1 येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, “पाप गर्न लगाउने कुराहरू निश्चय नै हुनेछन्, तर त्यस व्यक्तिलाई धिक्कार छ जसद्वारा ती आउँछन्! 2 त्यसले यी सानाहरूमध्ये एक जनालाई ठेस लगाउनुभन्दा त त्यसको घाँटीमा जाँतोको एउटा ढुङ्गा झुन्डाएर त्यसलाई समुद्रमा फालिदिएको भए त्यसको लागि असल हुने थियो । 3 आफ्नो बारेमा होसियार रहो । यदि तिम्रो भाइले पाप गर्छ भने त्यसलाई हप्काऊ, र त्यसले पश्चात्ताप गर्छ भने त्यसलाई क्षमा गर । 4 यदि त्यसले तिम्रो विरुद्धमा दिनमा सात पटकसम्म पाप गर्छ भने, र सातै पटक ‘म पश्चात्ताप गर्छु’ भन्दै तिमीकहाँ फर्की आउँछ भने तिमीले त्यसलाई क्षमा गर्नुपर्छ ।" 5 प्रेरितहरूले प्रभुलाई भने, “हाम्रो विश्वास बढाइदिनुहोस् ।” 6 प्रभुले भन्नुभयो “यदि तिमीसँग रायोको बीउजत्रो विश्वास भएको भए किम्बुको रूखलाई ‘यहाँबाट उखेलिएर समुद्रमा रोपिन जा’ भन्यौ भने त्यसले तिम्रो आज्ञा मान्ने थियो । 7 तर तिमीहरूमध्ये को होला जसको जोत्ने वा भेडा चराउने सेवक खेतबाट आउँदा त्यसलाई 'तुरुन्तै आएर खाना खान बस्' भनी भन्नेछ? 8 के उसले त्यसलाई भन्नेछैन र? 'मेरो लागि केही खानेकुरा तयार पार्, र कम्मरमा पटुका कस् र मैले खानपिन गरी नसकुन्जेल मेरो सेवा गर् । त्यसपछि तैंले खानेछस् र पिउनेछस् ।' 9 उसले आफ्नो सेवकलाई अह्राएअनुसार त्यसले काम गरेको हुनाले, के उसले त्यसलाई धन्यवाद दिन्छ र? 10 त्यसरी नै जब तिमीहरूले पनि आफूलाई अह्राएको सबै कुराहरू गरिसकेका हुन्छौ, तब तिमीहरूले 'हामी अयोग्य सेवकहरू हौं । हामीले त आफूले गर्नुपर्ने कुरा मात्र गरेका छौं' भनी भन्नुपर्छ ।” 11 अब येशू यरूशलेमतिर यात्रा गर्नुहुँदा उहाँ सामरिया र गालीलको बीचबाट भएर जानुभयो । 12 उहाँ एउटा गाउँमा पस्नुहुँदा, त्यहाँ दस जना कुष्ठरोग लागेका मानिसहरूले उहाँलाई भेटे । तिनीहरू उहाँबाट टाढा उभिए 13 र तिनीहरूले यसो भन्दै आफ्ना स्वर उचाले, “येशू गुरुज्यू, हामीमाथि दया गर्नुहोस् ।” 14 जब उहाँले तिनीहरूलाई देख्नुभयो, उहाँले भन्नुभयो, “जाओ र आफैंलाई पूजाहारीहरूकहाँ देखाओ ।" तिनीहरू जाँदाजाँदै शुद्ध भए । 15 तिनीहरूमध्ये एक जनाले आफू निको भएको देखेर चर्को स्वरले परमेश्वरको महिमा गर्दै फर्कियो । 16 त्यो येशूलाई धन्यवाद दिंदै उहाँको चरणमा घोप्टो पर्यो । त्यो एक सामरी थियो । 