1 येशूले आफ्ना चेलाहरूलाई पनि भन्नुभयो, “एक जना धनी मानिसको एउटा व्यवस्थापक थियो र त्यस व्यवस्थापकलाई तिनको धन फजुल खर्च गरिरहेको छ भन्ने दोष लागेको थियो । 2 तब ती धनी मानिसले त्यसलाई बोलाएर भने, ‘तेरो बारेमा म यो के सुन्दैछु? तेरो व्यवस्थापनको बारेमा हिसाब दे, किनकि अब उप्रान्त तँ व्यवस्थापक हुन सक्दैनस् ।’ 3 त्यो व्यवस्थापकले आफ्नो मनमा भन्यो, ‘ म के गरूँ? किनकि मेरा मालिकले अब मलाई व्यवस्थापकको कामबाट हटाउँदै छन् । मेरो खन्ने तागत छैन, र मलाई भीख माग्न लाज लाग्छ । 4 मैले के गर्नेछु भन्ने कुरा मलाई थाहा छ, ताकि मलाई व्यवस्थापकको कामबाट हटाइएपछि मानिसहरूले मलाई तिनीहरूका घरमा निम्त्याऊन् ।’ 5 तब त्यस व्यवस्थापकले त्यसका मालिकका ऋणीहरू प्रत्येकलाई बोलायो, र पहिलोलाई सोध्यो, ‘तिमीले मेरा मालिकलाई कति तिर्नु छ? ’ 6 त्यसले भन्यो, ‘एक सय माना जैतूनको तेल ।’ त्यसले त्यसलाई भन्यो, ‘तिम्रो तमसुक लेऊ, तुरुन्तै बसेर पचास लेख ।’ 7 तब त्यस व्यवस्थापकले अर्कोलाई भन्यो, ‘तिम्रोचाहिं ऋण कति छ?’ त्यसले भन्यो, ‘एकसय कोर गहुँ ।’ त्यसले त्यसलाई भन्यो, ‘तिम्रो तमसुक ल्याऊ, र असी लेख ।’ 8 तब ती मालिकले त्यस अधर्मी व्यवस्थापकको प्रशंसा गरे किनभने त्यसले चतुर्याइँसँग काम गरेको थियो । किनकि आफ्ना मानिसहरूसँग व्यवहार गर्दा ज्योतिका सन्तानभन्दा यस संसारका सन्तानहरू बढी चतुर हुन्छन् । 9 म तिमीहरूलाई भन्दछु, अधर्मको धनले तिमीहरूले आफ्ना लागि मित्रहरू बनाओ, ताकि जब त्यो धन सकिन्छ, तिनीहरूले तिमीहरूलाई अनन्त वासस्थानमा स्वागत गरून् । 10 जो अति थोरै कुरामा विश्वासयोग्य हुन्छ, त्यो धेरै कुरामा पनि विश्वासयोग्य हुन्छ र जो अति थोरै कुरामा अधर्मी हुन्छ, त्यो धेरै कुरामा पनि अधर्मी हुन्छ । 11 यदि तिमीहरू अधर्मको धन प्रयोग गर्ने कुरामा विश्वासयोग्य भएका छैनौ भने साँचो धनमा तिमीहरूलाई कसले भरोसा गर्ला र? 12 यदि तिमीहरू अरू मानिसहरूको सम्पत्ति प्रयोग गर्ने कुरामा विश्वासयोग्य भएका छैनौ भने, तिमीहरूको आफ्नै सम्पत्ति तिमीहरूलाई कसले देला र? 13 कुनै पनि सेवकले दुई जना मालिकको सेवा गर्न सक्दैन, किनकि त्यसले एउटालाई घृणा गर्नेछ, र अर्कोलाई प्रेम गर्नेछ अथवा एउटाप्रति भक्ति देखाउनेछ र अर्कोलाई तुच्छ ठान्नेछ । तिमीहरूले परमेश्वर र धनको सेवा गर्न सक्दैनौ ।” 14 अब सम्पत्तिका प्रेमी फरिसीहरूले यी सबै कुरा सुने, र तिनीहरूले उहाँको गिल्ला गरे । 15 उहाँले तिनीहरूलाई भन्नुभयो, “मानिसहरूको दृष्टिमा तिमीहरू आफैंलाई धर्मी ठहर्याउँछौ, तर परमेश्वरले तिमीहरूका हृदयहरू जान्नुहुन्छ । मानिसहरूका माझमा जे उच्च हुन्छ, त्यो परमेश्वरको दृष्टिमा घृणित हुन्छ । 