुनले आफ्नो स्वाद गुमायो भने त्यसलाई कसरी फेरि नुनिलो बनाउने? 35 यो जमिनको लागि काम लाग्दैन वा मलको थुप्रोको लागि पनि । त्यसलाई मिल्काइदिइन्छ । जसको सुन्‍ने कान छ, त्यसले सुनोस् ।”