17 तब येशूले भन्नुभयो, “के दस जना शुद्ध भएका होइनन्? नौ जना कहाँ छन्? 18 के यो परदेशीबाहेक फर्केर परमेश्वरलाई महिमा दिने अरू कोही भएनन् ? 19 उहाँले त्यसलाई भन्नुभयो, “उठ, र जाऊ । तिम्रो विश्वासले तिमीलाई निको पारेको छ ।” 20 परमेश्वरको राज्य कहिले आउँछ भनी फरिसीहरूले सोध्दा येशूले तिनीहरूलाई जवाफ दिनुभयो र भन्नुभयो, “परमेश्वरको राज्य देखिने गरी आउँदैन, 21 न त तिनीहरूले ‘हेर, यहाँ छ!' वा 'त्यहाँ छ!’ भन्नेछन् । किनकि हेर, परमेश्वरको राज्य तिमीहरूकै माझमा छ ।” 22 उहाँले चेलाहरूलाई भन्नुभयो, “ती दिनहरू आउँदैछन् जब तिमीहरूले मानिसका पुत्रका दिनहरूमध्ये कुनै एक दिन हेर्ने इच्छा गर्नेछौ तर तिमीहरूले त्यो देख्नेछैनौ । 23 तब तिनीहरूले तिमीहरूलाई ‘हेर, त्यहाँ छ!' वा 'हेर, यहाँ छ!’ भन्नेछन् । तर तिमीहरू बाहिर नजाओ वा तिनीहरूका पछि पछि नदौड, 24 किनकि जसरी बिजुली आकाशको एउटा कुनाबाट अर्को कुनामा चम्कँदा उज्यालो हुन्छ मानिसका पुत्र पनि आफ्नो दिनमा त्यस्तै हुनेछन् । 25 तर उनी पहिले विभिन्न थोकहरूबाट सताइनुपर्छ र यो पुस्ताद्वारा अस्वीकार गरिनुपर्छ । 26 जस्तो नोआका दिनहरूमा भयो, मानिसका पुत्रका दिनहरूमा पनि त्यस्तै हुनेछ । 27 नोआ जहाजभित्र नपसुन्जेलसम्म तिनीहरूले खाए, पिए, र विवाह गरे र तिनीहरूलाई विवाहमा दिइयो—र बाढी आयो र तिनीहरू सबैलाई नाश गर्यो । 28 लोतका दिनहरूमा पनि त्यस्तै भयो—तिनीहरू खाँदै र पिउँदै, किन्दै र बेच्दै, रोप्दै र निर्माण गर्दै थिए । 29 तर त्यो दिन जब लोत सदोम छोडेर गए, आकाशबाट आगो र गन्धक बर्सियो र तिनीहरू सबैलाई नष्ट गर्यो । 30 मानिसका पुत्र प्रकट हुने दिनमा पनि त्यस्तै हुनेछ । 31 त्यस दिनमा घरको माथिल्लो तल्लामा हुनेले आफ्नो घरभित्रको मालमत्ता लिनको लागि तल नआओस्, र कोही खेतमा छ भने त्यो नफर्कोस् । 32 लोतकी पत्नीलाई सम्झ । 33 जसले आफ्नो प्राण बचाउन खोज्छ त्यसले त्यो गुमाउनेछ, तर जसले आफ्नो प्राण गुमाउँछ त्यसले त्यो बचाउनेछ । 34 म तिमीहरूलाई भन्दछु, त्यस रात दुई जना मानिस एउटै खाटमा हुनेछन् । एक जना लगिनेछ, र अर्को छोडिनेछ । 35 दुईजना स्त्रीहरू एकैसाथ पिंधिरहेका हुनेछन् । एक जना लगिनेछ, र अर्को छोडिनेछ । 36 1 37 तिनीहरूले उहाँलाई सोधे, “कहाँ प्रभु?” उहाँले तिनीहरूलाई भन्नुभयो, “जहाँ सिनो हुन्छ, त्यहाँ गिद्धहरू पनि एकसाथ जम्मा हुन्छन् ।”