19

1 येशू यरीहोमा प्रवेश गरेर त्यहाँबाट जाँदै हुनुहुन्थ्यो । 2 हेर, त्यहाँ जखायस नाउँ गरेका एक जना मानिस थिए । तिनी कर उठाउनेहरूका मुख्य र धनी मानिस थिए । 3 तिनले येशू को हुनुहुन्छ भनी हेर्न कोसिस गरिरहेका थिए, तर भीडको कारणले गर्दा हेर्न सकेनन्, किनकि तिनी होचा थिए । 4 त्यसैले तिनी मानिसहरूभन्दा अगाडि दौडे र उहाँलाई हेर्नको लागि नेभाराको रूखमा चढे, किनभने येशू त्यही बाटो भएर जान लाग्‍नुभएको थियो । 5 जब येशू त्यस ठाउँमा आइपुग्‍नुभयो, उहाँले मास्तिर हेरेर तिनलाई भन्‍नुभयो, “जखायस छिटो ओर्ली आऊ, किनकि आज मलाई तिम्रो घरमा बस्‍नु छ ।” 6 त्यसैले तिनी हतार-हतार ओर्ली आए र उहाँलाई खुसीसाथ स्वागत गरे । 7 जब तिनीहरू सबैले यो देखे, तब तिनीहरूले यसो भन्दै गनगन गरे, “उनी पापी मानिसकहाँ बस्‍नको लागि गए ।” 8 जखायस खडा भएर प्रभुलाई भने, “हेर्नुहोस् प्रभु, म आफ्‍नो सम्पत्तिको आधा भाग गरिबहरूलाई दिन्छु, र यदि मैले ठगेर कसैबाट केही कुरा लिएको छु भने म त्यसको चार गुणा फिर्ता दिनेछु ।” 9 येशूले तिनलाई भन्‍नुभयो, “आज यस घरमा मुक्‍ति आएको छ, किनभने यिनी पनि अब्राहामका छोरा हुन् । 10 किनकि मानिसका पुत्र हराएकाहरूलाई खोज्‍न र बचाउनको लागि आएका हुन् ।” 11 तिनीहरूले यी कुरा सुन्दै गर्दा उहाँ निरन्तर बोल्‍नुभयो र एउटा द‍ृष्‍टान्त भन्‍नुभयो, किनभने उहाँ यरूशलेमको नजिक हुनुहुन्थ्यो, र तिनीहरूले परमेश्‍वरको राज्य तुरुन्तै देखा पर्न लागेको छ भन्‍ने सोचे । 12 त्यसकारण उहाँले भन्‍नुभयो, “एउटा खानदानी मानिस आफ्नो निम्ति राज्य प्राप्‍त गर्न र फर्कनलाई एउटा टाढा देशमा गए । 13 तिनले आफ्ना दस जना सेवकलाई बोलाए र तिनीहरूलाई दस सिक्‍का दिए र तिनीहरूलाई भने, ‘म फर्की नआउँदासम्म यसलाई व्यापारमा लगाओ ।’ 14 तर तिनका नागरिकहरूले तिनलाई घृणा गर्थे र तिनीहरूले तिनका पछिपछि दूतहरूलाई यसो भन्दै पठाए, ‘यो मानिसलाई हामीमाथि शासन गर्न दिनेछैनौं ।’ 15 तब तिनीले राज्य प्राप्‍त गरेर फेरि फर्केर आएपछि तिनले सिक्‍का दिएका सेवकहरूलाई आफूकहाँ बोलाउन आदेेश दिए, ताकि तिनीहरूले व्यापारबाट कति नाफा कमाए भनेर तिनले जान्‍न सकून् । 16 पहिलो सेवक तिनको अगाडि यसो भन्दै आयो, ‘मालिक, मैले तपाईंको सिक्‍काबाट अरू दस सिक्‍का कमाएको छु ।’ 17 ती खानदानी मानिसले त्यसलाई भने, ‘स्याबास् असल सेवक । किनभने तँ अति सानो कुरामा विश्‍वासयोग्य भइस्, तैंले दसवटा सहरमाथि अधिकार पाउनेछस् ।’ 18 दोस्रो सेवक यसो भन्दै आयो, ‘मालिक, तपाईंको सिक्‍काबाट मैले पाँच सिक्‍का कमाएको छु ।’ 19 ती खानदानी मानिसले त्यस सेवकलाई भने, ‘तैंले पाँचवटा सहरमाथि अधिकार गर्नेछस् ।’ 20 अर्को सेवक यसो भन्दै आयो, ‘मालिक हेर्नुहोस्, तपाईंको सिक्‍का यहाँ छ, जसलाई मैले सुरक्षितसाथ कपडाभित्र राखेको थिएँ । 21 किनकि म तपाईंसित डराएँ, किनभने तपाईं कठोर मानिस हुनुहुन्छ । तपाईंले जे राख्‍नुभएन त्यो लिनुहुन्छ, र जे छर्नुभएन त्यही कटनी गर्नुहुन्छ ।’ 22 ती खानदानी मानिसले त्यसलाई भने, ‘ए दुष्‍ट सेवक, म तँलाई तेरो आफ्नै वचनले न्याय गर्नेछु । जहाँ राखिनँ त्यहाँबाट लिन खोज्‍ने र जहाँ छरिनँ त्यहाँबाट कटनी गर्न खोज्‍ने म कठोर मानिस हुँ भनी तँलाई थाहा थियो । 