16 यूहन्ना नआउन्जेल व्यवस्था र अगमवक्ताहरूको प्रभाव थियो । त्यस समयदेखि परमेश्वरको राज्यको सुसमाचार प्रचार गरिएको छ, र यसमा सबै जना बलजफ्तीसँग प्रवेश गर्न कोसिस गर्छन् । 17 तर व्यवस्थाको अक्षरको एक मात्रा पनि रद्द हुनुभन्दा स्वर्ग र पृथ्वीलाई बितेर जान बढी सजिलो छ । 18 हरेक जसले आफ्नी पत्नीलाई छोडपत्र दिन्छ र अर्कीसँग विवाह गर्छ, त्यसले व्यभिचार गर्छ, र आफ्नो पतिबाट छोडपत्र पाएकीलाई जसले विवाह गर्छ, त्यसले पनि व्यभिचार गर्छ । 19 अब वैजनी रङ्गको र मसिनो मलमलको वस्त्र पहिरिएको एक जना धनी मानिस थियो, र आफ्नो प्रशस्त धन सम्पत्तिमा हरेक दिन आनन्द गरिरहेको थियो । 20 लाजरस नाम गरेको, घावैघाउ भएको एक जना भिखारीलाई ल्याएर उसको ढोकामा राखिन्थ्यो, 21 र धनी मानिसको टेबुलबाट झरेका टुक्राटाक्रीले आफ्नो पेट भर्ने इच्छा गर्थ्यो । कुकुरहरूले पनि आएर त्यसका घाउहरू चाट्थे । 22 यसपछि त्यो भिखारी मर्यो र स्वर्गदूतहरूद्वारा त्यसलाई उठाएर अब्राहामको छेउमा लगियो । त्यो धनी मानिस पनि मर्यो र गाडियो, 23 र नरकमा कष्ट भोगिरहेको बेला उसले आफ्ना आँखा उठाएर हेर्यो र टाढामा अब्राहामलाई र तिनको छेउमा लाजरसलाई देख्यो । 24 अनि उसले कराएर भन्यो, ‘पिता अब्राहाम, ममाथि कृपा गर्नुहोस् र लाजरसलाई पठाइदिनुहोस्, ताकि त्यसले आफ्नो औंलाको टुप्पा पानीमा चोपेर मेरो जिब्रोलाई शितल पारिदेओस्, किनकि म यस ज्वालामा पीडामा छु ।’ 25 तर अब्राहामले भने, ‘बाबु, याद गर कि तिमीले आफ्नो जीवनकालमा असल कुराहरू पायौ, र त्यसै गरी लाजरसले खराब कुराहरू पायो । तर अहिले त्यो यहाँ आराममा छ, र तिमी पीडामा छौ । 26 यी सबै बाहेक, एउटा ठुलो खाडल राखिएको छ ताकि यताबाट तिमीकहाँ आउन चाहनेहरू आउन नसकून् र त्यहाँबाट हामीहरूकहाँ कोही आउन नसकून् ।’ 27 धनी मानिसले भन्यो, ‘पिता अब्राहाम, म तपाईंलाई बिन्ती गर्छु, तपाईंले त्यसलाई मेरा बुबाको घरमा पठाइदिनुहोस् । 28 किनकि मेरा पाँच जना भाइ छन्—त्यसले तिनीहरूलाई चेताउनी देओस्, ताकि तिनीहरू यस कष्टको ठाउँमा नआउन् ।’ 29 तर अब्राहामले भने, ‘तिनीहरूसँग मोशा र अगमवक्ताहरू छन्; तिनीहरूले उनीहरूका कुरा सुनून् ।’ 30 धनी मानिसले उत्तर दियो, ‘होइन पिता अब्राहाम, यदि मरेकाहरूबाट कोही तिनीहरूकहाँ गयो भने तिनीहरूले पश्चात्ताप गर्नेछन् ।’ 31 तर अब्राहामले उसलाई भने, ‘यदि तिनीहरूले मोशा र अगमवक्ताका कुरा सुन्दैनन् भने कोही मृत्युबाट उठे पनि तिनीहरूले मान्ने छैनन्' ।"