18

1 तब तिनीहरूले कसरी सधैं प्रार्थना गर्नुपर्छ र निरुत्साहित हुनुहुँदैन भन्‍ने बारेमा उहाँले तिनीहरूलाई यसो भन्दै द‍ृष्‍टान्त भन्‍नुभयो, 2 “कुनै एउटा सहरमा एक जना न्यायाधीश थिए जसले परमेश्‍वरको भय मान्दैनथे र मानिसको आदर गर्दैनथे । 3 त्यस सहरमा एक जना विधवा थिई, र त्यो तिनीकहाँ यसो भन्दै बारम्बार आउँथिई, ‘मेरो वादीको विरुद्ध न्याय पाउन मलाई सहायता गर्नुहोस् ।’ 4 लामो समयसम्म तिनले त्यसलाई सहायता गर्न मानेनन्, तर केही समयपछि तिनले मनमनै भने, ‘म परमेश्‍वरको भय मान्दिनँ वा मानिसको पनि आदर गर्दिनँ, 5 तर यस विधवाले मलाई हैरान पारेकी हुनाले यसले न्याय पाउन म सहायता गर्नेछु, ताकि यसले मलाई बारम्बार आएर दिक्क नपारोस् ।" 6 तब प्रभुले भन्‍नुभयो, “ती अधर्मी न्यायाधीशले के भन्छन्, सुन । 7 के परमेश्‍वरले पनि उहाँलाई दिनरात पुकारा गर्ने आफ्ना चुनिएका मानिसहरूको निम्ति न्याय गरिदिनुहुन्‍न र? के उहाँले तिनीहरूको निम्ति लामो समय बियाँलो गर्नुहुनेछ? 8 म तिमीहरूलाई भन्दछु, उहाँले तिनीहरूलाई तुरुन्तै न्याय दिलाउनुहुनेछ । तर जब मानिसका पुत्र आउनेछन्, के उनले पृथ्वीमा विश्‍वास भेट्टाउनेछन् र?” 9 त्यसपछि उहाँले आफू धर्मी छु भनी आफैंलाई विश्‍वस्त तुल्याउनेहरू र अरू मानिसहरूलाई तुच्छ ठान्‍नेहरू कोही-कोहीलाई यो द‍ृष्‍टान्त पनि भन्‍नुभयो, 10 “दुई जना मानिस मन्दिरमा प्रार्थना गर्न उक्ले–एक जना फरिसी र अर्को कर उठाउने । 11 फरिसी उभियो र आफ्नो बारेमा यसरी प्रार्थना गर्‍यो, ‘हे परमेश्‍वर, म तपाईंलाई धन्यवाद दिन्छु कि म अरू मानिसहरू—चोरहरू, अधर्मीहरू, व्यभिचारीहरू—वा यही कर उठाउनेजस्तो पनि छैनँ । 12 म हरेक हप्‍ता दुई पटक उपवास बस्छु । म आफूले पाएका सबै थोकको दशांश दिन्छु ।’ 13 तर कर उठाउने मानिसले टाढैबाट उभिएर, स्वर्गतिर पनि नहेरीकन यसो भन्दै आफ्नो छाती पिट्‍यो, ‘हे परमेश्‍वर म पापीमाथि कृपा गर्नुहोस् ।’ 14 म तिमीहरूलाई भन्दछु, यो मानिस अर्को मानिसभन्दा धर्मी ठहरिएर आफ्नो घर फर्क्यो, किनभने हरेक जसले आफूलाई उचाल्छ त्यो होच्याइनेछ, तर हरेक जसले आफैंलाई होच्याउँछ त्यो उचालिनेछ । 15 उहाँले बालबालिकाहरूलाई छोइदिऊन् भनी मानिसहरूले तिनीहरूलाई पनि उहाँकहाँ ल्याए, तर यो देखेर चेलाहरूले तिनीहरूलाई हकारे । 16 तर येशूले तिनीहरूलाई यसो भन्दै आफूकहाँ बोलाउनुभयो, “साना बालबालिकाहरूलाई मकहाँ आउन देओ, र तिनीहरूलाई नरोक। किनकि परमेश्‍वरको राज्य यस्तैहरूको हो । 17 साँच्‍चै म तिमीहरूलाई भन्दछु, जसले परमेश्‍वरको राज्यलाई बालकले झैं ग्रहण गर्दैन त्यो कुनै रीतिले त्यहाँ प्रवेश गर्नेछैन ।” 18 एक जना शासकले यसो भन्दै उहाँलाई सोधे, “हे असल गुरु, अनन्त जीवन प्राप्‍त गर्न मैले के गर्नुपर्छ?” 19 येशूले तिनलाई भन्‍नुभयो, “तिमी मलाई किन असल भन्छौ, एक परमेश्‍वरबाहेक कोही पनि असल छैन । 20 तिमीलाई आज्ञाहरू थाहा छ—व्यभिचार नगर्नू, हत्या नगर्नू, नचोर्नू, झूटो गवाही नदिनू, आफ्ना आमाबुबाको आदर गर्नू ।” 