23 त्यसो भए तैंले मेरो सिक्‍का किन बैङ्कमा राखिनस्, ताकि म फर्की आउँदा ब्याजसहित मैले यो रकम पाउने थिएँ?' 24 ती खानदानी मानिसले त्यहाँ उभिएकाहरूलाई भने, ‘योसँग भएको सिक्‍का खोस, र जससँग दस सिक्‍का छ त्यसलाई देओ ।’ 25 तिनीहरूले तिनलाई भने, ‘मालिक त्यससँग त दस सिक्‍का छ ।’ 26 ‘म तिमीहरूलाई भन्दछु, जससँग छ त्यसलाई अझ धेरै दिइनेछ, तर जससँग छैन त्यससँग भएको पनि खोसिनेछ । 27 तर मैले तिनीहरूमाथि शासन गरेको नचाहने मेरा ती शत्रुहरूलाई यहाँ ल्याओ र तिनीहरूलाई मेरो अगाडि मार ।'” 28 यी कुराहरू भनिसक्‍नुभएपछि उहाँ यरूशलेमतर्फ बढ्नुभयो । 29 बेथफागे र बेथानिया नजिक जैतून भनिने डाँडातिर पुग्‍नुभएपछि उहाँले आफ्ना दुई जना चेलालाई यसो भनेर पठाउनुभयो, 30 “नजिकैको गाउँमा जाओ । त्यहाँ पस्दै गर्दा, तिमीहरूले कोही पनि नचढेको एउटा बछेडो भेट्टाउनेछौ । त्यसलाई फुकाओ र मकहाँ ल्याओ । 31 यदि कसैले तिमीहरूलाई, ‘यसलाई किन फुकाउँदै छौ?’ भनेर सोध्छ भने यसो भन्‍नू, ‘प्रभुलाई यसको खाँचो छ ।'” 32 पठाइएकाहरू गए र तिनीहरूले येशूले भन्‍नुभएजस्तै बछेडो पाए । 33 तिनीहरूले बछेडालाई फुकाल्दै गर्दा त्यसका मालिकले तिनीहरूलाई भने, “तिमीहरूले यस बछेडालाई किन फुकाउँदै छौ?” 34 तिनीहरूले भने, “प्रभुलाई यसको खाँचो छ ।” 35 तिनीहरूले त्यसलाई येशूकहाँ ल्याए र तिनीहरूले त्यस बछेडामाथि आफ्ना कपडाहरू राखे र त्यसमाथि येशूलाई बसाले । 36 उहाँ जाँदै गर्नुहुँदा तिनीहरूले बाटोमा कपडा ओछ्याए । 37 उहाँ जैतून डाँडाको ओरालो नजिकै आइपुग्‍नुहुँदा उहाँका चेलाहरूको सारा भीडले उहाँले गर्नुभएका शक्‍तिशाली कार्यहरू देखेको कारण आनन्दित हुँदै चर्को स्वरले परमेश्‍वरको प्रशंसा गर्न लागे । 38 तिनीहरूले यसो भन्‍न लागे, “परमप्रभुको नाउँमा आउने राजा धन्यका हुन्! स्वर्गमा शान्ति र सर्वोच्‍चमा महिमा!” 39 त्यो भीडमा भएका केही फरिसीहरूले उहाँलाई यसो भने, “गुरुज्यू, तपाईंका चेलाहरूलाई हप्काउनुहोस् ।” 40 येशूले जवाफ दिंदै भन्‍नुभयो, “म तिमीहरूलाई भन्दछु, तिनीहरू चूप लागे भने, यी ढुङ्गाहरू नै कराउनेछन् ।” 41 जब येशू सहरको नजिक आइपुग्‍नुभयो, उहाँ सहरलाई देखेर यसो भन्दै रुनुभयो, 42 “यदि तैंले यो दिनमा तँलाई शान्ति दिने कुराहरूको बारेमा जानेको भए! तर अहिले ती तेरो नजरबाट लुकाइएका छन् । 43 किनकि तेरो लागि यस्ता दिनहरू आउनेछन्, जब तेरा शत्रुहरूले तेरो विरुद्धमा वरिपरि पर्खाल निर्माण गर्नेछन् र तँलाई घेर्नेछन् र चारैतिरबाट आक्रमण गर्नेछन् । 44 तिनीहरूले तँलाई र तँसँग भएका तेरा सन्तानलाई आक्रमण गरेर लडाउनेछन्; तिनीहरूले एउटा ढुङ्गामाथि अर्को ढुङ्गा छोड्नेछैनन्, किनभने परमेश्‍वरले तँलाई बचाउनका लागि गर्नुभएका प्रयत्‍नलाई तैंले बुझिनस् । 45 येशू मन्दिरभित्र छिर्नुभयो र त्यहाँ व्यापार गरिरहेका मानिसहरूलाई यसो भन्दै खेद्नुभयो, 46 “यसो लेखिएको छ, ‘मेरो घर प्रार्थनाको घर हुनेछ,’ तर तिमीहरूले त यसलाई डाँकूहरूको अड्‍डा बनाएका छौ ।” 47 येशूले मन्दिरमा दिनहुँ शिक्षा दिंदैहुनुहुन्थ्यो । मुख्य पूजाहारीहरू, शास्‍‍त्रीहरू र मानिसहरूका अगुवाहरूले उहाँलाई मार्न चाहन्थे । 48 तर तिनीहरूले त्यसो गर्ने कुनै उपाय भेट्टाउन सकेनन्, किनभने सबै मानिसहरूले उहाँको वचन ध्यानसित सुनिरहेका थिए ।