1 अब सबै कर उठाउनेहरू र पापीहरू उहाँकहाँ वचन सुन्नलाई आउँदै थिए । 2 फरिसीहरू र शास्त्रीहरू दुवै एक-अर्कासँग यसो भन्दै गनगन गरे, “यस मानिसले पापीहरूलाई स्वागत गर्छ र तिनीहरूसँग खान्छ पनि ।” 3 येशूले तिनीहरूलाई यसो भन्दै दृष्टान्त भन्नुभयो, 4 “तिमीहरूमध्ये कुन मानिस होला, जसको सयवटा भेडा छन् र त्यसमध्ये एउटा हराउँदा उनान्सयवटा भेडालाई उजाड-स्थानमा छोडेर हराएको एउटा भेडाको पछि लागेर त्यसलाई नभेट्टाउन्जेल खोज्दैन? 5 त्यसपछि जब उसले भेट्टाउँछ, उसले त्यसलाई आफ्नो काँधमा राख्छ र रमाउँछ । 6 जब ऊ घर आउँछ, उसले आफ्ना साथीहरू र छिमेकीहरूलाई एकसाथ यसो भन्दै बोलाउँछ, ‘मसँग आनन्दित होओ, किनकि मैले मेरो हराएको भेडालाई भेट्टाएको छु ।’ 7 त्यसै गरी म तिमीहरूलाई भन्दछु, उनान्सय जना पश्चात्ताप गर्न नपर्ने धर्मी मानिसहरूभन्दा पश्चात्ताप गर्ने एक जना पापीको खातिर स्वर्गमा ठुलो रमाहट हुनेछ । 8 अथवा कुन स्त्री होली जसका दसवटा चाँदीका सिक्काहरूमध्ये एउटा हराउँदा, बत्ती बालेर, घर बढारेर र सिक्का नभेट्टाइन्जेल दिलोज्यानसाथ खोज्दिन र? 9 अनि त्यसले भेट्टाएपछि त्यसले आफ्ना सबै साथीहरू र छिमेकीहरूलाई एकसाथ यसो भन्दै बोलाउँछे, ‘मसँग रमाओ, किनकि मैले हराएको सिक्का भेट्टाएकी छु ।’ 10 त्यसै गरी म तिमीहरूलाई भन्दछु, एक जना पश्चात्ताप गर्ने पापीका खातिर परमेश्वरका दूतहरूका उपस्थितिमा स्वर्गमा आनन्द हुनेछ ।” 11 त्यसपछि येशूले भन्नुभयो, “एक जना मानिसका दुई जना छोरा थिए, 12 र तिनीहरूमध्ये कान्छाले आफ्नो बुबालाई भन्यो, ‘बुबा मैले पाउनुपर्ने सम्पत्तिको अंश मलाई दिनुहोस् ।’ त्यसैले तिनीहरूका बीचमा तिनले सम्पत्ति बाँडिदिए । 13 धेरै दिन नबित्दै कान्छा छोराले आफ्ना सबै सामानहरू जम्मा गरेर टाढा देशमा गयो, र त्यसले त्यहाँ जथाभावी जिएर आफ्ना सबै रुपियाँ-पैसा खर्च गर्यो । 14 जब त्यसले सबै खर्च गरी सिध्यायो, त्यहाँ देशभरि ठुलो अनिकाल पर्यो, र त्यो खाँचोमा पर्न थाल्यो । 15 त्यो गएर त्यस देशका नागरिकहरूमध्ये एउटाकहाँ काममा लाग्यो जसले त्यसलाई आफ्नो खेतमा सुँगुरहरू चराउन पठायो । 16 सुँगुरहरूले खाने दानाले त्यसले खुसीसाथ खान चाहन्थ्यो किनभने त्यसलाई कसैले केही पनि दिंदैनथियो । 17 तर जब कान्छा छोराको चेत खुल्यो, त्यसले भन्यो, ‘मेरा बुबाका कति धेरै सेवकहरूसँग प्रशस्त खानेकुरा छ, तर म भने यहाँ भोकभोकै मरिरहेको छु! 18 म यस ठाउँलाई छोडेर मेरो बुबाकहाँ जानेछु, र उहाँलाई भन्नेछु, ‘बुबा, मैले स्वर्गको विरुद्धमा र तपाईंको विरुद्धमा पाप गरेको छु । 19 अब उप्रान्त म तपाईंको छोरा भनिने योग्यको छैनँ; मलाई तपाईंका सेवकहरूमध्ये एउटासरह बनाउनुहोस् ।’ 20 तब कान्छो छोराले त्यस ठाउँ छाड्यो र आफ्नो बुबाकहाँ गयो । त्यो टाढै छँदा त्यसका बुबाले त्यसलाई देखे र दयाले भरिएर, र दौडेर अँगालो हालेर म्वाँइ खाए । 21 छोराले तिनलाई भन्यो, ‘बुबा, मैले स्वर्गको विरूद्धमा र तपाईंको विरूद्धमा पाप गरेको छु । अब उप्रान्त म तपाईंको छोरा भनिने योग्यको छैनँ ।’ 22 बुबाले आफ्ना सेवकहरूलाई भने, ‘तुरुन्तै उत्तम वस्त्रहरू ल्याओ र यसलाई लगाइदेओ, यसको हातमा औंठी, र खुट्टामा जुत्ता लगाइदेओ । 23 त्यसपछि मोटो बाछा ल्याओ र त्यसलाई मार । हामी भोज खाएर उत्सव मनाऔं! 24 किनकि मेरो छोरो मरेको थियो, र अब त्यो जीवित भएको छ । त्यो हराएको थियो, र अब त्यो भेट्टाइएको छ ।' अनि तिनीहरूले उत्सव मनाउन सुरु गरे । 25 अब तिनको जेठो छोरो खेतमा थियो । त्यो घरको नजिकै आइपुग्दा त्यसले नाचगानको आवाज सुन्यो । 26 त्यसले सेवकहरूमध्ये एक जनालाई बोलाएर के भइरहेको होला भनेर सोध्यो । 27 सेवकले त्यसलाई भन्यो, तपाईंको भाइ आइपुग्नुभएको छ, र तपाईंको बुबाले मोटो बाछा मार्नुभएको छ, किनभने उहाँ सुरक्षितसाथ फर्कनुभएको छ। 28 जेठो छोरो रिसाएको थियो र भित्र पसेन, र त्यसको बुबा बाहिर गएर त्यसलाई मनाउन थाले । 29 तर जेठो छोरोले जवाफ दियो र त्यसको बुबालाई भन्यो, ‘हेर्नुहोस्, यति धेरै वर्ष मैले तपाईंको सेवा गरे, र मैले कहिल्यै तपाईंको एउटा आज्ञा पनि उल्लङ्घन गरिनँ, र तपाईंले मलाई कहिल्यै मेरा साथीहरूसँग उत्सव मनाउन एउटा पाठो पनि दिनुभएन, 30 तर तपाईंको सम्पत्ति वेश्याहरूसँग सखाप पार्ने छोरो आउँदा चाहिं तपाईंले त्यसको लागि मोटो बाछा मार्नुभयो ।’ 31 बुबाले त्यसलाई भने, ‘छोरा, तँ त मसँग सधैंभरि छस् र मसँग भएका सबै थोक तेरै हुन् । 32 तर हामीले भोज खानु र खुसी हुनु उचित छ, किनकि यो तेरो भाइ मरेको थियो, र अब जीवित भएको छ; र त्यो हराएको थियो, र अब भेट्टाइएको छ ।'”