21 ती शासकले भने, “यी सब कुराहरू त मैले आफ्नो जवान अवस्थादेखि नै पालन गरेको छु ।” 22 जब येशूले यो सुन्‍नुभयो, उहाँले तिनलाई भन्‍नुभयो, “तिमीमा अझै एउटा कुराको कमी छ । तिमीले आफ्नो सारा सम्पत्ति बेच्‍नुपर्छ र गरिबहरूलाई बाँड्‍नुपर्छ अनि तिम्रो धन स्वर्गमा हुनेछ—र आऊ, मेरो पछि लाग ।” 23 तर जब शासकले यी कुराहरू सुने, तिनी अति नै दुःखित भए, किनकि तिनी धेरै धनी थिए । 24 तब येशूले तिनलाई हेरेर दुःखित हुँदै 1 भन्‍नुभयो, “धनीहरूलाई परमेश्‍वरको राज्यमा प्रवेश गर्न कति गाह्रो छ! 25 किनकि धनी मानिसलाई परमेश्‍वरको राज्यमा प्रवेश गर्नुभन्दा बरु ऊँटलाई सियोको नाथ्रीबाट छिर्नु सजिलो हुन्छ ।” 26 त्यो सुन्‍नेहरूले भने, “त्यसो भए को बचाइनेछ त?” 27 येशूले जवाफ दिनुभयो, “मानिसको निम्ति जुन कुरा असम्भव छ, त्यो परमेश्‍वरमा सम्भव छ ।” 28 पत्रुसले जवाफ दिए, “हेर्नुहोस्, हामीले आफ्ना सबै कुराहरू त्यागेर तपाईंको पछि लागेका छौं ।” 29 तब येशूले तिनीहरूलाई भन्‍नुभयो, “साँच्‍चै म तिमीहरूलाई भन्दछु, जसले परमेश्‍वरको राज्यको खातिर घर, वा पत्‍नी, वा दाजुभाइ, वा आमाबुबा, वा छोराछोरीलाई त्यागेको छ, 30 त्यसले यस संसारमा अझ धेरै, अनि आउने संसारमा अनन्त जीवन पाउनेछ ।” 31 उहाँले बाह्र जनालाई आफूकहाँ भेला गरेपछि तिनीहरूलाई भन्‍नुभयो, “हेर, हामी यरूशलेमतर्फ जाँदैछौं, र मानिसका पुत्रको बारेमा अगमवक्‍ताहरूले लेखेका सबै कुरा पूरा हुनेछन् । 32 किनकि उनी अन्यजातिहरूका हातमा सुम्पिइनेछन्, र गिल्ला गरिनेछन्, र अपमान गरिनेछन्, र थुकिनेछन् । 33 उनलाई कोर्रा लगाएपछि तिनीहरूले उनलाई मार्नेछन्, र तेस्रो दिनमा उनी फेरि जीवित भई उठ्नेछन् ।” 34 तिनीहरूले यी कुनै पनि कुराहरू बुझेनन्, र यो वचन तिनीहरूबाट लुकाइएको थियो, र भनिएका कुनै पनि कुराहरू तिनीहरूले बुझेनन् । 35 येशू यरीहो नजिक आउनुहुँदा एक जना अन्धो मानिस बाटोको छेउमा बसेर भीख मागिरहेको थियो, 36 र एउटा भीड गइरहेको सुनेर के हुँदैछ भनी त्यसले सोध्यो । 37 तिनीहरूले नासरतका येशू जाँदै हुनुहुन्छ भनी त्यसलाई भने । 38 त्यसैले त्यो अन्धो मानिस यसो भन्दै चिच्यायो, “हे दाऊदका पुत्र येशू, ममाथि दया गर्नुहोस् ।” 39 अगिअगि हिंडिरहेकाहरूले त्यो अन्धो मानिस चूप लागोस् भनेर त्यसलाई हकारे । तर त्यो झन् चर्को स्वरले करायो, “हे दाऊदका पुत्र, ममाथि दया गर्नुहोस् ।” 40 येशू टक्‍क अडिनुभयो र त्यस मानिसलाई आफूकहाँ ल्याउन आज्ञा गर्नुभयो । जब त्यो अन्धो मानिस येशूको नजिक आयो, येशूले त्यसलाई सोध्‍नुभयो, 41 “मैले तिम्रो निम्ति के गरेको तिमी चाहन्छौ?” त्यसले भन्यो, “प्रभु, म देख्‍न चाहन्छु ।” 42 येशूले त्यसलाई भन्‍नुभयो, “तिमी देख्‍ने भइजाऊ । तिम्रो विश्‍वासले तिमीलाई निको पारेको छ ।” 43 तुरुन्तै त्यसले देख्‍न सक्यो र परमेश्‍वरको महिमा गर्दै उहाँलाई पछ‍्‍यायो । यो देखेर सबै मानिसहरूले परमेश्‍वरको प्रशंसा गरे ।


1अधिकांश प्राचीन ग्रीक प्रतिलिपिहरूमा निम्‍न पदावली छः दुःखित हुँदै तर केही प्राचीन ग्रीक प्रतिलिपिहरूमा उक्त पदावली छैन ।